सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा समुदाय र सरकारी वकिल संवाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बर्दिया र गेरुवा गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
कानूनमा सचेतना वृद्धि गर्न तथा कानूनमा सबैको पहुँच बढाउन तथा कानूनी साक्षरताको विकास गर्दै पालिकाको समृद्धि र शुसासनका लागि शान्तिसुरक्षा तथा अपराध न्यूनीकरणमा समुदायको भूमिकाका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको जिल्ला सरकारी वकिल कार्यालय बर्दियाका जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्सालले जनाकारी दिए ।
उनले सरकारी वकिल र समुदायबीचको सम्बन्धले अपराधीलाई दण्डित गर्ने र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिलाउने काम हुने बताउँदै समुदाय र सरकारी वकिलबीचको सम्बन्धले समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रित समाजको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने,‘सरकारवादी फौजदारी मुद्दा सरकारी वकिलले दायर गर्ने र दुनियावादी मुद्दाहरु व्यक्ति स्वयमबाट सम्बन्धित अदालतमा दायर हुन्छ । सरकारवादी फौजदारी मुद्दामा साक्षीहरुको सहयोग र प्रहरीसँगको समन्वयबाट मात्र अनुसन्धानमा प्रभावकारिता हुन्छ ।’ सरकारवादी फौजदारी मुद्दा सरकारी वकिलले दायर गर्ने र दुनियावादी मुद्दाहरु व्यक्ति स्वयम्बाट सम्बन्धित अदालतमा दायर हुने बताए । सरकारवादी फौजदारी मुद्दामा साक्षीहरुको सहयोग र प्रहरीसँगको समन्वयबाट मात्र अनुसन्धानमा प्रभावकारिता हुने उनको भनाइ थियो ।
कार्यक्रममा सरकारी वकिलको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै समुदाय र सरकारी वकिलबीचको फौजदारी कसुर सम्बन्धी मुद्दाको विषयमा के कसरी सम्बन्ध कायम गर्ने, समुदायले सरकारी वकिलबाट के कस्तो अपेक्षा गर्ने, समुदायबाट सरकारी वकिलले के कस्तो अपेक्षा राख्ने विषयमा समेत जानकारी गराइएको थियो । त्यस्तै कार्यक्रममा लैङ्गिक हिंसाको परिचयसहित मुलुकी अपराध संहितामान भएको कसूर सम्बन्धी व्यवस्थाका बारेमा पनि चर्चा गरिएको थियो ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.को प्रमुख आतिथ्यतामा सम्पन्न संवाद कार्यक्रममा उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्द, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies