काठमाडौं : इजरायलमा रहेका नेपालीहरुले निजी क्षेत्रका म्यानपावर कम्पनीबाट कृषि कामदारमा जाने व्यवस्था रोक्ने नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको निर्णय व्यवहारिक र बुद्धिमतापूर्ण नरहेको बताएका छन् । मन्त्री अर्यालका नाममा एकपत्र पठाउँदै हाल इजरायलमा कार्यरत नेपालीहरुले आकर्षक कमाइ हुने इजरायलको रोजगारीलाई रोक्दा त्यसले भारतीय अवैध बाटोबाट जाने क्रमलाई सहयोग पु¥याउने खतराप्रति मन्त्री अर्यालको ध्यानाकर्षणसमेत गराएका छन् ।
निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले इजरायलको कृषि क्षेत्रमा म्यानपावर कम्पनीमार्फत कामदार पठाउन दिइसकेको अनुमतिलाई वर्तमान मन्त्रीले ‘होल्ड’ गरेपछि रोजगारीका लागि इजरायल आउन चाहना भएका धेरै नेपालीहरु अहिले निराश भएको उनीहरुको भनाइ छ ।
म्यानपावर कम्पनीबाट जाने प्रक्रिया रोक्दा तत्कालका लागि कम ज्ञान भएका कामदारलाई अनेकौं प्रलोभनमा पार्ने दलालबाट बचाउन सकिने भएपनि नेपाली म्यानपावर कम्पनीबाट पठाउने प्रक्रिया रोकिए नेपाली कामदारहरु भारतीय पासपोर्ट बनाएर पचास लाखसम्म खर्च गरी भारतको अवैधानिक बाटो हुँदै इजरायल पुग्ने उनीहरुको भनाइ छ । हालपनि ३२ देखि ५२ लाख रुपैयाँ तिरेर भारतीय भूमि हुँदै हजारौंको संख्यामा नेपालीहरु इजरायल पुगेको उनीहरुले बताएका छन् ।
नेपाल सरकारको सरकारीस्तरबाट इजरायलमा कामदार पठाउने विषय कागजमा मात्रै सीमित हुने उनीहरुको दाबी छ । सरकारले मात्रै पठाउने भन्ने वर्तमान मन्त्री अर्यालको दृष्टिकोणप्रति असहमति जनाउँदै उनीहरुले भनेका छन्, ‘राजनीतिक अस्थिरताका कारणले ६÷६ महिनामा मन्त्रिपरिषद् र मन्त्री फेरिने, नयाँ आउने मन्त्रीले पुरानो निर्णयलाई खारेज गर्ने नेपालको दुश्चक्र परिवर्तन हुने अवस्था छैन ।’
सन् २०२१ मा शुरुवात गरिएको जीटुजी मोडलबाट हालसम्म १ हजार १ सय ७५ जना नेपाली मात्र इजरायल आएको भन्दै खिचातानी नगरी नेपालीको रोजगारीको प्रबन्ध गर्न पनि उनीहरुको आग्रह छ ।
एक महिनाको तलब २ लाख रुपैयाँ हुने इजरायल राम्रो कमाइ र महिलाहरुका लागि सुरक्षित गन्तव्य मानिएको छ । हाल भियतनाम, थाइल्याण्ड, श्रीलंका र भारतलगायतका मुलुकबाट मात्र १० हजार बढी कृषि र कन्स्ट्रक्सनमा कामदारहरु गइसकेका छन् ।
गत अक्टुबर ७ तारिकमा गाजापट्टी र इजरायलको सिमानामा हमासका लडाकुले आक्रमण गर्दा हालसम्म ११ सय बढी इजरायली र १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ । युद्ध अहिले पनि गाजाका भित्रि भाग र लेबनानको सिमानामा जारी नै छ । तर इजरायलभित्र अक्टुबर ७ पछि कसैको पनि मृत्यु भएको छैन । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेत्यान्याहुले अक्टुर ७ मा अपहरणमा परेका १ जना नेपालीसहित १ सय ३४ जना इजरायली बन्दीको रिहाइ नभएसम्म युद्धविराम नहुने अडान राखेका छन् । त्यसले सिमानामा लडाइँ अझै लामो समय हुने संकेत देखिएपनि इजरायलभित्र कुनै समस्या नरहेकाले नेपाली कामदार पठाउने विषयमा अलमल गर्न नहुने भनाइ हाल इजरायलमा कार्यरत उदयपुरकी माया घले बताउँछिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies