पुर्ण कुमार/मध्यान्ह
डोल्पा : राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनमा डोल्पामा मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डोल्पा जिल्लाको समग्र मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले जिल्लास्थित सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
समग्र नेपालको तथ्यांकअनुसार डोल्पामा ०.०७ प्रतिशत महिलासम्बन्धी, ०.१३ प्रतिशत बालबालिकासम्बन्धी, २.८६ प्रतिशत धम्की र ०.१ प्रतिशत कुटपिटका घटना रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए । जिल्लाका कुनै पनि निकायबाट मानव अधिकार उलंघनका घटना भए उजुरी गर्न प्रजिअ दाहालले सवैलाई आग्रह गरेका छन् । कानूनभन्दा माथि कुनैपनि निकाय नभएको हुँदा त्यस्ता खालका घटना भए समयमै सम्बन्धित निकायमा जानकारी गर्न र मानव अधिकार रक्षाका लागि सबैले आ-आफ्नो भूमिका निर्वाह गर्न प्रजिअ दाहालले आग्रह गरे ।
जिल्ला अदालत डोल्पाका न्यायाधीश भोलानाथ ढकालका अनुसार हालसम्म दर्ता भएका जम्मा ७० वटा मुद्दामध्ये ४० वटा फर्छ्यौट भएको र ३० थान मुद्दा बाँकी रहेका छन् । बाँकी मुद्दा पनि केही समयभित्र फैसला हुने न्यायाधीश ढकालले बताए । अदातलबाट कस्त किसिमका सेवाहरु नागरिकले पाउँछन् भन्ने विषयमा बुझेर जानकार हुन पनि न्यायाधीश ढकालले आग्रह गरे ।
मानव अधिकार उलंघनका घटना विशेषगरी ग्रामिण भेगमा हुने र त्यसमा प्रत्यक्ष स्थानीय सरकार हुने भएको हुँदा सबै स्थानीय तहसँग समन्वय गरी यस्ता कार्यक्रम आगामी दिनमा गर्न जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले बताए । अहिलेको शताब्दीमा मानव जाति सभ्य भइसकेको हुँदा मानव अधिकार उलंघनका घटना निराकरण गर्नका लागि सबैलाई लागिपर्न जिसस प्रमुख रोकायाले आग्रह गरे ।
मानव अधिकार संरक्षणमा राज्यको पनि दायित्व रहेको हुँदा यसमा भुगोललगायतका विभिन्न बाहानामा बाधक नहुने राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख लोकनाथ बास्तोलाले बताए । आगामी दिनमा डोल्पाका अन्य स्थानीय तहहरुसँग समन्वय गरेर यस्ताखाले जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए । डोल्पामा मानव अधिकारसम्बन्धी उठेका विषयवस्तुलाई सम्बन्धित निकायमा बुझाउने र यसभन्दा अगाडि मानव अधिकारमा परेका उजुरीको छानबिन गरिने उनले बताए । अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies