काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहचलले दैनिक ३ सिफ्टमा सेवा दिन थालेको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी कार्यालयमा कर्मचारी तथा प्राविधिक पक्ष मजबुत बनाउन निर्देशन दिएपछि कार्यालयले दैनिक ३ सिफ्टमा काम गर्ने बताएको हो ।
वैदेशिक रोजगार विभागले हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर श्रम स्वीकृति दिन थालेको छ । बिभागका महानिर्देशक डण्डुराज घिमिरेले शनिबार र सार्वजनिक बिदाका दिनमा समेत सेवा दिन शुरु गरिएको बताए । कम्प्युटरहरुमा र्याम र एसएसडीको क्षमता बढाएर सहजरूपमा बिहान १० बजेदेखि दिने टोकन प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको विभागले बताएको छ ।
वैदेशिक रोजगार कार्यालयमा हाल दैनिक एक हजार ५ सयदेखि २ हजार श्रमिकले पुनः श्रम स्वीकृति र १ हजार जनाले नयाँ श्रम स्वीकृति माग गर्ने गरेको कार्यालयले बताएको छ ।
दोस्रो पटक श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गत चैत ४ गते श्रममन्त्री अर्यालले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारलाई एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका थिए । मन्त्री अर्यालले एक घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्नुपर्ने निर्देशन दिएपनि कर्मचारीले ८ वर्षअघिको प्रणालीबाट एक घण्टाभित्र श्रम स्वीकृति दिन सम्भव नदेखिएको बताएका छन् ।
फेमिसमा हाल विभागसहित २० वटा कार्यालय जोडिएका छन् । त्यसले प्रणालीमा सेवाग्राहीको चाप बढाएको छ । तर प्रणाली अपडेट नभइ बारम्बार समस्या आउँदा पुनः श्रम स्वीकृतिभन्दा संस्थागत अर्थात म्यानपावर कम्पनीले पेश गर्ने फाइलमा बढी समस्या देखिएको वैदेशिक रोजगार व्यवसायीको गुनासो छ । यसअघिका महानिर्देशक मदन दहालमाथि सुधारको चर्का वकालत गर्ने, तर प्रणाली सुधारका लागि कुनै ध्यान नदिने गरेको आरोप लागेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies