काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजारमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको श्रममन्त्री डोल प्रसाद अर्यालको निजी सचिवालयले जनाएको छ ।
श्रममन्त्री आर्यलले स्वास्थ्यसम्बन्धी चेतनाको अभाव र दुर्घटनालगायतका कारणले श्रमिकहरु गम्भीर प्रकृतिका स्वास्थ्य समस्यामा रहेकाले उनीहरूको शीघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित बेडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुपरेको बताए ।
श्रम मन्त्रालयले विशेषगरी औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरुमा स्वास्थय मन्त्रालयअन्तर्गत रहेका सरकारी अस्पताल, स्वास्थ विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरुमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको बताएको छ । अस्पतालको बेड क्षमताका आधारमा निश्चित संख्यामा बेडहरु छुट्याइदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै, मन्त्रालयअन्तर्गतका प्रतिष्ठान र अस्पतालहरुमा श्रमिक हेल्प डेस्क राख्नसमेत आग्रह गरिएको छ । श्रमिकहरुलाई प्राथमिकता दिइ स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागेर उपचार गर्न फर्किएका श्रमिकहरुलाई उपचारलगायतका विषयहरुमा सूचना एवम् परामर्श दिनका लागि हेल्प डेस्क राख्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
अपस्तालमा उपयुक्त जनशक्तिसहितको एक स्वास्थ्य परामर्श इकाइ स्थापना गर्नसमेत आग्रह गरिएको मन्त्रालयको भनाइ छ । वार्षिक सात लाखभन्दा बढी संख्यामा नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् भने नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिब ७० लाख श्रमिकहरु कार्यरत रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies