मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : नेपाल विद्युत प्राधिकरणलाई ग्राहकले उपभोग गरेको महशुल उठाउन सकस परेको छ । विभिन्न सार्वजनिक क्षेत्रमा उपभोग भएको बिद्युत महशुल उठाउन प्राधिकरणले ताकेता नै गर्नुपरिरहेको छ । यतिबेला विभिन्न क्षेत्रमा उपभोग भएको विद्युत महशुल बक्यौता ४० अर्ब नाघिसकेको प्राधिकरणले जनाएको छ ।
बिद्युत महशुल खप्टिदै गएपछि प्राधिकरणले पटक पटक बक्यौता भुक्तानीका लागि ताकेता गर्नुपरेको छ । आफैले उपभोग गरेको बिद्युत महशुल तिर्नका लागि पनि यसरी ताकेता गर्नुपर्ने र त्यसमा पनि विवाद आउँदा निकै समस्या हुने गरेको प्राधिकरणका अधिकारी बताउँछन् ।
समयमा बक्यौता उठाउन प्राधिकरणका लागि प्रभावकारी नीति नै नभएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नै बताउँछन् । उनी भन्छन्, ‘हामीले प्रयास गर्ने हो । समस्या धेरै छन् । उपभोक्ताबाट महशुल उठाउनका लागि प्राधिकरणले चाहेर मात्रै केही हुँदैन । किनकि प्राधिकरणको सरकारको निर्देशन मान्नुपर्ने स्थानमा छ ।’
लामो समयसम्म बक्यौता नतिरेपछि पछिल्लो पटक बिहीबार मात्रै प्राधिकरणले सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई सूचना जारी गरेको छ । विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको हो । प्राधिकरणका अनुसार विभिन्न स्थानीय तहले सडक बत्ती उपभोग गरे बापत ६ अर्ब भन्दा बढी बक्यौता रकम भुक्तानी हुन बाँकी छ । यसअघि गत असारमा तत्काल स्थानीय तहका सडकमा प्रयोग भएको बिजुलीको महशुल उठाउन अर्थ मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो ।
प्राधिकरणले लामो समयदेख खप्टिएको २५ अर्ब मशुल बक्यौता उठाउन नसक्दा बर्षौ विवाद भएको विषय पनि केही महिनाअघि मात्रै मत्थर भएको छ । उद्योगी ब्यापारीहरूले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका लागि टाउको दुखाइको विषय बनेको थियो । घिसिङले केही डेटिकेटेड र ट्रंकलाइन उपभोग गरेका उद्योगी व्यवसायीमाथिको बिलिङ कानुनसम्मत भएको भन्दै बक्यौता उठाएरै छोड्ने कुरा लामो समयसम्म गर्नुपरेको थियो । अहिले प्रधानमन्त्री तहबाटै हस्तक्षेप भएपछि सो विवाद केही मथ्थर भएको हो ।
महसुल संकलन विनियमावली २०७८ अनुसार विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको महशुलका लागि ताकेता गर्न मिल्छ । त्यसत उपभेक्ताको हकमा मिटर रिडिङ भएको १६ औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । जसअनुसार मिटर रिडिङ भएको मितिले १६ औं दिनदेखि ३० औं दिनसम्म ५ प्रतिशतका दरले थप शुल्क लाग्ने छ ।
यस्तै, ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ ।
यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताको विद्युत् लाइन काट्न सकिने प्रावधान उक्त विनियमावलीमा रहेको छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान पनि प्राधिकरणको विनियमावलीमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies