-गोमती पाल
१० वर्षको उमेरदेखि बहुदल निर्दल सुन्दै आएकी लक्ष्मी बुढा घर–परिवारसँगै बहुदलको पक्षमा उभिइन् । राजनीतिको कखरा नै नबुझेकी लक्ष्मी त्यतिबेला केही नबुझीकनै बहुदलको पक्षमा नारा लाउन थालिन् । त्यसको एउटै कारण थियो, कम्युनिष्ट पृष्ठभूमिका उनका बुवा दामोदर भण्डारी । त्यतिथबेला भण्डारी बहुदल पक्षधर थिए । निर्दलीयताको धुरन्धर बिरोधि थिए । ‘त्यति बेला बहुदलको आन्दोलन थियो, बहुदल भनेर कराइयो, बुवा कम्युनिष्ट हुनुहुन्थ्यो, बहुदलको पक्षमा हुनुहुन्थ्यो । त्यसैले बहुदलको पक्षमा जानी नजानी लागेँ ।’ उनी सम्झिन्छन् ।
देशमा पञ्चायत बिरुद्धका गतिविधि उग्र बनिरहेका थिए । कञ्चनपूरको कृष्णपुुर पहरियामा २०३७ मा जन्मिइन् लक्ष्मी । सामान्य मध्यम वर्गीय परिवारमा खान लाउनकै लागि दुःख थिएन । राजनीतिक चेत भएको परिवारमा पढ्का लागि पनि सहजै भयो । उनी स्थानीय पहरियाको राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्न थालिन् । त्यहीबाट उनले राजनीतिकमा औपचारिक प्रवेश गरिन् । माध्यमिक बिद्यालयमै लक्ष्मी अनेरास्ववियुको स्कुल कमिटी सचिव भइन् । नेपाली राजनीतिमा उनको करियर त्यहीँबाट सुरु भयो ।
त्यसपछि पार्टी सदस्यता लिएर सक्रिय राजनीतिमा लागेकी हुन् । लक्ष्मीका बुवा दामोदर भण्डारी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन कृष्णपुर गाविसको वडा नं.१ को अध्यक्षका लागि चुनाव लडेका थिए । त्यसको पाँच वर्षपछि २०५४ को स्थानीय निर्वाचनमा उनकी आमा द्रोपती भण्डारी पनि चुनाव लडिन् ।
विद्यार्थी राजनीतिमा सक्रिय भइसकेकी लक्ष्मीले २०५१ को मध्यावधि निर्वाचनमा पहिलो पटक सूर्यलाई मतदान गरिन् । आमा र बुवाको सक्रिय राजनीतिले लक्ष्मीमा पनि होलटाइम राजनीतिमै लाग्ने दृढ इच्छा जागिसकेको थियो । २०५२ मा लक्ष्मीले घर परिवार सल्लाहमै विवाह गरिन् । राजनीतिबाटै टाढै बसेको उनको श्रीमानको परिवारले राजनीतिमा सहयोग नगर्ला कि भन्ने संशय लक्ष्मीमा थियो । तर, अवस्था सोचेभन्दा फरक भयो । विवाहले उनको राजनीतिक यात्रा झनै सहज बनाइदियो । परिवारको जिम्मेवारसँगै लक्ष्मीले राजनीतिलाई निरन्तर अघि बढाइन् । अहिले लक्ष्मीका एक छोरा एक छोरी छन् ।
राजनीतिसँगै सामाजिक कार्यमा पनि रहेकी लक्ष्मीले २०५७ देखि २०७० सम्म स्वयम् सेविका भएर सेवा पनि गरेकी छिन् । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय रहेकी लक्ष्मीले सामुदायिक वन, महिला स्वास्थ्य स्वयम् सेविका समिति लगायतका सामाजिक संस्थामा नेतृत्व पनि गरेकी छन् । यही २०८० को चैत पहिलो साता सम्पन्न एमाले कञ्चनपूर नवौं अधिवेशनबाट निर्विरोध अध्यक्ष बनेकी छिन् । जिल्ला पदाधिकारीमा उनीसहित पाँच जना छन् । अहिले उनको राजनीतिक उचाइ चुलिएको छ ।
आफ्नो राजनीतिक उचाइ जति माथि जान्छ त्यति नै उनी आफ्ना आमा बुवाप्रति नतमस्तक हुन्छिन् । भन्छिन्, ‘मेरो आमा बुवाको प्रेरणाबिना यो कहाँ सम्भव थियो र ? मलाई होस हुने बेला घर परिवारभित्र राजनीतिक सक्रियता देखेँ । म पनि यही गर्छु भन्ने लाग्यो ।’
पित्रिसत्ता हावी रहेको नेपाली समाजमा महिलालाई सजिलो भने नभएको उनको बुझाइ छ । ‘महिलालाई पुरुषको तुलनामा राजनीति गर्न त समस्या छ । कार्यकर्तासित जोडिनु पर्छ, संगठनसित जोडिनु पर्छ । कसैसित बोल्दा हिड्दा पनि लाञ्छना लागि हाल्छ । त्यसको वास्ता नगरी मिसनमा हिडिरहनु पर्छ । यसरी अठोट लियो भने असम्भव भने छैन ।’
राजनीतिमा सक्रिय भएपछि आफूसित धेरै भोगाई भएको र महिला भएका कारण समाजमा विभिन्न लाञ्छना लाग्ने गरेको उनले बताइन् । ‘अहिले पनि सोचे जस्तो अवस्था त छैन, त्यो बेला त झन कस्तो होला, महिलालाई त गाह्रो नै हुन्छ’ उनी भन्छिन् ।
एमाले कञ्चनपुरको नवौ अधिवेशनमा आफू अन्तिमसम्म सर्वसम्मतको पक्षमा भएको लक्ष्मीको भनाई छ । एमालेका केन्द्रीय नेतालाई उनले आफू भन्दा परिपक्व नेतालाई नेतृत्व दिए आफूलाई स्वीकार हुने सन्देश पठाएको बताउँछिन् ।
एमाले कञ्चनपुरलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रमुख कार्यभार बनाएर अघि बढ्ने अध्यक्ष लक्ष्मी बताउँछिन् । ‘पार्टीलाई एक ढिक्का बनाउने मेरो पहिलो प्राथमिकता हो, सबै नेता कार्यकर्ताको भावना अनुसार पार्टीलाई एक ढिक्का बनाएर बलियो बनाउँछु’ उनले भनिन्,‘त्यसका लागि संगठन विस्तार, पार्टी प्रशिक्षण, सदस्यता विस्तार, जनतासित पार्टीको पहुँच बढाउने लगायतका कार्य योजना बनाएर अघि बढ्छौ ।’
एमालेको मिसन ८४ लाई सफल पार्ने लक्ष्य प्राथमिकतामा राखेर जिल्ला कमिटी अघि बढ्ने उनको भनाई छ । उनले एमालेमा सर्वसम्मतपछि गुट उप गुट केही नभएको दावी गरिन् । ‘अब गुट उप गुट केही रहने छैनन्, एमाले अब ढिक्का भएर अघि बढ्छ’ उनी भन्छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies