काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित परिणाम आउन नसकेको बताउँदै उक्त कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि राजधानीमा आयोजित चार दिने तालिमको समापन कार्यक्रममा शुक्रबार मन्त्री अर्यालले परिणाम आउने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्न अति जरुरी रहेको बताए ।
श्रम मन्त्रालयले स्वदेशमा नै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारको विकल्प दिने उद्देश्यले तत्कालीन सरकारले २०७५ साल माघ २५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७५ जारी गरेको थियो । सोही वर्ष चैत १ गतेदेखि तामझामका साथ उक्त कार्यक्रमको औपचारिक शुरुवात भएको थियो । तर सोही वर्षदेखि नै कार्यकर्तालाई झारपात उखेल्ने जस्ता अनुत्पादक काममा जागिर खुवाउने कार्यक्रम भन्दै व्यापक आलोचना भएको थियो ।
मन्त्री अर्यालले जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा भयो, त्यो उद्देश्यअनुसार आम नागरिकले महसुस गर्न पाउने गरी कार्यक्रमले लक्षित वर्गलाई छुन नसकेकाले कार्यक्रमको ढाँचा परिवर्तन गर्न आवश्यक भएको उल्लेख गरे ।
कार्यक्रममा श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे । समापन कार्यक्रममा मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पञ्चमाया योञ्जन, थाहा नगरपालिका मकवानपुरका रोजगार संयोजक कुमार नेगीले तालिमले काम गर्न नयाँ उर्जा मिलेको बताए । क्षमता अभिवृद्धि तालिममा ९ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १ सय ४२ जनाको उपस्थिति रहेकोे मन्त्रालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies