तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले नेपालीहरूको नयाँ वर्ष भव्यरूपमा मनाएको छ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्रको अवसर पारेर आयोजना गरिएको आन्तरिक वनभोज तथा शुभकामना आदान प्रदानसहित मोना कतारले नयाँ वर्ष मनाएको हो ।
कार्यक्रम दोहा शहरबाट करिब ५० किलोमिटरको दुरीमा रहेको अलदोसरी पार्कमा शुक्रबार संघका अध्यक्ष राजु पौडेलको अध्यक्षता तथा कतार भ्रमणमा रहेका म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं ९ का चक्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गीत गाउँदै नाच्दै रम्दै रमाउँदै म्याग्देली जम्मा भएर मनाइएको नयाँ वर्षलाई थप रौनकता दिन अन्ध निशान खेल प्रतियोगिता गराइएको थियो । ३० जना सहभागी उक्त खेलमा २९ जनालाई हराउँदै संघका कार्यसमिति सदस्य गंगा कँडेलले पुरुषकार जितेका छन् ।
कार्यक्रममा मोना कतारका संरक्षक तथा सल्लाहकारहरूले समेत शुभकामना मन्तव्य राखेका थिए । आफ्नो मन्तव्य राख्दै मोना कतार बहुउद्देश्यीय अक्षय कोषका अध्यक्ष विक्रम कार्कीले रोजगारीका लागि कतारमा आए पनि जन्मभूमिमा सक्ने सबै किसिमको सहयोग गरिएको बताउँदै मोना कतार र बहुउद्देश्यीय अक्षय कोषमार्फत समस्यामा परेकालाई उद्धार सहितका अभियानमा समेत साथ दिँदै आइरहेको बताए ।
संघका उपाध्यक्ष हेम बानियाँले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले व्यक्तिगत भ्रमणमा कतारमा आउँदा मोना कतार जस्तो प्रतिष्ठित संस्थाले आफूलाई दिएको स्थान र सम्मानको प्रशंसा गरे । केसीले मोना कतार सदैव जिल्लामा अग्रणी संस्था रहनुको रहस्यको भेद आफूले कतारमा आउँदा संस्थागत एकता देखेर बुझेको बताउँदै मोना कतारका हरेक गतिविधिमा जिल्लामा आफ्नो स्थानबाट साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव शिव खड्काले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले संस्थालाई सबैको साझा बनाउन आफू लागी परेको बताउँदै संस्थामै आबद्ध हुन र सामाजिक कार्यमा हात मिलाउन उपस्थित समक्ष आग्रह गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies