सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
लालबाबु बानिया/मध्यान्ह
मधेश : मधेश प्रदेशमा चैती छठ पर्व मनाउन शुरु भएको छ । चैती छठ चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने गरिन्छ । चैती छठ पर्वको मुख्य दिन आइतबार व्रतालुले निराहार व्रत बस्ने परम्परा छ । शनिबार पहिलो दिन नहाए खाए विधि गरिएको छ । खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति खानेकुरा खाने गर्छन् । आइतबार षष्ठी तिथिका दिन निराहार व्रत बसी साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गइ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने परम्परा रहेको छ ।
अर्घ्य दिइने क्रममा फलफूल र ठेकुवा, कसारलगायतका परिकार राखिएको अर्घ्य उठाइ सूर्यदेवलाई देखाइन्छ । सो दिन गरिने विधिलाई मधेशमा ‘सझिआ अरघ’ भनिन्छ । सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई यीनै प्रसाद सामग्री देखाएर अर्घ्य दिइ व्रत समापन गरिन्छ । यो विधिलाई बोलीचालीमा ‘भोरवा अरख’ भनिन्छ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन सोमबार रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाहीलगायत मधेश प्रदेशभरिका शहरी तथा ग्रामीण क्षेत्रको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठ पर्व सम्पन्न गरिन्छ ।
छठ पर्वको बारेमा पौराणिक कथाअनुसार सत्ययुगमा भगवान श्रीराम, द्वापर युगमा दानवीर कर्ण र पाँच पाण्डवको पत्नी द्रौपदीले सूर्यको उपासना गरेको मान्यता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies