सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले प्रदेशमा छिट्टै मन्त्रीमण्डल विस्तार हुने बताएका छन् । नयाँ वर्ष २०८१ को अवसरमा गृह जिल्ला रोल्पा पुगेका मुख्यमन्त्री महराले रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्माण गरिएको शहीद स्तम्भ र सुनिलस्मृति गाउँपालिका गजुलमा निर्माण गरिएको सुनिल पार्कमा रहेको किम बहादुर थपा (सुनिल)को शालिकमा माल्यार्पण गर्दै सो कुरा बताएका हुन् ।
'हामी अहिले सरकारमा सहभागी भएका दलहरूसँग छलफल गरिरहेका छौं र मलाई लाग्छ यो हप्ताभित्रै लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुन्छ,' मुख्यमन्त्री महराले भने ।
मुख्यमन्त्री महराले यो देशलाई यो स्थानसम्म ल्याइपुर्याउने, ज्यानको बलिदान दिने सम्पूर्ण शहीद योद्धाहरुप्रति श्रद्धाञ्जली तथा घाइते अपाङ्गप्रति सम्मान र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरे ।
रोल्पा जिल्ला नयाँ ठाउँमा र नयाँ नेतृत्वमा पुगेको बताउँदै उनले प्रतिनिधि सभाका सांसद वर्षमान पुन संघीय मन्त्रालयको अर्थमन्त्री, प्रदेश सभा १ क बाट निर्वाचित आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री र प्रदेश सभा १ ख बाट निर्वाचित दीपेन्द्र कुमार पुन मन्त्री बनेको बताए । 'यो जिल्लाले दिएको माया, यो जिल्लाले दिएको भोटलाई हाम्रो पार्टी, अहिले बनेको सत्ता समीकरणले उच्च हिसाबले सम्मान र महत्व दिएको छ,' उनले भने ।
नव वर्ष २०८१ साल सुख, शान्ति, समृद्ध देश बनाउने वर्षको रूपमा परिचित होस् भनि उनले शुभकामनासमेत व्यक्त गरे । मुख्यमन्त्री महराले २०८० चैत ३० गते शुक्रबार प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वासको मत लिएका हुन् । उनले लुम्बिनी प्रदेशसभामा ८६ सांसद मध्ये ४८ जना सांसदको साथ पाएका छन् भने नेपाली कांग्रेससहित २८ जना सांसदले मुख्यमन्त्री महराको विपक्षीमा मत दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री दीपेन्द्र कुमार पुनको पनि सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies