दिलमाया शाही/मध्यान्ह
जुम्ला : कर्णालीबाट राष्ट्रियस्तरको फुटबल खेलमा उदाएका जुम्लाका खेलाडी यौद्धा शाहीको प्रोत्साहनका लागि परिवारले एक करोड १५ लाखको लगानीमा फुटसल ग्राउण्डसहित फुटबल एकेडेमी स्थापना गरिदिएको छ । कर्णालीको राजधानी सुर्खेतमा नयाँ वर्षको अवसरमा एक औपचारिक कार्यक्रम गरी ‘यौद्धा फुटबल एकेडेमी‘ उद्घाटन गरिएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका निवासी यौद्धा शाही नेपाली सेनाका जमदारा पदमा छन् । उनी नेपाली सेनामा छिरेपछि फुटबल क्षेत्रमा अग्रसर भएका थिए । उनमा उत्साह थप्न परिवारले एक करोड १५ लाखको लगानीमा फुटसल मैदान नै स्थापना गरी स–साना बालबालिकालाई खेल क्षेत्रमा सीप सिकाउने उद्देश्य राखेको छ । त्रिभुवन आर्मी क्लबका सिनियर खेलाडी यौद्धाको प्रोत्साहनमा सुर्खेतमा स्थापना गरिएको फुटसल मैदानको उद्घटन शाहीका बुबा पृथ्वीबहादुर शाही र आमा मुक्ति शाही तथा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले संयुक्तरुपमा गरे ।
उद्घाटन कार्यक्रमा बोल्दै उपाध्यक्ष हमालले कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन गइरहेको अवसरमा स्थापना भएको फुटसल मैदानले थप सजिलो हुने बताए । उनले यस मैदानसँग निरन्तर खेलका लागि सहकार्य गर्ने बताए ।
यौद्धाका बुबा पृथ्वीबहादुर शाहीले छोराको खेलमा प्रगति हेर्दा खुशी लागेको बताए । उनले भने, ‘यसमा सबैको सहयोग आवश्यक छ ।’ योद्धाका दाजु द्धोन्द बहादुर शाहीले भाइको खेलप्रतिको लगाब हेरेर पश्चिम नेपालमा खेल शिक्षा र सीप दिने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताए ।
फुटबल एकेडेमीको सञ्चालक भने यौद्धाका दिदी उगुना शाही हुन् । उगुनाले भाइको खेलप्रतिको प्रगति र लगाब हेरेर परिवार सबै मिलेर फुटबल एकाडेमी स्थापना गरिएको बताइन् । उनले अहिले भने सिनियर राष्ट्रिय खेलाडी धवाञ्जरले कोचको रुपमा काम गर्ने बताइन् । सञ्चालक उगुनाले कर्णाली प्रदेश उद्योग परिषद परिसंघमा रहेर पनि काम गरिसकेकी छन् । सो फुटसल मैदानमा भर्खरै १३ वर्ष मुनिका खेलाड छनोटसमेत गरिएको छ ।
को हुन् यौद्धा शाही ?
यौद्धा शाही वि.सं २०६० सालमा नेपाली सेनाको सैन्य पदमा प्रवेश गरेका थिए । त्यसपछि शाही त्यसभित्रको त्रिभुवन आर्मी क्लबमा छनोट फुटबल खेल्नका लागि छनोट भएका थिए । तत्कालीन मेजर बिमल बिष्टको थप प्रोत्साहनमा २०६५ सालमा आहा रारा गोल्डकपमा उनले डेब्यू गर्ने अवसर पाए । शाहीले त्रिभुवन आर्मीबाट खेल्दा २०७१ सालमा माई भ्याली गोल्डकप र झापा गोल्डकपमा बेष्ट डिफेन्डर घोषित भएका थिए ।
नेपाल आर्मीको लिग खेल्दै गर्दा खेल राम्रो भएपछि उनलाई फष्ट सुपर लिग धनगढी एफसीले ७५ हजार रुपैयाँमा हायर गरेर खेलायो । यस्तै उनलाई सेकेण्ड लुम्बिनी खेलमा एक लाख २० हजार पारिश्रमिकमा हायर गरिएको थियो ।
यौद्धाले भारतको इन्दिरा गान्धी रंगशालामा नेपाल इन्डियन डुडान कप पनि खलेले । आफ्नो रिटायर्ड जीवन कर्णालीका खेलाडी उत्पादनमा ध्यान दिने उनी बताउँछन् ।
वीरेन्द्र नगरपालिकाभित्र १३ कठ्ठा आठ धुर जग्गामा उक्त खेल मैदान लिजमा लिइ बनाइएको हो । कर्णालीमा वीरेन्द्रनगरमा स्थापना गरिएको उक्त फुटसल मैदानमा चाइनिज म्याट, जाली, कार्यालय कोेठा, हल, चेन्जिङ कोठा स्थापना गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies