शिव विक/मध्यान्ह
काठमाडौं एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ । नेपाललाई जित दिलाउने क्रममा दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । टल जितेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो, क्रिजमा थिए दीपेन्द्र र सोमपाल कामी । २०औं ओभरमा स्ट्राइकमा रहेका दीपेन्द्रले ओभरका सबै ६ बलमा ६ छक्का प्रहार गरे । योसँगै उनले एकै ओभरमा ६ छक्का हान्ने विश्व कीर्तिमान बनाएका छन् ।
दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत बने । यसअघि दीपेन्द्रले सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए । सो खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए ।
तर विश्व क्रिकेटमा भने दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने पाँचौं खेलाडी बने । दीपेन्द्रअघि दक्षिण अफ्रिकाका हर्सल गिब्स, भारतका युवराज सिंह, वेस्ट इन्डिजका काइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले एकै ओभरमा ६ छक्का हान्ने विश्व रेकर्ड राखिसकेका छन् ।
हर्सलले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए । पोलार्डले श्रीलंकाविरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए । मल्होत्राले पनि पपुवा न्युगिनीविरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान बनाएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies