दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्ला रारा अल्ट्रा म्याराथनको महिलातर्फको उपाधि खोटाङकी प्रिया राईले जितेकी छन् । जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दुरी प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । राईले अन्य देशहरूमा नेपालको प्रतिनिधित्व गर्दै पदक समेत दिलाउँदै आएकी छन् ।
महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भएकी छन् । त्यस्तै तिला गाउँपालिका जुम्लाकी अनिता बुढा ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएकी छन् ।
त्यस्तै पूरुषतर्फको उपाधि जुम्लाका धिरबहादुर बुढाले जितेका छन् । धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दुरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेरका हुन् । त्यस्तै पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान ल्याएको कर्णाली स्पार्ट्से क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्डको टाइमिङ निकाले भने शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा उक्त दुरी पार गरेका थिए ।
आयोजकका अनुसार म्याराथनमा ४ विदेशी खेलाडीसहित ५४ जना दौडिएका थिए । कर्णाली स्पार्ट्से क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा अल्ट्रा म्याराथन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका थिए । म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालीकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोकका र जुम्लाका धावकले भाग लिएको कर्णाली स्पार्ट्से क्लब जुम्लाले जनाएको छ ।
म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइएको छ । म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार ५ सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि ७ हजार र स्थानीय धावकका लागि ५ हजार दर्ता शुल्क तोकिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies