काठमाडौं : इरानले इजरायलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि त्यहाँ कार्यरत नेपाली त्रसित बनेका छन् । शनिबार राति इरानले गरेको ड्रोन आक्रमणलाई इजरायलको हवाई रक्षा प्रणाली ‘आइरन डोम’मार्फत इजरायली सिमाना बाहिर नै ९९ प्रतिशत विफल गराएको बताइएको छ ।
तर नेपालबाट गएका अधिकांश नेपाली आक्रमणको निशाना पर्ने सीमा क्षेत्रमा काम गर्ने भएका कारण उनीहरु बढी त्रसित भएको बताइएको छ । शुरूमा बढी डराएको भएपनि इजरायलको हवाई रक्षा प्रणालीले सिमानामा प्रवेश अघि नै ड्रोनबाट गरिएका आक्रमण विफल पारेको बताएपछि अवस्था सामान्य बन्ने आंकलन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
इरानी आक्रमणपछि इजरायलमा रहेको नेपाली दूतावासले सूचना जारी गर्दै सतर्कता अपनाउन नेपालीलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै इजरायलमाथि इरानी हमला शुरु भएको सन्दर्भमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू पालना गर्न भन्दै सतर्क रहन आग्रह गरेको हो ।
इरानको आक्रमणपछि इजरायलमा सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने ठूलो स्तरका सभा वा भेला नगर्न निर्देशन जारी गरिएको छ । नेपाली दूतावासले पनि आवश्यक सुरक्षाका लागि स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका र अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन नेपालीलाई आग्रह गरेको छ ।
इजरायलमा हाल ४ हजार ५ नेपालीहरू ‘केयरगिभर’को रूपमा कार्यरत छन् भने केही महिनाअघि त्यहाँको कृषि क्षेत्रमा विदेशी कामदार खुला गरिएपछि थप केही नेपाली भारतीय बाटोबाट त्यहाँ पुगेको सार्वजनिक भएपनि उनीहरूको आधिकारिक तथ्यांक संकलन हुन सकेको छैन ।
विगतमा लर्न एण्ड अर्न योजनाअन्तर्गत कृषि क्षेत्रमा गएकामा २ सय ६५ जना विद्यार्थीमध्ये अक्टोबर ७ मा हमासको आक्रमणपछि २ सय ५० जनाभन्दा बढीलाई सरकारले उद्धार गरी नेपाल ल्याएको थियो । दश नेपालीको हमासको आक्रमणका कारण ज्यान गएको थियो भने हमासको कब्जामा पुगेका विपिन जोशीको अवस्था भने अझै पनि स्पष्ट हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies