-अनन्तप्रसाद घिमिरे
जहाँ,
जनताको सर्वोच्चता अनि सम्पन्नता होइन
नेताको सर्वोच्चता अनि सम्पन्नतामा विश्वास गरिन्छ ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
एयरपोर्टमा अनि बसपार्कमा
उदासी अनुहारमा
विदेशिने युवाहरुको भीड हुन्छ ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
बाबु आमाको लासले
विदेशिएका आफ्नै छोराछोरीलाई कुर्नुपर्छ,
पट्ट्यारलाग्दो ढङ्गले ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
भाषा, धर्म अनि संस्कृतिमाथि ठाडै हस्तक्षेप हुँदापनि देखिन्छ
नेताहरुमा मौन समर्थन !
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
अनुपम प्राकृतिक सम्पदाहरुको अवमूल्यन गर्दै
संरक्षणका नाममा व्रम्हलुट मच्चाइन्छ ।
लगाइन्छ घाँटी सुक्नेगरी नारा
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्,
भन्ने चार्वाक् दर्शनलाई
नेताहरुबाटै अनुमोदन गराइन्छ ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
जनताहरुले भोकभोकै खुल्ला आकाशलाई
निरीह बन्दै छानो बनाउँदा पनि
रातारात ठडिन्छन्,
नेताहरुका लागि आलिसान महलहरु,
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies