छबि सापकोटा/मध्यान्ह
काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
थुनछेक बहसपछि न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष गुरुङलाई थुनामा पठाउने आदेश दिएका हुन् । उप्रेतीको इजलासले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । धरौटी नबुझाउपछि पुन नि थुनामा पुगेका छन् ।
त्यस्तै, सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैंयाँ धरौटी माग गरेको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित भएको थिए । उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।
यस्तै, कास्की कारागार पोखरामा रहेका कुमार रम्तेल र भविश्वर अर्यालको समेत बयान दिइएको छ । १ हजार ८ सय ३१ जनाले बचत गरेको रकम नपाएपछि सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । सुप्रिम सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन भएको देखिएको छ । संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबी) राई भने सम्पर्कबिहीन छन ।
नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार : सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएका पौडललाई सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको छ । पौडेलको सम्पत्ति अस्वाभाविक देखिएपछि अख्तियारले गत माघ १० गते हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अख्तियारले नेसनल पेमेन्ट गेटवेको खरिदमा भ्रष्टाचार गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
नेसनल पेमेन्ट गेटवे खरिद भ्रष्टाचार प्रकरणमा सचिव मधुकुमार मरासिनीले सफाइ पाएका छन् । अदालतले मरासिनीसहित ८ जनालाई सफाइ दिएको छ । अदालतले सञ्जय शर्मा, प्रणिता उपाध्यय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर वली, रामशरण गायक र सफल श्रेष्ठ सफाइ दिएको छ ।
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले गत असोज १५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies