काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ ।
अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु दुई महिना अघिमात्रै मलेसिया पुगेका थिए ।
मलेसिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताइन् । बयम्बुको उपचारका लागि परिवारबाट एक लाख २० हजार रुपैयाँ रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरिन् ।
काठमाडौंको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताएकी छिन् । पारिवारको लालनपालन, घरायसी गुजारा चलाउन रोजगारका निम्ति मिठो सपना बोकेर बयम्बु मलेसिया पुगेका थिए । उनको परिवारमा बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies