–धनराज गिरी
प्रोफेसर ढुक्कनारायण चौधरी, प्रोफेसर जगमोहन आजाद, प्रोफेसर सहिदशरण उपाध्याय, प्रोफेसर आनन्दकुमार गोस्वामी, प्रोफेसर सार्थकनारायण, प्रोफेसर प्रेमस्वरूप कमलोपाध्याय र केही बौद्धिकहरुको बैठक बस्यो जङ्गल सफारी लजमा । सौराहा घोषणापत्र लेखे सुमित्रानन्दन जोगीमारे दामादश्रीले । व्यापक छलफल भयो । ‘आजादपथ’ नाम दिने घोषणा भयो । जिल्लाका सबै विचारकहरूको उपस्थिति थियो ।
“साथीहरू, अब अति भयो । जसरी फेसबुकमा यतैको एकजना जोगीले अति गरेको हुनाले तीन कमेन्ट र पाँच लाइक पनि आउन्न, त्यसैगरी हाम्रा तमाम समय अनायकहरूको ल्याकतले यो देशको भलो भएन । अति भयो । खति भयो । दुर्गति भयो । मेरो दिमागको रोडम्याप हो, प्रचण्डपथ भनेजस्तै, त्यो त पूरै फ्लप भयो । सबै फ्लप । हरेक रंग फ्लप । यो राप र तापबाट देशलाई नजोगाए पाप लाग्छ । जब जागा तब सबेरा ! यो कुइरेटकीय नगरीमा, मेरो एक योजना छ, सबैको कल्याण हुन्छ । पक्का हुन्छ । हामीले चाहेमा परिवर्तन सम्भव छ !”
सबैले मुखामुख गरे ।
“गुरुदेवको योजनाले यहाँ धेरैको कल्याण भएको छ । योजना भन्न मिल्छ ?” चेली, आजादकी, लेडी गब्बरकी नायिका, गरिमा घिमिरे ।
“कुरा आए राम्रो !” उज्याला मान्छे, पर्वतनारायण उखानपुरे अघि सरे ।
“सरको योजना पक्कै पनि राम्रो हुनुपर्छ ।” नेपाली केशवप्रसाद रेग्मी परदेशी, पर्वतका दाजी अघि सरे । सबैको जिज्ञासा बुझेर आजाद अघि सरे । “यहाँ अनेक उत्तर आधुनिक म्यूजियम बन्ने छ । लीला हुनेछ । पाँच तले भवन, एनआरएनएसँग कुरा भएको छ । सम्पूर्ण नेताहरूलाई यही भवनमा राखिनेछ । उनीहरूको अकूत सम्पति कब्जा गरेर अक्षय कोश बनाइनेछ । व्यापक प्रचार प्रसार गरिनेछ । हात्तीको मूल्य मरेपछि लाख भनेजस्तै यी उपादेयता खत्तम भएका नेताजीहरू पर्यटनकालागि कच्चापदार्थ हुनेछन् । आन्तरिक र वाह्य पर्यटन मौलाउने छ । यो बृहत योजना हो मुलुकको हितको लागि अझ व्यापक छलफल हुनेछ । कार्यपत्र बनाइने छ । श्री शारदानाथ बिस्फोट कमरेडको यसमा खास सहयोग रहने छ ।”
पुलुक्क हेरे, क्यामरा भिरेका तेज नयनवाला एक प्रकृतिप्रेमीले बोले, “हुम्म, आजाद सरको कुरामा पूर्ण समर्थन रहन्छ । यी एमसीसी र एसपीपीका नाजायज सन्तानहरूको लागि उपचार खोज्नुपर्छ । यी लाल दलाल नटवरलालहरू, यी ठोरीवादीहरू, यी नालायकहरूलाई यहाँ ल्याएर यिनको हैशियत बोध गराउनपर्छ । बरू म लाइभ प्रसारण गर्नेछु ।”
सहमति भयो । योजनानुसार भव्य भवन बन्यो । ओशो क्याम्प सामुन्ने । दश कठ्ठा जमिन एनआरएनए अभियन्ता देश देशावरले उपलब्ध गराए । सबै नेताहरू तानियो । पुस्तकालय नजिक । योग केन्द्र पनि नजिक । उखान सुन्न गाउँले आए । हरेक दिन प्रोफेसर जगमोहन आजाद हाजिर । गजल जोक सुनाउने । देउवाजीले खास रुचि देखाउनुभयो । बाबुराम पुरीको जेठान मात्र होइन, आरजूको पिता पनि भनेपछि मित ससुरा भनेर शेरहरू सुने । “उहिले परिचय भएको भए माधवजीको बैनीको खसमको स्थानमा राजदूत बनाउने नि !” देउवाजी पछुताए । उता ओलीजी पनि खुशी । काशीनाथ अधिकारीको अभिन्न मित्र, कुरा सकियो । माधवजी, वामदेवजी, झलजी, प्रचण्डजी पनि खुशी, गजल र हिन्दी गीत सुनायो । केही कांग्रेसहरू म्यारिज खेल्न व्यस्त । भुइँ कटहर नास्ता, साथमा चार बुक । आजादले साथ दियो । ऊ पनि राम्रो अनुभवी हो ।
सौराहामा पर्यटन उद्योग मौलायो । टिकट काटेर नेता नामका प्रजातिहरू हेर्न आए मानिसहरू । उता नयाँ पुस्ताले देशमा सत्ता सम्भालेपछि चमत्कार भयो । सम्पूर्ण ठेकेदारहरूको ८०५ सम्पत्ति कब्जा गरियो । शिक्षा पूर्ण निशुल्क । दल दुई मात्र । चुनाव १५ वर्षमा । सम्पूर्ण ठूल्ठूला कर्मचारीहरू, जसले अकूत धनराशी कुम्ल्याएका थिए, देशले कब्जा गर्यो । विश्वविद्यालयका केही भीसीहरूको खाता कब्जा गरियो । करमारा महाजनहरूको ६०५ सम्पत्ति कब्जा भयो । समाजवाद आयो । २० लाख युवा स्वदेश फर्किए । पहिलो पाँच वर्षलाई रोड वर्ष घोषणा गरियो । त्यसपछि पानी । हेर्दाहेर्दै नेपालको अनुहार यति उज्यालो भयो कि मान्छेहरू जिल्ल । प्रोफेसर जगमोहन आजादलाई विशेष अभिनन्दन गरियो । नेपालीहरूको प्रतिव्यक्ति आय १८ हजार डलर पुग्यो ।
“वास्तवमा नगरेर रहेछ । योजना नभएर रहेछ । प्रोफेसर जगमोहन आजाद जस्ता मानिसलाई देशले ढिलो चिन्यो । जे होस्, अब लुम्बिनी र सगरमाथाको इज्जत रह्यो ।” भैरहवा मर्निङ्ग वाक ग्रुपमा कुरा भयो । आजादपथको किताब छापियो । त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरे प्रा डा रमाकान्त पौडेल परिचितले विमोचन भयो सौराहामा, त्यही म्यूजियममा । हरेक नेताको आयु ९५ बर्षको भयो । २१११ सालमा म्यूजियम खाली भयो । त्यसलाई होटेल लालुपाते भनेर नयाँ नाम दिने काम भयो, एउटा गुठी दर्ता गरी संस्थाले नै चलायो ।
“हाम्रो देशमा यस्तो पनि भएको रहेछ है कुनै समयमा”, प्रोफेसर जगमोहनको नातिले आफ्ना दिदीहरूलाई सुनायो । वि.सं.२१२२ मा उनीहरू नेपाल आएका थिए । “अति भए पछि, हो अति भएपछि तिमीहरूको पितामह जगमोहन आजादले त्यो योजना बनाउनुभयो”, प्रोफेसरकी कान्छी छोरी पूजा गुरुङोपाध्याय । उनले एउटा कविता पनि सुनाइन् ।
–जीवी कुँवर
१.
समयले एकफेर अवसर दिन्छ भन्छन्
परिस्थितिले नि हाम्रो परीक्षा लिन्छ भन्छन्
जो होचो छ उसैको माथि पर्छ यहाँ घोचो
एउटै माघले जाडो कहाँ पो सकिन्छ भन्छन्
२.
राजधानीमा सुन फालाफाल छ
कर्णालीमा नुनको अनिकाल छ
कतै भ्यूटावर छन् अरबौँका
तर दूर्गमको हाल बेहाल छ ।।
३.
भ्रष्ट आचारले हाम्रो देश चाल्नाको छेड जस्तै भयो
राजनीतिको माछा बजारमा नैतिकता सस्तै रह्यो
देश उभोँ लाग्ने त कुनै छाँटकाँट नै देखिएन
वैदेशिक ऋणको भारले प्रत्येकको घाँटी कस्तै लयो ।।
–कुञ्ज देवी उपाध्याय
घामले तारा निलेर रातो भएको बेला
शुरू हुन्छ मेरो यात्रा
आकाशतिर हेर्दै
आज पनि फुटेको माटो रून्छ
अन्धविश्वासको आँधिमा रूमलिँदै
भ्यागुताको बिहे गर्ने मेरो देश
न नारीलाई सुरक्षा दिन सक्छ
न हरियो विप्लव ल्याउन ।।
जात–पातको युद्धमा अस्मिता लुटिन्छ
गाउँ–ठाउँमा आज पनि
अवला मानिन्छ
उनीहरू पुरुषको गोजिभित्र
आफ्नो स्वाधिनता राखि दिएर
सुरक्षित हुनुपर्छ ।।
अमृत महोत्सव मनाउँदै रमाउँछन्
जनताका रक्षक
पर्सेन्टको हिसाबमा गरिन्छ आरक्षण
तै पनि दिन रात परिश्रम गर्छु
देश र परिवारको लागि
धर्मको नाउँ दिइन्छ त्यसलाई
हत्या र लुन्ठनको डरले सधैँ सताउँछ
कसैको पाशविक प्रवृत्तिलाई रोक्ने
क्षमता ममा किन छैन ?
सृष्टिको गल्ती हो कि समाजको ?
प्रश्नहरू आजीवन अधुरो छ
आमाको कोख लज्जित गर्ने सन्तान
अब नजन्मिउन यो धर्तीमा
प्रलयकालको ज्वालो अब रोकिने छैन
ए आकाश
देउन अलिकति चिसो हावा
डढेको शरीर शान्त पार्न ।।
-तिल्सरा शर्मा, बाँफिकोट गाउँपालिका, रूकुम (पश्चिम)
छोरी हुँ म बाआमालाई पालेर देखाउँला।
मेरै बाउको जमिनमा एउटा घर हालेर देखाउँला।
हो छोरीले के गर्न सक्छन् र भन्ने अन्धविश्वसलाई,
मेरै यि दुई हातले फालेर देखाउँला।
छोरीले प्रगति गरेको देख्न नसक्नेहरुलाई,
तिनीहरूको आँखा मैले टालेर देखाउँला।
छोरा बुहारीले भाडभैलो मच्चाए नि घरमा ,
म छोरीले खुसीको ज्योति बालेर देखाउँला।
म छोरी जन्मँदा दिक्क मान्नेहरुको अगाडि,
छोराको जस्तै जिम्मेवारी अंगालेर देखाउँला।
कन्चनपुरः कन्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेसा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ ।
विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला र प्रभावकारी उद्घोषणकै कारण उनको माग सुदूरपश्चिमसँगै भारतमा प्रवासीहरुले आयोजना गर्ने ‘स्टेज’ कार्यक्रममा धेरै छ । काठमाडौंदेखि भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न नेपाली समाजले आयोजना गर्ने कार्यक्रममा पारिश्रमिक लिएर उद्घोषणका लागि जाने कलौनीसित कैलाली र कन्चनपुरका स्थानीय रेडियो एफएममा काम गरेको अनुभव छ ।
दुई दशकदेखि उद्घोषणमा सक्रिय कलौनीले हालसम्म मेला/महोत्सवमा स्टेज कार्यक्रम मात्रै साढे तीन सयभन्दा बढी सञ्चालन गरिसकेको बताए । ‘मेला/महोत्सवमा साङ्गितिक कार्यक्रम दर्शकलाई थप स्वादिलो बनाउन उद्घोषकको अहम भूमिका रहन्छ’, उनले भने, ‘विद्यालयमा अध्यापन र स्टेजमा कार्यक्रम सञ्चालन फरक भए पनि दुवैतिर सक्रियताका साथ अघि बढेकै छु ।’
शनिबारलगायत बिदाका दिन स्टेज कार्यक्रममा उद्घोषकका रुपमा देखिने कलौनीले स्टेज कार्यक्रमबाट पारिश्रमिक स्वरुप राम्रै रकम पाउने गरेको बताए । ‘यहाँ हुने मेला/महोत्सवमा काठमाडौंलगायत अन्यत्रबाट उद्घोषक तथा कार्यक्रम सञ्चालक बोलाउने गरेको भए पनि सुदूरपश्चिममै प्रतिभावान उद्घोषक प्रर्याप्त उत्पादन भइसकेका छन्’, उनले भने, ‘स्थानीयस्तरमा हुने कार्यक्रममा यहाँका प्रतिभावान कार्यक्रम सञ्चालकलाई स्थान दिनुपर्छ ।’
सुदूरपश्चिममा उद्घोषकका रुपमा परिचय बनाएका कलौनी कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाका साथै भारतको राजधानी नयाँ दिल्ली, देहरादुन, पिथौरागढ लगायतका सहरमा पुगिसकेका छन् । ‘रङमञ्च’ कार्यक्रमबाट स्थानीयस्तरबाट उद्घोषण शुरु गरेका कलौनीलाई सुदूरपश्चिममा हुने हरेक मेला, महोत्सव र विभिन्न कार्यक्रममा बोलावट हुने क्रम बढ्दो अवस्थामा रहेको उनले बताए ।
‘उद्घोषण कलाको आफैँमा चुनौती र अवसर पनि हो’, कलौनीले भने, ‘कार्यक्रमलाई रोचक ढङ्गबाट प्रभावकारी रुपमा सञ्चालन गरिरहेकै कारण यहाँ कार्यक्रममा बोलाउने क्रम बढ्दै गएको छ ।’ स्नाकोत्तर तह अध्ययन पूरा गरेका कलौनी सैनिक आवाशीय विद्यालयमा स्वास्थ्य शिक्षा विषयका शिक्षक छन् । ‘सकभर बिदाको दिन पारेर कार्यक्रम मिलाइरहेको हुन्छु’, एघार वर्षदेखि शिक्षण पेशामा रहका कलौनीले भने, ‘अति महत्वपूर्ण कार्यक्रम भए स्कूलबाट बिदा लिएर पनि गएको अवस्था छ ।’
लोक दोहोरी प्रतिष्ठानमा आबद्ध रहेका कलौनीले स्टेज कार्यक्रमले दामसँगै परिचय पनि बनाएको बताए । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कन्चनपुरका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी मेला÷महोत्सव सञ्चालन र थप मनोरञ्जनात्मक बनाउन उद्घोषकको ठूलो भूमिका रहने गरेको बताउँछन् ।
‘केपी कलौनी सुदूरपश्चिममा उद्घोषणका साथै कलाकारिता क्षेत्रको प्रतिभावान नाउँ हो’, अध्यक्ष धामीले भने, ‘यहाँका हरेक कलाकारसित स्टेज कार्यक्रममा उहाँको सहकार्य बेजोड रुपमा हुँदै आएको छ ।’ उनले उद्घोषण पनि कलाकारिताभित्रको एउटा महत्वपूर्ण पक्ष भएको जनाउँदै कलाकारको प्रस्तुत र दर्शकबिचको पुलका रुपमा अहम भूमिका रहने बताए । रासस
ईश्वर विश्वकर्मा/मध्यान्ह
चरिकोट : दोलखाली युवा उपन्यासकार सुदिपकुमार कार्कीद्वारा लिखित लघु-उपन्यास संग्रह 'सौतेनी आमा' सावर्जनिक गरिएको छ । शनिबार चरिकोटमा आयोजित कार्यक्रममा साहित्यकार नरेश रेग्मी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरलगायतले संयुक्तरुपमा लघु-उपन्यास संग्रह 'सौतेनी आमा' सार्वजनिक गरेका हुन् ।
सामाजिक, आर्थिक र राजनीतिक घटनाक्रमलाई कलात्मकरुपमा प्रस्तुत गरिएको सो उपन्यास संग्रहले पाठकलाई जागरणको सन्देश प्रदान गर्ने बताइएको छ । समाजका घटनालाई साहित्यमार्फत उजागार गर्दै सचेत समाज निर्माण गर्ने जमर्कोमा लघु-उपन्यास संग्रह 'सौतेनी आमा' सावर्जनिक गरिएको हो ।
कार्यक्रममा साहित्यकार नरेश रेग्मीले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिकलगायत सबै क्षेत्रको रुपान्तरणमा साहित्यको योगदान महत्वपूर्ण रहने उल्लेख गरे । प्रविधिले फड्को मारेसँगै साहित्यिक कृतिहरू प्रकाशन गर्न सहज भएपनि पाठक कम भेट्टाउने जोखिम बढेको बताए । जोखिमका बीच उत्कृष्ट साहित्य कृतिले भने लोकप्रियता बटुल्न सक्ने र विश्वभर पाठक कमाउन सक्ने उनको भनाइ छ । उनले उपन्यासकार कार्कीले साहित्यिक क्षेत्रमा जिन्दगीको पाइला चालेकोमा खुसी व्यक्ति गरे ।
उपन्यासकार कार्कीले यथार्थको गहिराइमा पुगेर पाठकमाझ 'सौतेनी आमा' ल्याएको बताए । उनका अनुसार उपन्यासमा वैदेशिक रोजगारीका विवशता तथा महिलामाथि महिलाको विभेदका कथा प्रमुख रहेको छ । उनले फक्रन लागेको साहित्यिक कोपिलालाई फूल्नका लागि हौसला र सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, भीमेश्वर नगरपालिकाका-४ का वडाध्यक्ष एवम् पालिका प्रवक्ता तारानाथ चौलागाईं, बैत्यश्वर गाउँपालिका वडा नं ७ का वडाध्यक्ष मिनकुमार शिवाकोटी, युवा साहित्य सञ्जाल दोलखाका अध्यक्ष राजन बस्नेत, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रकुमार लामा, जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरतकुमार श्रेष्ठ, सर्जक डम्बर चौलागाईं र राजन कार्कीलगायतले मन्तव्य राखेका थिए ।
काठमाडौं : साहित्यिक पत्रकार संघले नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीता केशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको सन्दर्भ पारेर उनीहरूलाई अभिनन्दन गरेको हो ।
प्रमुख अतिथि पूर्वसभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता शंकर भण्डारी, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरूलाई अभिनन्दन गरेका थिए । अभिनन्दन कार्यक्रममा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनका पूर्वअध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ र साहित्यकार उन्नति बोहरा शीलासमेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पुर्याउने र उनीहरूलाई ठीक बाटोमा ल्याउनेतर्फ लाग्नुपर्ने बताए । उनले साहित्यिक पत्रकार संघका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै यस्ता कार्यक्रमबाट समाजलाई अघि बढाउने काममा योगदान पुग्ने धारणा राखे ।
विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा बढ्दो विकृति र विसङ्गतिविरुद्ध स्रष्टाहरू फेरि जागरुक हुनुपर्ने आवश्यकता औंल्याए । सक्रिय राजनीतिमा लागेपछि आफूले सिर्जनात्मक कार्यमा समय दिन नसके पनि साहित्य आफ्नो रूचीको विषय भएको बताए ।
कांग्रेस नेता भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउँदै नयाँ निर्माण हुन लागेको संसद भवनको प्राङ्गणमा उनको प्रतिमा राख्नुपर्ने धारणा राखे ।
सम्मानित व्यक्तित्वद्वय डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत बोलेको उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पारेका थिए ।
संघका अध्यक्ष लेकालीले साहित्यिक पत्रकार संघले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दै आएको योगदानको स्मरण गरे । उनले साहित्यिक पत्रकारहरूको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको आवश्यकतामा जोड दिए । साथै उनले समाजसेवी शोभित उप्रेतीसँगको सहकार्यमा शैलुङमा "स्रष्टा गृह"को सञ्चालन गरिने पनि बताए ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, समालोचक प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने समाजसेवी शोभित उप्रेतीले उप्रेती समाजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेकोमा बधाई ज्ञापन गरिएको थियो । होटल तपसमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए ।
–धनराज गिरी
“दुर्योधन, शकुनी, कर्ण र दुःशासन” द्रौपदीको आँखामा महाशत्रु, पाँच पाण्डवका लागि घातक तत्वहरु, भाष्य नै त्यस्तै बनाइयो, घोकाइयो र हामी साधारण मानिसहरुको मनमा, कथा काल्पनिक भए पनि, त्यही छाप परिरह्यो । यिनीहरु सबै खलनायक नै बनिरहे । ‘दुर्योधन’ नाम मुस्किलले राखिन्छ न्वारनमा । दुःशासन त मैले आजसम्म सुनेको छैन । शकुनी पनि थाहा छैन । के यी पात्रहरु राक्षसै हुन् ? के यिनीहरुमा पनि मानवता थिएन ? दानवै हन् त ? पहिला कर्णका बारेमा कुरा गरौं । त्यतिखेर पनि ‘दलित’ परम्परा रहेछ । कृष्णले अर्जुनलाई सम्झाउने क्रममा श्रम विभाजनको आधारमा ‘ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र’ भनेकै छन् । महाभारतकालमा नै यो गलत परम्पराको जग बसालिएको रहेछ । वास्तवमा यो भूगोलमा मात्र होइन, मानव सभ्यताको इतिहास पढ्दा ‘मान्छे’ भएकोमा गर्व लाग्दैन । अझै पनि ‘अछूत’ परम्परा जहाँ पनि, कुनै न कुनै रुपमा पाइन्छ । ‘कर्ण’ निःसन्देह अद्भूत पात्र हुन् । उनलाई ठाउँ–ठाउँमा सभ्य पाण्डवहरुले नै ‘सुत पुत्र’ भनेर अपमान गरे । आत्मसम्मानमा चोट लागेपछि मान्छे घायल बाघ हुन्छ । अर्को कुरा, कृष्णले पनि जालसाजी गरे द्रौपदीको स्वयम्बरमा । कृष्णकै इसारामा पान्चाली बटारिइन् । त्यो ‘निषेध’को अपमानको अदृश्य घाउ पनि कर्णको मनमा थियो होला । उता “अन्धाको छोरो अन्धो” यसले पनि द्रौपदीलाई जुवा घरसम्म पु¥यायो । कहानी रोचक बनाएकै हो ।
यिनै कारणहरुले गर्दा कर्णले पनि जीवनमा पहलो र अन्तिम भूल गरे पान्चालीलाई पनि कर्णले वेश्या भनेका थिए । अब शकुनीको पालो । शकुनीलाई शकुनी बनाएको पितामह भीष्मले हो । धृतराष्ट्रलाई गाान्धारीको अयोग्य मान्थे शकुनी, तर भीष्मको शक्ति अजेय, कहानीअनुसार । यता विदुरको वाक पटुताको शिकार बने धृतराष्ट्र, आखिर धृतराष्ट्र नै राजा भए त, पहिले नै बन्न दिएको भए कहानी अर्कै हुने थियो । हस्तिनापुर र इन्द्रप्रस्थ बन्ने नै थिएन ।
विशाल भारत तीन टुक्रा भएर कसलाई फाइदा भएको छ, अहिले पनि । देश जति ठूलो हुन्छ आम जनतालाई त्यति नै बढी राहत हुने सम्भावना हुन्छ । महाभारतको त्यो अकल्पनीय युद्धको एक कारण, खास कारण, राजा शान्तनु हुन् । भीष्म प्रतिज्ञा हो । त्यति ठूलो राजा एउटी युवतीको मायाजालमा फस्ने ? देवब्रत नै राजा भएका भए कुरा अर्कै हुने थियो । ‘पुत्रमोह’ मात्र होइन ‘पितामोह’ले पनि कुरुक्षेत्र र शरशैयाँसम्म पु¥यायो पितामहलाई । निर्दोषहरु बाध्य भएर दोषी भए । महाभारतमा हरेक पात्र विवश । अब दुःशासनको पालो, दुःशासनको दाजुको भक्त, त्रेता युगमा रामको भक्त लक्ष्मण भएजस्तै । अनि आजसम्म हामी कसैको पनि ध्यान नपुगेको कुरा दुःशासनको अभिव्यक्तिमा, उनले एक ठाउँमा राय प्रकट गर्दै भनेका छन्, “हामी पाँच पाण्डवलाई किन आफ्नो कुटुम्बहरु मान्ने ? कुन्ती काकी र माद्री काकीले ककसको बिउबाट जन्माएका मान्छेहरु कसरी आफन्त भए ? उनीहरु गैर हुन् हाम्रा खानदानको लागि ।” दुःशासनको स्वर दबाइएको छ । देवत्वकरण र राक्षसीकरणमा मानिसहरु उहिल्यैदेखि पोख्त थिए । अब हेरौं ‘कृष्ण लिला’ हेर्दा भगवान नै मानिए पनि, चमत्कारहरु गरेर स्थापित भएका भए पनि उनले पाण्डवहरुलाई अन्धाकारमा राखे । ‘राधेय होइनन् कर्ण, जेष्ठ कौन्तय हुन्’ भन्न कसले रोक्यो त देवकीनन्दनलाई ? पाँच पाण्डवको सामुन्नेमा यो भेद खोलिदिएको भए उनको के जाने थियो ? यो पनि एक तर्क हो । त्यो चाहिँ कहानी लेख्ने अद्भूत दिमागवालाको चमत्कार हो ।
युद्ध पनि मानव सभ्यताको एक अभिन्न अंग रहेछ, परापूर्व कालदेखि नै । गलत कुराहरु पौराणिक इतिहासमा, असभ्य कुराहरु आधुनिक इतिहासमा, गुमराह, गुमराह, गुमराह, कलियुगे राम, मेरो साथी, सनराइजको ११ सूर्यहरु मध्येका एक सौम्य सूर्य रामजी अर्यालले ‘गुमराह’ शब्दलाई सही ‘राह’ देखाएर २०८० साल साउन ८ गते आफ्नो भित्तोमा, सामाजिक सन्जालमा लेखे । उनलाई पनि लाग्यो हामी सबै गुमराह भइरहेका छौं । वास्तवमा ‘धोका’ वा ‘गुमराह’ मानव जीवनमा सामान्य कुरा रहेछ । म पनि जीवनमा पटक–पटक गुमराह बनाइएँ । मान्छे चिन्न सकिएन । गुमराह भइयो । अति नजीक बनाउनु भनेको ठूलो जोखिम रहेछ । यही लेखमाथि कलम कुदाइरहेको बेलामा जागरणे अभियन्ता, बालसखा एक युवासहित गृह प्रवेश गरे । उनी अलि बेग्लै खालको आध्यात्मिक यात्रामा छन् । युवा विदुरलाई भनियो, “सम्पूर्ण पौराणिक कथाहरु काल्पनिक हुन् । यो धर्म र त्यो धर्म भनेर झगडा गर्नु अर्थहीन हो । मान्छेले, अन्तमा खोज्ने प्रेम र शान्ति हो । तर, पौराणिक कहानीहरु, थाहा पाउनुपर्छ । पाठ हुन्छ । मानवीय प्रवृत्तिको बयान मिल्छ ।
धार्मिक वा आध्यात्मिक मार्गले मान्छेहरुलाई आस्थादास बनाउने होइन, दिमागमा अन्धविश्वास भरिदिने मात्रै होइन, औसत मानिसहरु अन्धभक्त हुन्छन् । जेमा पनि अन्धभक्त हुन्छन् । समस्या तिनै चेतना शून्य, विवेकहीन अन्धभक्तहरुको मूढता हो । स्वाभिमानी नागरिक बनाउने हो, शिर ठाडो गरेर कर्मयोगी र इमान्दार बन्ने संस्कारयुक्त आम नागरिक भएमा, उनीहरुले आफ्नो अधिकार खोज्नेछन् र कर्तव्यबोध पनि गर्नेछन् । दायित्व बोधसहितको अधिकारको सदुपयोग भनेको बत्तीस लक्षणले युक्त छन्द कविताजस्तै छ । अब्बल र प्रभावकारी ‘शेर’ जस्तै हो । कर्तव्य पालना नगर्ने नालायक कामचोर नागरिकलाई अधिकार नदिए पनि फरक पर्दैन । समाजलाई धर्मले गुमराह गर्नुहुन्न । तर, बिडम्बना, राजनीतिभन्दा बढी धर्मले आम मानिसहरुलाई गुमराह बनाइरहेको छ । त्यसमाथि स्वस्थानी परम्परा र भाग्यवाद हावी भएपछि, ‘लुतो माथि कोढ’ अर्थात् ‘एक तो करेली उपरसे नीम चढी’ धर्मभीरु अन्धविश्वासी भेडाहरुमाथि शासन गर्न सजिलो हुन्छ । ‘मोदी’ सफल हुनुको मूल कारण त्यही हो । यस्तो लाग्छ, यो एशिया महादेशमा मान्छे होइन, भेडाबाख्राहरु नै बस्छन् । धर्म उन्मादीहरुको ताल देख्दा दिक्क लाग्छ । धर्मको मार्ग अनुशासन र गन्तव्य मानवकल्याण हो । अब आम नागरिकहरुलाई गुमराह बनाउने काम राजनीतिले जाँगर लगाएरै गरेको छ । कति गुमराह हुने ?
हृदयभरी पुँजीवादको सपना बोकेर हिँडेका राता फूलहरु निर्लज्ज भएर आफूलाई ‘कम्युनिस्ट’ भन्छन् । कम्युनिस्ट शब्दको घोर अपमान नेपालमा जति अन्त भएको छैन । सैद्धान्तिक कम्युनिस्टलाई म मान्दिन कम्युनिस्ट । धोका, धोका र धोका, अनुयायीहरु बनेका, त्यो पनि बलिको ! अब आयो कुरा तथाकथित् प्रजातन्त्रवादीहरु, यिनीहरुमा कहिल्यै योग्यता थिएन र यिनीहरुले प्रजातन्त्रको परिभाषा नै बुझेका छैनन् । सुम्निमाका सन्तानहरु अझ बढी गुमराह, अझै २०० वर्ष मानिसहरु गुमराह नै हुन्छन् । गुमराह हुनु हाम्रो स्थायी नियती हो । यस्तै लाग्छ । सत्य नभए हुन्थ्यो ।
–प्रदीप सापकोटा
मुक्तक भन्नासाथ कविताको सानो रूप बुझिन्छ । मुक्तकले अत्यन्तै थोरै शब्दमा धेरै कुरालाई उजागर गर्दछ । यो अहिले साहित्यको स्वतन्त्र विधाको रूपमा लोकप्रिय छ । यसले भावलाई पोख्छ । यसमा चतुष्पदीय हरफ भित्र तुक प्रयोग गरेर पहिलो र दोस्रो हरफ लेखिन्छ भने तेस्रो हरफ स्वतन्त्र हुन्छ । अन्तिम हरफ पहिलो र दोस्रोसँग मिलेको हुनुपर्छ । कुनै पनि मुक्तकको पहिलो हरफले मुक्तकमा लेखिने विषयवस्तुको उठान गरेको हुन्छ, यसको समर्थनमा दोस्रो हरफ रहन्छ र तेस्रो हरफले स्वतन्त्ररूपमा मुक्तकको पृष्ठभूमि उजागर गर्छ र अन्त्यमा चौथो हरफले वजनदार झड्का दिन्छ । अन्त्यानुप्रास मिलेमा मात्र मुक्तक बन्छ । मुक्तकमा कमभन्दा कम शब्द प्रयोग गर्नु राम्रो मानिन्छ ।
दिलिप योञ्जन तामाङ्ग गीत र मुक्तकमा जमेको नाम हो । उनका करिब एक दर्जन कृतिहरु प्रकाशित भैसकेका छन् । यस्तै कृतिमध्येको अमर मुक्तकसंग्रहभित्र दुई सय ६४ वटा मुक्तकहरु समेटेर प्रकाशनमा ल्याएका छन् । यसमा माया प्रेम, सम्बन्धका विषय अटेका छन् । दिलिपले कतै वर्तमान फोहोरी राजनीतिप्रति दिक्क भएर तिखो प्रहार गरेका छन् भने कतै वर्तमान समयको स्थार्थ, जालझेलको बारेमा बोलेका छन् । राष्ट्रियताको पक्षमा उनको दृढता पनि मुक्तकको विषय बनेको देखिन्छ । सर्वसाधारण आम मान्छेका पीडाको आगो ओकल्छन् । सर्वसाधारण मान्छेहरुलाई भर्याङ्ग बनाएर सत्तारोहण गर्ने प्रयासरत नेताहरु सत्तासिन भएसँगै आफ्ना बाचावन्धन भुलेर स्वार्थको आहालमा पौडि खेलिरहेको यथार्थलाई उनले मुक्तकको विषय बनाएका छन् । पदासिन भएपनि विचारको ढर्रा पुरातन भएकैले जनताले दुःख खेपिरहेको यथार्थलाई सबै सामु राख्छन् उनी । पात्र जो कोही भएपनि परिपाटी, व्यवहार, आचरण र प्रवृत्ति उही भएकोले जनता मारमा परेको उनको ठम्याई छ । चुनावमा मात्र खोक्रा आश्वासन बाँड्ने नेपाली नेताहरुको फेरिएको बोली र व्यवहारले मुक्तककारलाई दिक्क बनाउँछ । सर्सर्ती हेर्दा दिलिपका मुक्तकहरु विषयगत विविधतामा देखिन्छन् ।
राष्ट्रियताको भावले ओतप्रोत मुक्तक हेरौंः
तिमी टन्न अघाएको देख्दा, मलाई भोकै बस्न मन लाग्छ
तिमीले देश डुबाएको देख्दा,मेरो रगत उम्लँदै गाग्छ
सुन्दर मेरो देश लुछाचुँडी गरेर बाँड्यौ, चपायौ, पचायौ
देशको माटो बेच्नेलाई देख्दा, जिउँदै जलाउँझै भाग्छ (पृष्ठः६४)
माथिको मुक्तकले देशलाई डुबाउनेहरूप्रति धावा बोलिएको छ । मनैदेखि आक्रोश व्यक्त गरिएको छ । मुक्तककार आफ्नो राष्ट्र र राष्ट्रियताप्रति संवेदनशिल रहेका छन् भन्ने संकेत गरेको छ । आफ्नो माटोको माया लाग्छ उनलाई । अरुको अपमान र घृणा सह्य गर्दैनन् । यति सुन्दर देश विकृत बनेकोमा उनलाई दुःख लाग्छ । दिलिप समसमायिक नेपाली परिवेश,राजनीति,विचारदर्शन,व्यक्तिका स्वार्थपना लगायतका विषयमा मुक्तक मार्फत व्यंग्य प्रहार गर्छन् । कुर्सीमोहले देश बिग्रहको ठहर गर्छन् । भाषणले गरीबको पेट नभरिने कुरा गर्छन् । जनताको दुःखमा ध्यान नदिने प्रति कटाक्ष गर्छन् यसरी :
खाली भाषण, देशको मुहार फेर्ने कोही छैन
आफ्नो भुँडी छोडी जनतालाई टेर्ने कोही छैन
भागवण्डा लाउँछन् कुर्सी खान बाँडीचुँडी
मरे जनता बाँच्ने आशमा, हेर्ने कोही छैन् । (पेजः ५७)
यसरी प्रवृत्तिगत रूपमा भन्ने हो भने अमरमा समावेश प्रायः मुक्तकहरु व्यंग्य प्रधान देखिन्छन् । सामाजिक उत्तर दायित्ववाट कुनैपनि सचेत मान्छे पर भाग्न मिल्दैन् यसमा उक्त उत्तरदायित्ववोध गरेर विकृत मानसिकतामाथि चर्काे प्रहार गर्छन् । विकासका पक्षधर मुक्तककारलाई नेपालको विकासे परिपाटीदेखि दिक्क लाग्छ । जलश्रोतको धनी मुलुक बिजुली अन्तबाट आयात गर्छ । अनि यहाँका बेथिति प्रति मन दुख्छ अनि पोखिन्छन दिलिप :
जुन देश जलको धनी,उसैले विजुली किन्छ
माटो र आमाको माया छैन्, कसरी देश चिन्छ
माटो,पानी बेचेर बाँचेपनि जिउँदै त्यो मरेसरी
आफ्नै स्वार्थ सर्वाेपरी हुनेले, देशलाई के दिन्छ ?
मायाप्रीतिका प्रेमिल भाव, मायाप्रीतिका तरंगहरुलाई पनि उनलाई छुन्छ । प्रेम पीडा, प्रेममा पाइने फूलको महकता, प्रेम सम्बन्धमा छाउँने तुवाँलो, प्रेममा सम्मोहित भएको समय,प्रेमको अनुभूतिमा लछप्पै भिज्न रुचाउँछन् तामाङ । प्रेमविना संसार सम्भव थिएन उनको ठोकुवा छ । प्रेममा अल्झिएका उनी रोमान्टिक पनि लाग्छन् । प्रेमको विशालताको मापन गर्न मुस्किल पर्ने कुरामा सावधान पनि गराउँछन् । प्रेमविना मानिसको जीवन सहज नहुनेतर्फ पनि उनी सतर्क छन् । प्रेम नै सुख हो भन्ने उनको अनुभूति छ । अनि उनी प्रेमसँग देशको माया जोड्न रुचि राख्छन् :
फूलसरी फुल्नुपर्छ, सुवास छरी वरिपरि
मनभित्र सजाउनुपर्छ, सुवास छरी मनैभरि
चोखो माया पवित्र हुन्छ, रहन्छ बनी अमर
हाँसी खुशी बाँच्नुपर्छ, देशको माया गरी ।(पेज ४६)
कुनैपनि कुराले छोएपछि मात्र लेख्छन् दिलिप । विषयको गहिराईमा पुगेर कुनैपनि कुराको अनुभुतिले मात्र लेख्छन् । राजनीति, जनताका अभाव गरिबी, पीडा, प्रेम आदि विषयमा उनका मुक्तक छन् । राजनीतिक रूपमा चाँडो चाँडो परिवर्तन भएको देखेभोगेका उनी आर्थिकरूपमा गरिबी अभाव र भ्रष्टाचारको विपक्षमा उभिएका छन् । जनताको मनोव्यथालाई मुक्तकमा बोल्दछन् । उनका मुक्तकमा देश प्रेम पनि पोखिएको छ । युगबोधका दृष्टिले बलिष्ठ लाग्छन् ।
उनी आफ्ना मुक्तकहरुलाई लयात्मकताले पुष्ठ पार्न खप्पिस छन् । भाषिक शब्द चयनले मुक्तकमा मिठास भर्न सिपालु छन् । थोरै शब्दमा धेरै आशय व्यक्त गर्न सक्नु मुक्तकको विशेषता मानिन्छ । यो दृष्टिले उनका मुक्तक सार्थक लाग्छन् । समयचेतले सान्दर्भिक, राजनीतिक अस्तव्यस्तता प्रतिको तीखो छेडखान,मानविय भाव र संबेदनाले भरिपूर्ण उनका मुक्तकले निराशासँगै आशावादीताको संचार पनि गरेका छन् । सामयिकताको गोलचक्कर वरिपरि छन् मुक्तकहरु भन्दा फरक पर्दैन ।
संरचनात्मक हिसावले उनको मुक्तक शिल्प राम्रो छ । भाषिक शिल्प राम्रो छ । कलात्मकताको लेपन आवश्यकताअनुसार भएको छ । चोटिला, स्वादिला मुक्तकले पाठकलाई स्वादन गराउन सक्छ । अनुभुतिलाई तिव्रतर रूपमा अभिव्यक्त गर्न मुक्तकहरु सफल देखिएका छन् । कुनैपनि मुक्तक झरिलो, खिरिलो, रसिलो र स्वादिलो हुनपर्छ । मुक्तक कलात्मक छोटा कविताको तस्विर भएकोले झट्ट हेर्नासाथ के भन्न खोजेको हो, के सन्देश दिन खोजेको हो प्रष्टताकासाथ सम्बोधन गर्न सक्ने हुनुपर्छ । चतुस्पदी मुक्तकको महत्वपूर्ण पक्ष हो । यी सबै हिसाबले दिलिपलाई अमर मुक्तक संग्रहले थप परिचित गराएको छ ।
समसामयिकताले छुन्छ उनलाई । मानवतावादी उनी कर्ममा विश्वास राख्ने कुरामा जोड दिन्छन् । थोत्रा र युग नसुहाउँदा संस्कृतिको विरुद्ध शंखघोष गर्छन् उनी । सिर्जनशिलतामा चासो र चिन्ता लिन्छन् उनी । यथार्थवादी उनी मनको हार्दिक भाव पोख्न सीपालु छन् । मीठो भावमा प्रस्तुत हुनसक्नु उनको विशेषता लाग्छ । व्यङ्गात्मक चेत भएका उनी सामाजिक उत्तरदायित्व र मानविय संवेदनाबाट नभाग्ने कुरा मुक्तकमा समेत छताछुल्ल भएको छ । समाजका हर क्षेत्रलाई आफ्ना मुक्तकका हरफहरुमा समेट्न सफल प्रयास गरेका छन् । मुक्तक आफैंमा पूर्ण हुन्छ यसमा शिर्षकको जरुरी पर्दैन । शब्द र विम्बहरुलाई अत्यन्तै सुन्दर रूपमा चयन गर्न सक्दा मुक्तक राम्रो हुने कुरामा शंका छैन् दिलीपले यस संग्रहमा यस्तै गरेका छन् । आवरणको कलाशिल्प पनि राम्रै छ । काव्यशिल्पका हिसावले सरल,मीठासयुक्त भएको आभास मुक्तक पढ्ने जो कोहीलाई हुन्छ ।
अन्त्यमा, लाग्छ दुनियाँमा कुनैपनि कुरा आफैंमा पूर्ण हुँदैन । यसैले कुनैपनि सज्रकको सृजना आफैंमा पूर्ण नहुनपनि सक्छ दिलीपको सन्दर्भमा पनि त्यहि कुरा लागू हुन्छ । तर पनि मुक्तक अक्करिला लागेका छन् मलाई । यादगर र मन पसंद छन् । त्यसैले यति लेख्ने धृष्टता गरेँ । नेपाली साहित्यको फूलवारीमा उनले अझै भरपूर मुक्तकरूपी फूलहरु रोप्दै जाउन शुभकामना ।
इमेल : psmile333@gmail.com
–बलराम तिमिल्सिना
एक्काइस एक्काइस पटक
क्षेत्रीयहरू समेतको कत्लेआम गरेर
बाबुको आदेशमा
आफ्नै आमा समेतको हत्या गरेर
कत्रो दुःखले
स्थापना गरेको हो
यो ब्राह्मण धर्म
यो पुरुष धर्म
भन्नलाई कसैले हिन्दू धर्म किन नभनोस्
हिन्दू धर्म भन्दै बढी फाइदा छ
भनुुन लाटाहरूले हिन्दू धर्म नै भनुुन ।
कुन वेद लेखेको छ क्षेत्रीले ?
कुन पुराण लेखेको छ वैश्यले ?
कुन उपनिषद लेखेको छ शूद्रले ?
धर्मको व्याख्या,
धर्मको ठेक्का
र धर्मको रक्षा
कुन जातले गरेको छ आजसम्म ?
जसको हातले लेख्यो
उसैको हीतमा लेख्यो
जुन जातले लेख्यो
उसैको मनले लेख्यो
कस्तो मिलाएर लेखेको छ हेरौं त
सबैभन्दा सिरानमा आफू
आफूभन्दा तल तर नजिकै क्षेत्री
क्षेत्रीभन्दा तल वैश्य
र सबैभन्दा पुछारमा शूद्र
ब्राह्मण बाहेकको हातले लेखेको भए
के यसरी लेख्ने सम्भव थियो ?
यस्तो काइदाको मान्यता
ब्राह्मण मान्यता नभएर अरु हुन सक्ला ?
सम्भवै छैन नि !
भन्नेहरू हिन्दुु धर्म भनेर अल्मलियुुन
झगडै गरून
कुस्ती नै खेलुुन
झन मज्जा भएन त
फाइदै फाइदा
आहा क्या काइदा !
क्षेत्रीयहरू खै तिम्रो धर्म ?
वैश्यहरू खै तिमीहरूको धर्म ?
अनि शूद्रहरू तिमीहरूको धर्म खोइ नि ?
जे कुरालाई तिमीहरू धर्म भनिरहेका छौ
त्यो कुरा धर्म नै हो त ?
तिम्रो पनि हो त ?
म त भन्छु–
सके मानिसहरू धर्मबाट मुक्त होऊन
सक्दैनौ भने
आफ्नो आफ्नो धर्म मान
ब्राह्मण धर्मलाई
मेरो पनि धर्म हो भनेर
ब्राह्मण बाहेककाहरूले
पैँचोमा धर्म मान्न आवश्यक छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies