–धनराज गिरी
अस्मिता, उनको नाम अस्मिता शर्मा । पहिले उनका बाआमाहरू बसेको बर्मा । यतिखेर आलोकनगर शहरमा चार पुस्ता बसे । त्यो रुबीको पवित्र भूमिमा र फर्किए नेपाल, जसरी अरू नेपालीहरू फर्किएका थिए । यसमा राजा महेन्द्रको भूमिका पनि महत्वपूर्ण थियो । परिवार नै अवतारलाई अति मान्ने, दाजी रघुनाथ शर्मा भने राता फूलहरूको प्रतिकूल थिए । जोगिएर हिँडे । रघुनाथ शर्माको अति मिल्ने सहपाठी कल्याणनाथ विवेकी, घर आदर्शनगर, विवेकी साँच्चिनै आदर्शवादी । घरमा बा, आमा, दाजु रघुनाथ र भाइ रवि शर्मा, सबैको पढाइ अब्बल ।
अस्मिता स्नातक दोस्रो वर्षमा, अति राम्री, तर गम्भीर र अन्तरमुखी । एक दिन, उनी एक्लै घरमा बसेर पढिरहेकी थिइन, अचानक आइपुग्यो दाजुको साथी कल्याणनाथ विवेकी, पुसको महिना, अति जाडो । अस्मिता र कल्याण गफ्फिए । परिवारका चारै सदस्य टाढा आफन्तको घरमा पूजामा गएका रहेछन् । पूर्ण परिचित कल्याणमाथि अस्मिताको पूर्ण भरोसा, कल्याणकी बैनी करुणासित उनको गहिरो मित्रता, सहपाठी । “पढाइ कस्तो चलिरहेछ त अस्मिता ?” कल्याणले पढाइको कुरा शुरु गर्यो ।
“सबै राम्रै छ, तर यो कलेजमा नोट लेखाउने चलन मलाई कत्ति पनि मन परेन । अंग्रेजीको पढाइ त्यति गतिलो छैन । हजुर त अंग्रेजीमा एम.ए. होइन ?”
“हो त, म विद्यावारिधि गरेर मात्रै पढाउने सोचमा छु । यो नोट परम्परा, यो विद्यार्थी राजनीति, यी सबै कुराहरू सरस्वतीको मन्दिरका लागि अभिशाप हुन् । तिमीलाई राजनीतिमा चाख छ ?”
“छैन, छैन, विचरा अल्लारे युवक र युवतीहरूलाई मोहोरा बनाएर दुई÷चार वन्चकलालहरू शीर्षमा पुगी रजगज गर्ने योजना हो । सबै थाहा छ दाजी, मलाई साहित्य पढ्नु छ । पढाउने हो । बरु दाजी, मलाई अंग्रेजीको एउटा पाठ पढाइदिनुहोस् न है, कविता हो । हाम्रो मोहन कोइरालाको फर्सीको जराजस्तै लाग्यो । केही बुझिन । कक्षामा गुरुले नेपालीमा अनुवाद गरेर छोडिदिए । नेपालीमा अंग्रेजी पढाउने चलन आयो । म किताब लिएर आउँछु ।”
अस्मिता किताब लिन गइन् । टेबुलमा गरिमा थियो । कल्याणनाथ गरिमा पढ्न थाल्यो । अस्मिता किताब लिएर आइन् । सोफामा एकसाथ, नजिकै । टाँसिएर बसिन् । कुमार हो कल्याणनाथ, स्त्री स्पर्शले अलिकता झंक्रित भयो । अस्मिताको हातले उसको हात छोयो । मुलायम स्पर्श, दैवी आनन्द अनुभूत गर्यो । अस्मिताको लामो केशराशी हावाले उडाएर उसको गालासम्म ल्यायो । अनौठो मादकता अनुभूत गर्यो । अचानक अस्मिताको पछ्यौरा भुँइमा खस्यो । पुरुष आँखाहरू हुन्, त्यही भयो, जे करोडौं वर्षदेखि हुँदै आएको थियो । तात्यो कल्याण । काखमा लियो अस्मितालाई । “दाजी, के भयो हजुरलाई ? हजुर होशमा त हुनुहुन्छ ?” कराइन् अस्मिता ।
बाघले मृगलाई झम्टिए जसरी झम्टियो, कल्याणको विवेक निदाइसकेको थियो । “पापी, हरामी, आफ्नै साथीको बैनीमाथि.......” शक्तिको सामुन्ने के लाग्ने ?
प्रतिकारमाथि प्रतिकार गर्दा पनि अस्मिताले आफ्नो अस्मिता जोगाउन सकिनन् । ठण्डा भएर बाटो लाग्यो कल्याणनाथ विवेकी, आफ्नै कारमा । ऊ सम्पन्न परिवारको एक मात्र छोरो थियो, बैनी करुणा । अस्मिता बेहोस । दुई घण्टामा होश आयो ।
“अब के गर्ने ?” किंकर्तव्यविमूढ । राति आए परिवार, ११ बजे । आमाको काखमा घोप्टो परेर रोइन् र सम्पूर्ण दुर्घटना बताइन् । रघुनाथ आगो भयो, बाउ बेहोस ! रातभरि सुत्न सकेनन् । उज्यालो भयो । थानामा गएर बलात्कारको मुद्दा दर्ता गरे । तुरुन्त प्रहरीहरू रघुनाथसहित लागे आदर्शनगरतिर । कल्याणको घरमा गए । सबै कुरा सामान्य छ, तर कल्याण छैन । कल्याणको कोठामा गए । एउटा चीट टेबुलमा, “म पापी हुँ, अपराधी हुँ । मलाई नखोज्नू । सम्झिनु, म मरेँ ।” यत्ति लेखिएको थियो । “साला, कुत्ता, अपराधी, मरे हुन्छ । फेला पारेको भए म हरामीलाई मारेर जेल जाने थिए ।” रघुनाथको मनले भन्यो ।
प्रहरीहरू फर्किए । व्यापक खोजी भयो । पत्रिकामा तस्वीरसहित जन्मियो आदर्शनगरमा । छोराको कारणले परिवारकै बेइज्ज भयो । कृपनाथ शर्मा, कल्याणका पिताले सम्पूर्ण सम्पत्ति बेचबिखन गरेर बसाइँ सरे, कसैलाई पनि थाहा नदिइकन ।
सेकेण्ड, मिनेट, घण्टा, दिन, रात, हप्ता महिना गर्दागर्दै नौ महिना बित्यो । अस्मिताले एउटी फूलजस्ती बच्चीलाई धरतीमा उतारिन् । सबैले सहानुभूति प्रकट गरे । भित्रभित्र बदनाम हुनुपर्ने हो, त्यस्तो भएन । आलोकनगरमा रघुनाथको परिवारले टाउको निहुर्याउन परेन । एम.ए.एड. अस्मिताले कलेजमा पढाउन थालिन् । यो काम छोरी ६ वर्षकी हुँदा आरम्भ भयो । “यिनी त एक देवी हुन्, साहसी हुन् । उस्तै केटी भए आत्महत्या गर्थे । बहादुर केटी !” सबैको मुखमा अस्मिताको नाम र तारीफ ।
“कुमारी आमा” यो पदक पनि पाइन् । “छोरी, जे भयो, घरबार त चाहिन्छ । त्यस्तै उदार पात्र खोजेर युग्म हुने कि ?” आमाको प्रस्ताव । घर सल्लाह भएको थियो ।
“आमा, मलाई पुरुषगन्धले पोल्छ, म कुनै पनि पुरुषको नजीक पर्दा त्यो दनुजको अनुहार सम्झन्छु, आगो हुन्छु । मनमा सुनामी लहर चल्छ । यसैले अब आइन्दा यस्तो प्रस्ताव नल्याउनुहोला । म मेरो जीवन यही छोरी ‘अपराजिता’ र आफ्ना मातापिताका नाममा अर्पण गर्नेछु । साहित्यले मेरो मन बहलाउनेछ ।”
त्यसपछि अस्मितालाई कसैलेपनि सम्झाएनन् । सहकर्मी साथी कुमार यात्रीले प्रस्ताव राखेका थिए । “कुमारजी, धन्यवाद । मलाई मेरो एकान्त धेरै प्यारो छ । नारी पनि पूर्ण मान्छे नै हुन् । पुरुष नामको वैशाखी चाहिन्न । सद्भाव हो हजुरको । हजूर असल मान्छे हो । जुठो थालमा किन भात खानुहुन्छ ?”
त्यसपछि अस्मितासित कसैले पनि आँखामा आँखा मिलाएर कुरा गर्न सकेन । उनका लेख रचनाहरू भटाभट छापिन थाले । पढाउने र सिर्जना गर्ने, उनको दिनचर्या । सात वटा किताबहरू प्रकाशित भए । अंग्रेजीमा दुईवटा । अस्मिताकी छोरी अपराजिता, आमाकै फोटो कपि । प्रथम, प्रथम, प्रथम, एम.ए.सम्म प्रथम । समय चिप्लेको थाहा नै भएन । अपराजिता पनि २५ वर्षकी, आमा ४५, तर अस्मिता पनि ३० की जस्ती । आमाछोरीमा अध्यात्मले पनि प्रवेश गर्यो । आलोकनगरको शिव मन्दिर, भव्य । बाटिका । नयाँ पुजारी आए । डम्म दाढी, तेजिला आँखा । स्वयम् महादेवजस्ता । अस्मिता र अपराजिता हरेक दिन मन्दिरमा जान्थे ।
पुजारीसित परिचय भयो । “आयुष्मान भव पुत्री” भने अपराजितालाई । “सोभाग्यवती भव” भने अस्मितालाई । “पुजारीज्यू, यो आशर्विाद फिर्ता लिनुहोस्” गम्भीर स्वरमा बोलिन् अस्मिता । “देवीजी” नम्र भएर बोले पुजारी, “महादेवको प्रसाद हो यो आशीर्वाद, फिर्ता हुन्न । किन यसो भन्नुभयो, थाहा छैन । आशुतोषको कृपाले सबै कुरा ठीक हुनसक्छ ।” अचम्मको भाषा प्रयोग गर्यो पुजारीले । छोरी लिएर फर्किइन् अस्मिता ।
क्याम्पस प्रमुख बनिन् अस्मिता, आफ्नो ठाउँमा छोरी । छोरी गोल्ड मेडलिस्ट । एक दिन, “आमा, आज मलाई सहकर्मी पूजाले मलाई “ड्याडी” मेरो बा कोहो ? भनेर सोधी । आमा, मकसको छोरी हुँ ?” २५ वर्षमा नभएको कुरा आज भयो ।
दृढ स्वरमा बोलिन् अस्मिता, “लवकुशले पिता खोजेनन् । म तिम्रो लागि सीता पनि राम पनि । किन चाहियो बा ? बाआमा दुबै म हुँ, म !”
“आमा, .......” मज्जाले रोई छोरी । “अब म यस्तो प्रश्न गर्ने छैन, छोरीले हजूरले खाटा बसेको घाउ कोट्याउने छैन ।” त्यसपछि अस्मिताले पूरै कथा सुनाइन् ।
“आमा, ती पात्र पापी कि देवता त ? पाप कर्म थियो । गलत थियो । तर परिणाम ? आमा, अलि गहिरिएर सोच्नुहोस् त, यदि त्यो दिन त्यो दुर्घटना नभएको भए आज हजुरको काखमा यो छोरी हुन्थी ? आमा, यो दुनियाँ अचम्मको छ । मेरो अति नै आदरणीय गुरुदेव प्रोफेसर जगमोहन आजादले भन्नुहुन्थ्यो, “गल्ती पनि सधैँ गल्ती हुन्न । दुःख पनि सधैँ दुःख हुन्न । नराम्रो गर्दा राम्रो हुने र राम्रो गर्दा नराम्रो हुने घटनाहरू दुनियाँमा अनन्त । हो, मैले नदेखेको “मेरा बा” कर्मले पापी नै हुन्, बलात्कारी नै हुन् । तर, म छोरीका लागि त “बा” हुन्, देवता हुन् । त्यो बिन्दुमा हो त्यो कर्म अपराध नै थियो, यो बिन्दुमा त त्यो अपराधको विनिर्माण भएन र आमा ?”
“आम्मै, आज त नदेखेको अपराधी बाउको पक्षमा यत्रो वकालत ? पापीलाई देवता भन्ने ?”
“आमा, यो दुनियाँमा यस्तो दुर्घटना व्यहोर्ने नारी हजूर पहिलो र अन्तिम होइन, धन्न हजुर बहादुर बन्नुभयो, समाज पनि विवेकी भयो, आत्महत्या गर्नुभएन, आज म पनि यति सुन्दर संसारमा छु । यो सुन्दर संसारमा विचरण गर्न आउन पाएको, भीसा लागेको त, पापी बा “कल्याणनाथ विवेकी”ले गर्दा पनि हो नि, होइन र ? मैले त मेरो पापी बालाई क्षमा गरेँ । सक्नुहुन्छ भने हजूरले पनि क्षमा गरिदिनुहोस् । मन हल्का हुन्छ ।”
“यो क्षमादानको पाठ सिकाएको पनि तिम्रै गुरु प्रोफेसर जगमोहन आजादले होला, होइन ? महाभारतको किरो, चेलाचेलीको सामुन्नेमा हिरो, तेरो गुरुलाई मैले पनि चिनेकी छु ।”
“हो त आमा, गुरुदेवले भन्नुभयो, क्षमा माग्नु पर्छ, गल्ती गरिएमा, क्षमा दिनुपर्छ, अक्षम्य नभएमा । त्यो बिन्दुमा अक्षम्य अपराध थियो, पक्कै । तर अब त समय उही रहेन । आमा, मेरो बालाई क्षमा गर्नुहोस् है, मेरो लागि भए पनि ।”
“ल,ल, मलाई सोच्न देऊ, भेट भए पो क्षमा दिनु !”
“संसार हो आमा, मलाई त मेरो बा आउनुहुन्छ जस्तो लाग्छ ।” अपराजिताको आत्मविश्वास । “छोरीको सपना पूरा होस्, पापी देवता आऊन् ।” नरम स्वरमा बोलिन् अस्मिता ।
“रघुनाथ, म मरेको छैन । मर्ने विचारले नै घरबाट निस्किएको थिएँ, तर ज्यान फाल्न सकिन । म तेरो अपराधी हुँ । अस्मिताको अपराधी हुँ । आखिर जेल गएको भए पनि रिहा हुन्थें । २५ वर्ष भयो । म यही संसारमा छु । प्रकट हुन लज्जाबोध भइरहेछ । अस्मिता र अपराजिताको बारेमा जान्दछु । बरु मलाई आफ्ना आमाबा र बैनीको खबर भएन । साथी, यो पापीले योभन्दा बढी सजाय अरु के भोग्छ ? क्षमा गर्न सक्ने भए म प्रकट हुनेछु । “हामीले तँलाई क्षमा गर्यौं” भन्ने एउटा सन्देश सामाजिक सन्जालमा राख्नू, म हेर्छु । अनि म प्रकट हुनेछु । यतिखेर मलाई त म स्वयम्ले पनि चिन्दिन ।” यस्तो पत्र आयो रघुनाथको घरमा ।
अस्मिता र अपराजिताले पनि पढे । अपराजिता अति खुशी, मदनपुरस्कार पाएको सर्जकजस्तै । यो कुरा उनले आफ्नो गुरुदेव प्रोफेसर जगमोहन आजादलाई पनि सुनाइन् । रघुनाथ भने बोल्न सकेन । “बैनी, तिम्रो विचार । अभियुक्त खास तिम्रो हो । चोट त हामी सबैलाई लागेको हो, जीवन बर्वाद त तिम्रो भएको हो । तिमी नै प्रधानन्याधीश !”
“दाजी ... यो कस्तोे अग्निपरीक्षा हो ?” मज्जाले रोइन् क्याम्पस प्रमुख ।
भोलिपल्ट, खतरनाक दुर्घटना, अपराजिताको स्कुटीलाई एउटा डम्फरले ठक्कर दियो । स्कुटी धूलो भयो । अपराजिता बेहोश । तुरुन्तै प्रहरी आयो, उनलाई अस्पतालमा लगियो । “क्याम्पस प्रमुख अस्मिता शर्माकी सुपुत्री सहप्राध्यापक अपराजिता सिरियस, अस्पताल भर्ना” भाइरल भयो समाचार । प्रोफेसर जगमोहन आजाद अनुज बलराम दंगाललाई लिएर आयो । जिल्लाका साहित्यकारहरू पनि आए । संकट, अत्यधिक रगत बगेका कारणले अपराजितालाई होशमा ल्याउन चिकित्सक टोलीलाई गाह्रो भयो । अपराजिताको रगत समूहको रगतको स्टक अस्पतालमा शून्य । मुहार पुस्तिकामा सूचना प्रवाह गरियो । आधा घण्टामा अस्पतालमा शिवालयका पुजारी हाजिर । प्रोफेसर जगमोहन आजादसित आँखा जुधे । आजादले संकेत गरे । डाक्टर पुरस्कृत खनाल र डाक्टर दीपक गुप्तालाई पुजारीले भेटे, “बालिकालाई म दिन्छु रगत । मेरो ब्लड गु्रप यही हो । डाक्टर बाबु, ढिलो नगरौं ।”
अस्मिता र रघुनाथ आशावादी भए । “देवीजी, म आएँ । महादेवकी सौगन्ध मेरो आशीर्वाद खेर जान्न । १०० वर्ष आयु छ, हाम्री छोरीको !”
“हाम्री छोरी” अचानक पुजारीको मुखबाट निस्कियो । कसैले पनि ध्यान दिएनन् । प्रोफेसर जगमोहन आजादको अनुहारमा भने दैवी चमक थियो ।
“आमा...” होशमा आएपछि, अपराजिता । पुजारी गइसकेका थिए । सबै खुसी भए । १५ दिन अस्पताल बसेर अपराजिता घर आइन् । अस्मिता पनि बिदा लिएर बसेकी थिइन् । प्रोफेसर जगमोहन अजाद पनि आइरह्यो । रघुनाथलाई उसले “मित भान्जा” बनाएको थियो । “अपराजितालाई जीवनदान दिने पुजारी हुन् । एक पटक हामी सबै मन्दिर गएर शिवजीको दर्शन पनि गरौं र पुजारीलाई धन्यवाद पनि भनौं ।” आजादको प्रस्ताव । पारित भयो । “पुजारीजी खोई ?” मन्दिर पुगेर एक भक्तिनीसित, आजाद । “त्यो कोठामा हुनुहुन्छ, जान सक्नुहुन्छ ।” गए सबै । भित्र पसे, सन्नाटा ! सबै (आजाद बाहेक) स्तब्ध ।
“कल्याण, तिमी !” चिच्यायो रघुनाथ । “शान्त भान्जा, शान्त । पुजारी नै हुन् । जे, भयो भयो । त्यसै मिल्छ दुर्लभ रक्त समूह, अपराजिता, तिम्रो हराएको बा !” “बा...” फिल्मी भयो सबै । आजादले सबै हिसाब मिलायो । गोजीमा एउटा मंगलसूत्र र सिन्दूर लिएरै गएको थियो । अस्मिता र कल्याण एक भए । पुजारी पनि कलेजमा अंग्रेजी नै पढाउन थाले । यता नयाँ पुजारी नियुक्त गरिदिए । “पापी देवता”को विनिर्माण भयो ।
–रत्न प्रसाद अनामणी श्रेष्ठ
नेपालका मुकुट नाचहरूमध्ये भैरव नाच पनि एक हो । काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न स्थानहरूमा भैरव नाचको प्रदर्शन गर्ने गरिन्छ । यस नाचको स्थानअनुसार फरक–फरक भेषभूषा, स्थानअनुसार फरक–फरक मुकुट हुनुका साथै, नाचमा प्रयोग गरिने ताल र बाजाहरू पनि फरक–फरक देखिन्छ ।
विशेषगरी नेवारी समुदायले आफ्नो संस्कृतिको रूपमा नाचदै आएको भैरव नाच निकै लोकप्रिय हुनुका साथै शक्ति सञ्चयकर्ता र सुरक्षाका देवताको रूपमा मान्ने गरिन्छ ।
भैरव नाच काठमाडौं उपत्यका बाहेक अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेख, पोखरा, नुवाकोट, गुल्मी, कपिलवस्तु, रुपन्देहीलगायत विभिन्न स्थानहरूमा नाचने गरिन्छ । यीमध्ये विशेषगरी अर्घाखाँचीमा नाचिने भैरव नाचबारे यहाँ चर्चा गरिन्छ ।
अर्घाखाँचीमा नाचिने भैरव नाच नेवार समुदायको परम्परागत नाच भएतापनि नेवार बाहेक परियार समुदाय पनि संग्लन भएको देखिन्छ । परियार समुदायले झ्याली झुर्मा, कर्नल (थङकुरी), सनाई बजाइन्छ । यस नाचमा मृधुम (ठूलो खालको मादल)का साथै बाँसुरी पनि बजाइन्छ । भैरव नाच तान्त्रिक शक्ति मा आधारित नाच भएको हुँदा भैरव हुने व्यक्तिमा भैरव चढ्दछ । तिनीहरू काम्ने हुन्छ । नाच सुरु हुनुभन्दा अगाडि विशेष तान्त्रिक आराधना गरी पूजा गरिन्छ ।
यस नाच प्रदर्शन गर्ने क्रममा ठाउँ–ठाउँमा पुजा गरी भेटी चढाउने तथा बलि दिने चलन पनि रहेको छ । दर्शकको भाकलअनुसार पनि पुजा गर्ने गरिन्छ । नाचने क्रममा नाच्ने व्यक्ति लडेर घाउ चोटपटक लागेमा नराम्रो हुने भन्ने जनविश्वास रहेको छ । भैरव नाच सात वटा तालमा नाचिन्छ । नाच श्री कृष्ण जन्माष्टमीको दिन सुरु भइ कार्तिक औंसीसम्म नाचिने परम्परा रहेको छ ।
अर्घाखाँचीको भैरव नाचमा तीन वटा मुकुट लगाएर तीन जना नाचिन्छ । कालो मुकुट शिवजीको स्वरुप, रातो मुकुट देवीको स्वरुप हो भने सेतो मुकुट गणेशको स्वरुप रहेको जनविश्वास छ ।
अर्घाखाँचीमा भैरव नाचका साथै, अन्य नाचहरू डण्डा नाच, टाकनटुकन, घोडा नाच, लाहुरे लाहुरेनी नाच, चरा नाच आदि देखाउने गरिन्छ ।
भैरव नाच सात तालमा नाचिन्छ । छैठो तालमा धामीहरूलाई स्वतः देवता चढेर काम्ने र कामेको तालमा नै नाचने गरिन्छ । भैरव नाच सकिएपछि विभिन्न हास्यव्यंग्य प्रहसन हुनुको साथै भुच्याङ्ग, लठ्ठी नाच, लाटालाटी (दिसपाकु), भालु नाच आदि पनि देखाइन्छ ।
भनिन्छ कि देउसी भैलो खेल्नु अगाडि नै यस नाचको समापन गर्नुपर्छ । तान्त्रिक विधिबाट सुरु हुने यो नाच सूर्य अस्तबाट सुरु भइ सुर्य उदय हुनुभन्दा अगाडिसम्म नाचिन्छ । नेवारी समुदायमा भैरवलाई कुल देवताको रूपमा पुज्ने पनि गरिन्छ । भैरव नाचलाई पुजा गरेको खण्डमा रोगव्याधीबाट मुक्त हुने र आफूलाई ग्रह दशा लागेको छ भने राम्रो हुँदै जाने जनविश्वास गरिन्छ । कसै कसैले भैरवलाई भाकल पनि गर्ने गर्छन् । भाकल पूरा भएपछि भाले, मिठोको रोटी पनि चढाउने गरिन्छ ।
यो नाच कहिलेबाट सुरु भयो भन्ने यकिन नभएपनि ऐतिहासिक, पौराणिक र तान्त्रिक विधिअनुसार नाचने भएकोले नेवार समुदाय काठमाडौं उपत्यकाबाट बसाइँसराइ गर्ने क्रममा यो नाच पनि स्थानान्तरण भएको जनविश्वास छ । यस नाचलाई बचाइ राख्न स्थानीयहरू लागि परेका छन् । यसलाई प्रदर्शनकै क्रममा काठमाडौं हनुमानढोका तथा भारतमा समेत प्रदर्शन गरिसकेको कुरा स्थानीयहरू बताउँछन् ।
–लेखराज रेग्मी
बहुजन हिताय,
खै कसले आँकडा लिएर
हित चिताएर होला
केही गरिरहेको
लाग्दैन त्यस्तो तर
परिणाम आउनसक्छ त्यस्तो
एकाध पटक कहीँ कतै ।।
जसले बढी हल्लाखल्ला गर्छ
शंकाका नजर उठ्नु ठिकै छ
उसको बहुजन उ आफैं हो
परिवार हो र नातागोता
तर, सन्तुष्टि त्यहिँ छैन
हित महसुस गर्दैन उ आफैं ।।
जनताको लागि समर्पण
ढाबा खोलेजस्तै हो
व्यस्त सडकको छेउमा
सुनसान एकान्त र रमणीय
मानव बस्तीभन्दा टाढा
जहाँ सेवाको भाव उम्दा हुन्छ
सेवाग्राही कृतज्ञ हुन्छ खुशी हुन्छ
र फलिफाप पनि राम्रै हुन्छ
निष्काम कर्मको ब्यानर तर
हिसाब लाभको अंश अंशको
प्रत्येक दिन निर्निमेश सेवा ग्राहकको ।।
त्याग त अहंकारपूर्ण हुँदोरहेछ
बर्गेल्ती देखे भोगेको छु
त्यागीहरूका च्यादर भित्र
मैल झै कटकटिएका कपटहरू
ठगीको सर्वोत्कृष्ट नमुना ‘त्याग’ !
कृपया सादगीको प्रपञ्च पनि त्यस्तै हो ।।
हो भने परिणतिको यही हालत
मलाई मेरो लागि गर्न देउ काम
मेरो हितमा छ भने तिम्रो हित पनि
खुलस्त भन र गर जोडिएर केही
सायद बन्न सकौँला हामी
र गर्न सकौँला हाम्रो लागि केही
होइन भने म एक्लै काफी छु आफ्नो लागि
यस्तै चलेको छ समाज
यस्तै चलेको छ दुनियाँ
यस्तै चल्नुको नाम हो सायद
बसुधैव कुटुम्बकम ।।
जनकपुरधामः मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा शुक्रबार आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद रु. ५० हजारसहित सम्मान गरिएको हो ।
यसैगरी ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८०’ साहित्यकार देवराज पौडेललाई प्रदान गरिएको छ । उनलाई नगद रु. १० हजारसहित सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, मधेस प्रज्ञा प्रतिष्ठानका कुलपति रामभरोश कापरी ‘भ्रमर’लगायतले संयुक्तरूपमा कदरपत्र तथा नगदसहित पुस्कार प्रदान गरेका थिइ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहनार्थ उक्त पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार सम्मान तथा सिफारिस समितिको सिफारिसमा परिषद्ले गत भदौ २० गते गरेको निर्णयानुसार जोशीलाई ५० हजार राशिको उक्त पुरस्कार विशेष सम्मानसहित आज प्रदान गरिएको हो ।
भाषा, साहित्य, कला र संस्कृति संरक्षणका लागि विसं २०७७ मा स्थापित परिषद्ले २०७९ मा राष्ट्रियतर्फको पुरस्कार अग्नि खण्डकाव्यका लागि डा. नवराज लम्साल र स्थानीयतर्फ विनोद विकलाई प्रदान गरेको थियो । पुरस्कार समारोहमा वरिष्ठ साहित्यकार डा. नवराज लम्साल, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुललगायतको सहभागिता रहेको थियो ।
पिता हरिभक्त जोशी र माता तुलसादेवीको कोखबाट पहिलो सन्तानका रुपमा विसं २०३१ मा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा जन्मिएका रामलाल जोशी हाल धनगढी उपमहानगरपालिका–५ कैलालीमा स्थायीरूपमा बसोबास गरिरहेका छन् ।
विसं २०५० देखि गजल र कविता लेखनमार्फत औपचारिकरूपमा साहित्यमा प्रवेश गरेको बताउने उनी त्यसयता निरन्तर साहित्य साधनामा छन् । सुदूरपश्चिमलाई कर्मथलो बनाई साहित्य लेखन र साहित्यिक–सांस्कृतिक अभियानको समेत नेतृत्व गर्ने जोशीका प्रायः कथामा सुदूरपश्चिम प्रदेशको परिवेश झल्काउने गरी लेखिएका छन् ।
उनीद्वारा लिखित ‘ऐना’ कथासङ्ग्रहले विसं २०७२ मा मदन पुरस्कार प्राप्त गरेको थियो । उनका विसं २०७५ मा प्रकाशित थारू जनजीवनमा आधारित ‘सखी’ उपन्यास र विसं २०७९ मा प्रकाशित बाआमा नामक आख्यान बहुचर्चित छन् । त्यसअघि विभिन्न फुटकर कथा, कविता र गजलका साथै ‘हत्केलामा आकाश’ (२०५७) गजल सङ्ग्रह प्रकाशित गरेका जोशी विसं २०६० सम्म पत्रकारितासमेत थिए । जोशीले हाम्रो परामर्श साप्ताहिक, सौगात, कोपिला, युगपुकार, मालिका र सुरभिजस्ता साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका छन् ।
नेपाली साहित्यमा स्नातकोत्तर गरेका उनले करिब १३ वर्षसम्म विभिन्न विद्यालय तथा क्याम्पसमा शिक्षणसमेत गरेका थिए । त्यसैगरी विसं २०२६ मा बुवा मरिणाम पौडेल र आमा भक्तमञ्जरी पौडेलको कोखबाट रामेछापमा जन्मिएका देवराज पौडेल हाल लालबन्दी–४ सर्लाहीमा बसेर साहित्य कर्म गरिरहेका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी शिक्षणका साथसाथै साहित्य रचना र स्थानीय धार्मिक तथा पुरातात्विक खोज अनुसन्धानमा समेत संलग्न छन् ।
पौडेलले मेडहरू (लघुकथा सङ्ग्रह २०७६), श्री लक्ष्मीनाथ चितायन महादेव (खोजमूलक कृति, २०७७), वासुदेवशरण कोइरालाका नौ दशक (जीवनवृत्तमा आधारित पुस्तक–२०८०) नामक कृति प्रकाशन गरेका छन् ।
अमेरिका : अनेसास बोस्टन च्याप्टर, अमेरिकाले आफ्नो साधारण सभा तथा स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा अयोजित उक्त कार्यक्रम अमेरिकाको बोस्टनस्थित पशुपतिनाथ–बुद्ध मन्दिरमा सम्पन्न भएको हो ।
कुलपति राईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली साहित्य, संस्कृति र कला अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिँदा आफूलाई गर्वको अनुभूति भएको बताए । यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा प्रवासमा रहेका नेपालीले महत्वपूर्ण योगदान पुर्याएको उनले बताए । यस सुखद कार्यमा नेपाली प्रवासी स्रष्टाको जति प्रशंसा गरेपनि कमै हुने बताउँदै उनले अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरेलाई सम्मान र कवि शकुन ज्ञवालीलाई ‘नारी तारा’उपाधिद्वारा सम्मान गरेका थिए ।
यसैगरी कुलपति राईले कार्यक्रममा न्यु इंग्ल्यान्ड क्षेत्रमा रही नेपाली संस्कृति, समुदाय र साहित्यको उत्थानमा योगदान दिँदै आएका पशुपतिनाथ–बुद्ध फाउण्डेसन अफ न्यु इंग्ल्यान्डको बोर्ड अफ टस्टीका सभापति सुशील पौडेल, कार्यसमितिका अध्यक्ष विष्णु कार्की, ग्रेटर बोस्टन नेपाली कम्युनिटीकी अध्यक्ष अञ्जु थापा, एनआरएनए उत्तरी अमेरिका क्षेत्रको पूर्वमहिला संयोजक तृष्णा काफ्ले शर्मा, एनआरएनए मासाच्युसेट्सका अध्यक्ष प्रचण्ड श्रेष्ठ, नरउड लायन्सका अध्यक्ष जाल घिमिरे, मेट्रो वेस्ट नेपाली कम्युनिटी, नरउडका अध्यक्ष सुरेश ढकाल, सृजनशील महिला समूह, नरउडकी अध्यक्ष सानु बर्मा अधिकारी, संगीत क्षेत्रबाट रञ्जन बुढाथोकी, प्रेमसागर खतिवडा, सुशील गौतम, राजकपुर, श्याम नेपाली, सुन्दर गुरुङ, राम थापा, मीन केसीलगायतलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरेका थिए ।
यसैगरी राईले कविद्वय महेश्वर पन्तद्वारा रचित ‘उडेका पैताला’ र अनु शाहद्वारा रचित कवितासंग्रह ‘अनुराग’को विमोचन गरेका थिए । कार्यक्रममा कविहरू दीपा राई पुन, अनु शाह, ममता कर्माचार्यले कविता वाचन र ऋषभदेव घिमिरेले ‘उडेको पैताला’ कवितासंग्रहको समीक्षात्मक मन्तव्य राखेका थिए ।
यसैगरी शुभकामना मन्तव्यको क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले प्रवासमा रहेर पनि मेहनतका साथ नेपाली साहित्यको विकासमा भूमिका खेल्न सक्नु उल्लेखनीय पक्ष रहेको बताए ।
यस्तै अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पुजाले आफू नेपाली साहित्यलाई विश्वका कुनाकुप्चामा पुर्याउन निरन्तर लागिपर्ने बताए । कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष विजय शर्मा, कवयित्री शकुन ज्ञवाली समेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले गरेका थिए ।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई अमेरिकामा सम्मानित भएका छन् । मैत्रीपूर्ण सांस्कृतिक भ्रमणका लागि अमेरिका पुगेका कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पहिलोपटक अमेरिकाको न्युयोर्क पुगेका कुलपति राईले जहाँ भएपनि नेपाली जातिले पहिचानयुक्त संस्कृतिलाई जोगाउँदै आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्नुपर्ने धारणा राखे । सो क्रममा कुलपति राई १ नम्बर प्रदेशको नाम कोशी नभइ किरात प्रदेश हुनुपर्ने पनि तर्क गरे ।
यसै क्रममा किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष खगेन्द्र राईले अमेरिकामा बसोबास गर्दै आएका राई जातिहरूआफ्नो पहिचानको संरक्षणका लागि एकजुट हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार लोकमणि राईलगायतका व्यक्तिहरू सहभागी भएका थिए ।
काठमाडौं : वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन अमेरिकाको बोस्टनमा आयोजना गरिएको छ । ‘सबै भाषा–सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले कुलपति राईको एकल कवितावाचनको पहिलो श्रृंखला चितवनबाट प्रारम्भ गरेको थियो ।
यसै क्रमको दोस्रो श्रृंखलामा अमेरिकाको बोस्टनमा कुलपति राईले आफ्नो चर्चित कवितासंग्रह ‘यारी’बाट कविता वाचन गरेका थिए । सो अवसरमा उनले भाषा, साहित्य, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायतका विधाको उत्खनन र प्रवद्र्धन गर्ने उद्देश्यले २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानमा अझै पनि आमूल परिवर्तन हुन नसकेको बताए ।
उनले कतिपयलाई प्राज्ञ प्रतिष्ठानको महत्व, उद्देश्य र प्रभावकारिता नै थाहा नभएको बताउँदै देश–विदेशमा यसबारे जानकारी गराउने लक्ष्य राखिएको बताए । कुलपति राईले नेपाल प्रज्ञा प्रतिष्ठान सम्पूर्ण नेपालीको साझा थलोको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य ÷काव्य) विभाग प्रमुख बाबा बस्नेतले कविता वाचन, अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाले मनतव्य र अनेसास नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे र दिपा राईले पनि कविता वाचन गरेका थिए ।
सो कार्यक्रम अनेसास, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रममा बोस्टन, न्यू ह्याम्प्सायर र न्यूयोर्कबाट समेत सहभागिता रहेको थियो ।
गुल्मीः गुल्मीको मदाने गाउँपालिका–६ की सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् ।
महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् । ‘महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ’, उनले भनिन्, ‘हामी बाजा बजाएर अगाडि बढेका छौँ ।’ उनी आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थालेकी छिन् ।
सोही ठाउँकी वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा कम रहेकोमा आफूहरूले बाजा बजाउन सिकेको बताइन् । ‘गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन’, उनले भनिन्, ‘पुरुष कम हुन थालेपछि हाम्रै समूह बनाएर बाजा बजाउन थालेका हौँ ।’ गाउँमा बाजा बजाउने प्रचलन रहेकामा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उनले बताइन् ।
उनीहरू मात्र होइन, नौमती बाजाको सबै समूह नै महिलाको छ । विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजामा समूहमा सबै महिला हुँदा यसलाई अचम्मको रूपमा हेरिएको छ । मदाने महिला नौमती बाजा समूह नामले परिचित यस समूहमा पुर्कोटदहका वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असिम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक गरी ११ जना रहेका छन् । अहिले यो समूहलाई जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन भ्याइनभ्याई छ ।
विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा हो । पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर गुल्मीको मदाने गाउँपलिका–६ पुर्कोटदहका महिला यसको संरक्षणमा जुटेका छन् ।
बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर मदाने गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक बनाएका छन् । यतिबेला मदाने गाउँपालिकाको यो समूह बाजा बजाउन गाउँपालिका, छिमेकी पालिका र जिल्ला सदरमुकाम तम्घाससम्म पुग्दै आएको छ । मदाने महिला नौमती बाजा समूहकी अध्यक्ष जिसीले आफूहरूलाई एक दिन बाजा बजाएबापत रु. २५ हजारदेखि ३५ हजारसम्म दिने गरेको बताइन् ।
मदाने गाउँपालिकाले नौमती बाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको थियो । सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि नौमती बाजा वितरण पनि गरेको थियो । मदाने गाउँपालिकी उपाध्यक्ष सरिता खड्काले बाजाको संरक्षण, महिलालाई सीप, बाजा बजाउने पेसालाई व्यावसायिक र गाउँपालिकाको पहिचानका लागि यो कदम अगाडि बढाएको बताइन् ।
‘हामीले महिलालाई अगाडि बढाउन सीप सिकाएका हौँ’, उनले भनिन्, ‘अहिले महिलाले बजाइरहेको बाजा व्यावसायिक र पहिचान बन्यो, खुसी लागेको छ ।’ परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि नौमती बाजाको जगेर्ना गरेको उनको भनाइ छ । उनले यस आर्थिक वर्ष पनि गाउँपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताइन् ।
महिलाले खुसीका साथ आफैँ लागेर बाजा बजाउने पेसालाई व्यावसायिक बनाएकामा संस्कृति संरक्षणमा टेवा पुगेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । ‘मदानेले महिलालाई नौमती बाजाको सीप सिकाएर पहिचान बनायो’, उनले भने, ‘अन्य पालिकाले पनि आफ्ना छुट्टै खाले पहिचान बनाउन आवश्यक छ ।’ रुचिअनुसारका पेसामा अगाडि बढ्नु आफैँमा सकारात्मक भएको उनको भनाइ छ । रासस
काठमाडौंः दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू)को मुद्दालाई चित्रकलामार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा चित्रकला प्रदर्शनी हुने भएको छ ।
सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौंमा एक साता लामो चित्रकला प्रदर्शनी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही मङ्सिर १४ देखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा हुने उक्त प्रदर्शनीमा देशभरबाट दलित समुदायका एलजीबीटीआईक्यू कलाकारहरूसहित ३८ कलाकारहरूका चित्रकला प्रदर्शन हुनेछन् ।
प्रदर्शनीले दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको कला र क्षमताको उजागर गर्नाका साथै उनीहरुको अधिकारकारको पौरखी गर्न पनि मद्दत पुग्ने सामरी उत्थान सेवाकी कार्यकारी निर्देशक विमला गायकले बताइन्। उनले भनिन्, ‘यो चित्रकला प्रदर्शनीले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा दलित एलजीबीटीआईक्यू व्यक्तिहरूले भोग्नु परेको बहिष्करण र विभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ ।’
प्रदर्शित हुने चित्रकलाले दलितमाथि हुने विभेद, यौनिकता र जातको सम्बन्धमा गरिएको व्यवहारको साङ्केतिक सन्देश दिने सामरी उत्थान सेवाका कार्यक्रम संयोजक शिवहरि ज्ञवालीले जानकारी दिए । चित्रकला प्रदर्शनीले दलित आन्दोलन र एलजीबीटीआईक्यू समुदायको आन्दोलनभित्र जातका आधारमा दलित एलजीबीटीआईक्यू व्यक्तिहरूले भोग्नु परेको बहिष्करण र विभेदविरुद्ध आम बहसको वातावरण सिर्जना हुने आयोजकको अपेक्षा छ ।
–रसुवाली कवि
पछिल्लो समय सिनेमालाई बौद्धिक कर्मको रूपमा बुझ्ने प्रचलनको विकास भएको छ । चेतना निर्माण ढिलो गरी भइरहेको नेपाली समाजमा सिनेमा खुद मनोरञ्जनको साधन मात्र हुँदै गर्दा दोस्रो जनआन्दोलनपश्चात नेपाली सिनेमाले गुणात्मक फड्को मारेको छ । सिनेमासम्बन्धी अध्ययन हुने क्याम्पससमेत खुलेका छन् । नेपाली समाजमा देखिएको लोकतान्त्रिक वातावरणले समेत नाटक र सिनेमाको विकास र विस्तार भएको सत्य हामीसामु छ । नाटकमार्फत वा नाटक हुँदै नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका कलाकारहरू मूलधारमा स्थापित भइसकेका छन् । रोनाधोना र एकैप्रकारका द्वन्द्वबाट निर्देशित नेपाली सिनेमाले मुद्दा, विचार र कलासमेत बोक्ने स्थिति बनेको छ ।
मोहन राई दोस्रो जनआन्दोलनपछि नेपाली सिनेमा क्षेत्रमा नुतन प्रयत्न गरिरहेका एक सिनेमाकर्मी हुन । यसै वर्ष प्रदर्शनमा आएको उनको चलचित्र ‘महानगर’ सिनेमामा रुचि राख्नेहरूका निम्ति एक उत्कृष्ट सिनेमाका रूपमा प्रचारित भयो । भलै हलहरुमा यस चलचित्रले पर्याप्त शो पाएन । उनै मोहन राईले सिनेमासम्बन्धी महत्वपूर्ण पुस्तक अनुवाद गरेका छन् ‘निर्देशकको यात्रा–निर्देशक लेखक र कलाकारबिचमा सहकार्य ।’ यस पुस्तकका मूल लेखक हुन प्रसिद्ध निर्देशक तथा लेखक मार्क ट्राभिस । मार्कको यो पुस्तक विभिन्न कोणबाट महत्वपूर्ण रहेको छ ।
यस पुस्तकको बारे निर्देशक मार्क राईडरको मननीय भनाइ रहेको छ । अनुवादले त्यस भनाइलाई कभर पेजमा राखेका छन् । मार्क लेख्छन्– ‘यस पुस्तकले चलचित्र निर्माणको सम्पूर्ण सिर्जनात्मक प्रक्रियामा लाग्दछ – अवधारणाबाट समाप्तिसम्म । यस पुस्तकबाट तपाईंले पट कथालाई कसरी अध्ययन गर्ने, त्यसको केन्द्रबिन्दुलाई कसरी पत्ता लगाउने, आफ्नो भिजन कसरी निर्धारण गर्ने र त्यो भिजनलाई पर्दामा उतार्नका लागि लेखक, कलाकार, डिजाइन, छायाँकार, सम्पादक, संगीतकार र सिर्जनात्मक टोलीका सबै सदस्यसँग कसरी संवाद र सहकार्य गर्ने सिक्नु हुनेछ ।’
अनुवादक मोहन राइले सकेसम्म यस पुस्तकलाई सहज बनाउन सरल भाषा प्रयोग गरेका छन् । कतिपय भाषा चाहिँ अङ्ग्रेजी नै छोडिदिएका छन् । किनकी ती शब्दलाई अङ्ग्रेजीमै भनेपनि पाठकले बुझ्छन् भन्ने अनुवादकको अभिप्राय रहेको हुनसक्छ । पुस्तकमा कुल बाह्र अध्याय रहेका छन् । निर्देशकले पटकथा अध्यायबाट पुस्तकको अध्यायहरू सुरुवात गरेका छन् । उनले पहिलो अध्याय भनेका छन्– निर्देशक पटकथासँग भिज्नुपर्छ । उनले कथावाचनलाई आदर्श पक्ष मानेका छन् भने श्रोता र दर्शकको भूमिकाप्रति सचेतताको अपिल गरेका छन् । दर्शकको सम्बन्धमा उनी भन्छन् – ‘उ मनोरञ्जन लिन चाहन्छ, चकित हुन चाहन्छ, मोहित हुन चाहन्छ र आफू संलग्न भएको हेर्न चाहन्छ ।’ (पृष्ठ ९) यसबाट के बुझ्नुपर्छ भने दर्शकको जुन अपेक्षा छ, त्यो पूरा गर्न निर्देशकले प्रयास गर्नुपर्छ । कथावाचनलाई गति दिन दर्शकको कोण शक्तिशाली हो ।
तीनको अंकको संरचनाबारे मार्कले दोस्रो अध्यायमा चर्चा गरेका छन् । डाक्टर किम्बलको उदाहरण यहाँ प्रस्तुत गरिएको छ । डाक्टर किम्बललाई श्रीमती हत्याको अभियोग लागेको छ । उनी आफूलाई निर्दोष सावित गर्न चाहन्छन् । लफ्टन जेरार्डको उद्देश्य भनेको किम्बलको अपराधी करार गर्न सबुतहरू खोज्नु हो । यी दुई पात्रहरू सघन भूमिकामा एक्टलाई जोड्न खोजिएको छ, सिनेमाका कथालाई तीनवटा एक्टमा ढाल्नुपर्ने मार्कको सुझाव छ । जस्तो डा. किम्बलको कथामा पहिलो एक्टमा पात्र अनिश्चितताको दुनियाँमा छ, दोस्रो एक्टमा मुख्य पात्र चुनौतीसँग जुध्दै गएको छ र तेस्रो एक्टमा मुख्य पात्र पहिलेको स्थितिमा फर्कन नसक्ने बिन्दुमा छ । चलचित्रको तीन चरण विभाजन भएको छ ।
द्वन्द्व सिर्जनामा आख्यानमा झैँ मार्कले पनि द्वन्द्व सिर्जनालाई बुझाउन खोजेको देखिन्छ । डाक्टर किम्बलका जस्तै अनेकौं कथाहरूलाई तीन वटा चरणबाट हेर्न सकिन्छ, यो अध्यायमा यो विषयको लामो बयान छ ।
लेखक मार्क टाभिसले पटकथा लेखकसँग निर्देशकको सहकार्य भूमिकालाई जोड दिएका छन् । निर्देशकले पटकथाकारले हिँड्न बाँकी यात्रा गर्नुपर्ने जोडसहित तेस्रो अध्याय लेखिएको छ । पटकथाकारले एउटा लामो यात्रा गरिसके बाँकी सिर्जनात्मक यात्रा निर्देशकले गर्नुपर्छ भन्ने मार्कको भनाइ हो ।
लेखकसँग सहकार्य शीर्षकको अध्यायमा मार्क भन्छन् – ‘निर्देशकको रूपमा हामीले कथामा जहिले पनि ब्ल्याक होल छन् कि छैनन् भनेर हेर्नुपर्छ र हाम्रो काम तिनलाई सम्बोधन गर्नु हो । ब्ल्याक होललाई समाधान गर्ने तीन वटा आधारभूत तरिका छन्– तिनलाई वेवास्ता गर्ने, लुकाउने वा ढाकछोप गर्ने वा तिनलाई औल्याउने ।’ (पृष्ठ ३१) यो चरणमा निर्देशक बढी उत्साहित र बढी जड नभै पटकथा पुनर्लेखन, पटकथाकारको सहमतिको बिन्दु पहिचान, दृश्य परिक्षण (एउटा), लेखकको सुझाव र प्रक्रियामा सचेतता हुनुपर्नेमा जोड गरिएको छ ।
अघिल्ला चरणमा पटकथालाई भिजाउने र लेखकसँग सिर्जनात्मक सहकार्य गरी निर्देशक, लेखक र पटकथाबिच कार्यगत सम्बन्ध स्थापित गर्नुपर्ने बताइएको छ । पटकथा विश्लेषणको अध्यायमा केही चरणहरू दिइएको छ । जस्तो कथाको वास्तविकता पत्ता लगाउने, निर्देशकको उदेश्य पहिचान गर्ने, एक्टलाई परिभाषित गर्ने, पात्र वा चरित्रको आर्क बनाउने, चरित्र विश्लेषण गर्ने आदि उपाय यस चरणमा हुनुपर्ने भनिएको छ ।
सिर्जनात्मक टोली निर्माणको चरणलाई निर्देशकले एउटा महत्वपूर्ण यात्राको रूपमा लिनुपर्ने हुन्छ । यदि उत्कृष्ट सिनेमा बनाउँदै हुनुहुन्छ भने यो अत्यावश्यक काम हो । छाँयाकार, प्रडक्सन डिजाइनर, कास्टिङ निर्देशक, कलाकार, सम्पादक, संगीतकार पहिचान हतार गर्नु हुँदैन भनेर मार्क सुल्झाउँछन् । यसमा पनि तीन चरणको कुरा गरेका छन् । उनी निर्देशकलाई भन्छन् । सिर्जनात्मक टोलीका सबैमा भिजन अभिव्यक्त भएको हेर्नुपर्छ, प्रत्येक सदस्यलाई उनका शिल्प अनुसार कथा भन्न दिनुपर्छ, उनीहरूको भिजन र निर्देशकको भिजन कतिको मेल खान्छ हेर्नुपर्छ ।
यो चरण पार गरेपछि बल्ल निर्देशकको यात्रा कास्टिङ प्रक्रिया पुग्दछ । मार्क यस चरणको सन्दर्भमा भन्छन्– ‘राम्रो पटकथा, स्पष्ट भिजन र राम्रो कास्ट भयो भने राम्रो चलचित्र बन्छ ।’ उनले यस चरणमा चलचित्र फरेस्ट गम्पको उदाहरण दिएका छन् । यस चलचित्रको पात्र फरेस्ट गम्प पातलो, सुस्त, बेढङ्गको छ । जेनी नामक पात्र चलाख छिन्, सुन्दर छिन् र कृपा र दया भएको केटीको चरित्र उनमा रहेको छ । कास्टिङ्ग प्रक्रियामा उनीहरूको जीवन्त भूमिका अभिनेता÷अभिनेत्रीमा खोज्नु निर्देशकको काम हो । कास्टिङ्ग निर्देशकको काम यहिँनेरी छ ।
कास्टहरूको निर्माणपछि रिहर्सल प्रक्रियाको चर्चा गरिएको छ । साप्ताहिक कार्यतालिका बनाएर रिहर्सल गर्नुपर्ने मार्कको सुझाब छ । जस्तो आइतबार अभिनेता र अभिनेत्रीसँग एक घण्टा छलफल गर्न र बुधबार ४ घण्टा समय तालिका बनाएर निश्चित दृश्य र सिक्वेन्समाथि तीन घण्टा र अलिखित दृश्यमाथि आँशु रचना गर्नुपर्ने एक घण्टाको समय तालिकाको उदाहरण प्रस्तुत गरिएको छ ।
प्रोडक्सन प्रक्रियाबारे अध्यायमा पनि महत्वपूर्ण छलफल गरिएको छ । मार्क ट्राभिसको तरिका नै मौलिक छ । उनी प्रत्येक कामलाई गहिराइ पुगेर गर्न सुल्झाउँछन् । क्यामरालाई एउटा चरित्रको रूपमा उभ्याउने उनको तरिका मौलिक छ फरक पनि । नेपाली सिनेमा क्षेत्रमा यो खालको बहस आवश्यक पनि भएको छ । फोटोग्राफीको महत्वबारे मार्कको सुझाव निर्देशकको लागि धेरै पथप्रदर्शक बन्न सक्छ ।
प्रोस्ट प्रोडक्सनको समयमा निर्देशकलाई पछि हट्न भनिएको छ अर्थात् विश्राम कुरा गरिएको छ । यो समयमा समुद्रको किनारमा घुम्न जाने, किताब पढ्ने वा ठण्डा दिमागमा रहन तयार हुनुपर्ने भनिएको छ । किनकी बाँकी काम गर्न सहज होस् ।
सम्पादकलाई आफ्नो कटलाई कटिङ्ग गर्न छोडी दिनुपर्ने भनिएको छ । प्रोस्ट प्रडक्सनको समयमा कलाकारको अभिनयलाई आकार दिने, न्यारेसन र भ्वाइस ओभर प्रक्रियालाई गति दिने, साउण्ट इफेक्टसको काम गर्ने, संगीत ट्रयाकलाई उद्देश्यअनुसार राख्ने आदि कुरामा केन्द्रित हुने कुरा गरिएको छ ।
दसौं चरणमा नौ वटा चरणको पुनर्विवेचना र संक्षेपीकृत अध्याय रहेको छ । मार्कले भने झै निर्देशकले होइन, चरित्रले उत्कृष्ट सिनेमाको गरिमा कायम गर्छ । फेरि चरित्र निर्माणमा निर्देशकको प्रबल भूमिका हुन्छ । यति लामा अध्यायहरूमा निर्देशनको यात्रा र निर्देशकको यात्राकै चर्चा गरिएको छ । यो अध्यायमा गहन समीक्षाको बोध गराइएको छ ।
एघारौं चरणमा निर्देशनका गुरु मार्क ट्राभिस एउटा अध्याय लेखेका छन् अब उप्रान्त अभिनय पनि नगरौं, निर्देशन पनि नगरौं । किनकी यो अवस्था चलचित्र निर्माण अन्तिम अन्तिम चरण हो । अन्तिम अध्यायमा मार्क टाभिसले यस पुस्तक लेखनको यात्रालाई वर्णन गरेका छन् ।
कुल बाह्र अध्याय रहेको यस पुस्तक पठनीय छ, मननीय छ, यो चलचित्रकर्मीको लागि अत्यावश्यक पनि छ । चलचित्र सम्बन्धका जिज्ञाशु हरेकले यो किताब पढुन भन्ने लाग्छ । निर्देशक मार्क रिडलले भने जस्तै यो चलचित्रकलाको विस्तृत र प्रेरणादायी विश्लेषण भएको पुस्तक हो । यो कुनैपनि असली चलचित्रकर्मीले अनिवार्य पढ्नुपर्ने पुस्तक हो ।
पुस्तकको भाषा सरल भए पनि कतै कतै हिज्जेमा अशुद्धता महसुस हुन्छ । अनुवादकले कतिपय शब्द अङ्ग्रेजीमै छोडिदिएका छन् । कतिपय वाक्यलाई छोटा र चुस्त बनाउने ठाउँ पनि थियो । आगामी दिनमा यी पक्षमा अनुवादकको ध्यान जाओस् । अर्को संस्करणमा पुस्तकमा रहेका कमजोरीहरू सच्चिएर आउन् । निर्देशक मोहन राई अनुवादन क्षेत्रमा पनि जम्ने कुरामा यो पुस्तक उदाहरण बनेको छ आगामी यात्राको शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies