काठमाडौंः विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ ।
विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई एक लाख, दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिए ।
‘चलचित्र सिर्जनात्मक विधा भएको र युवाहरुको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित निर्माण प्रतिष्पर्धा गर्दैछौँ’, उनले भने ।
-तिल्सरा शर्मा, बाँफिकोट गाउँपालिका, रूकुम पश्चिम
आधुनिक याे जमानामा गर्ने छु प्रगाति।
नारीबाट अघि बढ्ने छ है मेरो मति।।
नारीले पनि हेर्नुस् सरकार देशमा केही गर्न,
महिला बिना यो संसारमा हुँदैन उन्नति।।
पहिलाको त्याे जमानमा सति प्रथा मानेरै त,
योगनरेन्द्र मल्लकी ३१ रानी गएकी हुन् सति।।
अन्यायविरुद्ध महिलाहरु आवज उठाउनै पर्छ,
अझै किन पछि पर्दछन् घरका श्रीमती।।
रुकुमकी यो तिल्सरा मात्रै नभएर,
कुनै पनि नारीहरुलाई नहेप है अति।।
छोराहरू त्यही घरको हकदार बन्ने अरे,
किन पाउँदैनौं छोरीहरू बाउको सम्पति।।
छोराहरू हाँसीखुसी छोरी पीडित किन,
त्यसैले समान बनाउनु पर्छ सारा मानिसको गति।।
-तिलसरा शर्मा, बाँफिकोट ९ झुला रुकुम पश्चिम
भए पनि उत्कृष्ट पढाइ जागिर मिल्दैन ।
पैसा पावर नलगाई जागिर मिल्दैन ।
आफ्नै देशमा जागिर खान कसलाई पो रहर हुँदैन र,
जान्छन् विदेश दाजुभाइ नेपालमा जागिर मिल्दैन।।
–शुक्रराज कुँवर
विवाह भएको लामो समयसम्म पनि सन्तानको मुख देख्न नपाएकी राममाया हर्ष विभोर थिइ, कारण उसको कोखबाट जुम्ल्याहा छोराको जन्म भएको थियो । ‘ढिलै होस्, छोरै होस्’ भन्ने पुरानो विचारकी राममाया जुम्ल्याहा छोरा पाएकोमा पुलकित त थिई नै, बच्चाहरुको लालनपालन गर्न आर्थिक रुपले कुनै समस्या पनि थिएन ।
समयको गतिसँगै छोराहरु पनि ठूला हुँदै गए । दुर्गम ग्रामिण परिवेश, आफू निरक्षर भएपनि राममायाले छोराहरुलाई स्कूल पढाई । ठूलो छोराले एस.एल.सी पास गर्यो, कान्छोले पढ्न सकेन आठ कक्षासम्म पढेर छोडिदियो । उ बाबुलाई ज्याला मजदुरी गर्न सघाउन थाल्यो । एस.एल.सी पास भएपछि ठूलो छोराले शाही नेपाली सेनामा जागिर खाने इच्छा जाहेर गर्यो । राजाको सिन्दुर लाउने भएपछि राममाया पनि खुसी नै भइ । नभन्दै उ सेनामा भर्ना लाग्यो । राममायाको घरमा पुनः हर्ष बढाइँ भयो ।
ठूलो छोरा पल्टने, कान्छो छोराले घर व्यवहार हेर्ने, त्यही माथि आफूलाई सधैँ साथ सहयोग गर्ने मायालु लोग्ने भएपछि राममायालाई आफू सबैभन्दा खुसी र सुखी भए जस्तो लाग्थ्यो । छर छिमेकीहरुले पनि उनीहरुको गुणगान गाउँथे ।
“अब त कान्छो छोरा पनि खुब जान्ने बुझ्ने भएछ, सुन्यौ ए बुढा ?” राममायाले एकदिन लोग्नेलाई भनी, “हेर न उसको साथीभाईसँगको हेलमेल । घरमा पनि कहिलेकाहीँ दश÷बाह्र जना केटाहरु आउँछन् । कति मिठा–मिठा देश विदेशका राजनीतिका कुरा गर्छन् । गाउँका जाली फटाहा, शोषकहरुको अन्त्य गर्नुपर्छ । अन्याय, अत्याचार र शोषणको विरुद्ध लड्नु पर्छ । एकजुट हुनुपर्छ , संगठन गर्नुपर्छ भन्छन् । कति राम्रो कुरा, कति राम्रो विचार ।”
छोरा र उसको साथीहरुको गतिविधि वयान गर्दै राममायाले भनी । देशको दुर्गम ग्रामिण बस्तीहरुमा माओवादी गतिविधिको प्रभाव विस्तारै बढ्दै गइरहेको थियो । राममायाको गाउँमा पनि माओवादी नेता कार्यकर्ताहरु बेलाबखत आउने जाने गर्दथे । संगठन गर्ने, भाषण गर्ने सरकारको तीव्र आलोचना गर्ने जस्ता क्रियाकलापहरु गर्दथे । देशमा भ्रष्टाचार व्याप्त रहेको, धनी झन् झन् धनी हुँदै गइरहेको र गरिब शोषित पीडितहरु झन् झन् गरिब हुँदै गइरहेको जस्ता कुरा गरेर गाउँलेहरुलाई प्रभावित पार्थे । आश्वासन बाँड्थे र केहीलाई आफ्नो साथमा लिएर पनि जान्थे ।
राममायाको कान्छो छोरा पनि माओवादी प्रभावमा आइसकेको थियो । “शोषित पीडित तथा सर्वहारा वर्गको भलाइका लागि राज्यसत्ता प्राप्त नहुन्जेलसम्म लड्नु पर्छ” भन्ने माओवादी नाराले उसलाई राम्रै गरी प्रभावित पारेको थियो । आफू जन्मेको घर, परिवार गाउँ समाज आदिको मायाले उ झट्टै माओवादीको साथ लागि जान सकिरहेको थिएन तर, उपयुक्त मौकाको खोजीमा थियो । एकदिन अचानक उसले आमाबाबु सामु ज्याला मजदुरी गर्न भारत जाने प्रस्ताव राख्यो । उबाट एक्कासी आएको प्रस्तावले राममाया झसङ्ग भई । दाजु पनि घरमा नभएको, उसको पनि मनसाय बुझ्न जरुरी छ भन्दै राममायाले हरतरहले उसलाई रोक्ने सम्झाउने प्रयास गरी । तर उसले हठ गरिरह्यो । हुनपनि गाउँका तन्नेरीहरु ज्याला मजदुरी गर्न भारत जाने एक किसिमको चलन जस्तै थियो । त्यसैले एकदिन एकाबिहानै झिसमिसेमा केही युवाहरुका साथ उनीहरुले कान्छो छोरालाई बिदाइ गरे ।
बिचरा राममाया ! उनको सोझो मनले कान्छो छोरा माओवादीको साथ लागि जंगल पसेको हेक्का राख्नै सकेन । समय धेरै नै परिवर्तन भइसकेको थियो । गाउँ युवा विहीन थियो । कुनै कुनै घरहरुबाट बढेका छोरी चेलीहरु पनि हराएका थिए । कथित माओवादी जनयुद्ध चरम उत्कर्षमा थियो । रडियो, टि.भि समाचारले दैनिक जसो भएका माओवादीसँगको भिडन्त र भिडन्तमा ज्यान गुमाएका सैनिक, प्रहरी र माओवादीका फेहरिस्त प्रशारण गथ्र्यो । बैंक लुटिएका, पुल पुलेसा साथै सरकारी भौतिक संरचनाहरु माओवादीबाट ध्वस्त गरिएका समाचारहरु सामान्य जस्तै लाग्थे । यो सब के भएको, किन भइरहेछ र केका लागि हुँदैछ राममायाले बुझ्न सकेकी होइन । उनलाई त बरु आफ्ना सन्तानको सम्झना र पीरले गाँज्दै लगिरहेको थियो ।
एकदिन राममाया घरको पिँढीमा बसेर मकै छोडाउँदै थिइ । उनको ठूलो छोरा सैनिक पोशाकमा टप्लुक्क देखा परे । राममाया खुसी भई, हर्षका आँसु बर्से । केहीबेरको भलाकुसारी पश्चात ठूलो छोराले भन्यो “भाइलाई ज्याला मजदुरी गर्न भारत पठाउन हुन्न थियो नि आमा ! पठाउनु पर्ने वाध्यता पनि थिएन, मैले पनि अलि अलि खर्चबर्च त पठाएकै थिएँ नि ।”
“के गर्नु नानी ! धेरै हठ गर्यो । सम्झाएको पनि हो तर, उसको हठको अगाडि हाम्रो केही लागेन” राममायाले आँसु पुछ्दै भनि ।
“तर जे भयो ठिकै भयो आमा ! भाइ माओवादीमा लाग्ला भनेर ठूलो पीर थियो । मजदुरी गर्न भारत गएको रहेछ, केही त गरी खाला नि ।” ठूलो छोराले आश्वस्त पार्दै आमालाई भन्यो ।
वास्तवमा राममायाको ठूलो छोरा छिमेकी जिल्लामा माओवादी गतिविधि अत्याधिक बढेको कारण शान्ति सुरक्षाको लागि खटिएर आएको थियो । एकमनले राममायालाई जागिर सागिर छोडेर छोरा घरै बसे हुँदो हो भन्ने लागेको पनि हो तर राजाको सिन्दुर लगाएर आफ्नो कर्तव्य पथमा हिडेको छोरो, उसले केही भन्न सकिन । बरु उनको मनमा कान्छो छोरा कतै माओवादीमा लागेको त छैन ? भन्ने विभिन्न शंका उपशंका उब्जिन थालेका थिए ।
राममायाको ठूलो छोरा हट्टकट्टा हृष्टपुष्ट थिए । आफ्नो पल्टनमा पनि काम प्रतिको लगनशीलता र कर्तव्यनिष्ठाका लागि उनी कहलिएका थिए । आमाबाबुसँग छुट्टिएर आएपछि उसलाई आफ्नो परिवारको खुब याद आयो । मनमा अनेकौं कुरा आए । शिविरमा उ सुस्ताएर बसिरहेको थियो । अन्य साथीहरु भने आफ्नो पालो पहरामा सजग थिए । अचानक मध्यरातमा माओवादीहरुले शिविरमाथि धावा बोले । दुवै पक्षबिच घमासान युद्ध भयो । ‘फायर, लखेट् लखेट्, ठोक् घेराबन्दी, एक नम्बर हान्, भाग्ला भाग्ला’ जस्ता शब्दहरु बिच दोहोरो फायरिङ्ग भइरह्यो । रातको सन्नाटालाई चिर्दै कोलाहल र चीत्कारका आवाजहरु आइरहे । राममायाको ठूलो छोरा बहादुरीका साथ लडिरहेका थिए । ‘मुभ’ गर्दै उनी केही अगाडि बढेका मात्र थिए कि अचानक माथिल्लो कान्लाबाट एकजना युवक बुर्लुक्क उफ्रेर उनको सामुन्ने देखा परे । रातको समय भए पनि टहटह जुन लागेको थियो । त्यो युवक को थियो, उसलाई चिन्न कुनै गाह्रो भएन र आश्चर्यचकित हुँदै भने “भाइ तँ ! माओवादीमा ?”
“हो दाइ म ...! माओवादीमा ।” भाइले भन्यो । दुई दाजुभाइ आमने सामने, एक अर्काको वैरी । दुवै हतप्रभ भए, एकदम किकर्तव्यविमूढ । फायरिङ्ग चलिरहेकै थियो । दाइ केही भन्न खोज्दै थिए, ढ्याम ढ्याम ढ्याम गर्दै गोलीका पर्राहरु उनीहरु तिरै छुटे । दुवैको छाती र टाउकोमा गोली लाग्यो । “आमा...!” भन्दै दुवै भाइ एकसाथ ढले । क्षणभरमै निष्प्राण भए ।
रातभरको बारदात चार/पाँच घण्टा चलेर बिहानसम्म साम्य भइसकेको थियो । स्थिति भयावह थियो । यत्रतत्र दुवै पक्षका लाशहरु छरिएका थिए । केही समय पछि सेना र प्रहरीको थप टोली त्यहाँ आइपुग्यो । स्थानीय मानिसहरु पनि भयभित हुँदै आउन थाले । घाइतेहरुको प्राथमिक उपचार र लाशहरुको सनाखत गर्ने कार्य शुरु भयो । “आम्मै नि ...! राममायाका दुइ भाइ छोराहरुको लाश एकै ठाउँमा” अकस्मात केही परबाट आवाज आयो । सुरक्षा टोली त्यतै दौडिए । लाशको पहिचान भयो । राममायाकै जुम्ल्याहा छोरा थिए ।
सैनिकहरुले राममायाको ठूलो छोराको शव सनाखत र आवश्यक प्रक्रिया पूरा गरी सैनिक सम्मानका साथ राममायालाई बुझाउन लिएर हिँडे । यता घरमा राममायालाई रातभर निन्द्रा लागेको थिएन । पारी गाउँको भिडन्तले गर्दा उनको हंशले ठाउँ छोडिसकेको थियो । कान्छो छोरा माओवादीमा छ भन्ने कुराको शंका उनको मनमा उब्जिसकेको थियो । रातभर कुकुर रोएको आवाजले कुनै अपसकुन पो हुने हो कि भन्ने लख काटेकी थिई र त्यस्तो नहोस भनि भगवानसमक्ष प्रार्थना पनि गरेकी थिई ।
तर कठै ! भगवानले उनको प्रार्थना सुनिदिनु भएन । “आमा...! ए आमा...!” भन्दै सैनिकहरुले उनको ठूलो छोराको शव आँगनमा राखिदिए । “के भए छ नि” भन्दै राममाया र उनको लोग्ने हुर्रिएर बाहिर आए । हृदय बिदारक क्षण थियो । राममाया र उनको लोग्ने छोरालाई अङ्गालो हालेर छाती पिटी पिटी रोए ।
“नरुनुहोस् बुबाआमा ! तपाईंहरुले एक सपुत जन्माउनु भएको रहेछ । देशको लागि लड्दा लड्दै हजुरको छोराले वीरगति प्राप्त गरे । यस्तो महान सपुत जन्माउने हजुरहरु धन्य हुनुहुन्छ ।” सैनिकहरु सम्झाउँदै थिए । राममाया विलाप गर्दै कान्छा छोरालाई सम्झन पुगिन् र “कान्छा...! कान्छा...!” भन्दै मुर्छित भई । उनको लोग्ने पनि अचेत अवस्थामा पुग्न लागेको थियो ।
स्थानीय महिलाहरु राममायालाई सम्हाल्दै थिए । त्यसैबखत केही स्थानीय व्यक्ति र सैनिक भएर राममायाको कान्छो छोरालाई झल्ट्याङ झुल्टुङ पार्दै ल्याइपुराए । उ माओवादीले निर्धारण गरेको युद्ध पोशाकमा थियो । सबै चकित परे । “राममायाको कान्छो छोरा त माओवादी पो रहेछ, आतंकवादी !” भिडबाट कसैले भन्यो । “यो कपुत पनि राममायाकै छोरो ? हाम्रा वीर सेनासँग लड्ने ? कुलङ्गार !” सैनिकहरुले आक्रोश व्यक्त गरे ।
ठूलो छोराको शोकले क्षत विक्षत भएका राममायाको लोग्ने बल्ल–बल्ल उठेर कान्छो छोरालाई अंकमाल गरे । रुँदै रुँदै भक्कानिदै भने “मेरो छोरालाई कुलङ्गार नभन्नुहोस् हजुर, यो पनि त देशकै लागि लड्छु भन्थ्यो । यो कस्तो बिडम्बना ! एउटाको मृत्यु वीरगति अर्कोको दुर्गति ? हे भगवान ! बरु निःसन्तान ठिक थियो । यो के गर्नु भयो केही बुझ्न सकिन । दुई भाईसँग जन्मेसँगैै मृत्यवरण गरे” विलौना गर्दा गर्दै उ पनि अचेत भएर राममायाको छेउमा डङ्ग्रङ् लड्यो ।
–मुना बराल
दशैँ नजिकै आइरहेको छ, नौरथा शुरू भइसकेको छ । सबैजना दशैँको लुगाफाटो सौदापात गर्न व्यस्त छन् । कतिले खसी पनि किनेर ल्याएका छन् । कतिले घरका खसी बेचेर सौदा किनेका छन् त कतिजना घरकै खसी काटेर दशैँ मनाउने तर्खरमा छन् । किरणले पनि घरकै खसी काटेर गाउँमा पनि बेच्ने आफूपनि दशैँ मनाउने सुर गरे । फूलपातिका दिन घरमै पालेको धोर्ले खसी काट्न तयार गर्दैछन् । टाट्नाका सबै बाख्राहरु आँखाभरी आँसु पारेर घोर्लेलाई हेर्दै आफ्नै भाषामा कुरा गरिरहेका छन् ।
“मान्छे सबैको दशैँ आयो हामी खसी बाख्राको चाहिँ दशा है यो दशैँ ।” सिंगारी बाख्रीले घोर्लेलाई माया गर्दै भनी । घोर्ले खसीलाई थाहा भइसकेको छ कि आज उसको जीवनको अन्तिम दिन हो, एकैक्षणमा चाडको नाममा उ बलि चढ्नुपर्छ भनेर । किनकी उसलाई मालिकले दशताली उचाल्दै बजन नाप्दैगर्दा उसको जिउ जिरिङ्ग भई काँढा उम्रिइ सकेको थियो । आमा पेटारीले आँखाभरी आँसु पारेर छोरालाई आशीर्वाद दिँदै भन्छे, “छोरा हामी बाख्राको जुनी नै अरुको आहाराको निम्ति हो । तिमी आज फूलपातीका दिन भगवती माताको बलि भएर चढ्दैछौ, आफ्नो जीवनलाई धन्य मान । अर्को जुनीमा मान्छे भएर यही घरमा जन्म लेऊ ।”
घोर्ले रूदै भन्नथाल्या, “आमा भगवती माता त संसारका सबै प्राणीकी आमा हुन् । हामी पनि उनैका सन्तान हौं भने कसरी सन्तानको खून खान्छिन् ? हामी निमुखा प्राणीले के कसूर गरेका छौं र हामी बलिमा चढ्नुपर्ने ? नाईं आमा मलाई मेरो ज्यानको माया छ, म बाँच्न चाहन्छु । मलाई मर्न डर लाग्छ । यो घरको कान्छो छोरो र म एकै दिन जन्मेको, आज मेरै मासु मेरो जुम्ल्याहालाई खुवाउँदैछन् । मेरो आँशु, घृणा, क्रोधले मुछिएको मासु खाँदा मान्छेलाई पाप लाग्दैन ? मन्दिरमा पवित्र भएर पूजा गर्न जान्छन् तर यो शरीर रूपी मन्दिरलाई किन अपवित्र बनाउँछन् ? वास्तविक मन्दिर त शरीर हो यो कुरा किन मान्छेले नबुझेको ? हे भगवती माता मेरो रक्षा गर्नुहोस् । तपाईंको नाममा हामी निमुखा प्राणीलाई पशुबलि दिने प्रथा बन्द गरिदिनुहोस् ।” घोर्ले खसी आत्माको भाषाले भगवतिलाई पुकार गर्दै जोड जोडले प्या प्या गर्दै कराउन थाल्यो । खोरका सबै बाख्राहरु एकै आवाजमा कराउन थाले । किरण खसी काट्न पानी उमाल्दै थिए । “ला के भयो यी बाख्राहरुलाई ?” भन्दै खोरको दैलो खोल्दै मात्र थिए घोर्ले खसी अझै जोडले कराउँदै, उफ्रँदै बाहिर निस्केर उसका लामा तिखा सिङ्गले मालिकलाई हान्न थाल्यो । सबै बाख्राहरु किरणमाथि जाइलागे । उनी बाख्राको चोट खप्न नसकेर भाग्ने हुँदा आफैंले तताएको पानीको भाँडामा अझाट्टिएर लड्न पुगे । उम्लिएको पानी सबै जिउभरी खनियो । “आत्था मरें, पोल्यो” भन्दै रूँदै उफ्रन थाले । यही मौकामा सबै बाख्राहरु भागेर जंगलमा पुगे । जंगलको झोडीभित्र लुकेर शान्तिको लामो सास फेर्दै घोर्ले खसीले भगवती मातालाई पुका¥यो, “धन्य माता हजुरले मेरो पुकार सुनेर ज्यान बचाईदिनु भो । अब त हामी सुरक्षित छौं माता, धन्य हजूरले मलाई उपाय दिनु भो ।”
पेटारी आमाले घोर्लेलाई माया गर्दै भनी, “छोरा यहाँपनि हामी सुरक्षित छैनौ । यहाँ हामी चितुवा, बाघ र स्यालको सिकार हुनुपर्छ ।” घोर्लेले आमालाई सम्झाउँदै भन्यो, “आमा विवेकशिल मान्छेले हाम्रो भाषा बुझ्न सकेनन् । पशुले त पशुको भाषा बुझ्लान् नि, बुझेनन् र मर्नुप¥यो भने उसको भोक मेटाउन बलिदान हुन्छौं तर, माताको नाममा हामीलाई काटेर हाम्रो शरीर त बिक्री गर्न मान्छेले पाएनन् । हाम्रो शरीरलाई स्वाद लिई लिई खान पाएनन्, उनीहरुको स्वार्थमा हामी मर्नु परेन नि त । आखिर हामी कसैको आहार नै हौं भने प्रकृतिको आहार चक्रमा चितुवा, बाघ, भालु, स्यालकै आहार भयौं भने सन्तुुष्ट मानौं, आफूलाई धन्य ठानौं आमा यो हाम्रो निम्ति बलिदान हुनेछ ।”
– लेखराज रेग्मी
म हिजो चोर हुने गर्थे
चोरी लुकाउन खुंखार
राजावादी हुने गर्थेँ
खत माफ थिए
पुलिस अदालत अनुकुल थिए
चोर भनेर बदनाम हुँदा पनि
कसैले गाउँमा औंला ठडाएन
किनकी उ अ त बन्न डराउँथ्यो ।
बाली चरेको साँढेलाई जस्तै
पुच्छर समातेर चुट्न थालेपछि
म रातारात डेमोक्र्याट बने
बानी उही हो धन्दा उही
धेरै निन्दा खपेको छु मैले त्यतिबेला
त्यसैले त म छबी सुधार्न फेरि
युवा पञ्च बनेँ र गाउँ–गाउँ पुगेँ ।
आन्दोलन चल्यो अ तहरुको राज चल्यो
उनले शासन चलाएको पटक्कै मन परेन
तर म उनीहरुको हुलमा पसेँ सेप लागेँ
मलाई मेरो धन्दा जोगाउनु थियो ।
तर फेरि चुट्न थालियो लखेट्न थालियो
गाउँमा गिर्दो शाख जोगाउन खोज्दै थिएँ
हुण्डरी पस्यो गाउँमा पत्कर बनेर पछि लागेँ
मलाई उनको बदनामीको पीर थिएन
आफ्नो धन्दा चलाउने चौपारी चाहिएको थियो
रक्तमुछेल गाउँमा डाँङ्ग्रिको वसारपसार गरेँ
सन्त्रासको खेती गरेँ धन्दालाई सुरक्षित गरें
आज गणतन्त्रको नाममा उनी बदनाम छन्
म आफुलाई साधु बिरालोको भेषमा
पागल कुत्ता जस्तै दौडाइरहेको छु
र फेरि भेटाइरहेको छु पछि लाग्नेहरु
पीठ सुम्सुमानेहरु, अंङ्गालो मार्नेहरु
आज पनि म पाकेटमार नै हो तर
तारनहआर जस्तै देखिन थालेको छु ।
डर छ खतरनाक साउती चल्दैछन्
बेहोसीबाट उठेर फेरी
सुध्रिने सुधार्ने कुरा चल्दैछन्
पसिनाको मूल्य खोज्दैछ जनता
फेरि चोर भन्न थालेका छन्
चोर औँला देखाएर मैतिर उतैतिर
सायद खतरा छ जोगिन
तर पनि ती पुराना सुकुनका दिनहरु
फेरि कोशिस गर्दैछु आश मरेको छैन
धमिलो पारेर मूलको पानी
देखाउन सकियो भने गाग्रीतिर
जनता बेवकुफ छ झुक्काउन सकिन्छ
नालायकहरु लडिरहेका छन् आपसमा
कतै ओत लाग्न सकिन्छ की फुटको बिचमा
खराब देखाएर उनैलाई लिन सकिन्छ कि सहानुभूति
च्याखे थापेर कोशिस गर्दैछु फेरि
मलाई मेरो धन्दा चलाउन
म छोड्ने छैन सानो तिनो पनि अवसर ।।
पोखराः पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्राे, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ ।
नाटकमा फर्सीबहादुरको रुपमा रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अञ्जु दाहाल, गोलभेँडाको भूमिका रोशनी रामदामले, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार र करेली बनेर रञ्जु दाहालले अभिनय गरेका छन् । त्यस्तै अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले अभिनय गरेका छन् । गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ ।
केदार श्रेष्ठद्वारा लिखित उक्त नाटक अञ्जु दाहालको निर्देशनमा तयार पारिएको हो । लेखक श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार गरेको बताए । निर्देशक दाहालले विद्यार्थीलाई करेसाबारीबारे जान्न बुझ्न नाटक महत्वपूर्ण हुने बताए । ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको उक्त नाटक आमदर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’मार्फत पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन गरिने भएको छ ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागि समेत उत्तिकै महत्वपूर्ण रहेकाले पब्लिक सोको रुपमा मञ्चन गर्न लागिएको जानकारी दिए । करिब एक घण्टा १० मिनेट अवधिको उक्त नाटकमा सङ्गीत संयोजक कमल केसी, मञ्च सजावटको काम अमृत परियार र प्रकाश परिचालनको काम मिलन श्रेष्ठले गरेका थिए ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : बाँकेकी साहित्यकार कल्पना खरेलको उपन्यास ‘रानी तलाउ’ले एक हजार डलरको पुरस्कार प्राप्त गरेको छ । प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’बाट उपन्यास ‘रानी तलाउ’का लागि उपन्यासकार खरेललाई उक्त पुरस्कार दिइएको हो ।
जुलाई १५ शनिबार अमेरिकास्थित अनेसासको केन्द्रीय कार्यसमितिद्वारा जुमको माध्यमबाट आयोजित ३१औं वार्षिकोत्सव तथा २१०औं भानु जयन्ती समारोहमा उक्त पुरस्कार घोषणा गरिएको उपन्यासकार खरेलले जानकारी दिइन् । अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजाको अध्यक्षतामा सम्पन्न समारोहमा अनेसासको वार्षिक प्रतिवेदन तथा वार्षिक कार्ययोजना पनि प्रस्तुत गरिएको थियो । अनेसास विश्वभरका साहित्यकारहरुको छाता संगठन हो । खरेल उक्त अनेसासको लुम्बिनी प्रदेश समितिकी निवर्तमान अध्यक्ष हुन् भने अहिले उक्त समितिको अध्यक्ष साहित्यकार किरण आचार्य छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनवरी २४ मा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयको संयोजकत्वमा डा. विजयराज शर्मा, सन्ध्या पहाडी, ईश्वरीप्रसाद भट्ट र दीपा राई पुन सदस्य रहेको अनेसास पुरस्कार समिति गठन गरेको थियो । सोही समितिको सिफारिसअनुसार पुरस्कारको घोषणा गरिएको हो ।
‘रानीतलाउ’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाएकी उपन्यासकार खरेलले यो उपन्यासमार्फत समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको बताइन् ।
सामाजिक अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको छ । समाजमा रहेका अनेकौं विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम भएकी खरेलले सर्वोत्कृष्ट पुरस्कार पाउन सफल भएकी हुन् ।
खरेलले रानी तलाउ उपन्यासमार्फत पवित्र र दृढ इच्छाशक्ति सर्वशक्तिमान हुन्छ भन्ने कुरालाई आकर्षक ढंगले उठान गरेकी छिन् । सबैभन्दा ठूलो कुरा यसमा मानव आत्माको कुनै जात हुँदैन भन्ने कुरालाई उजागर गर्न खोजिएको बताउँदै उनले यही कुरा सुन्दर ढंगले उपन्यासमा चित्रण गरेकी छिन् ।
यसैबीच उपन्यासकार कल्पना खरेललाई यसवर्षको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ पनि प्रदान गरिने भएको छ । २०८० का लागि शब्दयात्रा प्रकाशनले यो पुरस्कार खरेल र र भवानी पाण्डेलाई प्रदान गर्न लागेको हो ।
सुमन तिम्सिनाले अनेसासमार्फत स्थापना गरेको यो पुरस्कार महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उपन्यासकार खरेललाई प्रदान गरिनेछ ।
शब्दयात्रा प्रकाशनले खरेल र पाण्डेलाई संयुक्तरूपमा पुरस्कार समर्पण गर्ने घोषणा गरेको हो । साहित्यकार अमर त्यागीद्वारा स्थापना गरिएको कोषबाट उक्त पुरस्कारमा ८÷८ हजार रुपैयाँ, अभिनन्दन पत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिने छ ।
खरेलका ‘रानी तलाउ’लगायत सात वटा कृतिहरू प्रकाशित भइसकेका छन् । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् ।
साहित्यकार खरेलको शब्द रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचनालगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् । खरेल नेपालगञ्जस्थित जी. नेपाल केफो टेलीभिजनको भावसरोवर साहित्यिक कार्यक्रमकी प्रस्तोता पनि हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न पुरस्कारहरु स्थापना गरेको छ । गत मार्च १०–१२, २०२३ मा ‘अनेसास आदर्श गुरूआमा सम्मान–२०२३’बाट न्यूयोर्कमा रहेको सरल नेपाली पाठशालाकी प्रशिक्षक पदमा लिङखा मगरलाई नगद ४ सय डलर र सम्मान–पत्र एवम् भर्जिनियामा रहेको शिक्षा सदन पाठशालाकी जानु ओझालाई नगद २ सय डलर र सम्मान–पत्रसहित बोस्टनमा सम्पन्न महिला सम्मेलनमा सम्मान गरिएको थियो ।
विदेशमा बसेर निःस्वार्थ रूपमा भाषा पाठशाला सञ्चालन गरेर निरन्तर नेपाली भाषा तथा कला प्रशिक्षणमा योगदान पुर्याउने शिक्षिकालाई पहिलो पटक अनेसासबाट सम्मान गरिएको थियो ।
पुरस्कार संयोजक अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार कुनै पनि राज्यमा दर्ता भएर सञ्चालनमा रहेको मुनाफारहित भाषा–साहित्य–कला प्रशिक्षण संस्था, पाँच वर्षदेखि निरन्तर सञ्चालनमा आएको, ५० भन्दा बढीको संख्यामा बालबालिका रहेको, पाँच जनाभन्दा बढी स्वयंसेवक शिक्षक वा शिक्षिका रहेको पाठशालालाई चयनको आधार मानिएको थियो ।
काठमाडौं : ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ महेश पौड्यालको कथासंग्रह ‘अपरिचित अनुहार’लाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ ।
अमेरिका निवासी साहित्यकार पदम विश्वकर्माले अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार ‘अपरिचित अनुहार’का लागि कथाकार तथा समालोचक महेश पौड्यालले प्राप्त गरेका हुन् । आगामी लक्ष्मी जयन्तीका अवसरमा एक समारोह आयोजना गरी प्रदान गरिने पुरस्कार वितरण गरिने अनेसासले जनाएको छ ।
पौड्याल कथाकार, कवि, समालोचक तथा अनुवादक हुन् । अंग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा उप–प्राध्यापकको रूपमा कार्यरत पौड्याल साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि क्रियाशील छन् ।
उनका ‘तादी किनारको गीत’, ‘अनामिक यात्री’, ‘त्यसपछि फुलेन गोदावरी’ र ‘अपरिचित अनुहार’, ‘शून्य प्रहरको साक्षी’लगायत एक दर्जन बढी बालसाहित्यका पुस्तक, केही गीत र नाटक तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नवोदित साहित्यिक वाचनालय कतारको १५औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनसँगै आदिकवि भानुभक्त आचार्यको २०९औं जन्म जयन्ती, सातौं नवोदित कृति अवार्ड, स्रष्टा सम्मान तथा बधाई कार्यक्रमसहित अनेसास नवोदितको १३६औं वाचन डबलीअन्तर्गत विशेष रचना वाचन सम्पन्न भएको हो । गजलकार परीविक्रमद्वारा लिखित गजल संग्रह अंकमालको विमोचनसहित सम्पन्न अधिवेशन वाचनालयका अध्यक्ष रूप रसाइलीको सभापतित्व तथा अनेसास कतार च्याप्टरका अध्यक्ष मणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अधिवेशनमार्फत आगामी एक कार्यकालका लागि नारायण भण्डारी 'निर्जल'को नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको प्रथम उपाध्यक्षमा लीलानाथ घिमिरे, द्वितीय उपाध्यक्षमा सानु थपलिया, मोबाइल पुस्तकालय संयोजकमा सोम थापा, महासचिवमा शोभाराम ओली, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा धर्म सन्देश र सह-कोषाध्यक्षमा खिम पुन चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा सुरेश परियार 'आभास', अनवर अली र विनोद अधिकारी रहेका छन् । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक पत्रकार महासंघ कतार शाखाका कार्यवाहक अध्यक्ष दिल श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
डबली र सम्मान
चार साहित्यकारका विशेष रचना वाचनअन्तर्गत डबलीमा अनवर अली, लीलानाथ घिमिरे, शोभाराम ओली र खेमराज सुवेदीले आफ्ना रचना वाचन गरेका थिए । सर्जकहरूले रचना वाचन गरीरहँदा बाँसुरीबाधक ख्याम भट्टराईले बाँसुरीको धुनमार्फत रचना वाचनलाई नयाँ उचाइ दिएका थिए । निवर्तमान अध्यक्षलाई कार्यसमितिले प्रदान गर्ने सम्मानअन्तर्गत नवोदितका प्रमुख सल्लाहकार टिका खड्का सम्मानित भएका छन् । त्यस्तै रचना वाचन गर्ने चारै जना सर्जक, बाँसुरीबाधक र कार्यसमितिका सल्लाहकारहरूलाई समेत सम्मान गरिएको थियो ।
कृति अवार्ड
कतारमा बस्दा या कतार छाडेर गएपछि लेखिएका नेपाली भाषाका सेवकहरूको कृतिलाई 'नवोदित कृति अवार्ड' प्रदान गर्दै नवोदितले हौसला बढाउँदै आइरहेको छ । सातौं संस्करणअन्तर्गत 'नवोदित कृति अवार्ड -२०८०'मा 'मैले देखेको कतार' रमजान अली मियाँ, 'सलेदो' गजल संग्रह दीप मिलन, 'मौसम' गजल संग्रह- एनवि अन्जान र 'सुलभ' उपन्यास- शोभाराम ओलीका कृतिहरू दर्ता भएका थिए । ती कृतिहरू मध्येबाट 'सुलभ' उपन्यास संग्रहले उक्त अवार्ड जितेको छ । सुलभका लेखक शोभाराम ओली हुन् भने उनले अवार्डसँगै ५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि प्राप्त गरेका छन् ।
यसअघि महेन्द्र अदृश्य राई 'अदृश्यको प्रतिविम्ब' कविता संग्रह २०६९, भानु सुनुवार 'रहरको बिस्कुन' गजल संग्रह २०७०, लेख कार्की 'मन्दिर' गजल संग्रह २०७२, विनोद खड्का 'ओला' नियात्रा संग्रह २०७४ र मीनराज वसन्त 'पिपिरी' उपन्यास २०७६, 'सनैया' संग्रह २०७८ ले अवार्ड जितिसकेका छन् ।
नारायण भण्डारीले स्वागत मन्तव्य राखेको अधिवेशनमा सानु थपलियाले भानुभक्त आचार्यको जीवनी वाचन गरेका थिए । अधिवेशनमा कतारमा स्थापित थुप्रै संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले पृथक तवरले कार्यक्रम सम्पन्न गरेकोमा गर्व लागेको बताए । खुला सत्रको समापन सभापति रसाइलीले गरेका थिए भने सहजीकरण महासचिव सोम थापाले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies