–मधुसूदन अधिकारी
घरका अरु सबै परिवार भावुक भएर रुन्छन् । तर, छोरीको बाउ बाल्यकालदेखि छोरी अन्माएपछि बितेका पल सम्झेर रुन्छन् । आमा र छोरीको सम्बन्धको चर्चा हुन्छ तर, बाबु छोरीको सम्बन्ध समुद्रभन्दा पनि गहिरो हुन्छ । हरेक बुबाले घरको छोरालाई गाली गर्छन् तर, त्यही बुबाले छोरीको हरेक गल्तीलाई झुटो देखाएर बेवास्ता गर्छन् । छोराले केही मागेमा एक पटक गाली गर्छन् तर, छोरीले नम्रभाव गरी केही माग्यो भने बुवाले सुन्छन् र खल्तीमा पैसा भए पनि नहोस्, छोरीको इच्छा पूरा गर्छन् । छोरीको निम्ती आफ्नो संसार सबै लुटिएता पनि बाउले हार कहिल्यै मान्दैनन् । तर, छोरीको आँखामा आँसु देखेर “बाबा तिमी नरौं”, भन्छन् । जब छोरी घरमा बस्छिन्, सबै कुरामा बुवाप्रति गर्व गर्छिन् । छोरी घरमा बस्छे भने आमाको काखमा हुन्छे तर, छोरीको हिम्मत उसको बाबुसँगै रहन्छ ।
छोरी बिहेपछि बिदाइ गर्दा सबैसँग मिलेर स्त्री जति सबै एकजुट भई डल्लो परी एकैछिन् रुन्छन् तर, त्यो समय बाबु चाहिँ अलिक परै हुन्छन् । बेहुलाले जब बेहुलीको हात समाती गाडीको तर्फ दुई पाइलो अघि सार्छन्, त्यो बेला छोरीले बाबुको आँगन फर्किएर हेर्दा देख्छिन् कि बुवाले कुर्सी जम्मा गर्दै गरेको, देख्ने बित्तिकै उनी बेहुलाको हात छोडी रुँदै बाबुलाई अँगालो हाल्छिन् । किनकी छोरीलाई थाहा छ कि जसको बलमा मैले मेरो हरेक इच्छा पूरा गरेको थिएँ, त्यो बेला बाबु आफै पनि रुन्छन्, छोरीको पिठ्युँमा हातले थप् थपाई बाबुले हिम्मत दिन्छन् ।
“जाउ छोरी अब राम्रो गरी आफ्नो घर गरी खानु ल, म पछि तिमीलाई लिन आउँछु । ज्वाईलाई भनेको छु कि सोह्र दिने साइत पारी आउनु । त्यो समय हामी बाउ छोरी बसि बदम खाँदै बात मारौला ।” यसरी बाबुले सजल नयनले छोरीलाई बुझाई बेहुलाको गाडीमा चढाई दिन्छन् । छोरी अन्माएपछि त्यो बाउभित्र भित्रै कति रुन्छ, त्यो त केवल छोरीको बाउलाई नै थाहा हुन्छ ।
बाबु जिउँदो छउञ्जेल छोरी दायाँ–बायाँ आमा–बुवाको घरमा आइपुग्छिन् र घरमै बस्न आग्रह गर्छिन् र कसैले केही भन्यो भने त्यो मेरो बुवाको घर हो भनी दृढतापूर्वक भन्छिन् । तर, बाबुको मृत्यु र छोरी आउने बित्तिकै यति ठूलो स्वरले रुन्छिन् कि सबै आफन्तले छोरी आइपुगेको बुझ्छन् । अनि त्यो छोरीले त्यो दिन आफ्नो हिम्मत हार्छिन्, किनकी त्यो दिन उसको बुबा मात्र होइन, उसको हिम्मत पनि मर्छ । बाबुको मृत्युपछि छोरीले दाजुको घरमा कहिल्यै जिद्दी गर्दिनन्, जे पायो त्यही खान्छिन् । जबसम्म बुवा हुनुहुन्थ्यो, सबै कुरा उनको थियो, यो कुरा उनलाई राम्ररी थाहा छ ।
अझै लेख्ने हिम्मत छैन म, यति मात्र भन्न चाहन्छु कि बाबुको लागि छोरी नै उसको जीवन हो तर, बिहेपछि छोरीले कहिल्यै बाबुसँग केही माग्ने काम गर्दिनन् । छोरीको लागि बाबु नै संसारको सबैभन्दा ठूलो हिम्मत र गौरव हो तर, छोरीले पनि यही भन्छिन् । कहिल्यै कसैसँग यो कुरो भन्दिनन् ।
छोरी हुने घरको रौनक हुन् । बाउ छोरीको माया सागरभन्दा पनि गहिरो हुन्छ ।
-रमिता चन्द ‘रितु’
१.
कति आँखा यी आँखालाई मन पराएर जान्छन्
मुटु पोल्ने घाउहरू भुलाएर जान्छन्
मन परेका आँखाले नै सपना बुन्न थालेपछि,
कति सपना आँखाबाटै हराएर जान्छन् ।।
२.
केही सपना पूरा गर्न विदेश आउनुपर्छ
परिवारलाई खुशी पार्न विदेश आउनुपर्छ
स्नातकको प्रमाणपत्र ट्याङ्काभित्र राखी
संघर्ष र दुःख गर्न विदेश आउनुपर्छ ।।
३.
प्रेम गरे प्रीतको हकदार बनिन्छ,
भलो गरे हितको हकदार बनिन्छ
कराएर विजय बनेको इतिहास भेटिँदैन
लडी रहे जितको हकदार बनिन्छ ।।
–रविन्द्र चौलागाईं
रोगहरूमा औषधि बनोस् प्रेम
भोकहरूका लागि खाना बनोस् प्रेम
शोकमा रहेकाहरूका लागि शक्ति बनोस् प्रेम
नाङ्गाहरूका लागि लुगा बनोस् प्रेम
गरिबको लागि आश्रय बनोस् प्रेम
तब पो प्रेम प्रेम जस्तो हुन्छ
तब पो प्रेममा शक्ति हुन्छ ।।
अतीत र इतिहासको फड्के तरेर
म गरिरहेछु त्यो प्रेम युगको कुरा
जुन युगमा प्रेम
माया गर्नेहरूका लागि सधैँ रह्यो खुल्ला किताब झैं
आत्मियताको बुलन्द स्वर बनेर गुन्जिरह्यो
सम्बन्धहरूको आभासमा अगाडि बढ्यो
र सुमधुरताको स्वरमा सधैँ सुर बन्यो प्रेम ।।
दुई मन एक बनाई बाँच्न सिकायो प्रेमले
दुई तन एकै बनाई नाँच्न सिकायो प्रेमले
दुई धड्कन एक बनाई धड्किन सिकायो प्रेमले
दुई आत्मा एकै बनाई हिँडायो प्रेमले ।।
इतिहासको फड्के तर्दै
इतिहासको देउराली झर्दै
आइपुग्यो प्रेम
तपाईंको हृदय छालहरूसम्म ।।
इतिहासले हारे पनि जिते पनि
कहिले हारेन दोसाँधहरूमा प्रेमले
बरू हारिरह्यो घृणाले
कहिल्यै पराजित भएन प्रेम
त्यसैले प्रेम अमर भयो
प्रेम अजर रह्यो ।।
म हुँ एक सिकारु प्रेमी
मनभरी गाइरहेछु प्रेम गीत
भनिरहेछु, रोगहरूमा औषधि बनोस् प्रेम
भोकाहरूका लागि खाना बनोस् प्रेम
शोकमा रहेकाहरूका लागि शक्ति बनोस् प्रेम
नाङ्गाहरूका लागि लुगा बनोस् प्रेम
गरिबको लागि आश्रय बनोस् प्रेम ।।
वासिङ्टन डिसी : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र प्राज्ञ बाबा बस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताए ।
प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको बताए । मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिए ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : शाश्वत आचार्य स्मृति प्रतिष्ठानले तीन जना श्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । एक विशेष कार्यक्रम तथा कवि गोष्ठीको आयोजना गरी ‘शाश्वत स्रष्टा सम्मान, पुरस्कार वितरण गरिएको हो । पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरू आख्यानकार कल्पना खरेल, कथाकार गणेश जिसी र लोक गायक तथा कवि भीमबहादुर शाही रहेका छन् । सुर्खेतका प्राज्ञिक व्यक्तित्व डा.महेन्द्र कुमार मल्लले ‘शाश्वत स्मृति पुरस्कार’ को नगद धनराशी सहित सम्मानपत्र प्रदान गरेका थिए ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान प्रा.डा.जनार्दन आचार्य र वरिष्ठ साहित्यकार किरण आचार्यले आफ्ना कान्छा सुपुत्र स्व.शाश्वतको स्मृतिमा स्थापना गरिएको संस्था हो । उक्त संस्थाले स्थापना कालदेखि राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्ती, विभिन्न अवसरमा राष्ट्रियताको सवाल र समसामयिक विषयमा बेला–बेलामा विचार गोष्ठीको आयोजना गर्दै आएको छ । कार्यक्रममा शाश्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.जनार्जन आचार्यले मन्तव्यका क्रममा भने, ‘शाश्वत आचार्यको सम्झनामा मोफसलमै लुकेका प्रतिभा र उहाँहरुको योगदानलाई प्रोत्साहन गर्नका निमित्त यो ‘शाश्वत स्रष्टा सम्मान, पुरस्कार स्थापना गरेर हरेक वर्ष श्रष्टालाई प्रदान गर्ने उद्देश्य रहेको बताउनु भयो । ‘आफ्नै ठाउँमा केही गरौँ’ भन्ने सोंचले यस संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।’
यसवर्ष शाश्वत आचार्य स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत तथा सम्मानित बाँके जिल्लामा रहेर कलम चलाउने कल्पना खरेल साहित्य साधनारत चर्चित तथा स्थापित नारी स्रष्टा हुन् ।
उपन्यासकार खरेलले कृतिहरूमा विवेक र नैतिकतालाई हतियार बनाएकी छिन् । उनले उपन्यास मार्फत् समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको स्पष्ट देखिन्छ । सामाजिक अन्तर्विरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको पाइन्छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा खरेलको ‘रानी तलाउ’ उपन्यासले सर्वोत्कृट पुस्तक पुरस्कार–२०८० प्राप्त गर्न सफल भएको थियो । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथा संग्रह, ‘क्षितिज पारीका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् ।
खरेलका दुई सयभन्दा बढी लेख रचना पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् भने उनको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी हुँदैन’ लगायत दुई दर्जन गीतहरू रेकर्ड समेत भइसकेका छन् । खरेल जी. नेपाल फोर के टेलिभिजनको ‘भावसरोवर साहित्यिक कार्यक्रम’को प्रस्तोताका रुपमा पनि साहित्यिक कार्यक्रम सञ्चालन गर्छिन् । त्यस्तै सम्मानित अर्का व्यक्तित्व नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा बसोबास गर्दै आएका मोफसलमा रहेर साहित्य एवं पत्रकारिताका क्षेत्रमा कलम चलाउने गणेश जिसीका कथा, नाटक, निबन्ध, कविता, उपन्यास, गणेश जिसीका क्रन्दन कथा सङ्ग्रह, सम्झौता तथा अज्ञात अनाथिनी गरी दुई वटा उपन्यास, मंगलचा खण्डकाव्य, शहरभित्र हराएको मान्छे कविता संग्रह र गणेश जिसीका हाइकु कथाहरुसहित ६ वटा कृतिहरू प्रकाशित भएका छन् । कुचवदिया जाति, राउटे जाति र राजी जातिको परिचयात्मक अध्ययन समेत गरेका जिसीले शान्ति यात्रा मासिकको सम्पादन गरी सम्पादकीय अनुभव समेत हाँसिल गरेका जिसी नेपाल पत्रकार महासंघका सदस्य, भेरी साहित्य समाजका सल्लाहकार, वि.विकास स्मृति साहित्यिक पुरस्कार गुठी, सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्ज लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । वि.सं. २०३८ मा ‘सिपाही’ शीर्षकको कविता लेखेर राष्ट्रिय स्तरको कविता प्रतियोगितामा जिसीले प्रथम स्थान प्राप्त गरेका थिए ।
पुरस्कृत अर्का स्रष्टा भीमबहादुर शाही पेशाले अधिवक्ता हुन् । लोकगायक र लोकसंस्कृति अन्वेषकको परिचय पनि बनाएका ७१ वर्षीय कवि लेखक शाहीका ‘हजारी फूल’, ‘मेरो जीवनको पाइला’, ‘अभागिनी आमा’, ‘विजया र कान्तावती’, ‘डोल्पा दर्पण’, ‘शान्ति क्षेत्रभित्रको ज्वालाक्षेत्र’, ‘वेदना मनभित्रमा’, ‘स्वप्नावली’, ‘झ्यालबाट बाहिर हेर्दा’, ‘योगी र भोगीको संवाद’ लगायत विभिन्न विधाका २६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।
सिलगढी, दार्जिलिङ : युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले चार जना सर्जकहरुलाई सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष एवम् साहित्यिक पत्रकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको हो ।
सम्मानित हुने सर्जक प्रधानले साहित्य सिर्जना र पत्रकारितामा लामो समयदेखि योगदान गर्दै आएका छन् । पेशाले अध्यापन गर्ने प्रधानका कविता, (लामो कविता), गीत, हास्यव्यंग्य निबन्ध र समालोचनाका ४० कृतिहरु प्रकाशित रहेका छन् । आकाशवाणी खरसाङको अनुमोदित गीतकार र फुटबल कमेन्टेटर पनि रहेका सर्जक प्रधानले विभिन्न संस्थाबाट ११२ भन्दा बढी सम्मान र पुरस्कार पाइसकेका छन् ।
यसैगरी सम्मानित हुने अर्का पत्रकार एवम् सर्जक चन्द्र भण्डारी लामो समयदेखि पत्रकारिता गर्दै गीत, कविता, कथा, संस्मरणमा कलम चलाउँदै आएका छन् । भण्डारी गीत सिर्जनामात्र गर्दैनन् आफैं गाउँछन् पनि । वि.सं. २०२४ देखि साहित्य सिर्जनामा लागेका भण्डारीका ४ सय बढी कविता, ३ सय बढी गीत, २५ कथा, ३ वटा गीति एल्बम रहेका छन् । भण्डारीका जेल संस्मरणलगायतका कृतिहरु प्रकाशोन्मुख छन् । भण्डारीले आँखो, देवानछाप, स्मारक, मेचीनगर, साराँश, प्रकाश, युगज्ञान, सुगन्धजस्ता पुस्तक पत्रपत्रिकाको सम्पादन पनि गरेका छन् । विगत ३० वर्षदेखि पत्रकारितामा र २० वर्षअघिबाट रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण पनि गर्दै आएका भण्डारी विभिन्न एक दर्जन बढी संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन् ।
सम्मानित हुने अर्का विश्वकीर्तिमानी सर्जक डा. डी. आर. उपाध्याय उपन्यास, कविता, गीत, कथा तथा विभिन्न विषयमा लेख रचना लेख्छन् । डा. उपाध्यायले १४ उपन्यास, २ सय बढी गीत सिर्जना, संगीत र गायन पनि गरेका छन् । ३३ बढी म्युजिक एल्बम निकालेका डा. उपाध्यायले १३२ बढी विश्वकीर्तिमानी अवार्ड र अन्य थुप्रै सम्मान र पुरस्कार पाएका छन् । अमेरिका बुक अफ रेकर्ड्स यूएसए, यूरोपिएन रेकर्ड बुक्स हंगेरी र द ब्रिटिश वर्ल्ड रेकर्डस् लण्डनको ब्राण्ड एम्बेसेडरसमेत रहेका डा. उपाध्यायका तीन वटा गीति संग्रह पनि प्रकाशित रहेका छन् ।
यस्तै अर्का सम्मानित सर्जक अनिता निरौलाले लघुकथा, नाटक, जीवनी, निबन्ध, अनुवाद, पत्रकारितामा योगदान गर्दै आएकी छन् । उनका ब्ल्यक एण्ड ह्नाइट, सिक्किममा संगीतभित्रकाहरु र साहित्यकार सानुभाइ शर्माको मोनोग्राफ कृतिहरु प्रकाशित रहेका छन् । विगत ४५ वर्षदेखि आकाशवाणीलगायतमार्फत पत्रकारितामा योगदान गर्दै फेसबुक र युट्युब पेजमा 'वाणी'को सञ्चालन गरेकी निरौलले वृत्तचित्रहरु पनि निर्माण गरेकी छन् । उनका हिन्दी कविता र लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । शिक्षण पेशामा समेत रहेकी निरौलाले नेपाली सांगीतिक कार्यक्रममा प्रत्यक्ष पाश्व उद्घोषक भएर पनि योगदान पुर्याएकी छन् ।
इन्डिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल सर्जक निरौलाले शोभा राई खोजी पत्रकारिता पुरस्कार, प्रेस क्लब अफ सिक्किम र डब्लू फ्याक्टरबाट वुमन एचिभरको सम्मानलगायतका सम्मान र पुरस्कार पाएकी छन् ।
अमेरिका : कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन सम्पन्न भएको छ । ‘सांस्कृतिक सत्ता र समता’ अभियान अन्तर्गत नर्थ क्यारोलाइनामा उनले ९ वटा कविता वाचन गरेका थिए । राईको यो तेस्रो एकल कविता वाचन शृंखला हो । यसअघि चितवनबाट शुरु भएको उनको दोस्रो शृंखला अन्तर्गतको कार्यक्रम पनि अमेरिकाको बोस्टनमा आयोजना भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले कार्यक्रम संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रममा आफ्नो प्रस्तुतिमार्फत मन्त्रमुग्ध माहोला बनाएका राईले आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताएका थिए ।
बाजुरा : बाजुराका मध्यान्हकर्मी नहकुल जोशीको पहिलो उपन्यास ‘नाजवाफ’ सार्वजनिक गरिएको छ । आइतबार सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उक्त पुस्तकको विमोचन गरे । विगत लामो समयदेखि पत्रकारितामा कलम चलाउँदै आएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति सार्वजनिक भएको हो ।
उपन्यासमा मुख्यरुपमा राज्यव्यवस्था परिवर्तनका निम्ति तत्कालीन खस साम्राज्यको योगदान र उपलब्धिमा आधारित रही यहाँका समस्या, कुप्रथा, विकास निर्माण र जनजीवनका बारेमा चित्रण गरिएको छ ।
जनताको जीवनस्तर र व्यवस्था परिवर्तनका निम्ति खस साम्राज्यको योगदान प्रशस्तै भए पनि विकास निर्माण र मानिसको जीवनस्तर फेरिने कुरामा राज्यको ध्यान नगएको तर्फ उपन्यासले इङ्गित गरेको छ । युद्धको समयलाई देखेको, भोगेको र अनुभव गरेको अलग–अलग पुस्ताले दुई दशकसम्म पनि परिवर्तनको महसुस नगर्नुले व्यवस्था फेरिँदैमा जनताको अवस्था फेरिँदैन भन्नेतर्फ आज आममानिसमा प्रश्न उठिरहेका बेला त्यस्तै प्रश्नको घोचपेच रहेको उपन्यास बजारमा आएको पत्रकार तथा समीक्षक अर्जुन शाहले बताए ।
मायाप्रेमसँगै विद्यमान मौसमी बसाइँसराइ, छुवाछुत, छाउपडी, बहुपति प्रथालगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदूरकर्णालीका समृद्धिका दिन कहिले आउँछन भन्ने कुरा उपन्यासमा गहनरुपमा आएको शाहको भनाइ छ । युद्ध साहित्यभित्र सामाजकि जनजीवनको तार्किक चित्रणले उपन्यास पठनीय रहेको उनले बताए ।
२१औं शताब्दीमा पनि हामी सबै एकै मानव हौं भन्ने भावनाको विकाससमेत नभएकोतर्फ उपन्यासले मुख्यरुपमा प्रश्न उठाएको लेखक जोशीले बताए । अन्तरजात भएकै कारण प्रेम सफल नभएको, लेकाली भेगमा बस्ने मानिसहरुले भोग्ने समस्या, अपहेलित खस भाषा र संस्कृतिको सम्मान हराउँदै गएको, बहुपतिजस्ता विध्यमान प्रथा अन्त्य गर्न मानिसमा चेतनाको सञ्चार हुन आवश्यक रहेको उनको भनाइ छ ।
आइतबार सुननन्दा मिडिया हाउसका निर्देशक अनिल शाहीको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही विशेष अतिथि रहेको कार्यक्रममा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया, पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, प्रदेश प्रमुखको कार्यालयका सचिव पुष्कर खड्कालगायत पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।
–श्याम रिमाल
महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीतसंगीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । नेपाली गीतसंगीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाएका ‘स्वरसम्राट्’का स्मृतिमा ‘नारायणगोपाल संगीत कोष’ले उनको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ । अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उनको सपनालाई मूर्तरूप दिइँदै छ ।
काठमाडौं किलागलबाट हालको कामपा–३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सरेका नारायणगोपाल (वि.सं. १९९६–२०४७) को निवासलाई सबैथरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले काम अगाडि बढाउँदै छ । तर, यस मंसिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनःनिर्माण र सङ्ग्रहालयको प्रारम्भिक काम सकिने छ । त्यो कोमल, आनन्दायक र अमूल्य ‘मखमली आवाजका धनी’ को जन्म महिना र गते असोज १८ लाई नभई देहावसान महिना र गते मंसिर १९ का दिनलाई नै कोष र गीतसंगीतकर्मीले पवित्र दिन मान्दै समारोह आयोजना गर्दै आएका छन् । कोषले हरेक वर्ष गीतसंगीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसकेका छन् । कोषका संरक्षक तथा अध्यक्ष पेमला (निधन वि.सं. २०६१)ले पतिसँगको बिछोड वर्षमै आफ्ना निवास र भौतिक सामग्री कोषअन्तर्गत सङ्ग्रहालय निर्माणार्थ सबै कोषलाई समर्पण गरिसकेका छन् ।
गीतसंगीतका क्यासेट भने म्युजिक नेपाललाई हस्तान्तरण गरिएको थियो । यसअघि नै कामपा–३ का वडाध्यक्ष दीपक केसीको पहलमा वि.सं. २०५४ मा भूगर्भ तथा खानी विभाग, लैनचौरदेखि महाराजगञ्ज चक्रपथचोकसम्म करिब साढे दुई किमी सडकलाई ‘नारायणगोपाल मार्ग’ नामकरण भइसकेको छ भने वि.सं. २०५५ मा महाराजगञ्ज चोकमा उनको साालिक ठडिइसकेको छ ।
कोषका वर्तमान महासचिव केसी नारायणगोपालसँग सम्बद्ध गीतसंगीतका सामग्रीदेखि उनले प्रयोग गरेका सबै घरेलु वस्तु सङ्ग्रहालयमा राखिने बताउँछन् । त्यसो त नारायणगोपाल–पेमला निवास÷सङ्ग्रहालयभित्रको पश्चिमोत्तर १७/१४ फिटको कक्षमा अहिले नै उनले प्रयोग गरेका तबला, हार्माेनियम, मादललगायत संगीत उपकरण, त्रिइनवन सिडी–क्यासेट–रेडियो, सम्मान, प्रशंसापत्र, पुरस्कार प्रमाणपत्र, पदक, मायाको चिनो, आफू, पत्नी, राजा वीरेन्द्र र साथीभाइसँगको तस्बिर, रेडियो सजिसजाउ गरी राखिएका छन् । उनकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन् । ‘मखमली आवाज’का धनीलाई सम्मान गर्न सङ्ग्रहालयका भित्ताहरू रातो मखमलले नै सजाइने छ तयारी छ ।
भाटभटेनी मन्दिरबाट एक सय मिटर र नारायणगोपाल सालिकबाट दुई सय ५० मिटर दूरीको पूर्वाेत्तर साढे दुई तलाको सङ्ग्रहालयमा नारायणगोपाल–पेमला दम्पतीका शय्या, दराज, वस्त्र, फ्रिज, स्टोभ, किरोसिन लाइट, तस्बिर आदि निवासमै यत्रतत्र छन् । जुन एकत्रित गर्ने काम भइरहेको छ र अन्य वस्तु पनि संकलन हुँदै छ ।
“त्यतिबेलाको कलर सोनी टेलिभिजन पनि त्यहीँ छ, बाथरुममा त्यो बेला नै राखिएको सावर पनि छ, जुन त्यतिबेला हत्तपत्त कसैले राख्दैनथ्यो”, सङ्ग्रहालय निर्माणमा जुटेका कोषका संगीत निर्देशक राजकुमार श्रेष्ठले भने । निवासका अन्य कोठाहरू स–साना नै छन् । बाथरुम भने सापेक्षिक रूपमा अलि ठूलै छ । डाइनिङ रुमसहितको भान्छा कोठा पनि चिटिक्क परेको छ । जहाँ नारायणगोपाल आफैँ खाना पकाउने मेलोमेसोमा ज्यादाजसो अघि सर्थे । भ¥याङ भने निकै साँघुरो र परम्परागत नै छ । कतिपय सामान काम गर्नेले लगे, कति अरूहरूले, केही पत्तै छैन ।
सङ्ग्रहालयको तल्लो वा भुइँतलाको एक कोठा भने हाल भ्वायलिन सिक्न चाहनेका लागि प्रयोग गरिँदै छ । “वि.सं. २०५२ देखि दैनिक चार–पाँच जनालाई गरेर हालसम्म दुई÷तीन सय विद्यार्थीलाई मैले तालिम दिइसकेँ, त्यो पनि सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क”, संगीत निर्देशक श्रेष्ठले भने । आधुनिक संगीतलाई पूर्णता दिन भ्वायलिन आवश्यक पर्छ । भ्यायलिन विश्वको सबैभन्दा लोकप्रिय बाजा हो । जसको प्रयोग पाश्चात्य संगीतदेखि लिएर हरेक प्रकारका संगीतमा गरिन्छ । सारङ्गी, सितार जस्ता अन्य तारयुक्त बाजामा ‘बेला’ सबभन्दा छोटो भए पनि यसको तार भने लामो हुन्छ ।
केसीका अनुसार नारायणगोपालका तीन सपना थिए, भ्वाइलिन ट्रेनिङ, गीतगङ्गा भवन तथा आफ्नो सालिक र आफ्नो नामको मार्ग । पछिल्लो सपना भने साथीभाइ–गीतसंगीतकर्मीमाझ स्वरसम्राट्ले ठट्टै ठट्टामा भन्ने गरेको भनी रणजित गजमेरले यसरी सुनाएका रहेछन्, “हामी मरेपछि हाम्रा नाममा मूर्ति र सडक बन्ने हुन् कि होइनन् ?”
गीति शब्द तौलेर मात्र गाउने यी गायकले लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, हरिभक्त कटुवाल, भूपी शेरचन, ईश्वरबल्लभ, धर्मराज थापा, चेतन कार्की, लक्ष्मण लोहनी, प्रदीप रिमाल, तुल्सी घिमिरे, नगेन्द्र थापा, किरण खरेल, राममान तृषित, गोपाल योञ्जन, भीम विराग, क्षेत्रप्रताप अधिकारी, दिव्य खालिङ, विश्वम्भर प्याकु¥याल, कालीप्रसाद रिजाल, रत्नशम्शेर थापा, भैरवनाथ रिमाल, कञ्चन पुडासैनी, नीर शाह, दिनेश अधिकारीलगायत नाम चलेका कवि, गीतकारका गीत मात्र गाए, संगीत दिए जुन गीतिमययुक्त, सुसंस्कृत र अतिसूक्ष्म स्वरकम्पपूर्ण हुन्थे, छन् । तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत त उनले जीवनको उत्तरार्धतिर मात्र गाए ।
जीवनमा आधुनिक, लोक, भजन र राष्ट्रिय गरी करिब चार सय गीत (नेपाली र नेपालभाषा) मा कर्णप्रिय संगीत तथा स्वर दिनुभएका नारायणगोपालको निवास पुनर्निर्माणका लागि रु २० लाख र सङ्ग्रहालय निर्माणका लागि रु २० लाख लागत लाग्ने अनुमान गरिएको छ । यी काम चालु आव २०८०/८१ मै सकिने योजना छ । “यस कामका लागि हामी तीनै तहका सरकार, विभिन्न संघसंस्था, व्यक्तिआदिका सहयोग लिन्छौँ । यो त राज्यकै दायित्व हो नि”, स्थानीय समाजसेवीसमेत रहेका केसीले भने । यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग पनि कुरा भइसकेको उनको भनाइ छ ।
गीतगङ्गा भवन
नारायणगोपालका सपनामध्येको गीतगङ्गा भवन निर्माण भइरहेको छ । संगीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ । सात करोड रुपैयाँ लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन् । “हामी चालु आवमा नै कुनै विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको संगीत कक्षा सुरु गराउने छौँ”, केसीले भनेका छन् ।
सहिद, राजनीतिज्ञ÷राजनीतिकर्मीका साथै भाषा, साहित्य, कला, गीतसंगीत, संस्कृति, चलचित्र, मनोरञ्जन, नाट्य आदि क्षेत्रमा योगदान दिने व्यक्तित्वका स्मृतिमा समाजमा स्मृति प्रतिष्ठान, संघसंस्था, सालिक, सङ्ग्रहालय, भवन, शैक्षिक संस्था खोल्ने चलन बढिरहेका सन्दर्भमा स्रष्टा/व्यक्तित्वका सपना साकार पार्न पनि पछिल्लो पुस्ता लाग्नुपर्नेमा समाजसेवी केसी र परिकल्पित नारायणगोपाल संगीत महाविद्यालयका संगीत निर्देशक श्रेष्ठ जोड दिन्छन् ।
गीतसंगीत क्षेत्रमा नेपालका ‘तारा’ देवीका नाममा पाँच वर्षअघि स्थापित प्रतिष्ठानका अध्यक्ष पनि रहेका केसीले उनीद्वारा गाइएका–संगीत दिइएका गीतहरूको पनि संकलन र ‘नोटिफिकेसन’को हुँदै गरेको जानकारी दिए । यसरी स्रष्टाहरूको सम्मानको कामलाई संस्थागत गर्नुपर्ने उदाहरण उनले दिए ।
तारादेवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको तारादेवी फाउन्डेसनका सदस्यमा मीरा राणा, ज्ञानु राणा, भुवन चन्दलगायत छन् । उनका नाममा भने हरेक वर्ष माघ ९ गते समारोह आयोजना गरिन्छ ।
–थमन नौबाग
जक्कड सिंह जस्ता क्रूर मान्छेलाई समेत डराएर शिष्ट नमस्कार गरिन्थ्यो, गर्नै पथ्र्याे । कारण त्यस ठाउँमा उ धनवान थियो, उसका पू्र्खाले करोडौं धन छोडेर गएका थिए । घमण्ड स्वार्थ अहंकार भएर के भो उसँग, बराबर गर्ने उसको गल्ती देखाउने कसैमा आँट आउँदैन थियो ।
वकिल, डाक्टर, सचिव, प्रहरी अधिकारी जस्ता पदाधिकारीलाई घरीघरी प्रीति भोजमा बोलाएर आफू पानीमाथिको ओभानो हुन्थ्यो र ठूला मान्छे मेरा घनिष्ठ हुन् भन्ने दर्शाउन चाहान्थ्यो ।
असली नाम त केथ्यो कुन्नी तर, गाउँ–घरमा ‘जकक्ड सिंह महाजन’ भनी प्रचलित नाम थियोे । गाउँलेहरुमा उसको साखिलो हुन पाए हेपिनुबाट जोगिन्छ भन्ने थियो ।“हजुर त सर्वगुण सम्पन्न,
राजनीतिमा गएर भोट जितेर मन्त्री पो हुनुपर्छ”, चाप्लिुसी गर्दै गाउँलेहरुले भन्थे ।
यो कुरा उसलाई धेरैले भनिसकेको थिए र हाँसेर भन्थ्यो, “तिमीहरूले भोट दिन्छौ भने कुनै त पार्टी खोलिहाल्छु नी ।”
साच्चै आफ्नो प्रचलित नाममा भोट पाउछु भनी मन्त्री बन्ने इच्छा बोकेर जक्कड राजनीति दल खोलेर भोट माग्न हिँड्यो । आफ्नो क्षेत्रका जनतालाई भतेर नै लगाएर रक्सी र मासु खुवायो । बिट्टाको बिट्टा रुपियाँ बाड्यो । बाबुबाजेको धनबाट लगभग तीस प्रतिशत एकैचोटि खर्च गर्यो ।
तर पनि पार्टीमा सिद्धान्त र नीति केही नभएकोले नै धेरै मतले पराजित बन्यो । गाउँलेहरु खासक खुसुक कुरा गर्न थाले– “बल्ल यसको बल र धनको तुजुकमा कष्ट पर्यो ।”
एककान दुई कान मैदान भयो, यो खबर चेला–चम्चाले नामसमेत उसलाई सुनाए । अनि त उसले गुण्डा लाएर आफ्नै जनतालाई कुटायो । हातखुट्टा भाँच्यो । गरिखान नसक्ने बनायो ।
गुण्डागर्दी गरेर रमाएको उ एकदिन गिरफ्तार त भयो तर, पुलिसले सबुत जुटाउनु नपाई पैसाको खोलो बगाएर जमानतमा छुट्यो । अर्कालाई जति चोट पार्न सफल हुन्थ्यो उति नै उ रमाइलो गर्दै भन्थ्यो, “जक्क्ड सिंहलाई चिनिस..?” खुल्ला चुनौती दिन्थ्यो ।
“हामीलाई समर्थन नदिने बाँठेहरुलाई तह लाउन यस्ता जक्कड सिंह जस्ता क्रुर मान्छे पनि हातमा लिनुपर्ने हुन्छ ।” भनी ठूला नेताहरू उसलाई कानुनी फन्दाबाट जोगाउँदथे, राजनीतिको नीति नै नबुझ्ने अनि राजनीति सपना साकार बनाउन मन्त्रीको परिकल्पनामा गाउँबाट शहर पस्यो ।
“लु जक्कड सिंह त्यस ठाउँका मान्छे हाम्रो दलको बिरोधमा जादैछन् । दंगा फसाद गरेर आतंक फैलाउने जिम्मेवारी तिम्रो.. तर, त्यहाँको काण्डमा हात, त्यो देशभक्तको भाषण छाट्ने पक्षको हुनुपर्छ हाम्रो होइन ।”
जक्कड सिंह भन्थ्यो, “मलाई टिकट दिएर मन्त्री बनाउहोस्, बिरोधिलाई तह म लगाउँछु ।”
असमाजिक व्यक्तिहरु बड्न थाल्यो, अशान्ति सिर्जना हुनथाल्यो, जताततै जनमानसमा कष्ट दिएर उ रमाउँथ्यो । दुष्कर्मील्हरुले जनकष्ट दिइरहेका छन् तर, काण्ड तरिका पारेर गरेकोले जक्क्ड सिंह जोगिन्थ्यो । र पनि उसले कहिले पनि टिकट पाएन, मन्त्री बन्ने सपना गुण्डा मै टुंगिन थालेको उसलाई अनुभव हुन थाल्यो । तथापि, कानुनी फन्दाबाट जोगिनु आफ्नो अपराध सहजै अरुको नाममा देखाउने कलामा उ सिपालु थियो र थानामा लगे पनि जमानत पाइहाल्थ्यो ।
यसरी कति कतिले कुटाइ खाए, हात खुट्टा भाँचेर चोटको पीडामा जिन्दगी बिताउन बाध्यतामा थिए तर, पनि डरले कुट्ने कष्ट दिने गुण्डा नायक जक्कड सिंहलाई जोगाउन अदालतमा झुठो बयान दिएर आफ्नो ज्यानधनको सुरक्षा भयो भन्ठान्नेहरु थिए ।
अब जक्कड सिंहको उमेर ढल्किन थाल्यो, पहिला जस्तो बल ताकत छैन । परि आएको बेला सहायता दिने पनि सकिन्दै गए, अनि एकदिन शहरमा बम काण्डमा परेर लुलो लङ्डो लाचार बनेको जक्कड सिंह आफ्नै गाउँ फर्की आएको छ । हात खुट्टा नै गुमाएको जक्कड सिंह मिलनसार अनि दयावान भएर आफ्नो पीडा कष्टको उपचारमा सम्पत्ति जति खर्चिए पनि रोगले पीडित रोगी भएको छ । यसैले सायद दयावान भएको छ ।
मर्दा पर्दा बिहे अनि कुनै पनि महोत्सवमा वैशाकीको आड्मा सबैतिर पुग्छ । फरक यत्ति नै हो पहिला उसलाई डरैले नमस्ते गर्दथे तर, हिजोआज उसले सबैलाई नम्रतामा नमस्ते गरिहिँड्छ ।
गाउँलेहरू कुरा गर्छन्, “अरुलाई शारिरिक कष्ट दिएर रमाउने जक्कड सिंह लुलो लङ्गडो लुते भएको छ र सहायता माग्ने लाचार भएको छ, आफ्नो अपराधको देवदण्ड भोगिरहेको छ ।”
जे होस् गाउँ भनेको गाउँ नै हो, सबैले पहिलाको ईख नराखी मानवताको नातामा जक्कड सिंहसँग नाता राखेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies