काठमाडौं : नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरलेसम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरे ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्दा उठाउन आग्रह गरिन् । महिलाको उद्यमशीलता विकासका लागि कानुनी र संरचनागत सुधारको आवश्यकता रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशीलता विकासमा डा. शाक्यको भूमिकाको प्रशंसा गरिन् । चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए ।
महिला चेम्बरमार्फत् महिला उद्यमशीलता एवं शसक्तीकरणका लागि चेम्बरले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाइ छ । सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा. शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको बताए । सम्मान ग्रहणपछि डा. शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने र मुलुकको आर्थिक विकासका लागि आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान कानुनको उल्लंघन हुनेगरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो ।
प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता रकम नबुझाएका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणले उनीहरुलाई विदेशी मुद्रा सहटी तथा भुक्तानी सिफारिस रोक्दै आएका छन् । यस्तो मुद्रा सहटी तथा भुक्तानी सुविधा नपाएका कारण ब्याण्डविथको शुल्क तिर्न नसकेको सेवा प्रदायकहरुको गुनासो छ । तर प्राधिकरणले भने ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता नतिरेसम्म मुद्रा सटही सुविधा दिन नमिल्ने स्पष्ट पारेको छ ।
‘सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली, २०६८ को विनियम ५(१) बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था रहेकोमा धेरैजसो सेवा प्रदायकहरुले नियमानुसार तिर्नु बुझाउनुपर्ने रकम भुक्तान गरी निर्वाध रुपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायतका सहजीकरणका सुविधा लिइरहेको अवस्था रहेको छ’, प्राधिकरणले भनेको छ, ‘तर सीमित सेवा प्रदायकहरुले वर्षौदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दासमेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिससम्बन्धी (कार्यविधि) विनियमावली, २०७६ को ४(घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने देखिँदैन ।’
यो उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दूरसञ्चार जस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ । साथै इन्टरनेट अत्यावश्यक सेवा भएकाले भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी आम उपभोक्तालाई निर्वाध रुपमा सेवा उपलब्ध गराउन प्राधिकरणले सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ । यो निर्देशन पालना नभएमा दूरसञ्चार ऐन, २०५३ लगायत प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/२ बजेटमार्फत आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन् । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढंगले हेरफेर गरिनेसमेत बताए ।
आज अर्थ मन्त्रालयमा आयोजित युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको पूर्वबजेट छलफलका क्रममा अर्थमन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी आएका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो ।
“विगतमा करका दर घटाउने, बढाउने, विस्तार गर्ने, छुट दिने वा जे गर्दा पनि अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ”, मन्त्री पुनले भने, “मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका अधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन । यो हाम्रो प्रतिबद्धता हो ।” करका दर संशोधन गर्दा पहिले कति थियो र आर्थिक ऐनमार्फत किन बढाइयो वा घटाइयो भनेर तर्कपूर्ण कारण देखाएरमात्र हेरफेर गरिने उनको स्पष्टोक्ति थियो ।
त्यस्तै, मुलुकको भू–अवस्थिति, प्राकृतिक श्रोत र जनशक्तिका आधारमा विकासका योजना बनाउने सरकारको नीति रहेको अर्थमन्त्री पुनले बताउनुभयो । सरकारको नीति र नीतिगत निरन्तरताका कारण पर्यटन, ऊर्जा र सिमेन्ट उद्योगमा नेपालमा पछिल्लो डेढ दशकमा राम्रो प्रगति भएको उल्लेख गर्दै अर्थमन्त्री पुनले युवा वर्गलाई लक्षित गरी सरकारले आगामी दिनमा सूचना प्रविधि क्षेत्र, स्टार्टअप र नवप्रवर्तनलाई प्राथमिकतामा राख्नेसमेत बताउनुभयो ।
पछिल्लो तीन दशकमा नेपालको सरदर आर्थिक वृद्धिदर चार दशमलव २३ प्रतिशतमात्र रहेको भन्दै उनले न्यून आर्थिक वृद्धिदर हासिल हुनुका कारण सबै मिलेर खोज्नुपर्ने बताए । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले ल्याएको अध्यादेशमा नेपालमा लगानी गरेर आर्जन गरेको प्रतिफल बाहिर लैजान र बाहिर आर्जन गरेको प्रतिफल नेपाल ल्याउन दिने व्यवस्था गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।
आगामी आर्थिक वर्षको बजोटमाथि सुझाव लिन मन्त्रालयले यसअघि पूर्वअर्थमन्त्रीहरू, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, पूर्वअर्थसचिव, पूर्वधार, स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरिसकेको छ । मन्त्रालयले निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स र महिला उद्यमीसँग पनि छिट्टै छलफल गर्ने तय भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाएको छ । त्यसका लागि बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको हो ।
यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ ।
बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
काठमाडौं : सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।
बैठकले अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
काठमाडौं : नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले ‘ह्यान्डिक्राफ्ट स्प्रिङ फेयर २०२४’ आयोजना गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा वैशाख २७ देखि ३१ गतेसम्म मेला आयोजना गर्न लागिएको संघका महासचिव तथा मेला संयोजक अनन्त गुप्ताले जानकारी दिए ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा आयोजना हुने मेला बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने गुप्ताले बताए । मेलामा परम्परागत तथा नवोदित हस्तकलाबाट तयार पारिएका घर सजावट गर्ने सामानहरु, सेरामिक, सूती, प्राकृतिक रेशाजन्य सामान, पश्मिना, फेसन डिजाइनका सामानहरु, चाँदीका गरगहना, नेपाली कागजका सामान तथा विभिन्न उपहारका वस्तुहरु बिक्रीका सोकेसमा लागि राखिने संयोजक गुप्ताले जानकारी दिए ।
स्थानीय निकाय एवम् हस्तकलाका उद्यमी तथा व्यवसायीको सहकार्यबाट मेला सम्पन्न गर्न लागिएको हुँदा देशको आर्थिक विकासमा नयाँ र बलियो आयाम थप्नुका साथै गुणस्तरमा प्रतिस्पर्धा गर्ने अवसरसमेत प्रदान गर्ने मेलाको उद्देश्य रहेको गुप्ताले बताए ।
मेलाले यस्तै स्वदेशी हस्तकलाको सामानको अत्यधिक प्रयोग गर्न नेपाली युवा पुस्तालाई थप आकर्षित पार्ने विश्वास संघले लिएको छ । साथै मेलाले उपभोक्तालाई बदलिँदो डिजाइन, प्याकेजिङ र गुणस्तरलगायतका विषयमा जानकारी लिने मौका पनि मिल्ने संघले बताएको छ ।
संघले मेलामा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न चेम्बर एशोसिएसन, कार्गो अफिस, बैंक तथा वित्तीय संस्थाहरुले पनि स्टल राखेर आफ्ना सेवाको प्रचार प्रसार अभियान सञ्चालन गर्न पाउने बताएको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ३४ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले माधोपुरका आगलागी पीडित परिवारलाई राहत वितरण गरेका छन् । नगरप्रमुख यादवले आगलागीबाट घर जलेर बासविहीन बनेका चार परिवारलाई लात्ताकपडा, खाद्यान्न, ग्यास सिलिन्डर, चुल्होसहित जीविकोपार्जनका लागि आवश्यक पर्ने समग्रीहरु हस्तान्तरण गरेका हुन् ।
राहत सामग्री वितरण गर्दै नगरप्रमुख यादवले आगलागी पीडित परिवारलाई तत्कालका लागि आफ्नो तर्फबाट केही राहत सामग्री सहयोग गरेको बताउँदै थप राहत सामग्री उपलब्ध गराइदिन सहयोगी निकायहरुलाई आह्वान गरे । माधोपुरको आगलागी पीडित परिवारलाई सहयोग गरेर सराहनीय कार्य गरेको भन्दै स्थानीयहरुले नगरप्रमुख यादवलाई धन्यवाद दिएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, इन्जिनियर नागेन्द्र यादवलगायतको उपस्थितिमा नगरप्रमुख यादवले माधोपुर नै पुगेर पीडित परिवारलाई राहत वितरण गरेका हुन् ।
छबि सापकोटा/मध्यान्ह
काठमाडौं : विश्वकै अर्थतन्त्र सुधारको गतिमा अगाडि बढ्दा नेपालमा विदेशी पर्यटक आगमनमा समेत बढेको छ । कोभिड–१९ पछि पर्यटन क्षेत्रमा मारमा परेको थियो । ४ वर्षपछि पर्यटन आगमन पुरानै लयमा फर्किएको छ । नेपालमा विदेशी पर्यटक आगमन कोभिड अघि भन्दा बढ्दा थालेको छ ।
पर्यटन बोर्डको तथ्याङ अनुसार अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार २०२३ को अप्रिलको तुलनामा २०२४ को अप्रिल पर्यटकको आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको हो । २०२३ को अप्रिलमा ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएका थिए भने २०२४ को अप्रिलमा भने बढेर एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् ।
पर्यटन बोर्डको तथ्याङ हेर्ने हो भने कोभिड भन्दा अघि २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए । तर कोभिडपछि पर्यटकको संख्या बढ्न सकेको थिएन । नेपालमा आउने पर्यटकमा सबै भन्दा धेरै भारतीय पर्यटक छन् भने दोस्रोमा अमेरिका र तेस्रोमा चिनियाँ पर्यटक रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अप्रिलमा नेपाल भारतीय पर्यटक ३० हजार एक सय ५८ आएका छन् । यस्तै अमेरिकीबाट नौ हजार नौ सय ४७ पर्यटक र चीनबाट नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका हुन् । बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बंगलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७० पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को मार्चमा पनि एक लाख २८ हजार १६७ विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटक बढेसँगै होटलको व्यपार बढेको छ। होटल एसोसिएशन अफ नेपालका अध्यक्ष विनायक शाह भने ‘पर्यटक आगमनको संख्या बढ्दा होटल बुकिङ समेत बढेको छ । सरकारले राम्रो वातावरण बनाउन सकेन नेपाल अबको डेस्टिनेसन बनाउन सकिने छ । जसरी पाँच तारे र चेन होटलको आगमन बढेको यसले पर्यटन आगमन आगामी दिनमा बढ्ने छ ।’
ठमेल बिकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने ‘पर्यटन आगमनले ठमेलमा चहलपहल बढ्दो छ । नयाँ वर्षदेखि २४ औ घण्टा ठमेल खुल्ला गरेको संन्देशले पर्यटक क्षेत्र उत्साहित भएको छ । अब पर्यटकको बसाई लम्बाउने तर्फ राज्य र व्यवसायी लाग्नु पर्ने छ ।’ विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्दा पर्यटन क्षेत्र उत्साहित छ ।
काठमाडौंं : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् ।
पाल्पा सिमेन्टको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको शेयर प्रत्याभूति गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies