काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष (आ.व) ७८/७९ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले गत आवको तेश्रो त्रैमाससम्म निर्जीवन तर्फ ६० करोड २१ लाख खुद नाफा गर्न सफल भएको छ भने जीवन बीमा तर्फ भने २ करोड ९७ लाख नोक्सानी बेहोर्न पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले निर्जीवन बीमा तर्फ ८२ करोड ४७ लाख खुद नाफा गर्दा जीवन बीमा तर्फ १० करोड १० लाख खुद नाफा गरेको थियो । गत आवको तेश्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनीले ८ अर्ब ७८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो आवको तेश्रो त्रैमाससम्म ६ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले एक वर्षको अवधिमा करिव २९ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ । ११ अर्ब ६५ करोड चुक्ता पूँजी भएको कम्पनीमा निर्जीवन तर्फ ३ अर्ब ९१ करोड जगेडा कोषमा संचित रकम हुँदा जीवन बीमा तर्फ ५९ करोड ५ लाख जगेडामा संचित गर्न सफल भएको छ । त्यस्तै निर्जीवन तर्फ बीमा कोषमा २ अर्ब ५४ करोड रहेको छ । प्रकाशित तथ्यांकअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा छ रहेको छ ।
काठमाडौं : माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल पे को क्युआर सेवा सुरु भए सँगै ग्राहकहरुले आफुले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम स्मार्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।
माछापुच्छे बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले साउन २७ गते शुक्रबार उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरेको विवरणअनुसार इन्स्योरेन्स कम्पनीले गत आवमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.५० प्रतिशतले घटी हो । इन्स्योरेन्सले सो वर्षमा ३२ अर्ब ३६ करोड रुपैया बराबरको प्रिमियम संकलन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमाकोष बढेर १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, जगेडा तथा कोषमा २८ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोष जगेडामा ७२ करोड २ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्स लगानी विस्तारमा आक्रामक देखिएको छ । २०७९ असार मसान्तसम्ममा कम्पनीले १ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २२.७१ प्रतिशतले बढी हो । २०७८ असारसम्ममा इन्स्योरेन्सले १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । उक्त लगानी सुरक्षित क्षेत्रमा गरिएको समेत कम्पनीको दावी छ । गत आवमा इन्स्योरेन्स ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।
हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ नोक्सानमा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा छ भने औसत प्रतिफल ९.५७ प्रतिशत रहेको छ । इन्स्योरेन्सले ६८ हजार ७५९ वटा बीमालेखबाट कूल १३ अर्ब ३२ करोड रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ । त्यस्तै, १ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।
काठमाडौं : प्रभु बैंकले १००० जना कर्मचारीको बढुवा गरेको छ । उच्च व्यवस्थापन अर्थात् कार्यकारी तहमा दिनेश थकाली र रेणुप्रसाद पाण्डेसहित १००० कर्मचारीको बढुवा गरेको हो ।
यसअघि सहायक महाप्रवन्धक रहेका थकालीलाई एक तह बढुवा गरी नायव महाप्रबन्धक बनाइएको छ । त्यस्तै, यसअघि चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मी पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।
त्यस्तै, एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारी छन् । सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीहरुको बढुवा गरेको हो । कर्मचारीहरुलाई कार्यसम्पादन मूल्यांकनका आधारमा एक तह बढुवा गरिएको बैंकको मानव संसाधन शाखाले जनाएको छ ।
काठमाडौं : ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला–२०७९’ शुरु भएको छ । शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड टे«ड सेन्टरमा शुरु भएको हो । मेलाको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेकी थिइन् ।
महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरेको आयोजकले जनाएको छ । ५ दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको बिक्रीवितरण गरिनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित बस्तुहरुको उपयोग गर्न आम उपभोक्ताहरूलाई आह्वान गरिन् । सो मेलाको अवलोकन गरेपछि उनले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिmक्रिया दिँदै महिला दिदीबहिनीहरुले गुणस्तरीय बस्तु उत्पादन गरेको उल्लेख गर्दै विदेशी वस्तुभन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गरिन् ।
मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, शुरुवाल, चुरा, जुत्ता, चप्पल, झोलाआदि प्रदर्शन गरिएको छ । ५ दिनसम्म चल्ने मेलामा करिव १० हजारले अवलोकन गर्ने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
काठमाडौंः नेपाल धितोपत्र बोर्डले ‘शेयर कारोबार निर्देशिका २०७९’ को ड्राफ्ट तयार गरेको छ । तयारी गरिएको नयाँ निर्देशिकाअनुसार अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने छ ।
‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन शेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकाको मस्यौदामा भनिएको छ ।
तर, प्रारम्भिक समझदारी भए पश्चात धितोपत्र बजारले गाभ्ने÷गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत शेयरधनीको कारोबार मर्जर सम्झौता भएपछि मात्रै रोक्का हुनेछ । यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था बोर्डले तयार गरेको नयाँ निर्देशिकाको ड्राफ्टमा छ । नयाँ व्यवस्थाअनुसार मर्जरपछि प्राप्ति गर्ने कम्पनीको नाम परिवर्तन नभएमा शेयर कारोबार रोक्का नहुने व्यवस्था बोर्डले गरेको छ ।
बोर्डले गर्न लागेको नयाँ व्यवस्थाअनुसार अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने छ । ‘संगठित सस्थाको गाभ्नेरगाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ मस्यौदामा लेखिएको छ । लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ ।
अब मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना सार्वजनिक गर्न नपाउने भएका छन् । साथै, सो सम्बन्धमा कुनै पनि सूचना सार्वजनिक नगर्ने सम्बन्धमा संगठित संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिवसमक्ष लिखित प्रतिवद्धता पेश गर्नुपर्ने छ । लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ ।
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको आरोप लगाएको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरू राष्ट्र बैंकको नीतिका कारण मर्कामा परेको उल्लेख छ ।
विज्ञप्तिमा राष्ट्र बैंकको मौद्रिक नीतिले ऋणीहरू असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न चेम्बरले आग्रह गर्दै आधार दर (बेसरेट)मा गरिएको अस्वाभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणीहरू मर्कामा परेको चेम्बरको ठहर रहेको उल्लेख छ । चेम्बरले भनेको छ, ‘यसअघि निश्चित ब्याजदरमा कर्जा लिएका ऋणीहरू राष्ट्र बैंकको नीतिका कारण थप समस्यामा परेका छन् । आधारदर अस्वाभाविकरूपमा बढ्दा यसको मार ऋणीहरूमा परेको छ ।’
आधार दर (बेसरेट) प्रिमियममा यसअघिको व्यवस्था अधिकतम एक दशमलव पाँच प्रतिशतविपरीत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा दुई र अन्यमा चार प्रतिशतसम्मको सीमाले व्यावसायिक गतिविधि प्रभावित हुने र मूल्यवृद्धि झन् बढ्ने चेम्बरको ठहर छ । उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षाविपरीत कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै संकुचनमा पर्ने चेम्बरले जनाएको छ ।
नगद प्रवाहलाई संकुचन एवं कर्जा प्रवाहको लक्ष्यलाई सीमित गरेर ब्याजदर बढाउँदा बजेटले लिएको आठ प्रतिशतको लक्ष्य र मूल्यवृद्धि सात प्रतिशतमा सीमित गर्न कठिन हुने विज्ञप्तिमा उल्लेख छ । अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि मौद्रिक नीतिका कारण संकुचन आउन सक्ने र यसले रोजगारीमा समेत असर गर्ने चेम्बरले विज्ञप्तिमा बताएको छ ।
केन्द्रीय बैंकले मुद्रास्फीति घटाउन संकुचित मौद्रिक नीति ल्याएको भए पनि आपूर्ति प्रणालीमा हुने अवरोधका कारण मूल्यवृद्धि अझै बढ्न सक्ने तथा कोभिड महामारीमा दिएको सुविधा कटौती गरी अत्यावश्यक क्षेत्रलाई पुनःकर्जा दिने व्यवस्थामा नीतिगत लचकतासहित सुरक्षित अवतरण गर्नुपर्नेमा जोड दिएको छ । रासस
काठमाडौं : रिचेत जलविद्युत कम्पनीले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ कित्ता सार्वजनिक गर्ने भएको हो । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।
उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् । २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुरको महालक्ष्मीस्थानमा रहेको छ ।
काठमाडौं : नाडाले पहिलो पटक विद्युतीय गाडीको एक्स्पो गर्ने भएको छ । बिहीबार अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको कार्य समितिको आठौं बैठकले नाडा इभि एक्स्पो गर्ने भएको हो ।
उक्त इभि एक्स्पो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्स्पो २०२२ गर्ने निर्णय गरेको जनाएको छ । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ ।
नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्स्पोमा सहभागी हुन अनुरोध गरेका छन् ।
काठमाडौं : चन्द्रागिरी नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ । चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका हुन् । यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धी रहेको विश्वास व्यक्त गरे ।
नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरी नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे । प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’ मा गइ ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरी नगरपालिका’ मार्फत आफ्नो कर तिर्न सक्नेछन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies