काठमाडौं : समृद्धि फाइनान्सले कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाडौंसँंग समझदारी गरेको छ । समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले समृद्धि मोबाइल बैंकिङ, डेविट कार्ड प्रयोग गरी स्टेशनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशत छुट पाउने छन् ।
यो सुविधाबाट फाइनान्सका ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समद्मदारी पत्रमा फाइनान्स कम्पनीकातर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा तर्फबाट संस्थापक पुष्कर राजकार्कीले हस्ताक्षर गरेका छन् ।
काठमाडौं : सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । रेमिट डिम्याट खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपालको पुँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजीवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यका लागि सहजीकरण गर्ने कम्पनीको विश्वास छ ।
सो सेवाको माध्यमबाट विदेशमा रहेका नेपालीले नेपालको पूँजी बजारमा लगानी गर्न सहयोग पुग्ने विश्वाससहित यो सेवाको सुरुवात गरिएको सन सेक्युरिटिजले जनाएको छ । ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरिएको रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिक, विद्यार्थी तथा अन्य पेसामा आवद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीको भनाइ छ ।
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा साविकका शेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले शेयर बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिहीबार आयोजित एक समारोहबिच मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं : एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित भएकी छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा सो सम्मान प्रदान गरेको हो ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो ।
इन्जिनियरिङ क्षेत्रमा करियर शुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन र अहिले उनी १४० बढी प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् । असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुँदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै चार वाणिज्य बैंक र शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै २ विकास बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैकले लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई नियामकीय व्यवस्था उल्लंघन गरेकोले कारवाही गरेको जनाएको छ । यस्तै लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।
राष्ट्र बैंकले लक्ष्मी सनराइज (साविकको लक्ष्मी बैंक) को संस्थापक शेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । खेतानले बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रुपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रुपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको राष्ट्र बैकले जनाएको छ । खेतानलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम जरिवाना गरेको हो । बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन नगरेकाले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत सचेत गराएको छ ।
यस्तै कुमारी बैंक कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्थाअनुसार कायम नगरेपछि राष्ट्र बैंकले बैंकका सञ्चालक समिति र सीईओलाई सचेत गराएको छ । कुमारी बैंकलाई समेत राष्ट्र बैंकले कारवाही गरेको छ । तत्कालीन सीईओलाई तलबभत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । प्राइम बैंकका सीईओलाई उक्त ऐनको दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार सञ्चालक समितिलाई सचेत गराएको हो ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पनि नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै बैंकका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । बैंकको कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र (एलसी) बैंककै कालीमाटी शाखाले ‘कन्फर्म’ गरी सोही एलसीअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट ‘प्रमिसरी नोट’ जारी गरी ‘बेनिफिसियरी’ बाट बैंकले कुल ४१ करोड ३६ लाख बराबर ‘बिल पर्चेज’ गरी कर्जा सापटमा देखाएको राष्ट्र बैंकले जनाएको छ ।
लुम्बिनी विकास बैंकमा राष्ट्र बैंकको निर्देशनअनुसार वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र सोही निर्देशनमा उल्लेख भए बमोजिम शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्णरुपमा लागु हुन नसकेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यस्तै एक्सल डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं : नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो संख्यामा पर्यटकको आगमन बढेको हो ।
सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।
साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन् ।
म्याग्दी : म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।
म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष रु १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो रु ५५ देखि रु ६० का दरले बिक्री भएको छ ।
बेनी नगरपालिकाबाट सबैभन्दा बढी रु तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट रु एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः रु एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।
धवलागिरि गाउँपालिकाबाट रु ३० लाख ७० हजार तथा रघुगङ्गाबाट रु २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताइन् । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै रु दुई करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट रु एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए ।
म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उनले भने, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”
कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ । रासस
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला २०८१’ शुरु गरेको छ । दुई हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला शुरु गरको हो ।
मेलाको उद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषता छ, विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सीपयुक्त जनशक्तिको सधैँ अभाव नै छ, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन, विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोड्न मेला सुरु गरेका छौँ ।’
सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । जसमा २९ प्रकारका पेशागत तालिम छन । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना महानगरलको छ। मेलामा तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार (इभी) रिपेयर छन् । यस्तै निर्माण क्षेत्र अन्तरगत सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम र हस्पिटालिटी एण्ड म्यानेजमेन्ट अन्तगत वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस प्रशिक्षण हुनेछ ।
सूचना प्रविधिमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा जडान र मर्मत राखिएको छ । सीप मेलामा मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन,आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्स व्युटिसियन, डिजाइनिङ र ज्योतिष र पुरोहित सम्बन्धी प्रशिक्षण हुने महानगरले जनाएको छ । मेला जेठ २५ गतेसम्म चल्ने छ ।
काठमाडौं : मेरोअटो मोटर र्यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्याली यस वर्ष काठमाडौंदेखि चितवनको सौराहसम्म हुने भएको हो ।
र्यालीको फ्यागअफ नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट शुरु हुने र्याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौंडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच र्यालीको समापन गरिने कम्पनीले जनाएको छ ।
र्यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० बढी व्यक्ति सहभागी हुनेछन् । र्यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सडक सुरक्षा सम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले र्याली आयोजना गरिएको बताए । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत चार वषदेखि मेरोअटो मोटर र्याली आयोजना गर्दै आएका छौं’, उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ मोटर र्यालीको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies