सानु श्रेष्ठ/मध्यान्ह
काठमाडौं : नेपालमा नेपालीहरुको महानपर्व बडा दशैंले छपक्कै छोपिसकेको छ । हप्ता पन्ध्र दिन पहिलेदेखि दशैंको किनमेल गर्नेको चहलपहल बढिसकेको छ ।
कोही दशैका लागि खाद्यान्य जोहो गर्न व्यस्त देखिएका छन् भने कोही नयाँ लुगाको किनमेलमा जुटेका छन् । नेपालीहरु पनि दशैंको छेकोमा कोही विदेशको कार्यक्रममा जान लागेका छन् भने कोही सिरियललाई नै निरन्तरता दिने तयारीमा छन् ।
चलचित्र निर्देशक प्रदीप भट्टराई, यस वर्षको दशैंमा उनी फिल्मको काममा नै व्यस्त हुने भएका छन् । उनका लागि यो वर्षको दशैं भन्दा पनि ‘महाजात्रा’मय हुँदैछ । किनभने उनी दशैंको समयमा फिल्म ‘महाजात्रा’को सुटिङ थाल्ने तयारीमा छन् ।
उनले भने, ‘यो वर्षको दशैं मेरो फिल्मको छायांकनमा नै हुनेछ । यो फिल्मको रिलिजपछि चैते दशैं मज्जाले मनाउने प्लानिङमा छु ।’ उनका लागि दशैं फिल्मकै टिमसँग मनाउने योजना रहेको छ ।
लामो समय अमेरिका बसाईपछि निर्देशक किशोर सुब्बा दशैंको छेकोपारेर नेपाल फर्किएका छन् । उनले भने, ‘दशैं मनाउनकै लागि आफु नेपाल आएको नभई केही फिल्मको काम र केही म्युजिक भिडियो निर्माणको लागि आएको हुँ । दशैं त परिवारसँग मिलेर मनाइन्छ नै ।’
अभिनेता आर्यन सिग्देल पनि फिल्मको नै काममा व्यस्त हुँदैछन् । उनका अनुसार, यो वर्षको दशैंको समयमा फिल्म ‘संजीवनी’को छायांकनमा हुनेछन् । यदि फिल्मको सुटिङ भएन भने उनी परिवारका साथ काठमाडौँ बाहिर घुम्न जाने प्लानिङमा छन् । ‘फिल्मको सुटिङमा ढिलाई भो भने परिवारका साथ कतै काठमाडौं बाहिर घुम्न जाने प्लानिङ रहेको छ’, उनले भने, ‘हाम्रो टुरमा करिव ४० जना हाराहारी भइन्छ होला ।’
उनी दशैंमा टीका थाप्न ससुराली जाने योजना रहेको समेत बताए । उनका लागि दशैं हरेक वर्ष विशेष हुने गरेको छ । यस वर्ष भने विभिन्न देशमा छरिएर रहनुभएका आफन्त पनि नेपाल आउने भएकाले यो पटकको दशैं उनका लागि अझै विशेष रहेको बताए ।
परिचित टाटू आर्टिष्ट सुमिना श्रेष्ठलाई भने दशैंको समयमा फुर्सन नहुने बताइन् । उनी भन्छिन् ‘आगामी चार महिनाको लागि कामको लागि बिभिन्न देशका टाटू प्रेमिहरुले समय बुक गरिसक्नु भएकोले यस पालिको दशैं आफ्नो काममा नै बिताउने सोच बनाएको छु ।’
यो वर्ष अभिनेत्री आँचल शर्माको भने दशैंको टीका लगाउन मिल्दैन । उनको आफन्त निधन भएको हुनाले उनलाई जुठो परेको छ । त्यसकारण उनी फिल्ममा नै व्यस्त हुने जानकारी दिइन् । यस पटकको दशैं हाम्रो छैन’ उनले भनिन्, ‘सायद फिल्ममा नै व्यस्त हुन्छु होला ।’
यूरोप भ्रमणबाट भर्खरै फर्केका नायक दिनेश केसीको दशैं योजना खासै नभएको बताए । उनले भने ‘यो सालको दशैं दोलखा घरमा गएर बुबा, आमाको हातबाट टिका र आर्शिवाद थापेर मनाइन्छ ।’
यता संगीतकार अर्जुन पोखरेल पनि दशैंको योजना मिलाउन सकिरहेका छैनन् । उनकी छोरी ४ महिनाको मात्रै भएको हुँनाले टाढाको यात्रा गर्न कठिन हुने उनको भनाई छ । ‘यस वर्ष त्यति टाढा कतै जाने योजना छैन । टीका लगाउनका लागि जन्मघर चितवनसम्म पुगिन्छ होला’, उनले कुराकानीमा भने, ‘त्यसपछि झापा ससुराली जाने नजाने अहिलेसम्म टुङ्गो लागेको छैन ।’
अघिल्ला वर्षका दशैंमा फुर्सद निकालेर नयाँ ठाउँ घुम्ने गरेकोमा यस वर्ष छोरी सानी भएकोले योजना नबताएको उनले बताए । संगीतकार पोखरेल र गायिका दुर्गा खरेलबीच दुई वर्ष अघि बिहे भएको थियो ।
अभिनेत्री खुश्बु खड्काको दशैं योजना केही नभएको बताइन् । उनी भन्छिन् ‘यस पालिको दशै घरपरिवारसँग बसेर मनाउ मनाइन्छ ।’
यता हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी’ पनि दशैंमा घर जाने योजना बताएर बसेका छन् । उनी दशैंमा गोरखा घर जाने र ससुराली जाने योजना बनाइरहेका छन् । उनका अनुसार, यस वर्ष टेलिफिल्मको सुटिङले गर्दा धेरै समय घुम्ने कुनै योजना नरहेको बताए ।
‘यो सालको दशैंमा समय अन्य ठाउँमा कुनै कार्यक्रम तय भएको छैन । अहिले चलिरहेको ‘हल्का रमाइलो’, ‘जुँठे’ सिरियलकै सुटिङमा नै व्यस्त भइन्छ होला’ उनले दशैंको योजनाका बारेमा भने, ‘गोरखा घर जाने आमाबुबाको आर्शिवाद लिने र ससुराली जान्छौँ ।’
काठमाडौं : दर्पण संगीतालयको आयोजनामा विजया, शुभ दिपावली तथा छठ पर्वको अवसरमा काठमाडौं, जमलस्थित राष्ट्रिय नाचघरमा ‘शुभकामना सांगीतिक साँझ – २०८०’ सम्पन्न भएको छ ।
दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा दर्पण संगीतालयका सल्लाहकार भुपेन्द्र जंग शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षहरु दुर्गा रायमाझी, चन्द्र शर्मा, चर्चित गायक रामजी खाण, चर्चित गायिका राधिका हमाल, टिका पुन, चर्चित गायक धनराज चुनारा, चर्चित गायिका मिना लामा, दिपा रोकाया, सरु बोहरा, चर्चित गायक जय देवकोटा लगायत थुप्रै कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए भने सत्यवती कला केन्द्रका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा पत्रकारिताको माध्यममार्फत नेपाली गीत संगीतको क्षेत्रलाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा टेवा पुर्याएको भन्दै मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, सञ्चारकर्मी राजु बोहरा, राज कुमार रायमाझी, पत्रकार एवं गीतकार निर्देशक प्रकाश बराईली ‘अभिब्यक्ति’ लाई सम्मान गरिएको थियो भने अग्रज कलाकारहरुसँगै सांगीतिक प्रस्तुती दिने कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काले स्वागत मन्तव्य राखेका थिए भने हरी पुन मगरले कार्यक्रमको सञ्चालन गरेका थिए ।
काठमाडौं : नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौंको चाबहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथि, जुरी एवम् वरिष्ठ चलचित्र निर्देशक कमल राईले नाट्यश्वरको मूर्तिलाई पूजा गरी कार्यक्रमको उद्घाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रति मौन धारणा गरेका थिए भने सस्ंथाका सचिव प्रकाश शर्माले खादाद्वारा सम्मान गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ चलचित्र निर्देशक कमल राईले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अवार्डको उत्कृष्ट मनोनयनमा पर्न सफल सम्पूर्ण नोमिनिजहरुलाई शुभकामना एवम् बधाई ज्ञापन गरे ।
कार्यक्रमका सभापति एवम् अध्यक्ष देवराज गुरुङले पहिलोपटक निर्देशकहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्नका निम्ति नेपालमै पहिलोपटक डान्स डाइरेक्टरको अवार्ड कार्यकम आयोजना गरिएको बताए । उनले भने, ‘डान्स डाइरेक्टरहरुलाई पहिलोपटक प्रोत्साहन दिनको निम्ति हामीले अवार्ड कार्यक्रम आयोजना गरेका हौं ।’ अध्यक्ष गुरुङले अवार्डको फाइनल कार्यक्रमको मिति तय नभइसकेको र चाँडै नै आफ्नो अधिकारिक वेबसाइट, सामाजिक सञ्जालमार्फत जानकारी गराइने जनाए ।
संस्थाका प्रबन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटेएर गर्न लागिएको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । उनले पर्दा पछाडि रहँदै आएका, तर मुख्य भूमिका निर्वाह गर्दै आएका नृत्य निर्देशकहरुलाई आफ्नो कामको मूल्यांकन र हौसला प्रदान गर्न अवार्ड आयोजना गरिएको बताए ।
अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका छन् भने फाइनलका लागि जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र केसी र प्रदिप रमण सिं डंगोल रहेका छन् । कार्यक्रम संस्थाका आर्थिक संयोजक चुडामणी फुयालले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
धिमाल नृत्य निर्देशकको विधामा नरेश घले र हिरा तामाङ, मारुनी नृत्य निर्देशक विधामा ममता राई र आसिश रुम्बा, राई जातिको नृत्य निर्देशक विधामा रितु खड्का, प्रबिन भुजेल, कृष्ण राना, नबिना केसी र सुनिता महर्जन, तामाङ जातिको नृत्य निर्देशक विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल, नेवारी नृत्य निर्देशक विधामा दिपक बज्राचार्य, रबिन्सन श्रेष्ठ, बबिता गोपाली ‘तिमिला’, प्रबिन भुजेल र सुनिता महर्जन मनोनयनमा परेका छन् ।
यस्तै थारु नृत्य निर्देशक विधामा नारायणी थापा मगर, अष्टमान तामाङ, दिल बहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल, तीज नृत्य निर्देशक विधामा कृष्ण राना, सीता माया श्रेष्ठ र नारायणी थापा मगर, कौडा नृत्य निर्देशक विधामा टेक छिरिङ लामा, शंकर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली, शेब्रु नृत्य निर्देशक विधामा निर्जला राई, शंकर बिश्वकर्मा र सुनिल गिरी, थकाली नृत्य निर्देशक विधामा सोनु लामा र सुरज तामाङ, झिझिया नृत्य निर्देशक विधामा कृष लिम्बू र नारायणी थापा मगर, हुड्केली नृत्य निर्देशक विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू, मेचे नृत्य निर्देशक विधामा लोक चन्द्र श्रेष्ठ (एल.सी) र अनिल भुजेल, सर्वोत्कृष्ट नृत्य निर्देशक विधामा दिवस गिरी, जङ्गली बादशाह नृत्य विधामा कृष्ण बहादुर भट्ट, असारे बेठी नृत्य युबराज गुरुङ– झ्याउरे नृत्य समीर संखदेव प्रजापती, मयुर नृत्य, मनाङ गुरुङ– घाटु मा मनोनयनमा परेका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : 'नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं' भन्ने मूल नाराका साथ कतारमा गायन र नृत्य विधामा गैरआवासीय नेपाली तारा सिजन चार हुने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ गैरआवासीय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गायन र नृत्य गरी दुई विधाबाट अलग अलग विजेता छानिने र पहिलो अडिसन डिजिटलरूपमा लिइने भएको छ । डिजिटल अडिसनबाट ४०/४० जना तथा समूहलाई दोस्रो राउन्डमा लगिने कार्यक्रमका निर्देशक रोशन अर्यालले बताए । डिजिटलरूपमा कार्यक्रमका व्यवस्थापक मदन गुरुङको ३१२९५८०७ नम्बरको ह्वाटसपमा आफ्नो गायन तथा नृत्यको भिडियो पठाएर सहभागिता जनाउन सकिनेछ । पहिलो चरणमा निर्णायकका रूपमा कतारमा नृत्य तथा गायन विधामा ख्याति कमाएका अग्रज व्यक्तित्वलाई लिइनेछ भने दोस्रो चरणमा नेपालका चर्चित कलाकारहरू सहितको निर्णायक टिम रहने जानकारी दिइयो ।
गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै आयोजकले आइडलको फिनालेमा आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई दोहा ल्याउन पहल भइरहेको बताएको छ ।
यसभन्दा अगाडि सन २०१०/११ र १५ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा सिजन ४ पनि भव्यरूपमा सम्पन्न हुने विश्वास आयोजकको रहेको छ । डिजिटल राउन्डमा गायन विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १५१ र नृत्य विधाबाट छनोट भएका प्रतियोगीहरूले कतारी रियाल १०१ दर्ता शुल्क आयोजकलाई बुझाएपछि मात्र पहिलो चरणको अडिसनमा प्रवेश पाउने उक्त सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रम संयोजक विवेक पुलामी मगरले मध्यान्ह दैनिकसँग कुरा गर्दै डिजिटल अडिसन केही दिनमा खुला गरिने जानकारी दिए ।
नृत्य प्रतियोगिताका नियमहरुः
१. नृत्य प्रतियोगितामा कतारस्थित नेपाली नृत्य विधाका कलाकारहरूको सहभागितामा प्रतिस्पर्धा गराइनेछ ।
२. नृत्य प्रतियोगिताका प्रतियोगीहरूले नेपाली गीत तथा संगीतमा मात्र प्रस्तुति दिन पाइनेछ ।
३. प्रतियोगीहरूले पहिले डिजिटल राउन्डमा आफ्नै रोजाइको कुनै पनि नेपाली गीत म्युजिक ट्र्याकमा आयोजकले तोकेको सम्पर्क नम्बरमा पठाउनु पर्नेछ ।
४. डिजिटल राउन्डमा छनोट भएका प्रतियोगीहरूले कतारी रियाल एक सय एक दर्ता शुल्क आयोजकलाई बुझाएपछि मात्र पहिलो चरणको अडिसनमा प्रवेश पाउनेछ ।
५. पहिलो चरणको अडिसनमा प्रतियोगीहरूले आफ्नै रोजाइको कुनै पनि नेपाली गीत म्युजिक ट्र्याकमा नृत्य गर्नुपर्नेछ ।
६. पहिलो चरणको अडिसनमा पार गरेका प्रतियोगीहरूले दोस्रो अडिसन चरणमा प्रवेश पाउनेछ ।
७. पहिलो र दोस्रो अडिसन लगायत प्रतियोगिताको सम्पूर्ण अडिसन चरणहरूमा प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन शत प्रतिशत निर्णायकहरूबाट हुनेछ ।
८. प्रत्येक अडिसन चरणहरूमा फरक-फरक विधामा नृत्य गरिनेलाई प्राथमिकता दिइनेछ र अडिसन चरणहरू पार गर्दै जाने प्रतियोगीहरूले एउटै गीतमा नृत्य गर्न पाउनेछैन ।
९. डिजिटल राउन्डमा छनोट भएकाहरूले नृत्य प्रतियोगिताको पहिलो अडिसनमा प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन निर्णायकहरूद्वारा प्रस्तुति लगत्तै हुनेछ तर अन्य अडिसनहरूमा भने सम्पूर्ण प्रतियोगीहरूको प्रस्तुति सकिएपश्चात नतिजा घोषणा गरिनेछ ।
१०. अडिसन चरणहरूमा प्रतियोगीहरूले गीतको एक मुखडा र एक अन्तरामा मात्र प्रस्तुति दिनेछ । तर प्राविधिक कारणले गडबडी आएमा निर्णायकहरुको सामूहिक निर्णयअनुसार प्रतियोगीले आफ्नो प्रस्तुति दोहोर्याउन पाउनेछ । ग्राण्ड फिनालेमा भने प्रतियोगीहरूले एउटा पूरै गीतमा प्रस्तुति दिनु पर्नेछ ।
११. अडिसन चरणमा आफूले प्रस्तुत गर्ने प्रस्तुतिको म्युजिक ट्र्याक आफैले व्यवस्था गरी कार्यक्रम सुरु हुनु अगावै आयोजकलाई उपलब्ध गराउनु पर्नेछ, अन्यथा प्रतियोगी स्वयं जिम्मेवार हुनेछ ।
१२. प्रतियोगिताको अडिसन चरणहरूमा के कति प्रतियोगीहरू छनोट गर्ने भन्ने कुरा निर्णायकहरूमा भर पर्दछ तर अन्तिम छनौट चरणमा भने उत्कृष्ट ५ (पाँच) जना प्रतियोगीहरू मात्र ग्राण्ड फिनालेको लागि छनोट गरिनेछ ।
१३. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट प्रतियोगीहरूलाई प्रस्तुति नं. र भोटिङ नं. सहितको विशेष प्रकारको प्रवेश पत्र वितरण गरिनेछ ।
१४. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट ५ (पाँच) जना प्रतियोगीहरू आयोजकको अनुमति बिना अरू कुनै पनि कार्यक्रममा सहभागिता हुन पाउने छैन ।
१५. ग्राण्ड फिनालेका प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन अडिसन चरणका निर्णायकहरू सहित नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका निर्णायकहरूद्वारा ५० प्रतिसत र प्रत्यक्ष दर्शक भोटिङद्वारा प्रतिशत नम्बरको आधारमा मूल्यांकन गरिनेछ ।
१६. कार्यक्रम निष्पक्ष र पारदर्शी ढ∙ले सम्पन्न गराउन कार्यक्रमका सम्पूर्ण गतिविधिहरू आयोजकद्वारा गठित पर्यवेक्षक समितिको प्रत्यक्ष उपस्थितिमा हुनेछ ।
१७. ग्राण्ड फिनालेमा प्रत्येक प्रतियोगीहरूको मूल्यांकन अंक र दर्शक मत गणना गरी नतिजा तयार पार्ने सम्पूर्ण जिम्मा पर्यवेक्षक समितिलाई दिइनेछ । १८. निर्णायकहरूको मूल्यांकन र दर्शकहरूको मतको आधारमा सर्वोत्कृष्ट हुने प्रतियोगीलाई ‘‘नृत्य तर्फको विजेता घोषणा गरी अवार्ड, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिनेछ । त्यस्तै उपबिजेतालाई प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिनेछ । यस अतिरिक्त ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने सम्पूर्ण प्रतियोगीहरूलाई प्रमाणपत्र द्वारा सम्मान गरिनेछ ।
गायन प्रतियोगिताका नियमहरू :
१.गायन प्रतियोगितामा कतार स्थित नेपाली गायन विधाका कलाकारहरूको सहभागितामा एकल प्रतिस्पर्धा गराइनेछ ।
२.गायन प्रतियोगिताका प्रतियोगीहरूले नेपाली गीत तथा संगीतमा मात्र प्रस्तुति दिन पाइनेछ ।
३. प्रतियोगीहरूले पहिले डिजिटल राउन्डमा आफनै रोजाइको कुनै पनि नेपाली गीत म्युजिक ट्र्याक बिना गाएको गाना आयोजकले तोकेको सम्पर्क नम्बरमा पठाउनु पर्नेछ ।
४. डिजिटल राउन्डमा छनोट भएका प्रतियोगीहरूले कतारी रियाल एक सय एकाउन्न दर्ता शुल्क आयोजकलाई बुझाएपछि मात्र पहिलो चरणको अडिसनमा प्रवेश पाउनेछ ।
५ पहिलो चरणको अडिसनमा प्रतियोगीहरूले आफनै रोजाइको कुनै पनि नेपाली गीत म्युजिक ट्र्याकमा गाउनुपर्नेछ ।
६. दोस्रो अडिसन चरणमा प्रतियोगीहरूले निर्णायकले तोकिएको लाइभ वा म्युजिक ट्र्याकमा गाउनुपर्नेछ ।
७. पहिलो र दोस्रो अडिसन लगायत प्रतियोगिताको सम्पूर्ण अडिसन चरणहरूमा प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन शतप्रतिशत निर्णायकहरूबाट हुनेछ ।
८. प्रत्येक अडिसन चरणहरूमा फरक फरक विधाका गीत गाउनेलाई प्राथमिकता दिइनेछ र अडिसन चरणहरू पार गर्दै जाने प्रतियोगीहरूले एउटै गीत गाउन पाउनेछैन ।
९. डिजिटल राउन्डमा छनौट भएकाहरूले गायन प्रतियोगिताको पहिलो अडिसनमा प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन निर्णायकहरूद्वारा प्रस्तुति लगत्तै हुनेछ तर अन्य अडिसनहरूमा भने सम्पूर्ण प्रतियोगीहरूको प्रस्तुति सकिए पश्चात् नतिजा घोषणा गरिनेछ ।
१०. गायनको अडिसन चरणहरूमा प्रतियोगीहरूले गीतको एक मुखडा र एक अन्तरामा मात्र गाउनुपर्नेछ तर प्राविधिक कारणले गडबडी आएमा निर्णायकह्ररुको सामूहिक निर्णयअनुसार प्रतियोगीले आफनो प्रस्तुति दोहोर्याउन पाउनेछ । ग्राण्ड फिनालेमा भने प्रतियोगीहरूले एउटा पुरै गीत गाउनु पर्नेछ ।
११. अडिसन चरणमा आफूले प्रस्तुत गर्ने गीतको म्युजिक ट्र्याक आफैले व्यवस्था गरी कार्यक्रम शुरु हुनु अगावै आयोजकलाई उपलब्ध गराउनुपर्नेछ, अन्यथा प्रतियोगी स्वयम् जिम्मेवार हुनेछ ।
१२. प्रतियोगिताको अडिसन चरणहरूमा के कति प्रतियोगीहरू छनोट गर्ने भन्ने कुरा निर्णायकहरूमा भर पर्दछ तर अन्तिम छनोट चरणमा भने उत्कृष्ट ५ (पाँच) जना प्रतियोगीहरू मात्र ग्राण्ड फिनालेको लागि छनोट गरिनेछ ।
१३. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट प्रतियोगीहरूलाई प्रस्तुति नं. र भोटिङ नं. सहितको विशेष प्रकारको प्रवेश पत्र वितरण गरिनेछ ।
१४. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट ५ (पाँच) जना प्रतियोगीहरू आयोजकको अनुमति बिना अरू कुनै पनि कार्यक्रममा सहभागिता हुन पाउने छैन ।
१५. ग्राण्ड फिनालेका प्रतियोगीहरूको प्रस्तुति मूल्यांकन अडिसन चरणका निर्णायकहरू सहित नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका निर्णायकहरू द्वारा ५० प्रतिसत र प्रत्यक्ष दर्शक भोटिङ द्वारा ५० प्रतिशत नम्बरको आधारमा मूल्यांकन गरिनेछ ।
१६. कार्यक्रम निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गराउन कार्यक्रमका सम्पूर्ण गतिविधिहरू आयोजकद्वारा गठित पर्यवेक्षक समितिको प्रत्यक्ष उपस्थितिमा हुनेछ ।
१७. ग्राण्ड फिनालेमा प्रत्येक प्रतियोगीहरूको मूल्यांकन अंक र दर्शक मत गणना गरी नतिजा तयार पार्ने सम्पूर्ण जिम्मा पर्यवेक्षक समितिलाई दिइनेछ ।
१८. निर्णायकहरूको मूल्यांकन र दर्शकहरूको मतको आधारमा सर्वोत्कृष्ट हुने प्रतियोगीलाई ‘‘गैरआवासीय नेपाली तारा २०२३ कतार’’ घोषणा गरी अवार्ड, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिनेछ । त्यस्तै उप विजेतालाई प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिनेछ । यस अतिरिक्त ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने सम्पूर्ण प्रतियोगीहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।
काठमाडौं : ‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । अवार्ड अर्थ नेपाल प्रा.लि.को आयोजनामा भएको हो ।
अवार्डमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड नगद १७ हजार ६ सय ९६ रुपैयाँसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार शुशील पोखरेल, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उक्त सम्मान प्रदान गरेका थिए ।
ज्योति विकास बैंकको प्रस्तुति रहेको कार्यक्रमलाई साहारा ग्रुपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो । रंगपत्रकार अनन्त वाग्लेलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद ८ हजार ८ सय ४८ रुपैयाँसहित सम्मान गरिएको थियो ।
त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान सानुकाजी श्रेष्ठ, सुकृत नेपाल, कमला जोशी, राजु बोहोरा, रघुनाथ सापकोटालाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान विजन दुवाडीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान प्रदान गरिएको थियो ।
अवार्ड कार्यक्रममा सगरमाथा कला सम्मानबाट सम्झना बुढाथोकी, मञ्जिता केसी, रमिता भण्डारी, नारायण थापा, प्रतिक्षा काफ्ले, नन्दराम परियार, प्रविन भुषाल, टेकबहादुर बोगटी, कमल अधिकारी लगायतलाई सम्मान गरिएको थियो । विभिन्न विधामा अवार्ड वितरण गरिएको कार्यक्रममा नेपाली गीतसंगीत, कला क्षेत्रका चर्चित व्यक्तित्वको उपस्थिति रहेको थियो भने सञ्चारकर्मी दिपज्योती थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कलिउडमा सिनेमा कम बन्न थालेपछि सुटुक्क जापान पुगेका निर्देशक शिव घिमिरे चारवर्षे जापान बसाइपश्चात स्वदेश फर्केर पुरानै कर्ममा लागिपरेका छन् । यतिबेला उनी ‘तिम्रै हुने मन छ’ सिनेमा निर्माणको गृहकार्यमा जुटेका छन् । उनी विश्वका प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा अब नेपाली सिनेमा रिलिज गर्ने कार्यमा पनि सक्रिय रुपले लागिपरिरहेका छन् । डिजिटल रिलिज अमेरिकन कम्पनी ‘रिलिज वर्ल्ड’ले एसियाका सिनेमाहरु ओटीटीमा रिलिज गर्ने बाटो खुला गरेसँगै अबदेखि यो कम्पनीले नेटफ्लिक्स, वूट, जी फाइभलगायतका प्रमुख ओटीटी प्लेटफर्महरुमा नेपाली सिनेमा रिलिज गराउने भएको छ । एसिया हेर्ने कार्यालय भारतस्थित मुम्बईमा रहेको यो कम्पनिको तर्फबाट नमस्ते नेपाल इन्टरटेन्मेन्टले नेपाली सिनेमालाई उक्त प्लेटफर्ममा रिलिज गराउने आधिकारिकता लिएको छ । नमस्ते कम्पनीका प्रमुख तथा सिनेमा निर्देशक शिव घिमिरेले हलिउड र बलिउड जस्तै ओटीटीको माध्यमबाट नेपाली सिनेमाहरुलाई विश्वभर पुर्याउनका लागि ‘रिलिज वर्ल्ड’बाट आधिकारिकता लिएको छ । यो सिस्टमबाट नेपाली सिनेमाको लागि विश्वबजारमा पुग्ने उचित मध्यम बन्न सक्छ भन्ने निर्देशक शीव घिमिरेले दर्जन बढी म्युजिक भिडियो र छल, कस्तो टेन्सन, साइकल, खेतला, सुपारी आदि सिनेमाको निर्देशन गरिसकेका छन् । नेपाली सिनेमामा नौलो पनको खोजीमा जोड दिने निर्देशक शिव घिमिरेसँग मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
फुर्सदमै हुनुहुन्छ कि नयाँ केही गर्दै हुनुहुन्छ ?
हिजो आज दशैंसँगै नयँं फिल्म निर्माणको गृहकार्यमा लागेको छु ।
नेपाली चलचित्रको स्तारोन्नतिका लागि निर्देशकको दायित्व कस्तो हुनुपर्छ ?
निर्देशक त्यस्तो व्यक्ति हो, सिनेमा कस्तो बनाउने सब निर्देशकको निर्णय हो । स्टोरी छनोटदेखि कलाकारसम्म निर्देशकको आफ्नो अधिकारभित्र पर्दछ । अधिकांश निर्माताले सिनेमा बुझिसकेकाले निर्देशकलाई सिनेमा कस्तो बनाउने भनेर जिम्मा दिन्छन्, निर्धक्कसँग सिनेमा बनाउन भन्छन् । यस्तो अवस्थामा एउटा निर्देशकले राम्रो काम पनि गर्न सक्छ । निर्देशक आफ्नो सिनेमा राम्रो बाउन सधैं अग्रसर रहन्छ ।
मनोरञ्जन पनि हुने, लगानी पनि नडुब्ने, सामाजिक दायित्वको निर्वाह पनि हुनको लागि कस्तो विषयवस्तु उठान गर्नुपर्ला ?
हामीले इतिहास र समाजिक परिवर्तनका कथालाई बढी महत्व दिनुपर्छ । सिनेमा हेर्ने दर्शकले मनोरञ्जनसँगै ज्ञान, शिक्षा प्राप्त गर्ने खालको बनाउनुपर्छ । साथसाथै दर्शकलाई इतिहास र वर्तमान अवस्थालाई चित्रण गर्ने खालका बनाउनुपर्छ । कति इतिहास हामीले नदेखेका तर सत्य घटनासँग नजिक हुन्छन् । तिनलाई अध्ययन गरी चलचित्र निर्माण गर्दा पछिसम्म सम्झना रहने छ । अर्काे कुरा हामीले अहिलेको समाजमा आयातित संस्कारलाई अंगाली रहेका छांै । राजनीतिले आपसमा मिलेर बसेको समाजलाई जातमा आधारित र धर्ममा आधारित द्वन्द्वलाई बढाउने कार्य गरेको देखिन्छ । यस्ता राजनीतिक विकृतिविरुद्ध चलचित्रबाट नै चेतना जगाउने र भड्किन लागेको राजनीतिक द्वन्द्वलाई मत्थर बनाउने कार्य सिनेमाबाट देखाउन सक्नुपर्छ ।
वर्तमान नेपाली चलचित्रको अवस्था, भविष्य र चलचित्रकर्मीको जीवनस्तरलाई माथि उठाउन उचित पहल कदमी के हुन सक्छ ?
सिनेमा क्षेत्रमा यतिबेला खराब समय चलेको छ । नेपालमा हाम्रो राज्यको प्रोत्साहन नीति नेपालीभन्दा पनि विदेशी सिनेमामा देखिन्छ । नेपाली सिनेमाको निर्माण समयदेखि प्रदर्शन समयसम्म राज्यले काममा अंकुश लगाउँछ । सिनेमाले विकृति देखाउँछ र अन्त्य गर्छ, त्यही अनुसार कथा बन्छ । यहाँ हरेक संस्थाले आफ्नो र आफूले गरेको विकृतिलाई ढाकछोप गर्न विभिन्न नियम बनाउँछन्, जसले गर्दा निकायमा धाउनुपर्ने बाध्यता रहन्छ भने नेपाली चलचित्रलाई विश्वभरमा देखाउनका लागि हिजोआज विश्व बजारमा उपस्थित भएको डिजिटल माध्यमलाई आत्मसात गर्नै पर्छ । त्यसका साथै मैले पनि ‘रिलिज वर्ल्ड’मार्फत नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन मद्दत गर्दछ भन्ने आशा लिएको छु । साथै यो प्रयास सफल भएमा आजका नेपाली सिनेमाले ५० प्रतिशत बढी व्यापार गर्ने र देशमा विदेशी मुद्रा पनि भित्रिने छ । नेपाली सिनेमाले देशको अर्थतन्त्रमा देखिने गरी योगदान दिनेमा विश्वास लिएको छु । जसले गर्दा आफ्नो घरखेत बेचेर निर्माण गरेका सिनेमा निर्मातालाई सिनेमा बनाउन प्रोत्साहन मिल्नेछ । जसले गर्दा प्राविधिक, कलाकारको रोजगारी बढ्ने छ । नेपालमा भएको ठूला कर्पोरेट लगानीकर्ताको आकर्षण बढ्ने छ ।
तपाईंले काम गर्दा निर्माताको लगानी सुरक्षित हुनुपर्ने कुरामा कत्तिको ध्यान दिनुहुन्छ र दिनुपर्छ ?
मैले काम गर्दा यो परिस्थिति आउँछ भन्ने कुराको पहिला नै जानकारी दिने गरेकाले होला मसँग काम गरेका निर्माता दोहो¥याएर फेरि पनि मसँग काम गर्छन् ।
मनोरञ्जन र चेतना अभिवृद्धिको एउटा सवल र प्रभावकारी माध्यमको रुपमा चलचित्रलाई लिइन्छ, यसो हुनुको कारण ?
चलचित्र प्रेमीहरुले आफ्नो आइडलको रुपमा कलाकारलाई हेर्ने गर्छन् । जसले गर्दा एउटा कलाकारको भूमिकाले सकारात्मक विचार अभिनयमार्फत देखाउँछन् र समाजमा राम्रो नराम्रो पक्ष पनि छुट्याइदिन्छन् । दर्शकलाई मनोरञ्जनसँगै ज्ञान चेतनामा वृद्धि गराउँछ । सिनेमा भनेको एउटा ऐना हो, यसले झलक देखाउँछ र मानिसलाई गल्ती सच्याउने बाटो पनि देखाउँछ । त्यस अनुरुपको चलचित्र बनाउनु उपयुक्त हुन्छ ।
चलचित्र निर्देशकको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजले पेशागत हकहितका लागि हासिल गरेको आजसम्मको उपलब्धि र तपाईंको मनमा खड्केको विचार व्यक्त गर्नुहुन्छ कि ?
निर्देशक समाजले आफ्नो उद्देश्यबमोजिमका कार्य गर्न नसकेको नै हो । समाजले गर्नुपर्ने धेरै काम छन् । तर समाजभित्र राजनीति भित्रिएको छ । समाजले आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्छ । निर्देशकहरुको हकहितको लागि कार्य गरेको देखिएको छैन । सायद सदस्यहरु नै समाजप्रति उत्तरदायी नभएको जस्तो देखिन्छ । समाजको पेजमा जन्मदिनको शुभकामना बाहेक अन्य कार्य गरेको देखिएन ।
सीमित व्यक्ति र सीमिततामा विदेशी भूमिमा गरिने अवार्ड कार्यक्रमले नेपाली कलाको गरिमा घट्यो भन्छन् नि ?
विदेशमा गरिने अवार्ड कार्यक्रम राम्रो हो, जसले नेपाली संस्कृति, कला विश्वभर चिनाउनु नै हो र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सिनेमाको प्रचार गर्नु पनि हो । तर केही विकृति बढेको पनि देखिन्छ । सिनेकर्मीभन्दा गैर सिनेकर्मीले अवार्डको नाममा गरिने मानव तस्करी बढेको देखिन्छ । मानव तस्करी गर्दा सिनेकर्मीलाई विदेशी नियोगहरुले असोभनीय व्यवहार गर्नु जस्ता कार्य भएको देखिन्छ । अवार्डलाई पनि केही आयोजकले विदेश घुमाउने भनि सहयोग माग्ने आर्थिकरुपमा वितरण गर्ने कार्यले गर्दा अवार्डले विकृति भित्र्याएको छ । सबै निकाय सचेत नभए हामीले भोलिको दिनमा विदेशमा गरिने सांस्कृतिक आदन प्रदान पनि रोकिन सक्छ ।
लामो समय जापान बस्नुभयो, त्यहाँ हुने कला या फिल्मी गतिविधिलाई कुन रुपमा बुझ्नु भयो ?
सिनेमा क्षेत्र यस्तो क्षेत्र हो, सबैले चाहेर पनि यो क्षेत्रमा लाग्न सन्दैनन् । विदेशमा सिनेमा राष्ट्रको हुन्छ उसको कलाकारले देशको प्रतिनिधित्व गर्छ र कलाकारलाई देशले प्रोत्साहन गर्छ । त्यहाँ कलाको सम्मान हुन्छ । कालाकार राष्ट्रका हुन्छन् । सिनेमा व्यवसाय उद्योगको रुपमा हेरिन्छ । नेपालमा मनोरञ्जनको रुपमा लिइन्छ, त्यहाँ सिनेमाको मूल्यांकन हुन्छ र निर्मातालाई सिनेमा बनाउन प्रोत्साहन गरिन्छ ।
चलचित्र निर्माणमा अत्याधुनिक क्यामरा र क्रेनदेखि ड्रोनका साथ भिएफएक्स, कलर ग्रेडिङजस्ता विकसित प्रविधि भित्रिएसँगै निर्देशक र कथाकारले कल्पना गरेजस्तै चलचित्रलाई पर्दामा उतार्न कत्तिको सम्भव छ ?
अहिलेको प्रविधिले सिनेमा निर्माणलाई सजिलो बनाइदिएको छ । जसको कारणले हामीले कल्पना गरेको आधारमा सिनेमा बनाउन सक्छौं र समय पनि बचत हुन्छ । जस्तै ‘अवतार’ जस्ता सिनेमा ।
विदेशमा नेपाली चलचित्र प्रदर्शन हुनु राम्रो कुरा हो, तर होटल, रेष्टुरेण्टमा सीमित नेपाली दर्शक माझ हुने प्रदर्शनलाई बृहत् रुप दिन के गर्नुपर्ला ?
नेपाली दर्शकमाझ पुर्याउनु पर्छ । तर अहिलेको अवस्थामा नेपाली सिनेमा हेर्ने दर्शक देशको परिस्थितिले विदेशिन बाध्य भएकाले नेपाली सिनेमालाई विभिन्न देशमा सार्वजनिक हलहरुमा प्रदर्शन गर्ने राज्यबाट नै पहल गर्नुपर्छ । उदाहरणका लागि बलिउडको सिनेमाको लागि नेपाली बजार सानो हो तर कुनै समस्या आएमा भारतका राजदूत नै अग्रसर हुन्छन् सिनेमा प्रदर्शन गर्न । तर नेपालको कूटनीतिज्ञ सानो कुरा भन्दै अगाडि बढाउन चाहँदैनन् । जसले राष्ट्रको प्रतिनिधि संस्था नै सोच्दैन भने त्यो देशमा नेपाली सिनेमा अघि बढ्दैन ।
तपाईंको भावी योजना ?
मैले नेपाली सिनेमालाई डिजिटल माध्यमबाट विश्वभर छरिएर बसेका नेपाली जनतालाई आ–आफ्नो हातमा रहेको ग्याजेटबाट विभिन्न भाषाको सबटाइटलमार्फत पु¥याउने लक्ष्य लिएको छु । यदि पूरा भएमा नेपाल सरकारको ध्यान नेपाली सिनेमामा ल्याउन सक्नेछु । सञ्चार मन्त्रालयले बोर्डको अध्यक्ष कसलाई बनाउने भन्ने समयमा मात्र सिनेमा उद्योग पनि हाम्रो मन्त्रालय अन्तर्गत पर्छ भन्ने सोच हटाउनु पर्छ । र, परराष्ट्र मन्त्रालयले आर्जित विदेशी मुद्रा देखेर आफ्नो विदेशी निकायलाई नेपाली सिनेमालाई दीर्घकालिन सोचसहित विदेशमा प्रदर्शन गर्ने वातावरण मिलाउन निर्देशन दिनुपर्छ, जसले भविश्यमा नेपाली सिनेमाको बजार विश्वभर फैलिन मद्दत पुग्छ ।
काठमाडौं : पछिल्लो समय नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसँगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा ७० वर्षीया आमा साधना पराजुलीको नयाँ पृथक खालको गीत 'पानी माथि' सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली गायक, संगीतकार, एरेन्जर लक्षु प्रकाश मल्ल, नेपालकै पहिलो दोहोरी साँझ सञ्चालिका लोकप्रिय गायिका देवी हमाल र ७० वर्षीया आमा समाजसेवी साधना पराजुलीको स्वर रहेको छ भने समाजसेवी साधना पराजुलीको शब्द र संगीत रहेको छ ।
लक्षु प्रकाश मल्लको संगीत संयोजन, मनोज डंगोलको रेकडिङ तथा मिक्सिङ गरेको गीतमा विष्णु न्यौपानेको छायाँकन, रोशन धितालको सम्पादन र मनिष श्रेष्ठको निर्देशन रहेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : करिब दुई दशकभन्दा बढी समय नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा बिताएकी सर्जक तथा गायिका देवीका केसी सांगीतिक क्षेत्रमा चिर परिचित नाम हो । क्यानडालाई स्थायी बसोबास बनाएकी केसी मौलिक लोक संस्कृति संस्कार सम्वर्द्धनको पर्यायवाची जस्तै मानिन्छिन् । सयौं गीतमा कोकिल कण्ठ आवाज दिएकी उनी यति बेला भने चुनावी सरगर्मीमा छिन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को (२०२३–०२५) का लागि महिला संयोजक पदमा उनले उम्मेदवारी घोषणा गर्दै चुनावी प्रचारप्रसारमा होमिएकी छिन् । प्रवासको बसाइका क्रममा कतारमा रहँदा एनसीसी कतारको महिला उपाध्यक्ष हुँदै एनआरएनए आइसीसी सदस्य पदमा समेत रहेर काम गरेको अनुभवका आधारमा महिला संयोजक पदमा उम्मेदवारी दिएको उनले बताइन ।
मध्यान्ह दैनिकसँग कुरा गर्दै केसीले विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सूत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने सबै किसिमका समस्यामा आवश्यक सहयोगका लागि पिल्लर बनेर उभिने प्रतिबद्धता व्यक्त गरिन । उनले आफू नेपालदेखि विश्वका धेरैजसो देशमा सांगीतिक प्रस्तुतिका लागि पुग्दा नेपाली महिलाहरूका पीडा तथा अप्ठ्यारा नजिकबाट प्रत्यक्ष देखेको बताइन् ।
‘नारी सशक्तीकरण हाम्रो अभियान, कला भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारा लिएर उम्मेदवारी घोषणा गरेकी केसी सिन्धुपाल्चोक जिल्लामा जन्मिएकी हुन् । मध्यपूर्वको देश कतारले उनलाई ‘सुरक्षित वैदेशिक रोजगार र सामूहिक एकताको’ महत्व बुझाएको ब्ताउँछिन् । संस्कृतबाट शास्त्र पास गरेकी उनले विदेशमा जन्मिएका नयाँ पुस्तामाझ नेपाली कला र भाषाको महत्व बुझाउँदै लैजानु आफ्नो प्रमुख दायित्व रहने बताइन् ।
महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् । केसीले आफ्ना पवित्र सपनाहरूलाई साकार बनाउन सबैको साथ, सहयोगको अपेक्षासहित अमूल्य सुझावको अपेक्षा पनि गरेकी छिन् ।
काठमाडौं : ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर सञ्चालन भइरहेको रियलिटी शो ‘एनआरएन द सिंगर’ अन्तिम चरणमा प्रवेश गरेको छ । सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुतिपछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको टुंगो लागेको हो । यी ५ जनाले अब अक्टोबर १५ तारिखमा काठमाडौंमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट १० बाट कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए ।
काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा विद्यार्थी भिसामा रहेर काम गरिरहेका छन् । विदेशमा बसेपनि नेपाली गित संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ‘गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए ।
पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन् । विदेशमा काम गर्दै गर्दा पनि नेपाली गीत संगीतलाई माया गरेका क्षत्रीले त्यहाँ हुने कार्यक्रममा आफ्नो प्रस्तुतिले नेपाली समूदायमा राम्रो छाप छाड्न सफल एनआएन द सिंगरको फाइनलमा पुग्दै आफूलाई फेरि एक पटक अब्बल सावित गरेका छन् । उनले फाइनल पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको ‘हिरा काट्ने हिरैमा राखेर’ बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए ।
भोजपुरमा जन्मिएकी गुना मगर वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेकी छिन् । आफ्नो गाउँघर बन पाखालाई सम्झदै कामबाट थोरै फुर्सद हुँदा गीत संगीतका माध्यमबाट आफूलाई विदेशी भूमीमा चिनाउने प्रयास गर्दै गरेकी गुनाले फिनालेमा स्थान बनाउनका लागि इन्डियन आइडल जितेका प्रसान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ‘ज्यान सुहाउन लाको चोली तानसेन बजारैको बोलक’ गीत प्रस्तुत गरिन् ।
बेलायतमा जन्मिएकी युक्ती विमली नेपाली भाषामा पोख्त नभए पनि सानै उमेरदेखि नेपाली संगीतमा भने रुची राख्थिन् । बेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुति दिएकी युक्ति विमलीले ग्रान्ड फिनालेमा स्थान बनाउन शिशिर योगीको ‘छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् ।
रोल्पामा जन्मिएका सुवासचन्द्र पुन मगर परम्परागत सोरठी नाचका गुरु आफ्नै हजुरबुवा र बाबा भएका कारण गीट्ट संगीतमा उनको रुची बढेको हो । उनी अहिले रोजगारीको शिलसिलामा पोर्चुगलमा रहेका मगरले फिनालेमा स्थान बनाउनका लागि रोहित थापाले गाएको ‘घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गरेका थिए ।
समग्रमा १० जनाले प्रस्तुति दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन् । उत्कृष्ट १० बाट ग्रान्ड फिनालेमा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो । तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छ ।
उपाधि जित्नेले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने एनआरएन द सिंगरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए । ग्रान्ड फिनाले घटस्थापनाका दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए ।
‘प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,’ गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी)का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष एवम् एनआरएन द सिंगरका प्रमुख संयोजक गौतमले भने । झण्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे ।
एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक)को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल), शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन् ।
आफुले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबैभन्दा पहिले खल्ती एप डाउनलोड गर्नुपर्ने छ । उक्त एप खोलेपछि इन्टरटेनमेन्ट सेक्सनमा ‘एनआरएन द सिंगर’ देखिने छ । त्यसपछि आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने छ ।
राजेन्द्र महतो/मध्यान्ह
धनुषा : मिस्टर एण्ड मिस मधेश प्रतियोगिताको उपाधि प्रतीक कुमार साह र प्रीति शर्माले जितेका छन् । जनकपुरधामको व्यापार महासंघको सभाहलमा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै राजविराज नगरपालिका वडा नं ८ का प्रतीक मिस्टर मधेश तथा राजविराज नगरपालिका वडा नं १२ का प्रीति मिस मधेश बन्न सफल भएका हुन् ।
यवि फिल्म प्रोडक्सन प्रा.लि.ले मिस्टर एण्ड मिस मधेशको पहिलो संस्करण आयोजना गरेको हो । मधेश प्रदेशभरिबाट अडिसनद्वारा छानिएका युवायुवतीहरुलाई विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै जम्मा १६ जना प्रतिस्पर्धीहरु अन्तिम सम्म पुग्न सफल भएका थिए ।
प्रतियोगीहरुलाई विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ब्युटी प्याजेन्टसम्बन्धी तालिम दिएर तयार पारिएको थियो । सुन्दरी प्रतियोगितासम्बन्धी विभिन्न प्रकारका गलत अफवाहहरुलाई चिर्दै मधेश, मिथिला तथा नेपालको मौलिक सांस्कृतिकलाई आत्मसात गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
प्रतियोगितामा पुरुषतर्फ राम रतन यादव फस्ट रनरअप, मनोज गुप्ता सेकेन्ड रनरअप तथा सुरेन्द्र सिंह थर्ड रनरअप घोषित भए । त्यस्तै महिलातर्फ पूजा मिश्रा फस्ट रनरअप, प्रियंका शर्मा सेकेन्ड रनरअप तथा प्रीति ठाकुर थर्ड रनरअप घोषित भए ।
उपाधि विजेता प्रतीक र प्रतिले जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेताहरुले यवि फिल्म प्रोडक्सनले निर्माण गर्ने सर्ट फिल्म तथा म्युजिक भिडियोमासमेत अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै उपविजेताहरुलाई ट्रफी तथा कदर पत्र प्रदान गरिएको थियो । उपविजेताहरुले मुस्ताङको सात दिने भ्रमको अवसर पनि प्राप्त गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री सञ्जय यादवको प्रमुख आतिथ्यता रहेको थियो भने मधेशका विभिन्न कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies