काठमाडौंः शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै अन्तरद्वन्द्व पैदा हुने तथा राजनीतिक नेतृत्व र स्वार्थ समूहले विद्यार्थी सङ्गठनमा ‘फुटाउ र राज गर’को नीति लाद्ने कार्य गरिरहेको सन्दर्भलाई कसरी सामना गर्ने भन्ने चिन्ता उनीहरुको थियो ।
जस्तोसुकै समस्या परे पनि आफूहरुले अन्तिमसम्म शैक्षिक असमानताविरुद्धको लडाइँ नछाड्ने अठोट व्यक्त गरिएका कुराकानी सुनिरहेकी चिया पसल सञ्चालक दिदीले गहभरी आँशु पारेर सोध्छिन्, “बाबु, अर्को छोरो पनि पढ्नका लागि विदेश जान्छु भन्छ, कुन देश पठाउने होला ? के हाम्रा छोराछोरी पढाउन नेपालमै कुनै कलेज छैनन् ? तिनीहरु यहीँ पढेर यहीँ जागिर गरेर बाबुआमालाई हेर्न सक्दैनन् ?”
ग्राहकका लागि चिया उमाल्दा उमाल्दै आफ्नो जीवन नै उम्लिसकेको बोध सुनाउँदै ती चिया बेच्ने दिदीले गम्भीर प्रश्नहरु तेर्स्याएपछि विद्यार्थी नेताहरु नाजवाफ हुन्छन् । यही असामानताको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थी नेताहरुसँग यसको चित्तबुझ्दो जवाफ हुँदैन । उनीहरुसँग एउटै सङ्कल्प छ, ‘‘शिक्षामा भइरहेको विभेद् र माफियाकरण अन्त्य हुनुपर्छ । त्यसका लागि एक्लै भए पनि लड्न छाडिँदैन ।’’
शिक्षामा धनी र गरिबबीचको समानताको सन्देशसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गरेको नाटक ‘कालो अक्षर, रातो अक्षर’ले शैक्षिक असमानता र बेथितिका यस्ता अनगिन्ती प्रश्न उजागर गर्दै यथार्थ स्थितिको चित्रण गरेको छ । नेपालको संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क भनिए पनि सार्वजनिक विद्यालय गुणस्तर कमजोर हुने र निजी विद्यालयमा महँगो शुल्क लाग्ने गरेका कारण अभिभावक र विद्यार्थी मारमा परेको तथा शैक्षिक जनशक्ति बेरोजगार भई विदेश पलायन हुनुपरेको पीडा नाटकमा देखाइएको छ ।
नाटकमा शैक्षिक व्यापारिक र स्वार्थ समूहसँग मिलेर राजनीतिक नेतृत्वले शैक्षिक समानताको आन्दोलन दबाउन खलनायकको भूमिका निर्वाह गर्दा विद्यार्थी र युवा छाउने निराशा, कुण्ठा र आक्रोसलाई अभिव्यक्ति गरिएको छ ।
विद्यार्थी कार्यकर्ता आन्दोलनमा प्रहरीको दमन खेपेर जीवन मरण र घाइतेसम्म भएका छन् । स्वार्थ समूह भने कसरी आन्दोलन निस्तेज पार्ने र राजनीतिक नेतृत्वलाई प्रयोग गरेर आफू अनुकूलका शैक्षिक नीति ल्याउन लगाउने भन्नेमा तानाबाना बुनिरहेको हुन्छ ।
स्वार्थ समूहले पैसा भएमा जे पनि हुन्छ भन्ने धाक दिँदै राजनीतिक नेतृत्व आन्दोलनकारीलाई मिलाउन वा ठीक पार्न थैली बुझाएर दबाब दिइरहेका हुन्छन् । तर विद्यार्थी आन्दोलन त्यस्ता धम्कीबाट गल्दैन । एउटा मरेर आन्दोलन मर्दैन, आन्दोलनमा अरु यात्रीहरु थपिनेछन् भन्ने भावको गीत गाएर विद्यार्थीहरुले क्रान्तिको मुठ्ठी कस्छन् ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालको परिकल्पना, आरके थोमसको लेखन र दिलीप खड्काको निर्देशन रहेको सो नाटकले शैक्षिक क्षेत्रका बेथितिविरुद्ध आवाज बुलन्द गर्दै बक्स थिएटरका माध्यमबाट नयाँ शिराको आन्दोलनको सन्देश दिएको अध्यक्ष बडालले बताए । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा यही असोज १७ गतेदेखि असोज २७ गतेसम्म दिन साँझ प्रदर्शनमा राखिएको सो नाटक राजनीतिक दलका नेता, विद्यार्थी नेता, शिक्षाकर्मी, पेसाकर्मीले रुचिपूर्वक हेरिरहेका छन् । नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, सङ्गीता थापा, सञ्जिव राई, सुजैन सिलवाल, सुदिप खतिवडा, शान्ता राई कलाकारहरु छन् ।
सो सङ्गठनका उपाध्यक्ष नारायण घर्तीका अनुसार हालसम्म नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, कैलाश ढुङ्गेल, रमेश पौडेल, अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई, नवीना लामा, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल ९क्रान्तिकारी० का अध्यक्ष पञ्चाकुमारी सिंहलगायतका विद्यार्थी नेताहरुसमेत गरी करिब एक हजार पाँच सयभन्दा बढीले नाटक हेरिसकेका छन् । उपाध्यक्ष घर्तीले चाडपर्वपछि नाटकलाई प्रदेशस्तरमा पनि प्रदर्शनको योजना रहेको जानकारी दिए । रासस
काठमाडौं : राज सिग्देलको स्वर तथा संगीत र के.पी खतिवडाको रचना रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ ।
गीत राज सिग्देल मेलोडी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा संगीत संयोजक एच.बि.एन. किस्मतले गरेका छन् । भिडियोमा देबेन्द्र बब्लु र लालना चिमरियाले अभिनय गरेका छन् ।
भिडियोको छायाँकन पवन सुस्लिङले गरेका छन् । श्रृंगार समुन्द्र भण्डारी र सम्पादन नवीन घर्ती मगरको रहेको छ । भिडियोको कोरियोग्राफर/निर्देशन मौसम हिमालीले गरेका छन् ।
काठमाडौं : नेपालीहरुको महान पर्व बडा दशैं नजिकिएसँगै दशैं गीतहरु बजारमा आउने क्रम जारी छ । यसैक्रममा रेजिना परियार र युनिक सुनारको स्वरमा रहेको दशैं गीत ‘मेरो पियारा’ सार्वजनिक भएको छ ।
अस्मि अफिसियलको प्रस्तुतिमा तयार गरिएको म्युजिक भिडियो अस्मि अफिसियलकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा रञ्जित बिसी र सरोज घतानीको शब्द रहेको छ ।
ओबराज विश्वकर्माको संगीत रहेको उक्त म्युजिक भिडियो जीवन खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा लक्ष्मण बिसी, बिना खनाल, मुस्कान सेन्चुरी र आयुश गौतम सुनारलाई फिचर गरिएको छ ।
पूर्ण सम्योगले एरेन्ज गरेको गीत मधुबाला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिङ र मास्टरिङ दीपक संगम बसिीले गरेका हुन् । गीतको भिडियो सुनिल विश्वकर्माले छायाँकन गरेका हुन् ।
काठमाडौं : ‘जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८०’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । आइतबार डी सिनेमा आर्ट प्रा.लि.ले राष्ट्रिय नाचघरमा एक कार्यक्रम आयोजना गर्दै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको हो ।
सर्वोत्कृष्ट खलनायक, सर्वोत्कृष्ट नायक, निर्देशक, सर्वोत्कृष्ट नव तीज गायक, नव गायिका, सर्वोत्कृष्ट तीज गीत नृत्य निर्देशक र सर्वोत्कृष्ट तीज गीत पुरुष र महिला, सर्वोत्कृष्ट टेलीसिरियल लेखन, सर्वोत्कृष्ट टेलीसिरियल हास्य कलाकार पुरुष र महिला, सर्वोत्कृष्ट लोक गायक, सर्वोत्कृष्ट लोक तथा दोहोरी नृत्य निर्देशकसँगै सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडेल विधामा मनोनयन सार्वजनिक गरिएको छ ।
यस्तै सर्वोत्कृष्ट नव मोडेल, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट लोक तथा दोहोरी नव गीतकार, नव संगीतकार, सर्वोत्कृष्ट आधुनिक गीतकार, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक, गायिका, सर्वोत्कृष्ट छायाँकारलगायतका विधामा पनि मनोनयन सार्वजनिक गरिएको छ । सो अवसरमा मनोनयनमा पर्न सफल सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले देशको कलाकारिता क्षेत्रमा राजनीतिक हस्तक्षेप भएको बताएका छन् । उनले भने, ‘चलचित्रको च र कलाकारिताको क नजान्ने व्यक्ति चलचित्र बोर्डको प्रमुख छन्, कलाकारितामा पनि दलगत चलखेल भएको छ ।’ नेपालको कला क्षेत्र ध्वस्त अवस्थामा रहेको शाहीको भनाइ छ ।
उनले संसदमा कलाकारकारिताको विधेयक आउने पनि जानकारी गराए । साथै कला क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न सरकारसमक्ष पहल गर्नेसमेत सांसद शाहीले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कलाकारलाई सम्मान गर्ने दायित्व सरकारको हो, तर नेपालमा त्यो दायित्व एउटा व्यक्ति, एउटा संस्थाले निर्वाह गरिरहेको छ । यस्तो अवस्था आउनु भनेको देशको दुरावस्था हो ।’
काठमाडौं : 'दोस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् ।
तामाङ सेलो गीत 'सगुन छ्योइजी'बाट उनले अवार्ड प्राप्त गरेकी हुन् ।
एक्टिभ इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रम कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्ड चाबहीलको सभाहलमा सम्पन्न भएको हो । एक्टिभ इन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान, पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.लीद्धारा सम्मानित भइसकेकी छिन् ।
काठमाडौं : फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
यो घटनामा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
प्रसाद-२ का निर्माताले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएकी दाबी गरेका छन् ।
काठमाडौं : संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा पुन: सुरेश चन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा भएको '१४औं वार्षिक साधारण सभा'बाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समाजको संगीतकार निवर्तमान सदस्यतर्फ बसन्त सापकोटा, शिरिष देबकोटा र गीतकार निवर्तमान सदस्यतर्फ बि. पाण्डे (बद्री पाण्डे), चन्द्र प्रसाद शर्मा निर्विरोध निर्वाचित हुन सफल भएका छन् । त्यस्तै '१४औं वार्षिक साधारण सभा'को निर्वाचनबाट संगीतकार खुला सदस्यतर्फ ३ जनामा पिएन सापकोटा, रामु खड्का (राम बहादुर), प्रसाद लामिछाने विजयी भएका छन् भने गीतकार खुला सदस्यतर्फ ३ जनामा सुजन लम्साल, सुबास रेग्मी, प्रमोद ढुंगाना विजयी भएका छन् । निर्वाचन कमिटीको संयोजकको रुपमा सेमन्तमणी खराल रहेका थिए ।
अध्यक्ष अधिकारीले पुनः आफूलाई अध्यक्ष बनाएकोमा सबैप्रति आभार प्रकट गर्दै स्रष्टा, सर्जकहरुको हक हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा रोयल्टी संकलन र वितरण गर्ने अभियानलाई सबै सर्जक, स्रष्टाहरुले साथ दिन जरुरी रहेको बताए ।
उनले भने, 'आगामी दिनमा रोयल्टी संकलन र वितरण गर्ने अभियानलाई सबै सर्जक, स्रष्टाहरुले साथ दिन जरुरी छ । विदेशमा जस्तो अरु कलाकारले रोयल्टी उठाउन सक्ने हो भने नेपाली कलाकारहरु विदेश जानुपर्ने स्थिति आउँदैन । तपाईं हामी मिलेर राज्यको ढोका ढकढकाएर रोयल्टी संकलन तथा वितरणको नितीलाई कार्यान्वयन गराउन सकियो भने पछि फर्किनुपर्ने अवस्था आउँदैन । मलाई जस्तोसुकै भारी बोकाउनुहोस् भारी बोक्न तयार छु । स्रष्टा, सर्जकहरुको हक हितमा काम गर्ने छु । पुनः मलाई अध्यक्ष बनाउनु भएकोमा आभार प्रकट गर्दछु । साथै यो साधारण सभा सफल पार्न साथ दिनुहुने सदस्य, कर्मचारी, निर्वाचन कमिटी, सुरक्षाकर्मीलगायत सम्पूर्णप्रति आभार प्रकट गर्दछु ।”
अध्यक्ष अधिकारीको अध्यक्षता भएको साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन चन्द्र शर्माले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन पिएन सापकोटाले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, वरिष्ठ संगीतकार राजु सिंह, अग्रज गायक प्रेमराजा महत, इन्द्रेणीका कृष्ण कंडेल, चलचित्र निर्देशक तथा गीतकार मदन घिमिरे, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुवास रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव बद्री पाण्डेले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै भाबी योजनाका बारेमा जानकारी गराएका थिए । त्यस्तै कोषाध्यक्ष बसन्त सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
काठमाडौं : हास्य कलाकार गणेश इशारा राई विगत २०५४ सालदेखि मुटु रोगी, मिर्गौला रोगी, वृद्धाश्रमदेखि विभिन्न पीडितहरुको लागि आर्थिक सहयोग गर्दै आइरहेका समाजसेवी तथा कलाकार हुन् । उनले आफ्नै हजुरआमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरी विभिन्न समस्यमा परी भैपरी आउने दुखी, पीडितहरुलाई कार्यक्रमबाट संकलित रकम सहयोग गर्दै आएका छन् ।
‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मूल नाराका साथ हास्य कलाकार राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ हङकङमा हुने भएको छ । इशाराको एकल शो हङकङमा अक्टोबर १५ तारिखमा हुनेछ । कार्यक्रमलाई एभरेष्ट इन्टरनेशनल ट्रेडिङ कम्पनीको प्रस्तुतिमा याक एण्ड यति रेष्टुरेन्ट हङकङले आयोजना गरेको हो । हङकङमा कलाकार इशाराले गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’, ‘भद्रगोल डटकम’ प्रहसन प्रस्तुत गर्ने छन् ।
काठमाडौं : चर्चित संगीतकार दीपक शर्माका ११ वटा गीत करोड क्लबमा पुगेको गीति एल्बम लोकार्पण गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा संगीतकार शर्माका बुवा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, पत्रकार डब्बु क्षेत्री र संगीतकार शर्माले संयुक्तरुपमा ‘करोड क्लब’ एल्बम लोकार्पण गरेका हुन् ।
संगीतकार शर्माद्वारा संगीतबद्ध करोेड क्लबमा पर्न सफल गीतहरुमा पिरिम नलाउने, छैन मलाई पिर, छुट्टिएर तिमीसँग, पछि पछि लाएर, बालखैमा दिल बस्यो, ए है माया, अर्को जुनि खै कुन्नी, फुल फुलेको बन, ओकल दोकल, सिल्की कपाललगायतका गीतमा सहिमा श्रेष्ठ, मेलिना राई, पदम राई, रुपेश चन्द्र, प्रमोद खरेल, रचना रिमाल, ध्रुव विस्को, सरोज वली, संजीव पराजुली, राजेश पायल राईको स्वर समेटिएको छ । कार्यक्रमलाई गीतकार राधिका अधिकारीले सहजीकरण गरेकी थिइन् ।
काठमाडौं : ‘जोय मोडल हन्ट नेपाल २०२३’का लागि ४० प्रतियोगी छनोट भएका छन् । राजधानीको मिनिष्ट्री बार एण्ड क्याफे गैरीधारामा आयोजित छनोट चरणको अडिसनमा युवायुवती गरेर ४० प्रतियोगी छानिएका हुन् । अडिसनमा ८० बढी युवा युवती सहभागी थिए ।
माल्भिका सुब्बा (मिस नेपाल २००२ तथा मिडिया पर्सनालिटी), रवि धमला (सिइयो– नेक्स्ट मोडल्स नेपाल), रोजिन शाक्य (इन्टरनेशनल कोरियोग्राफर), विबेक खड्गी र मोनिका अधिकारी (विजेता मोडल हन्ट नेपाल २०२२)लगायत निर्णायक रहेको छनोट चरणको अडिसन अझै बाँकी छ ।
प्रतियोगितामा सहभागिता जनाउन अझै खल्ती एपबाट फारम भर्न सकिनेछ । युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको अडिसनमा छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षासहित फाइनल स्पर्धामा उतारिनेछ ।
फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेता पुरुष प्रतियोगीले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियोमा अभिनय अवसर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागिताको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभूति गराउनुका साथै यस्ता प्रतियोगिताले दबिएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies