एजेन्सी : इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।
केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराउनुभएको छ । सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।
प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भने, “इरानी आक्रमण विफल पारिएको छ ।” हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् ।
ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उनले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरे । रक्षामन्त्री योआभ ग्यालान्टले भने, “संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं । आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ ।”
इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।
यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् भने इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् । उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् ।
यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’ को जवाफ भएको बताएको छ । गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको छ । गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ ।
एजेन्सी : ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ ।
ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय (यूएसजीएस) ले जनाएको छ । ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली रहेको बताएका छन् ।
चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण भएको क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।
आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवम् विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने भिडियो तथा तस्वीर स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । ताइवानमा भूकम्पका कारण पहाडी भेगमा निकै ठाउमा पहिरो गएको बताइएको छ ।
जापानको दक्षिण–पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएपनि पछि यसलाई संशोधन गर्दै कुनै ठूलो सुनामीको जोखिम नरहेको बताएको छ ।
चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० व्यक्तिको ज्यान गएको थियो ।
एजेन्सी : सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको छ ।
बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहको क्षेप्यास्त्र भण्डारणमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा अरु दर्जनौं व्यक्ति घाइते भएका छन् ।
इजरायली विमानले एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थल नजिक आक्रमण गरेका थिए । सिरियाली सरकारी समाचार एजेन्सी सानाका अनुसार शुक्रबार बिहानै गरिएको उक्त आक्रमणबाट सिरियाली सैनिक सहित धेरै सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सैनिक स्रोतलाई उद्धृत गर्दै सानाले इजरायली लडाकू विमानले एलेप्पोको दक्षिणपूर्वी अथरियाबाट आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले भने उक्त आक्रमणका बारेमा केही बताउन अस्वीकार गरेको छ ।
सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएयता सैयौं पटक सिरियाली भूभागमा हवाई आक्रमण गरिसकेको छ । इजरायलले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहलाई हतियार आपूर्ति हुन नदिन यस्तो आक्रमण गरिआएको बताउँदै आएको छ ।
गत अक्टोबर ७ मा गाजा क्षेत्रमा हमास विरुद्धको युद्ध प्रारम्भ भएसँगै इजरायलले सिरियाली भूभागमा पनि आक्रमणको संख्या बढाएको छ । गाजा युद्ध आरम्भ भएयता हमास समूहसँग निकट सम्बन्ध रहेको हेज्बुल्लाह विरुद्ध दैनिकजसो इजरायलले आक्रामक कारबाही गरिरहेको छ ।
पछिल्ला छ महिनामा इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३४६ जनाको मृत्यु भइसकेको छ जसमा अधिकांश हेज्बुल्लाहका लडाकूहरु रहेका छन् । स्रोतका अनुसार यी आक्रमणबाट मारिएकामध्ये कम्तीमा ६८ जना सर्वसाधारण छन् ।
एजेन्सी : मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ९० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।
आतंकवादी आक्रमणका कारण ९० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ । आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।
मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ । घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए ।
मस्कोको उत्तरी क्रास्नोगोस्र्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुँवाको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो । आक्रमण हुँदा घटनास्थलमा पुगेका संगीतकर्मी एलेक्सीले भन्नुभयो, कन्सर्ट सुरु हुनुभन्दा केही समय पहिले एक्कासी गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो । होहल्लाको लगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको थाहा भयो । उनले भने, “सम्भवतः यो रूसको इतिहासमा निकै विनाशकारी आतंककारी आक्रमणमध्ये एक हो ।”
मानिसहरु आपतकालिन निकासतर्फ दौडिदै गर्दा कन्सर्टमा जानेहरु एक अर्काको टाउकोमा चढेर बाहिर निस्किएको उनले बताए । रूसी समाचार संस्थाका अनुसार रूसको अनुसन्धान समितिले शनिबार ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पाँच बालबालिकासहित ११५ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी दिए ।
आक्रमणमा घाइते भएका ११० जना वयस्क व्यक्तिमध्ये ६० जनाको अवस्था गम्भीर छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी समाचार एजेन्सीहरूलाई बताएअनुसार अधिकारीहरूले ‘आतंकवादी’ अनुसन्धान शुरु गरिएको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि ‘निरन्तर’ घटनाबारे जानकारी लिइरहेको बताइएको छ ।
रूसको नेसनल गार्डले घटनास्थलमा रहेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । एएफपीका एक संवाददाताले खोजी कुकुरसहित प्रहरी अधिकारीहरूले भवनको छेउमा पार्किङ गरिएका सवारी साधनहरूको निरीक्षण गरिरहेको देखेको बताए । इस्लामिक स्टेट समूहले आफ्ना लडाकुहरूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’ मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको बताएको छ ।
काठमाडौं : नयाँदिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले गिरफ्तार गरेको स्रोतहरूले बताएका छन् ।
आप नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालत गएको र तत्काल सुनुवाइको माग गरेको बताए । ‘इडीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी खारेज गर्नका लागि हामी सर्वोच्च अदालत गएका छौँ, हामीले आजै राति सर्वोच्च अदालतसँग तत्काल सुनुवाईको माग गरेका छौँ,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
यसअघि उनले केजरीवालले कारागारबाटै सरकार सञ्चालन गर्ने बताएका थिए । ‘इडीले अरविन्द केजरीवाललाई गिरफ्तार गरेको हामीले खबर पाएका छौँ, हामीलाई आशा छ उहाँले कारागारबाट सरकार चलाउनुहुनेछ, उहाँ दिल्लीको मुख्यमन्त्री रहिरहनुहुनेछ, हामीले सर्वोच्च अदालतमा मामिला दायर गरेका छौँ, हाम्रा वकिल त्यहाँ पुग्दैछन्, हामीले अदालतसँग आज राति नै तत्काल सुनुवाईको माग गर्नेछौँ,’ उनले भनेका थिए ।
मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो । स्रोतहरूका अनुसार टोलीले उनको निवासमा खोजी अभियान गरेको थियो । दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि उनको निवास पुगेको हो । आपका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर विरोध प्रदर्शन गरेका छन् ।
एजेन्सी । इजराइली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजराइलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ ।
इजराइल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताउनुभयो । उनले अभियानको उद्देश्य सर्वसाधारणलाई नोक्सान पुर्याउनुको सट्टा हमास लडाकूहरूसँग लड्नु रहेकामा जोड दिए ।
उनले नागरिकको हताहती कम गर्नका लागि सटीकता र सावधानीका साथ कारवाही गरिने बताए । आइडिएफले अस्पताल परिसरमा बिरामीको सहायताका लागि अरबी भाषा बोल्नेहरू र चिकित्साकर्मीहरू परिचालन गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिरहेको छ ।
हगारीले हमासका लडाकूहरूलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभयो र आतङ्कवादी गतिविधिका लागि चिकित्सा सुविधालाई कहिले पनि प्रयोग गर्न नहुने बताए ।
यसैबीच अल जजिराका अनुसार गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी इजराइली कारवाही सम्बन्धमा विज्ञप्तिमा भनेको छ, “हामी अल–शिफा मेडिकल कम्प्लेक्सभित्र मेडिकल स्टाफ, बिरामी र विस्थापित मानिसको जीवनका लागि इजराइली कब्जालाई जिम्मेबार मान्छौँ ।”
एजेन्सी : रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शुक्रबार आर्कटिक जेल कोलोनीमा मृत्यु भएको रुसको संघीय कारागार सेवाले बताएको छ । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए ।
नाभाल्नी टहल्न जाँदा बेहोश भएको र चिकित्सकहरूले उनलाई बचाउन नसकेको कारागार सेवाले जनाएको छ । “टहलेपछि नाभाल्नीले अप्ठ्यारे महसुस गर्नुभयो, उहाँ तत्काल बेहोश हुनुभयो, मेडिकल स्टाफ तुरुन्तै आइपुग्यो र एउटा एम्बुलेन्स टिमलाई बोलाइयो”, कारागार सेवाले भनेको छ, “पुनर्जीवनको उपाय गर्दा सकारात्मक परिणाम आएन, प्यारामेडिकहरूले उहाँको मृत्युको पुष्टि गरे, मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।”
रुसको अनुसन्धान समितिले उनको मृत्युको अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ । नाभाल्नीका प्रेस सचिव किरा यर्मिशले उनको टिमलाई मृत्युको सूचना नदिइएको बताए । उनले सामाजिक सञ्जालमा एक पोस्टमा भने, “एलेक्सीका वकिल उडानमार्फत अहिले खार्प गइरहेका छन् ।” खार्पमा उनी रहेको कारागार कोलोनी छ ।
उनका प्रवक्तालाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई नाभाल्नीको मृत्युको जानकारी दिइएको बताएका छन् । रुसका सबैभन्दा प्रख्यात ४७ वर्षीय विपक्षी नेता नाभाल्नीले रुसमा भ्लादिमिर पुटिनको भ्रष्टाचारको आलोचना गरेपछि सबैभन्दा ठूलो संख्यामा अनुयायी बनाएका थिए ।
रुसको कठोर प्रति–विरोधी कानूनका बावजुद उनको युट्युब च्यालनमा पोष्ट गरिएका उनको खुलासाले लाखौं ‘भ्यु’ प्राप्त गरेको थियो र हजारौं रुसीलाई सडकमा ल्याएको थियो । जर्मनीबाट रुस फर्केपछि सन् २०२१ को प्रारम्भमै उनलाई कारागारमा पठाइयो । कारागारमा उनी सोभियत युगको स्नायु एजेन्ट नोभिचोकसँग करिब घातक विषको हमलाबाट निको भइरहेका थिए ।
स्वतन्त्र अधिकार समूह र पश्चिममा क्रेमलिनको व्यापक रूपमा निन्दा गरिएको आरोपको प्रतिशोधमा उनलाई १९ वर्षको कारागार सजाय सुनाइएको थियो । गत वर्षको अन्त्यमा उनलाई उत्तरी साइबेरियामा रुसको यमालो–नेनेट्स क्षेत्रमा आर्कटिक कारागारको एक कोलोनीमा राखिएको थियो । नाभाल्नीको टेलिग्राम च्यानलमा अन्तिम पोस्टमा भ्यालेन्टाइन डेका अवसरमा आफ्नी श्रीमती युलिया नाभाल्नायालाई श्रद्धाञ्जली राखिएको थियो । उक्त च्यानल निर्वासनमा आफ्ना वकिल र टिमहरूको माध्यमबाट उनले प्रबन्ध गरेका थिए ।
काठमाडौं : बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो ।
क्यान्सरको प्रकार खुलाइएको छैन । तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमवारबाट "नियमित उपचार" थालेका छन् ।
७५ वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन् । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन् ।
सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने छन् ।
आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ ।
राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाइ खबर गरेका छन् । वेल्सका राजकुमार विलियम र अमेरिकामा रहेका राजकुमार ह्यारीलाई उनले खबर गरेका हुन् ।
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा अदालतले १० वर्षको जेल सजाय सुनाएको हो ।
अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको छ । कुरैशी खानको पाकिस्तान तारीख-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष पनि हुन् ।
उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ । ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए ।
पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । उनकाे पार्टी पाकिस्तान पीटीआईले झुटो मुद्दामा सजाय सुनाइएको भन्दै आपत्ति जनाएकाे छ ।
एजेन्सी : बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका छन् ।
राजभवनमा राज्यपाललाई भेटेर नितिशले भने, 'हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं ।' नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो ।
पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले सामाजिक सञ्जालमार्फत जारी एक पोस्टमा जेडियूमाथि कटाक्ष गर्दै भनिन्, 'समाजवादी पार्टीले आफूलाई प्रगतिशील समूहको रूपमा प्रस्तुत गर्छ, तर यसको विचारधारा बदलिँदो वायुको ढाँचासँग परिवर्तन हुन्छ ।' नितिशको यो निर्णयले उहाँको सत्ता समिकरणका लागि चौथो अभ्यास (गठबन्धन) हुनेछ ।
कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् । विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक/एक सदस्य छन् ।
एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् । आचार्यले एक नयाँ पोस्टमा साम्प्रदायिक शक्तिविरुद्ध आफ्नो संघर्ष मृत्युपर्यन्त जारी रहने बताएकी छन् । 'साम्प्रदायिक शक्तिविरुद्ध हाम्रो लडाइँ सास रहेसम्म जारी रहनेछ,' उनले ट्वीटरमा लेखेकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies