काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली गाविसकी ४२ वर्षीया ङिमबुटी शेर्पा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि १९ वर्षीया निमा शेर्पा छन् ।
उनीहरुले १० जना युवाहरुलाई अमेरिका पठाउने भन्दै साढे ५ करोड रुपैयाँ लिएर केन्या पुर्याएर बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको एसएसपी भट्टराईले जानकारी दिए । ङिमबुटी शेर्पाले आफ्ना श्रीमान दावा तथा टासी शेर्पाले आफ्ना छोरालाई अवैध बाटोबाट अमेरिका पठाएको बताउँदै जान चाहनेलाई फुड प्याकिङमा अमेरिका पठाउने र मासिक ४ लाख आम्दानी हुने प्रलोभन देखाएर युवाहरुलाई विश्वासमा लिएको प्रहरीको भनाइ छ ।
ङिमवुटी शेर्पाले एउटै घरमा रेष्टुरेन्ट, ब्युटीपार्लर तथा चिया पसलसमेत सञ्चालन गरी सोही स्थानमा पीडितहरुलाई बोलाइ कुराकानी तथा कारोबार गर्ने गरेको तथा अन्य गिरोहका मानिसहरुलाई समेत सोही स्थानमा भेटी कुराकानी तथा रकमको कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।
उनीहरुले पीडितहरुबाट भिसा निकाल्नका लागि शुरुमा ५ लाख रुपैयाँ लिएको र त्यसको २-३ दिनपछि भिसा आइसक्यो भनेर टिकट काट्नका लागि फेर ५-७ लाख, डलर साट्न ५ लाख रुपैयाँ लाग्छ भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको खुल्न आएको एसएसपी भट्टराईले जानकारी दिए ।
काठमाडौंबाट दुबई हुँदै केन्याको राजधानी नैरोबी पुर्याएपछि अफ्रिकन मूलका एजेन्टले नेपाली युवाहरुलाई लिन आएका थिए । ट्याक्सीमा राखेर उनीहरुलाई केन्याको जिम्मारमानस्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा ६ महिनासम्म राखिएको थियो । उक्त घरमा पुग्ने बित्तिकै पीडितहरुबाट २-३ सय डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरुले नै लिएर गएको खुलेको प्रहरीको भनाइ छ ।
काम हुँदैछ भन्दै उनीहरुलाई ६ महिनासम्म विश्वासमा दिलाउँदै राखिएको थियो । प्रहरीले दु:ख दिन्छ भन्दै बेलाबेलामा कोठा समेत एजेन्टहरु सार्ने गरेको पीडित युवाहरुले बताएको प्रहरीको भनाइ छ । नैरोबीकै अर्को किनुमा थप २-३ महिना बन्धक गराएपछि बल्ल ‘पछि प्रहरीले समात्छ’ भन्दै उनीहरको पासपोर्ट भने पीडित युवाहरुलाई नै एजेन्टले फिर्ता गरिदिएका थिए ।
पीडितहरुले पासपोर्ट प्राप्त गरेपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरुले आफ्नो घर तथा साथीहरुबाट मगाएर तिरेको र हवाई टिकटसमेत आफैंले काटेर नेपाल फर्किएको प्रहरीले बताएको छ ।
अमेरिका पुर्याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिकोमध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुल्न आएको र उक्त गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्यालगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाइ राखिरहेको र पीडितहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको एसएसपी भट्टराईले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies