एजेज्सीः अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ ।
रिजर्व बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ । यो सन् २०११ पछिको उच्चतम स्तर हो । पाँच महिनामा यो पहिलो वृद्धि थियो र सेप्टेम्बरमा केन्द्रीय बैंकको गभर्नर पद सम्हालेपछि मिसेल बुलकको नेतृत्वमा यो पहिलो वृद्धि हो ।
पछिल्लो आँकडाले सेप्टेम्बर ३० देखि तीन महिनाको अवधिमा वार्षिक मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी पाँच दशमलव चार प्रतिशतले भइरहेको अवस्थामा मुद्रास्फीतिमाथि नियन्त्रण गर्न गभर्नर बुलकले कदम चाल्ने व्यापक अपक्षा गरिएको थियो ।
‘अस्ट्रेलियामा मुद्रास्फीतिले आफ्नो चरम सीमा पार गरिसकेको छ तर अहिले पनि यो अत्यधिक ठूलो छ, केही महिनाअघिको अपेक्षाभन्दा लगातार बढिरहेको छ’, उनले एक विज्ञप्तिमा भने, ‘मुद्रास्फीति उचित समय सीमामा लक्ष्यमा आउने सुनिश्चित गर्नका लागि मौद्रिक नीतिलाई अझ कडा बनाउन आवश्यक छ वा छैन भन्ने कुरा डाटा र जोखिमहरूको विकसित आकलनमा निर्भर गर्नेछ ।’
केन्द्रीय बैङ्कले सन् २०२५ को अन्त्यसम्ममा मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतमा फर्काउने प्राथमिकता रहेको उल्लेख गरेको छ । कोभिड–१९ महामारी र युक्रेनमा युद्धले मुद्रास्फीतिलाई बढावा दिँदा र केन्द्रीय बैंक प्रमुख ब्याज दरलाई आफ्नो अघिल्लो तल्लो स्तर शून्य दशमलव एक प्रतिशतबाट बढाउन बाध्य भएका कारण सन् २०२२ मे मा मुद्रास्फीति वृद्धिको शृङ्खलामा ब्याज दर बढाउने यो कदम नयाँ हो ।
एजेन्सी : भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् ।
“बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ”, उत्तरपूर्वी सिक्किमको पहाडी उपत्यकामा हिमताल फुटेको भोलिपल्ट बिहीबार भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीले भने ।
अधिकारीहरूका अनुसार बाढीले सडकहरू गम्भीररूपमा क्षतिग्रस्त भएका छन् भने १४ वटा पुल बगाएको छ । “अहिलेसम्म १० वटा शव फेला परेको छ र सैनिक कर्मचारीसहित ८२ जना हराइरहेका छन्”, सिक्किम राज्यका मुख्यसचिव विजय भूषण पाठकले भने । हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ । एक सैनिकको उद्धार गरिएको थियो ।
विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको हो । विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर हिमनदीबाट विनाशकारी बाढी आउने क्रम बढ्दै गएको छ ।
एजेन्सी : उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ । “उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ”, सेनाले भनेको छ, “खोजी कार्य जारी छ ।”
उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ । चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ ।
भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जंगली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ । सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो । अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ ।
काठमाडौं : कोभिड-१९ विरुद्धको खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि (एमआएनए) विकास गर्ने दुई जना वैज्ञानिकले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।
नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो ।
कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो । तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौं मानिसलाई दिइयो ।
यस एमआरएनए प्रविधिमा क्यान्सरलगायत अन्य रोगको उपचारका लागि पनि थप अनुसन्धान भइरहेको छ । एमआरएनए अर्थात मेसेन्जर रिबोन्यूक्लिक एसिडले शरीरलाई प्रोटिन कसरी बनाउने भनेर बताउँछ ।
एजेन्सी : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।
इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ ।
बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतंकवादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतंकवादीले उक्त विष्फोट गराएको बताएका छन् ।
एजेन्सी : भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ।
विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ ।
उक्त कम्पनीले बिहीबार एक सूचना जारी गरेर भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।
आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो ।
क्यानाडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका बताएका थिए । क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।
भारतको विदेश मन्त्रालयले बुधबार भारतीय नागरिक, क्यानडामा रहेका विद्यार्थी र भारत फर्कने योजनामा रहेकाहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । भारत विरोधी गतिविधि भएका क्षेत्र र हुनसक्ने सम्भावित स्थानमा नजान भारतीय नागरिक र भारतीय विद्यार्थीहरूलाई आग्रह गर्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
एजेन्सी : भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।
भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।
यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन् । विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकष्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका थिए । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतका विरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए ।
एजेन्सी : जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर काटेको नयाँ आधिकारिक तथ्यांकले देखाएको छ । सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको छ ।
जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार दोस्रो स्थानमा रहेको इटालीको २४.५ प्रतिशत र तेस्रो स्थानमा रहेको फिनल्यान्डको २३.६ प्रतिशतको तुलनामा यो स्तर मापन गरिएको हो ।
“जापानमा विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । युवाहरूले अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौंदेखि जापानको जनसंख्या घट्दै गएको छ र पहिलेको जनशक्ति वृद्ध हुँदै गएको छ ।
फलस्वरूप, जापानमा वृद्धवृद्धाको हेरचाहका लागि बढ्दो खर्च देखिएको छ र युवाहरूले रोजगारी भर्न र विभिन्न सामाजिक र कल्याणकारी कार्यक्रमहरूको लागि भुक्तानी गर्न पर्याप्त छैनन् ।
मन्त्रालयका अनुसार जापानमा सन् १९४६ देखि सन् १९६४ ताका जन्मिएको (ब्याबी बुमर) जनसंख्या १२ करोड ४४ लाख मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेर समूहका छन् । करिब एक करोड २५ लाख ९० हजार मानिस ८० वर्ष वा सोभन्दा बढी उमेरका छन् भने दुई करोड मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेरका छन् । फलस्वरूप, जापान वृद्ध श्रम शक्तिमा निर्भर मुलुक भएको छ ।
जापानमा ९० लाखभन्दा बढी वृद्धवृद्धाले काम गरिरहेका छन्, जुन श्रमशक्तिको १३.६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् । जापानमा सबै वृद्धवृद्धामध्ये एक चौथाइले रोजगारी पाएका छन्, जुन दक्षिण कोरियाको ३६.२ प्रतिशतभन्दा कम हो, तर संयुक्त राज्य अमेरिकाको १८.६ र फ्रान्स ३.९ प्रतिशतका साथ अन्य विकासशील देशहरूभन्दा धेरै हो ।
जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् । सन् २०४० सम्ममा जापानको कूल जनसंख्याको ३४.८ प्रतिशत वृद्धवृद्धा रहने अनुमान गरिएको छ ।
एजेन्सीः ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ । राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सीड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका पूर्वउम्मेद्वार रामिरेज र उनकी पत्नी मर्सी मोरालेसलाई कामको सिलसिलामा पिकअप भ्यानमा गइरहेका बोल गोली हानेर मारिएको सीडले जनाएको छ ।
नेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैं भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सीडले बताएको छ । उक्त पार्टीले हत्याका दोषीलाई कारबाही गर्न माग गरेको छ । सीडका नेता अरेभालोले गत महिना अप्रत्याशित रूपमा राष्ट्रपति पदको चुनाव जितेपछि ग्वाटेमालाका अधिकारीहरूले बारम्बार उनी र उनको पार्टीविरुद्ध कारबाही गर्न कानुनी माध्यम प्रयोग गर्दै आएका छन् भन विपक्षी तथा माफियाले हिंसाको बाटोसमेत अँगालेका छन् ।
एजेन्सीः लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् ।
डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार वेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् । गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन ।
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ ।
यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies