एजेन्सी : लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान शुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि शुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयाँै मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान शुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ । एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले लेबनानमा हैजा देखिएको जनाएको थियो ।
त्यस यता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरु हजारौँ जना विरामी भएका छन् । लेबनानले सहयोगका लागि विश्व समुदायलाई नै आग्रह गरेको थियो । यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको गत हप्ता जनाएको थियो । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
केही हप्ता यतादेखि लेबनानमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो । यहाँ देखिएको हैजाबाट चार सय ९० जना विरामी अस्पतालमा राखिएको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको संक्रमण फैलिएको जनाएको छ । सिन्ह्वा
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिने भएका छन् । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।
‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोज कुमार भारतीले जानकारी दिएका एएनआईले जनाएकाे छ ।
‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिने र औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले बताए ।
‘प्रधानमन्त्री मोदीको जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ । भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु', भारतीय राजदूत भारतीले भनेका छन् । एएनआई
काठमाडौं : मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज २.५७ अंकले सेयर बजार ओरालो लागेको हो ।
मंगलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । २७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
मंगलबार लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको सेयर कारोबार भएको छ । सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।
काठमाडौं : उत्तर कोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको हो ।
उत्तर कोरियाले गोप्य रूपमा भारीमात्रामा हातहतियार रूसलाई आपूर्ति गरेको आरोप प्रवक्ता किर्बीले गत हप्ता लगाएपछि प्योङयाङले आफूसँग मस्कोले कहिल्यै हतियारको कारोबार नगरेको स्पष्ट गरेको छ । “हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,” रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन् ।
अज्ञात ती उपनिर्देशकले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरकोरियाको छवि धमिलो पार्ने अमेरिकाको शत्रुतापूर्ण प्रयासको आज निन्दा गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
आवरणमा उत्तर कोरियाले मध्यपूर्व वा उत्तरअफ्रिकी देशमा हतियार आपूर्ति गरिएको देखाए पनि हातहतियारको वास्तविक गन्तव्य रूस भएको गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा प्रवक्ता किर्बीले बताएका थिए । यसअघि पनि प्योङयाङले वासिङटनलाई ‘लापरबाह टिप्पणी’ नगर्न तथा ‘आफ्नो मुख बन्द राख्न’ आह्वान गरेको थियो । एपी
एजेन्सी : अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा पाँच अपहरणकारीहरूको समूहलाई पक्राउ गरी एक व्यक्तिलाई बन्धकबाट उद्धार गरेको प्रान्तीय प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'सुरक्षा बलले आइतबार गिरोहको कब्जाबाट हातहतियार र गोलीबारुका साथै तीनवटा सवारी साधन समेत बरामद गरेको छ।'
राजधानी काबुलमा यस्तै अपरेसनमा सुरक्षाकर्मीहरूले दुई महिना अघि पाँच व्यक्तिको अपहरण र उनीहरूको परिवारबाट फिरौती असुल्ने आठ अपहरणकारीहरूको समूहलाई पक्राउ गरेको थियो। सिन्ह्वा
एजेन्सी : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार डाकुहरूले गरेको आक्रमणमा सात प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
दर्जनौं अपराधीहरूले घोटकी जिल्लाको प्रहरी क्याम्पमा आक्रमण गर्दा सात प्रहरी अधिकारीको हत्या गरेका छन् भने २० जनालाई अपहरण गरेका छन् ।
केही दिनअघि अपहरणमा परेका कैयौं व्यक्तिको रिहाइका लागि अपराधीविरुद्ध अभियान चलाउन उक्त क्षेत्रमा शिविर स्थापना गरिएको हो । घटनालगत्तै ठूलो सङ्ख्यामा प्रहरी टोली घटनास्थलमा पुगेको र उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको बताइएको छ ।
घटना भएको क्षेत्र थोरै जनसङ्ख्या भएको ठाउँ हो भने लुटपाट अपहरण, फिरौती लगायतका आपराधिक गतिविधिमा संलग्न डाँकुहरूको बलियो बासस्थान पनि हो। सिन्ह्वा
एजेन्सी : उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ ।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो। अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले त्यसलाई “आक्रामक र उत्तेजक“ भनेर वर्णन गरेको छ।
उत्तर कोरियाका यी प्रक्षेपणहरू आणविक परीक्षणमा परिणत हुन सक्ने चिन्ता व्यक्त गर्दै अमेरिका र दक्षिण कोरियाले आफ्नो सैन्य अभ्यास शनिबार पनि गरेको थियो ।
एजेन्सी : रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाए अनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।
आगो ३, ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी छ ।
भारत : भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्य भएको थियो भने कैयौँ हराएका थिए । उद्धारकर्ताले गएरातिदेखि खोज स्थगन गरेका हुन् ।
नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन् । स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ । पुल भाँचिदा एक सय जना घाइते भएका थिए । बेलायतको शासनकालमा शताब्दीअघि निर्मित उक्त पुल सात महिनाको मर्मत सम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो ।
पुलको भारवहन क्षमताभन्दा बढी मानिस त्यहाँँ एकत्र भएपछि उक्त दुर्घटना भएको हो । पुलको क्षमताभन्दा पाँच सय जना बढी मानिस दुर्घटनाका बेला पुलमा रहेका विवरणहरू सार्वजनिक भएका छन् । स्वदेशी तथा विदेशी पर्यटकका निम्ति मोर्वी पुल आकर्षक गन्तव्य मानिन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्र र राज्य सरकारका उच्च अधिकारी मोर्बी पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए । विश्वभरका नेताहरूले उक्त घटनामा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारत सरकार समक्ष शोक व्यक्त गरेका थिए । गत मङ्गलबार दुर्घटनामा मारिएकाको सम्झनामा भारत राजकीय शोकमा थियो ।
पुल मर्मत सम्भारको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीहरूमाथि नियतवश ज्यान मार्ने उद्योग गरेको अभियोग भने नलगाइएको बताइएको छ । एजेन्सी
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।
पाकिस्तानको पूर्वी शहर लाहोरमा एक विरोध जुलुसमा खानमाथि गोली प्रहार भएको हो । गोली लागेका खान घाइते भएका छन् ।
उनको पीटीआई पार्टीका सदस्यहरूले बिहीबार थप चार जना घाइते भएको बताएका छन् । तर कसैको मृत्यु भने भएको छैन ।
७० वर्षीय खानले तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादमा जुलुसको नेतृत्व गरिरहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies