२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

थाइल्यान्डबाट ल्याइएको ५ किलो ५०० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Nada
२०८३ साउन २१ गते १९:१५
Shares
थाइल्यान्डबाट ल्याइएको ५ किलो ५०० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ : लागुऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट ल्याइएको गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ncell

ब्युरोको टोलीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ५ किलो ५०० ग्राम थाइल्यान्डको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने क्रममा २०८३ साउन २० गते काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कमा दुई जना भारतीय नागरिकलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो ।

प्रहरीले जाँच गर्ने क्रममा भारत उत्तर प्रदेशको लुधियाना ठेगाना भएका ४३ वर्षीय रेन्कु मेहेनले बोकेको सुटकेसभित्र लुकाइएको अवस्थामा ५ किलो गाँजा बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गाँजा थाइल्यान्डबाट काठमाडौँ ल्याइएको र भारतबाट आएका व्यक्तिहरूले बुझ्ने योजना रहेको खुलेको ब्युरोले जनाएको छ ।

अनुसन्धानकै क्रममा गाँजा लिन भारतको उत्तर प्रदेश लुधियानाबाट आएको भनिएको यूपी ३८ एपी १९७३ नम्बरको भारतीय गाडी धादिङको धुनीबेंसी नगरपालिका-९ कानाकोटस्थित पृथ्वी राजमार्ग छेउमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

उक्त गाडी खानतलासी गर्दा पछाडिको सिटमुनि लुकाइएको अवस्थामा थप ५०० ग्राम थाइल्यान्डको गाँजा बरामद भएको ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लुधियानाका रेन्कु मेहेन र उत्तर प्रदेश जोयाका ३२ वर्षीय मोहम्मद हसनैन रहेका छन् । प्रहरीले उनीहरूको साथबाट गाँजासहित भारतीय गाडी, एक थान पासपोर्ट र दुई थान मोबाइल बरामद गरेको जनाएको छ ।

ब्युरोका अनुसार थाइल्यान्डबाट गाँजा पठाउने भनिएका साहादत खान र गाडी प्रयोग गरी गाँजा लिन आउने अन्य दुई व्यक्तिको खोजी भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा उक्त भारतीय गाडी यसअघि पनि दुई पटक नेपाल प्रवेश गरी थाइल्यान्डको गाँजा भारततर्फ लैजान प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर