काठमाडौं : पुस महिनाको तुलनामा माघ महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको छ । पुसमा ६५ हजार ८ सय १३ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा माघ महिनामा उक्त संख्या ६२ हजार १ सय ४७ रहेको छन् । वैदेशिक रोजगार विभागको माघ महिनाको तथ्यांकअनुसार म्यानपावर कम्पनीबाट ३० हजार ७ सय ८६ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
माघमा अघिल्लो महिना पुसमा जस्तै यूएईमा धेरै नेपाली गएका छन् । यूएईमा म्यानपावर कम्पनीबाट १० हजार ८ सय ६१ जना गएका छन् भने समग्रमा १७ हजार ६२ जना गएका छन् । माघमा साउदी अरेबिया दोस्रो स्थानमा रहेको छ । साउदीमा म्यानपावर कम्पनीबाट ६ हजार ३ सय ८८ जना र सबै प्रक्रियाबाट १२ हजार ३ सय ६६ जना गएका छन् । तेस्रोमा कतार रहेको छ । ममघमा १२ हजार १ सय ६४ जना गएको कतारमा म्यानपावर कम्पनीमार्फत ३ हजार ६ सय ८८ जना गएको विभागको तथ्यांक छ । मलेसिया सूचीको चौथो स्थानमा रहेको छ । माघमा समग्रमा ६ हजार ७ सय ९५ जना कामदार गएको मलेसियामा म्यानपावर कम्पनीमार्फत भने ५ हजार ४ सय ७७ जना गएका छन् ।
माघमा कुवेत जान २ हजार २ सय १० जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै म्यानपावर कम्पनीमार्फत जापान जानेको संख्या ७७ छ भने व्यक्तिगतरुपमा ९ सय १७ जना जापान गएका छन् । बहराइन जानेको संख्या ५ सय र हङकङमा ४ जनाको श्रम स्वीकृति भएको छ । हङकङमा व्यक्तिगतरुपमा ५७ जनाको श्रम स्वीकृति भएको छ ।
पछिल्ला महिना रोजगारीका लागि युरोप जाने बढेका छन् । पुसमा मात्र रोमानियामा म्यानपावरमार्फत ४ सय ३१ र व्यक्तिगतरुपमा ६ सय ६५ जना, क्रोएशियामा म्यानपावरमार्फत २२ र व्यक्तिगतरुपमा ३ सय ६८ जना, साइप्रसमा ३ सय १ जना नेपाली कामदार गएका छन् ।
चालु आर्थिक वर्षको सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गत वर्ष सोही अवधिमा ४ लाख ७८ हजार ८ सय ३० जनाको श्रम स्वीकृति भएको थियोे । वैदेशिक रोजगारीमा जानेको संख्यासँगै स्वदेश भित्रिने रेमिट्यान्स पनि उल्लेख्यरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
काठमाडौं : वैदेशिक रोजगार बोर्डको अनलाइन प्रणाली अवरुद्ध भएको छ । बोर्डको सचिवालयले एक सूचना जारी गर्दै प्रणालीमा समस्या आएको जानकारी दिएको छ । बोर्ड सचिवालयको ‘एफईडब्लुआईएमएस डट एफईबी डट जीओभी डट एनपी’को सर्भर र सफ्टवेयरमा केही दिनदेखि समस्या आएको भन्दै बोर्डले केही दिन सेवा बन्द हुने जानकारी गराएको हो ।
बोर्डको अनलाइन अवरुद्ध हुँदा वैदेशिक रोजगारीमा गइ मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण प्रभावित भएको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका नाममा ठगिएका युवायुवतीले तत्काल आफूहरूको ठगिएको रकम र क्षतिपूर्तिको रकम तत्काल असुलउपर गराइदिन माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङलगायतले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सय जना बढी युवायुवतीबाट करोडौं रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले उनीसहित चार जनालाई पक्राउ गरेको थियो ।
वैदेशिक रोजगार विभागले उनीहरूलाई वैदेशिक रोजगार ऐनको ठगीमा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गरी थुनामा राखेको छ । तामाङले युरोपेली मुलुक क्रोएशिया, माल्टा, पोल्याण्ड र क्यानडालगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ६ सय जना बढीबाट करोडौं लिएको प्रहरीले बताएको छ ।
तामाङले बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सल्ट्यान्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ करोडौँ रुपैयाँ ठगी गरेको पाइएको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले बताए । पीडितहरूले अनुसन्धान र क्षतिपूर्तिको कामबारे विभागका महानिर्देशक डण्डुराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
तामाङले युरोपेली मुलुकमा कामदार पठाउँछु भनेर माल्टाका लागि ८ लाख, पोल्याण्डका लागि ७ लाख र क्रोएशियाका लागि ६ लाख ५० हजार रुपैयाँ तथा क्यानडाका लागि १८ लाखका दरले ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले दाबी गरेको छ । उनले ६ सयभन्दा बढी युवाबाट ५० हजारदेखि ६ लाख ५० हजारसम्म रकम लिएको प्रहरीको दाबी छ । पीडितहरूले आफूहरू समूह–समूहमा ठगिएको भन्दै एक जनाको ४ लाख रूपैयाँसम्म ठगी भएको बताएका छन् ।
युवायुवतीबाट ठगी गरेको रकमबाट तामाङले ४ करोड व्यक्तिगत ऋण तिरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, राप्ती म्यानपावर कम्पनीको ५० प्रतिशत शेयर खरिद गरेको र आफ्नो भाइको बैंक खातामा १५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको बयान दिएको प्रहरीले बताएको छ ।
ठगिएका कतिपयले अझैसम्म आफू ठगिएको वास्तविकता परिवारलाई बताउन नसकेको र काम हुँदैछ भनेर ढाँटिरहेकोे र ठगिएको रकम नपाएको अवस्थामा स्थिति जेसुकै हुने भन्दै विभाग परिसरमा नाराबाजी गरेका थिए । उनीहरूले समाचारमा आफ्नो तस्बिर प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।
महानिर्देशक घिमिरेले अभियुक्तले खरिद गरेको राप्ती म्यानपावर कम्पनीको ५० प्रतिशत शेयर रोक्का गरिएको जानकारी दिँदै शान्तिपूर्णरूपमा कानूनी उपचारमा लाग्न पीडितहरूलाई सुझाव दिए ।
क्वालालम्पुर : मलेसियाको औद्योगिक अदालतले विदेशी कामदारहरुलाई सम्मानजनक व्यवहार गर्न रोजगारदाताहरुलाई निर्देशन दिँदै कार्यस्थलमा शारीरिक हिंसा र आक्रामकतालाई कदापी सहन नसकिने बताएको छ । मलेसियाका केही क्षेत्रमा आप्रवासी कामदारको बासस्थान तथा उनीहरुलाई गरिने व्यवहारको आलोचना हुँदै आएको छ ।
त्यहाँको औद्योगिक अदालतका अध्यक्ष एन्डरसन ओङले विदेशी कामदारले मानिसको हैसियतले सम्मान र मर्यादाका साथ व्यवहार गर्ने अधिकार राख्ने विषयमा रोजगारदाताहरु सचेत हुनुपर्ने बताए । उनले भने, ‘विदेशी कामदारसहित सबै कर्मचारीको कमाइ जतिसुकै कम वा निम्न किन नहोस्, मानिसको रुपमा व्यवहार गर्न पाउने र मानवीय मर्यादाको सम्मानका साथ व्यवहार गर्नुपर्छ भन्ने कुरा रोजगारदाताले जान्नुपर्छ ।’
एक बंगलादेशी कामदारमाथि भएको दुव्र्यवहारको घटनामा मलेसियाको औद्योगिक अदालतमा उजुरी परेको थियोे । मलेसियामा एक सफाइ कर्मचारीको हैसियतमा कार्यरत बंगलादेशी नागरिक रहमान मोहम्मद महबुबुर स्वदेश फर्केपछि मलेसियाको औद्योगिक अदालतले रोजगारदाताविरुद्ध आदेश दिएको थियोे ।
काठमाडौं : ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा रहेको मुलुक साउदी अरेबियामा कयौं नेपालीहरु अवैधरुपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेलमा परेको सार्वजनिक भएको छ ।
बीबीसी नेपाली सेवाका अनुसार झण्डै चार लाख नेपालीहरु कार्यरत रहेको साउदी अरेबियामा ४ सय ८० नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न रहेको अपराधमा पक्राउ परेका नेपाली कामदारहरु रहेका छन् ।
रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिवानादेखि जेल सजाय हुने गरेको छ । कतिपयलाई साउदी प्रहरीले थुन्ने र कोर्रा हान्नेसम्मको सजाय गर्ने गरेको छ । अवैधानिकरुपमा बसेका नेपालीहरुले कम आम्दानी भएका नेपाली मजदुरलाई मादक पदार्थ बेच्ने गरेको बताइएको छ भने छोटो समयमा कमाउने लोभमा परेका केही नेपालीहरु रक्सी उत्पादन, ओसारपसारको अवैध धन्दामा लाग्दा जेल परेको बीबीसीले उल्लेख गरेको छ ।
अवैधरुपमा मदिरा उत्पादन तथा बिक्री गर्ने नेपाली कामदारहरुमध्ये केहीलाई अदालतबाट सजाय सुनाइएको र केही कामदारको सजाय सुनाउन बाँकी नै रहेको उल्लेख गर्दै बीबीसीले नेपालीलाई केही महिनादेखि सात वर्षसम्मको जेल सजाय हुने गरेको उल्लेख गरेको छ ।
नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चालाई पिठोसँग मिसाएर लैजाने र स्थानीयस्तरमा पाइने चामल, गहुँ र खजुरजस्ता खाद्य पदार्थमा राखेर घरेलुु मदिरा बनाउने गरेको दूतावासका अधिकारीहरु बताउँछन् ।
नेपालीहरु साउदी अरेबियामा मात्रै नभएर कुवेतमा पनि अवैध मदिरा उत्पादन तथा सेवन गर्ने गरेका कारण पटक–पटक पक्राउ पर्ने र बदनाम हुने गरेका छन् । रोजगारीका लागि गएका विदेशी कामदार स्थानीय धर्म, संस्कृति तथा परम्परा विपरीत अवैध मदिराको व्यापारमा लागेपछि कुवेतमा नेपाली समुदाय नै बदनाम हुन पुगेको कतिपयको टिप्पणी छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वरोजगार उद्यमी बनेका युवायुवतीलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर स्वरोजगार उद्यम गरेका व्यक्तिलाई प्रतिस्पर्धामा सहभागी हुन आवेदन दर्ता गर्न आह्वान गरेको छ ।
त्यसका लागि आगामी फागुन १५ गतेभित्र आवेदन दिन सकिने उल्लेख गर्दै मन्त्रालयले वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेकोे छ ।
आवेदनका साथमा पुरस्कृत हुन चाहने आकांक्षीले आवेदनका साथमा नेपाली नागकिताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ ।
प्राप्त आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ । प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ ।
छनोटका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिलाई प्रत्येक प्रदेशबाट न्यूनतम एक जना नछुट्ने गरी उद्यमी छनोट गर्नुपर्ने म्याण्डेट छ । आवेदकमध्ये एक जना सर्वाेत्कृष्ट उद्यमीले एक लाख ५० हजार राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अन्य सात जनाले ७५ हजारको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई सुदुपयोग गर्न स्वदेश फर्किएर उद्यम गर्ने व्यवसायीलाई सम्मान गर्न लागिएको मन्त्रालयको भनाइ छ ।
काठमाडौं : साउदी अरेबियाले एक महिनाभित्रै द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्ने वातावण बनाउने आश्वासन दिएको छ । यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाका अधिकारीहरूसँग विगत ८ वर्षदेखि गृहकार्यमा रहेकोे नेपाल–साउदी श्रम समझदारीका विषयमा छलफल अघि बढाएका हुन् ।
बैठकमा नेपाली पक्षले प्रस्तावित सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’सहित सामाजिक सुरक्षा, कामदारको कार्य घण्टा, बीमा, पेशागत स्वास्थ्य सुरक्षालगायतका विषयहरु सम्बोधन हुने गरी सम्झौता गर्न आग्रह गरेको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।
नेपाल र साउदी अधिकारीहरूबीच पटक–पटक श्रम सम्झौताका विषयमा छलफल भएपनि साउदी अरेबियाले जनरल वर्करसँगै घरेलु श्रमिकका लागि पनि छुट्टै श्रम समझदारी गर्ने अडान लिँदा श्रम सम्झौता हुन सकेको छैन । नेपाली कामदारका अधिकार सुनिश्चित नभएको अवस्थामा पनि अदक्ष नेपाली कामदारको ठूलो संख्या साउदी अरेबिया गइरहेको छ ।
दुवै मुलुकको साइडलाइन बैठकमा सीपमूलक जनशक्ति उत्पादनका निम्ति नेपालमा तालिम केन्द्र स्थापना गर्न साउदी सरकारले दिएको सहयोगलाई निरन्तरता दिने तथा श्रमिकको सीप तथा क्षमता बढाउने विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको बताइएको छ ।
छलफलमा कफाला प्रणालीले सिर्जना गरेको समस्याको समाधान तथा विभिन्न कारणले मृत्यु भएका कामदारको शव छिट्टै नेपालसम्म पठाउन सहजीकरण गर्ने विषयमा नेपाली पक्षले साउदी पक्षको ध्यानाकर्षण गराएको छ । साउदी अरेबियाका सप्लाइ कम्पनीमा लगिएका कामदारको अकामा नबन्ने तथा उनीहरूलाई काम तथा तलब नदिने समस्या समाधानका लागि पनि आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै श्रमिकहरुको गुनासो यथाशक्य छिटो सम्बोधन गर्न बैंकिङ र स्वास्थ्य सूचना प्रणालीको प्रयोग बढाउने, स्वदेशमा हुने पूर्वप्रस्थान अभिमुखीकरण र सीप तालिमलगायतका कामहरुलाई डिजिटाइजेसन गर्दै लैजानेबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
आइतबार नै नेपाल र कतारबीच पनि साइडलाइन बैठक भएको छ । बैठकमा कतारी अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी श्रम समझदारी पत्र तयार गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । कतारसँग सन् २००३ मा भएको द्विपक्षीय श्रम सम्झौता विस्थापित गर्दै नयाँ श्रम समझदारी गर्ने तयारी छ ।
कतारले पनि साउदी अरेबियाले जस्तै घरेलु कामदारका विषयमा सम्झौता गर्न चाहेको बताएको छ । यसअघिको सम्झौतालाई पुनरावलोकन गर्न दुवै देशले अनलाइनमार्फत छलफल अघि बढाउने निर्णय गरेकोे मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिएका छन् ।
काठमाडौं : पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका–१२ घर भइ काठमाडौं सामाखुशी बस्ने ३० वर्षीया मन्जु रावत घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घर्तीले ३ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
चन्द्र गोतामे/मध्यान्ह
कुवेत : वैदेशिक रोजगारीका लागि कुवेत आएका कीशुम महर्जन गत सोमबारदेखि सम्पर्कविहीन भएका छन् ।
अल हमाजि ग्रुपमा करिब ६ महिना पहिले रोजगारीका लागि कुवेत आएका कीशुम गत सोमबार नेपाल जाने साथीलाई परिवारका लागि पार्सल छोड्न गएको बुझिएको छ । कुवेतस्थित नेपाली दूतावासले परिवारबाट सूचना प्राप्त भएको र खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ ।
हप्तादिन यता सम्पर्कमा नआएपछि कम्पनी, दूतावास तथा कुवेत सबैतिर खोजीका लागि अपिल गरिएको जनाउँदै कीशुमका बाबु तिर्थराज मर्हजनले खोजी कार्यमा सहयोग गर्न कुवेतवासी सबैमा अनुरोध गरेका छन् ।
काठमाडौं : आबुधाबी डायलगमा नेपालले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा शुरु भएको आबुधाबी डायलगअन्तर्गत उच्च श्रम अधिकारीहरुको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले उक्त प्रस्ताव राखेका हुन् ।
यूएईको अबुधाबीमा शनिबारदेखि शुरु भएको डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेकोे छ । शनिबार नेपालको तर्फबाट दृष्टिकोण राखेका श्रम मन्त्रालयका सहसचिव पोखरेलले रोजगारदाता देशहरुले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
यसका अतिरिक्त सहसचिव पोखरेलले गन्तव्य देशहरुले न्यायोचित भर्ना, कार्यस्थलमा कामदारको स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
हाल खाडी मुलुक अन्तर्गत यूएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली कामदार जाने गरेको भएपनि कतारले मात्रै कामदारको न्यूनतम तलब निर्धारण गरेकोे छ । अबुधाबी डायलगअन्तर्गत आइतबार मन्त्रीस्तरीय बैठक हुँदैछ । उक्त बैठकमा कामदारको तलब तथा अन्य सुरक्षा, रेमिट्यान्सको आप्रवाह तथा प्रयोग, सीपयुक्त जनशक्ति उत्पादनमा साझेदारी र न्यायोचित भर्नाको अभ्यासमाथि छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ५ सदस्यीय टोली यूएईमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies