काठमाडौं : वैदेशिक रोजगारीका नाममा ठगिएका युवायुवतीले तत्काल आफूहरूको ठगिएको रकम र क्षतिपूर्तिको रकम तत्काल असुलउपर गराइदिन माग गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङलगायतले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सय जना बढी युवायुवतीबाट करोडौं रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले उनीसहित चार जनालाई पक्राउ गरेको थियो ।
वैदेशिक रोजगार विभागले उनीहरूलाई वैदेशिक रोजगार ऐनको ठगीमा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार न्यायाधिकरणबाट म्याद थप गरी थुनामा राखेको छ । तामाङले युरोपेली मुलुक क्रोएशिया, माल्टा, पोल्याण्ड र क्यानडालगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ६ सय जना बढीबाट करोडौं लिएको प्रहरीले बताएको छ ।
तामाङले बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सल्ट्यान्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ करोडौँ रुपैयाँ ठगी गरेको पाइएको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले बताए । पीडितहरूले अनुसन्धान र क्षतिपूर्तिको कामबारे विभागका महानिर्देशक डण्डुराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
तामाङले युरोपेली मुलुकमा कामदार पठाउँछु भनेर माल्टाका लागि ८ लाख, पोल्याण्डका लागि ७ लाख र क्रोएशियाका लागि ६ लाख ५० हजार रुपैयाँ तथा क्यानडाका लागि १८ लाखका दरले ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले दाबी गरेको छ । उनले ६ सयभन्दा बढी युवाबाट ५० हजारदेखि ६ लाख ५० हजारसम्म रकम लिएको प्रहरीको दाबी छ । पीडितहरूले आफूहरू समूह–समूहमा ठगिएको भन्दै एक जनाको ४ लाख रूपैयाँसम्म ठगी भएको बताएका छन् ।
युवायुवतीबाट ठगी गरेको रकमबाट तामाङले ४ करोड व्यक्तिगत ऋण तिरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, राप्ती म्यानपावर कम्पनीको ५० प्रतिशत शेयर खरिद गरेको र आफ्नो भाइको बैंक खातामा १५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको बयान दिएको प्रहरीले बताएको छ ।
ठगिएका कतिपयले अझैसम्म आफू ठगिएको वास्तविकता परिवारलाई बताउन नसकेको र काम हुँदैछ भनेर ढाँटिरहेकोे र ठगिएको रकम नपाएको अवस्थामा स्थिति जेसुकै हुने भन्दै विभाग परिसरमा नाराबाजी गरेका थिए । उनीहरूले समाचारमा आफ्नो तस्बिर प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।
महानिर्देशक घिमिरेले अभियुक्तले खरिद गरेको राप्ती म्यानपावर कम्पनीको ५० प्रतिशत शेयर रोक्का गरिएको जानकारी दिँदै शान्तिपूर्णरूपमा कानूनी उपचारमा लाग्न पीडितहरूलाई सुझाव दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies