काठमाडौंः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो ।
“सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१) को व्यवस्थाअनुसार सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब सहस्याग्रस्त सहरकारी व्यवस्थापन समितिले गर्नेछ ।
यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो । त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । सहकारी विभागको सिफारिसका आधारमा मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो ।
यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको सङ्ख्या १५ वटा पुगेको छ । यसअघि मन्त्रालयले विभिन्न मितिमा १३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ । स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सरकारी संस्था लिमिटेड र कुवेर बचत तथा ऋण सरकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारीका रुपमा रहेका छन् ।
त्यस्तै, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सरकारी संस्था लिमिटेड, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरेण्टल को–अपरेटिभ लिमिटेड र पशुपती सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्याग्रस्त सहकारीका रुपमा घोषणा भइसकेका छन् ।
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले मंगलबार नौ सय ६० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर मंगलबार वा बुधबारसम्ममा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।
सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् ।
चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो ।
गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ ।
ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।
काठमाडौंः वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी), झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौंको कागेश्री मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
वाग्लेलाई खिमलाल बढामगरसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको र पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै दश लाख पचासी हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ । रासस
दार्चुलाः दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट मंगलबार उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवैजनाको साथबाट गरी आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।
धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवलपरासीः पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।
तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए ।
‘पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ’, उनले भने, ‘पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन् ।’ पिकअप भ्यान र घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताए । गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा रहेका छन् । रासस
रुकुम पश्चिमः आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।
शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपविारको भनाइ छ ।
पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् । यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । मृतक छात्रा सोही नगरपालिका वडा नं १ लामिछाने गाउँकी हुन् । रासस
प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट: नेपाल सरकारले कोरोना पीडितका लागि छुट्याएको अनुदान रकम हिनामिना गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रौतहटस्थित परोहा नगरपालिकाले २ वर्षअघि कोरोना पीडितलाई वितरण गर्न भनि एक सहकारी संस्थालाई दिएकोमा सो रकम हालसम्म अधिकांशले नपाएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
पालिकामा रहेको प्रभु बैंकलाई वितरण रकम नदिइ सहकारी संस्थाको खातामा रकम पठाइ नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खोजेको नेकपा माओवादीका नेता अमिन्द्र यादवको आरोप छ । उनले भनेका छन्, ‘नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले कोरोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नुपर्दछ । नियत भएको भए २ वर्षदेखि पक्कै रोकेर राख्दैन थिए ।’
नगरप्रमुख शेख र सहकारीले रकम हिनामिना गर्न खोजेको आरोप लगाउँदै स्थानीय सतेन्द्र प्रसाद यादवले बुधबारसम्म अनुदान रकम प्राप्त गर्न बाँकी रहेका कोरोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन् ।
नगर प्रमुख शेख वकिलले नेपाल सरकारले परोहा नगरपालिकाका कोरोना पीडितलाई सहयोग गर्न सशर्त अनुदान शीर्षकमा ९० लाख रुपैयाँ पठाएको जानकारी दिए । रकम फ्रिज नहोस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको प्रमुख शेखको भनाइ छ ।
उनले सबै वडामा रकम वितरण भइरहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेका बताए । ‘वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाइ भएको थियो । चुनाव बीचमा परेका कारण पनि आफू बदनाम हुन्छु भन्ने डरले केही समय रकम रोकेर राखेको हुँ,’ नगर प्रमुख शेख वकिलले भनेका छन् ।
काठमाडौंः वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
बाँकेः बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु. २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौं आउँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies