काठमाडौं : अन्तर्राष्ट्रिय उडानको भाडा अस्वभाविकरुपमा बढेपछि वैदेशिक रोजगारीमा जाने कामदारमा चर्को आर्थिक भार थपिएको छ । हवाई भाडा अस्वभाविकरुपम बढेपछि यूएई, कतार र साउदी अरबियालगायतका देशमा जाने नेपाली कामदार आर्थिक भारमा परेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।
टिकटको मूल्य अस्वभाविकरुपमा बढेपछि व्यवसायीले कोरोना संक्रमणपछि वैदेशिक रोजगारमा नेपाली कामदार पठाउँदा लागेको खर्चको स्मरण गराएको टिप्पणी गरेका छन् । त्यतिबेला हवाई टिकट लिँदा क्वारेन्टीनका लागि एक लाखभन्दा बढी र टिकटका लागि ७० हजार र समग्रमा एक लाख ९० हजारको हाराहारीमा टिकट खर्च आउने गरेको थियो । कुनै समय १७ देखि २२ हजार रुपैयाँ पर्ने यूएईको एकतर्फी टिकटका लागि हाल ६२ हजारसम्म लाग्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।
हवाई टिकटको समस्याका कारण कामदार जान नपाएको अवस्थाले उत्पन्न गराएको प्रतिकूल परिस्थितिबारे छलफलका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजनीतिक दल निकट पाँच घटक संस्थाका अध्यक्ष तथा प्रतिनिधिको बैठक राखेको थियोे ।
बैठकले कुनै एजेन्सीको नाममा सिट बुक गरेर ब्लक गर्ने, होल्ड गर्ने र नदिनेबित्तिकै हवाई भाडा स्वतः महँगो भएको निष्कर्ष निकाल्दै सरकारले हस्तक्षेप गरेर सहज बनाउनुपर्ने निष्कर्ष निकालेको संघका महासचिव तथा प्रवक्ता मेघनाथ भुर्तेलले जानकारी दिए । उनले हवाई टिकट अनावश्यकरुपमा महँगो भएपछि शून्य लागतमा कामदार लैजाने रोजगारदाताहरु चिढिएर नेपाली कामदार लैजाने क्रममा सुस्ताता आएको भन्दै समस्याको समाधान नभए नेपालको वैदेशिक रोजगार अन्यत्र डाइभर्ट हुने खतरा रहेको पनि महासचिव भुर्तेलले टिप्पणी गरे । भारतबाट यूएई जान १० हजार भारतीय रुपैयाँ करिब १६ हजार नेपाली रुपैयाँ लाग्ने र नेपालबाट उडान भर्दा सोही टिकटलाई ६२ हजार रुपैयाँसम्म लाग्नु चिन्ताजनक अवस्था भएको पनि उनले बताए ।
यसअघि हवाई भाडा साविकको भन्दा अस्वभाविकरुपमा बढे नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने गरेको थियो, तर यसपटक भाडा तीन गुणा बढी हुँदा पनि त्यसको सम्बोधनका लागि छानबिन अघि नबढाइएको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो छ ।
अन्तर्राष्ट्रिय उडानमा बजारको माग र आपूर्तिको अवस्थाले भाडदर निश्चित हुने भएपनि जिएसए लिएकाहरुले एकतर्फीरुपमा भाडा बढाएको व्यवसायीहरुको निष्कर्ष छ । महासचिव भुर्तेलले तत्कालै समस्याको समाधान नभए सरकारलाई दबाब दिन सडकमा ओर्लिनुपर्ने विषयमा पाँच वटै घटकको एकमत रहेको दाबी गरे ।
छलफलमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई मधेश वैदेशिक रोजगार संघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies