दिलमाया शाही/मध्यान्ह
जुम्ला : पछिल्लो समय लोप हुँदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा कृषि विकास कार्यालय जुम्लाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो । उक्त क्षेत्र समुद्री सतहदेखि झण्डै २ हजार ८ सय ५० मिटर उचाइमा छ ।
महोत्सवका माध्यमबाट कालीमार्सी धानको महत्व उजागार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरणा दिनका लागि महोत्सव आयोजना गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालक देवकोटाले बताए । उनले भने, 'बजारमा मार्सी चामलको महत्व बढेको छ । तर मार्सीधान उत्पादन गर्ने किसानको जोश जागर निकै कम छ । किसानलाई उर्जा दिन र बजारमा आएको माग पूरा गर्नका लागि किसानलाई जागरुक बनाउन धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।' सोहीअनुसार पातारासी गाउँपालिकाका स्थानीय किसानले संयुक्तरुपमा धान रोपेर महोत्सव मनाएका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हरेक ठाउँको आफ्नो रीतिरिवाज र परम्परा हुने बताउँदै जुम्लामा भाषा, साहित्य र सभ्यतासँगै अर्गानिक रैथाने बाली उत्पादनका हिसाबले पनि सक्षम जिल्ला भएकाले यसलाई प्रथामिकतामा राख्न आवश्यक रहेको बताए ।
पातारासी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोविन्द बहादुर रावतले मार्सीधान उत्पादन वृद्धि गर्न, खेती विस्तार गर्नका लागि वडामा प्रत्येक वर्ष एक पटक रोपाइँ महोत्सव हुँदै आएको जानकारी दिए ।
राजकुमार के.सी./मध्यान्ह
मकवानपुर : बागमती प्रदेश सरकारले बागमती प्रदेश सभाको बजेट अधिवेशन आगामी वैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ ।
बिहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन वैशाख ३१ गते दिनको १ बजे बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) बागमती प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ । सीटीइभीटीको कर्यालय स्थापना, दरबन्दी तेरिज तथा कार्य विवरण स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन र खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ । त्यस्तै मकवानपुरको बकैया गाउँपालिका स्थित हात्तीसुडे–शिखरपुर–अम्बा सडकको स्तरोन्नतिको लागि सडक क्षेत्रमा पर्ने रुख कटान गर्न संघीय सरकारलाई अनुरोध गर्ने र प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री श्रेष्ठले बताए ।
काठमाडौं : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै वैशाख २८ गते पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।
नेता गुरुङको यही वैशाख २५ गते काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भइ कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्व गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो ।
तत्पश्चात उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र सङ्गठनमा सक्रिय रहेका थिए । विसं २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजङ्ग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र २०१८ साल चैत १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीलाई मुक्त गरेको अभियोगमा उनलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो ।
लोकतन्त्र स्थापनाका लागि गरिएका सङ्घर्षका क्रममा गुरुङले पटकपटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्काजस्ता विविध व्यवधान व्यहोरेका थिए ।
कांग्रेस ताप्लेजुङको पटकपटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्वकेन्द्रीय सभापति, नेपाल किसान संघका पूर्वकेन्द्रीय महासचिव, कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको पूर्वसदस्यजस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले कुशलतापूर्वक कार्य गरेका थिए ।
विसं १९९८ वैशाख १० गते पिता भगीमान गुरुङ र माता मनमाया गुरुङको सुपुत्रका रुपमा जन्मिएका गुरुङले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार जलेश्वर नगरपालिकाका प्रमुख सोनार, उपप्रमुख खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव-इन्जिनियर दिपेश कुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झा तथा उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
जलेश्वर-१ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनि झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी गरेको देखिएको अख्तियारले दाबी गरेको छ ।
उनीहरुविरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।
काठमाडौं : काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा विवाद प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल बाल संगठनका तत्कालीन पदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
बालमन्दिरको तर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । जाहेरी परेसँगै सीआईबीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । तर क-कसका नाममा जाहेरी परेको र क-कसलाई पक्राउ पुर्जी जारी गरेको भन्नेबारे प्रहरीले खुलाएको छैन ।
२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा करिब ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । सोही जग्गा दुरुपयोग गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।
काठमाडौं : बाँकेमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियार र सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की रहेका छन् ।
प्रहरीको गोली लागेर सुशील परियार घाइते छन् । उनको खुट्टामा गोली लागेको छ । उनीहरूबाट प्रहरीले ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : विभिन्न राजनीतिक दलका सांसदहरुले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका निजामति कर्मचारीलाई संघमै फर्काउने प्रस्ताव गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधन प्रस्ताव गर्दै सांसदहरुले यस्तो प्रस्ताव गरेका हुन् । सांसदहरुले संघीय निजामती कर्मचारीको परिभाषामै यो विषय समेट्नुपर्ने प्रस्ताव गरेका छन् ।
स्थानीय तह र प्रदेशमा समायोजन भएर गएका कर्मचारीलाई विधेयकले न्याय नगरेको भन्दै स्थानीय र प्रदेश कर्मचारीहरुले संशोधन राख्न सांसदलाई दबाब दिएका थिए । त्यसअनुसार विधेयकमा संशोधन परेको छ ।
प्रदेशका कर्मचारीले संघमा बढुवा भएर आउन पाउनुपर्ने, एउटा सेवा समूहका कर्मचारीले अर्को सेवा समूहमा परीक्षा दिन पाउनु पर्ने लगायत प्रावधानका लागि पनि संशोधन परेको छ ।
संशोधनमार्फत सांसदहरुले नतिजामुखी प्रशासन संयन्त्र निर्माणका लागि ट्रेड युनियनलाई राजनीतिमुक्त बनाइनुपर्ने, कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारीको सरुवा तथा बढुवा नियमित र अनुमानयोग्य बनाइनुपर्ने प्रस्ताव राखेका छन् । तजबिजी सरुवा बढुवा रोक्ने, वृत्ति विकासलाई प्राथमिकतामा राख्नुपर्ने तथा पुरस्कार र दण्डको व्यवस्था गरिनुपर्ने लगायत संशोधन परेका छन् ।
प्रस्तावित विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको संघीय निजामती सेवाको पद हुने व्यवस्था गरिएको छ । प्रदेश मन्त्रालयका सचिवको पदलाई बाह्रौँ तहको निजामती सेवाको पद रहने व्यवस्था छ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत ऐन जारी भएर लागू भएको १० वर्षसम्म संघबाट खटाइने व्यवस्था विधेयकमा छ । यस विषयमा धेरै सांसदले संशोधन राखेका छन् ।
कर्मचारीहरूको सेवा गर्ने उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्याउने प्रावधान विधेयकमा छ । सरकारलाई पेन्सन दायित्व भने केही कम गरिएको छ । निवृत्तिभरणको अवस्था र उमेरको हद ५५ वर्ष पूरा भएका निजामती कर्मचारीले स्वैच्छिक अवकाश लिन पाउने व्यवस्था विधेयकमा छ ।
सेवा प्रवेशको सन्द्यर्भमा महिलाको हकमा र पुरुषको हकमा अहिलेकै अवस्था राख्न पनि संशोधन परेको छ । अहिले महिलाको हकमा ४० र पुरुषको हकमा ३५ वर्ष सेवा प्रवेशको हक छ ।
यो विधेयक सरकारले गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । २१ चैत २०८० मा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएपछि संशोधनका लागि समय खुला भएको थियो । सांसदहरुले सैद्धान्तिक छलफल सकिएपछि ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गरेका थिए । यो विधेयकमाथि सांसदहरुले १२४ समूहमा एक हजार पाँच सय ८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयको विधेयक शाखाले सांसदहरुबाट प्राप्त संशोधन प्रस्तावहरुलाई एकीकृत गर्ने काम सकाएको छ ।
२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामति सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।
प्रतिनिधि सभाको चालू कार्यकालमा विधेयक दर्ता भएर अगाडि बढेको छ । प्राप्त संशोधनसहित दफावार छलफल भएर विधेयक अगाडि बढ्छ । प्रतिनिधिसभाको बजेट अधिवेशन यही वैशाख २८ गतेबाट शुरु हुँदैछ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको मौलापुर नगरपालिकाको वडा नं.९ मा पिकनिक पार्कको पर्खाल निर्माणमा व्यापक अनियमितता भएको आरोप लागेको छ । पर्खाल निर्माणमा दुई नम्बरको इँटा, बोल्डरको सट्टा गिट्टी प्रयोग गर्ने गरेको वडा नं ९ का वडा अध्यक्ष श्याम किशोर साहले आरोप लगाए ।
२५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पर्खालमा बालुवा बढी र सिमेन्ट थोरै मात्रामा प्रयोग गरी गुणस्तरहीन काम भइ रहेको वडा अध्यक्ष साहले बताए ।
उपभोक्ता समिति गठन गर्ने अधिकारी वडालाई रहेपनि मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरपालिकाबाट उपभोक्ता समिति गठन गरी अनियमितता गरेको उनको आरोप छ ।
प्रत्यक्ष लाभान्वित हुने गरी वडा भेलाबाट उपभोक्ता समिति गठन नगरी मनपरी तथा नियम कानूनलाई मिचि उपभोक्ता समिति गठन गरेको उनले बताए ।
खोलाको किनारमा पर्खाल बनाइरहँदा खोलाको कटान तथा प्रकोपलाई सहन सकिने पर्खाल निर्माण नगरी कमशिन तथा बजेट पचाउन अभियान अन्तर्गत पर्खाल निर्माण कार्य भइरहेको भन्दै वडा अध्यक्ष साहले दुःख व्यक्त गरे ।
यस सम्बन्धमा मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोटको रास्कोट नगरपालिकाले रास्कोटमा खाद्य बिक्री केन्द्र स्थापना गरेसँगै नागरिकलाई सहज भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटको समन्वयमा रास्कोट नगरपालिकाको केन्द्र इलाका प्रहरी कार्यालयको नजिकै खाद्य बिक्री केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
यसअघि खाद्यान्नलगायतका अन्य समग्रीहरु किन्नकै लागि सदमुकाम मान्ममा धाउनुपर्ने अवस्था थियो भने अहिले पालिकामै पहिलो पटक खाद्यन्न बिक्री केन्द्र स्थापना भएपछि नागरिकलाई सहज भएको छ । घण्टौं हिँडेर बजारबाट महँगो मूल्यमा चामल किनेर खानुपर्ने बाध्यता हटेपछि खुसी लागेको स्थानीय टिकाराज उपाध्यायले बताए ।
केन्द्र स्थापना कार्यक्रममा बोल्दै उपप्रमुख मनिराज बरालले सर्वसाधारणलाई खाद्यान्न आपूर्तिमा सहज बनाउने लक्ष्यका साथ खाद्य बिक्री केन्द्र स्थापना गरिएको बताए । सो अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर जिसी, कार्यपालिका सदस्य भैरे तिरुवा, नगर प्रहरी हवल्दार धनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
रुपन्देही : बुटवल उपमहानगरपालिकाले बुटवल चौराहादेखि चिडियाखोलासम्मको सडक पुनःनिर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
यसअघि सडक डिभिजन कार्यालय बुटवलले सडक निर्माणको काम गर्न नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको थियो । त्यसपछि सडकको काम अगाडि बढ्न सकेको छैन ।
सडकको डिजाइन स्टमेट कस्तो बनाउने ?, कसरी कामलाई निरन्तरता दिने ?, भन्ने विषयमा बुटवल उपमहानगरपालिकाले पहल शुरु गरेको मेयर खेलराज पाण्डेले जानकारी दिए ।
बुटवल बेलहीया सडक सबैभन्दा बढी महत्वपूर्ण व्यवसायीक सडकको रुपमा चिनिएपनि व्यवसायीहरुको चाहना अनुसार सडक बन्न नसकेको गुनासो बढ्न गरेको छ । उक्त गुनासोलाई सम्बोधन गर्न उपमहानगरपालिकाले सरोकारवालालाई बोलाएर सडकको पुनरावलोकन तथा सुधार व्यवस्थित गर्न कार्यदल समेत गठन गरेको मेयर पाण्डेको भनाइ छ ।
उमहानगरपालिकाले सडक डिभिजन कार्यालय बुटवलका प्रमुख बिसुनदास लामासँग यस विषयमा गम्भीर छलफल गरेपछि प्रमुख लामाले सरोकारवाला निकायलाई बोलाएर सडक निर्माणको कामलाई आवश्यक सहजीकरण गर्न मेयर खेलराज पाण्डेयको संयोजकत्वमा कार्यदल गठन गर्न प्रस्ताव गरेका थिए । सडक डिभिजन कार्यालय बुटवल, नेपाल खानेपानी संस्थान, बुटबल नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमका कार्यालय प्रमुख सदस्य र बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास महाशाखाका प्रमुख गौतम रौनियार सदस्य सचिव हुने गरी नगर प्रमुख पाण्डेयको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलले सडकको केन्द्र बिन्दुदेखि प्रत्येक साइडतर्फ पैदलयात्रीका लागि ३ मिटर चौडाको फुटपाथ निर्माण, साइकल यात्रीका लागि २ मिटरको साइकल लेन निर्माण, प्रति २०० मिटर लम्बाई तर्फ प्रति ७० मिटर लम्बाईमा हल्का सवारी पार्किङ र प्रति ३० मिटर लम्बाईमा पार्क तथा बजार सौन्दर्यीकरण गर्नको लागि पहल गर्ने निर्णय गरेको बुटवल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
खनालका अनुसार यस्तै प्रत्येक पार्क र साइड सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान, सडक फर्निसिङ, ट्राफिक संकेत, टल्किने स्टीकर र सौन्दर्यीकरणका लागि पेन्टिङ गर्ने निर्णयमा उल्लेख गरिएको खनालले बताए ।
ट्राफिक चोक र गोलपार्क बुटवल बहुमुखी क्याम्पसमा आकाशे पुल र पुलको तल सार्वजनिक शौचालय निर्माण गर्ने, राजमार्ग चौराह र हस्पिटल लाइनमा ४ मुखे आकाशे पुल निर्माण गर्नको लागि कार्यदलले सहजीकरण गर्ने भएको छ ।
यस्तै दुरसंचारको तार व्यवस्थापन र अनावश्यक पोल हटाउने, सम्भव भएका स्थानहरुमा भूमिगत विद्युत लाइन विस्तार गर्ने, खानेपानीका पाइप लाइन व्यवस्थित गर्नको लागि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
लामो समयसम्म बुटवल बजारको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणले पूर्णता पाउन नसक्दा ट्राफिक चोक, अमरपथ, संगमपथ, रामन्दिर लाइन, चौराहा र मिलन चोकको महत्वपूर्ण बजार प्रभावित हुन पुगेकोले काम छिटो गर्ने समेत नगरप्रमुख पाडेले बताए ।
बुटवलको बजारलाई आर्थिक हिसाबले चलायमान गराउनका लागि विभिन्न मापदण्डका आधारमा सडकको डिजाइन परिवर्तन गराउनको लागि सडक डिभिजन कार्यालय बुटवलले सडक विभागको मापदण्डमा रहेर तथा प्राविधिक विश्लेषण गरी उपमहानगरको सुझाव समेतलाई मध्यनजर गरेर प्रक्रिया अगाडि बढाउने डिभिजन प्रमुख लामाले बताए ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख विसुन दास लामाले २०७३ सालदेखि शुरु भएको बुटवल बेलहिया व्यापारीक सडक मार्गको काम पटक–पटक म्याद थप्दा समेत ठेकेदार कम्पन्नीले लापरबाही गरेको कारण ठेक्का तोड्नु परेको लामाले बताए । समयमा नै काम नगर्ने कञ्चनजंगा–बिरुवा जेभी र बिरुवा कन्ट्रक्सन कम्पन्नी प्रा.लि.बीच बुटवल बेलहीया व्यापारीक मार्ग निर्माणको लागि आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौंता भएको थियो ।
समयमा नै काम नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने र कारबाही अगाडि बढाउने ठेक्का सम्झौता तोडिएको सूचना प्रकाशित गरिसकिएकोले अब सहमति लिएर नयाँ प्रकिया अगाडि बढाउने सडक डिभिजन प्रमुख लामाले बताए ।
छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरि अर्यालले बुटवल बजारलाई असर नपर्ने गरी डिजाइन बनाउन आग्रह गरेका थिए भने पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल, नेपाल टेलिकमका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, होटल व्यवसायी महासंघका अध्यक्ष लेखनाथ भण्डारीले सडकको काम द्रुत गतिमा अगाडि बढाउने गरी काम गर्न अनुरोध गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies