प्रेमचन्द्र झा/मध्यान्ह
राैतहट : सशस्त्र प्रहरी वाहीनी बर्दिवासका सशस्त्र प्रहरी नायव महानिरिक्षक/वाहिनीपति दिपेन्द्र शाहले सशस्त्र प्रहरी बलले देशमा शान्ति सुरक्षाको आलवा सीमा स्तम्भ रक्षाको काम पनि गरेको बताएका छन् ।
सशस्त्र प्रहरी बल गण ११ राैतहटको स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिकाे आसनबाट बोल्दै उनले सशस्त्र प्रहरी राष्ट्रको हितका लागि सधैं समर्पित भएर काम गरिरहेको बताए । संस्थागत हित तथा उच्च मर्यादाका साथ अनुशासनमा रहन बलका विभिन्न पदमा रहेकालाई उनले आग्रह गरे ।
साे समारोहका विशिष्ट अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सशस्त्र प्रहरी बलको स्थापना देश द्वन्द्वकालमा रहेकाे बेलामा भए पनि यसले समग्र देशमा शान्ति सुरक्षाको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेकाे बताए ।
सशस्त्र प्रहरी बल गण ११ का गणपति/सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले पछिल्लो एक वर्षका उपलब्धि सार्बजनिक गर्दै अवैध मालसामान पक्राउ गरी २ करोड रुपैयाँ राजस्वमा योगदान गरेको बताए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमख रामअयाेध्या प्रसाद यादव, नेपाल रेडक्रस साेसाईटीका अध्यक्ष राजकिशाेर प्रसाद यादव, राैतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल, गाैर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अर्जुन सिंहलगायतको उपस्थिति रहेकाे थियो ।
स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजय तथा बलमा उत्कृष्ट काम गर्नेलाई प्रमुख अतिथि शाहले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
काठमाडौ : प्रेस काउन्सिल नेपालले सिधाकुरा डटकममा प्रकाशित ‘४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’ शीर्षकको समाचार २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।
अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रकाशक रहेका क्याप्टेन थापाले दिएको निवेदनका आधारमा प्रेस काउन्सिलले उक्त समाचार हटाउन सिधाकुरा डटकमलाई निर्देशन दिएको हो । उक्त समाचार तथ्यमा आधारित नभएको र कल्पित देखिएकाले २४ घण्टाभित्र हटाउन निर्देशन दिइएको छ ।
‘.. रामेश्वर थापा पनि जोडिए’ भनी आरोप लगाई सम्प्रेषण भएको सामग्रीमा रामेश्वर थापा पनि जोडिएको तथ्यगत आधार पुष्टी हुन सक्दैन । तथ्यगत आधार प्रमाण बिनै व्यत्तिः र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउनेगरी समाचार सामग्री प्रशारण गर्नु आचारसंहिताको गम्भीर उल्लङ्घन र प्रेस स्वतन्त्रताको चरम दुरुपयोग हुने भएकोले उक्त अडियो सहित सम्प्रेषित सामग्री हटाइ २३ घण्टाभित्र काउन्सिललाई जानकारी गराउनु निर्णयानुसार सूचित गरिन्छ’, काउन्सिलको पत्रमा भनिएको छ ।
क्याप्टेन थापाले उक्त समाचारमा भनिए जस्तो कुनै तथ्य नभएको र आमसञ्चारलाई कमजोर पार्ने भन्दै निवेदन दिएका थिए । सिधाकुरा डटकमले चार सय बढी मुद्दा ढिसमिस पार्न २२ करोड हाराहारीमा सर्वोच्च अदालतको संवैधानिक इजलास नै खरीद भएको दावी गरेको थियो ।
यो समाचारप्रति नेपाल बार एसोसियनले समेत आपत्ति जनाएको थियो । बारले प्रेस विज्ञप्ति जारी गरेर सर्वोच्च अदालत जस्तो सम्मानित संस्थाको मर्यादामा आच पुग्नेगरी आधारहीन सामग्री प्रकाशित भएकोमा आपत्ति जनाएको थियो ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र गढीमाइ नगरपालिका वडा नम्बर ६ पकहा टोलमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब ६ लाख बराबरको क्षति भएको छ ।
दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा विद्युत सर्ट भएर आनन्द झाको गोठमा आगो लाग्दा करिब ५० हजार बराबरको क्षति भएको छ । गोठमा लागेको आगो स्थानीय बासिन्दा र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । घटनामा कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गंगा पिपराले जनाएको छ ।
त्यसैगरी गढीमाइ नगरपालिका ६ निवासी राम सागर यादवको फूसको गोठबाट सल्केको आगोले ६ घर जलेर नष्ट भएको छ । पानी तताउने क्रममा अचानक लागेको आगोले यादवको गोठसहित स्थानीय राम बलम राय, दिनेश साह कानू, काशी राय यादव, विरेन्द्र साह कानू, श्याम साह तेली र विनोद साह तेलीको गोठ घर जलेर नष्ट भएको छ ।
गौर नगरपालिकाको बारुण यन्त्रको सहारामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : विपद् व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणअनुसार शुक्रबार देशभरका पाँच स्थानको वायु प्रदुषण स्वास्थ्यका लागि जोखिमपूर्ण छ । वायु प्रदूषण मापनकेन्द्रका अनुसार उपत्यकाको प्रदूषण दर १९४ मापन गरिएको छ ।
उक्त एअर इन्डेक्स मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ भने ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मान्ने गर्छ ।
पछिल्लो अवस्थाअनुसार काठमाडौंं, ललितपुर, कञ्चनपुर, मुगु र भक्तपुरमा वायु प्रदुषणको अवस्था जोखिमयुक्त छ । सुख्खा मौसम, आगलागी र जलवायु परिवर्तनका कारण केही महिनादेखि नै काठमाडौंको वायु प्रदुषण जोखिमयुक्त छ । आईक्यू एयरका अनुसार काठमाडौं शुक्रबार विश्वकै प्रदुषित वायु रहेको शहरमा रहेको छ । यसअघि वर्षा हुँदा प्रदूषण दर घटेपनि काठमाडौं उपत्यकामा पुनः वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । शुक्रबार दिउँसो एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७७ पुगेको छ ।
बातावरण जोगाउन सरोकारवालाको ध्यान पुग्न नसक्दा समस्या बढ्दै गएको वातावरणविद् भुषण तुलाधर बताउँछन् । उनी भन्छन्, ‘यो आजका आजै भएको नयाँ कुरा होइन । हरेक वर्ष बढिरहेको छ । यसबारे सरोकारवाला गम्भीर नभएको तथ्य हो यो ।’
यो विश्वब्यापी समस्या भएकाले नेपालमा मात्रै न्युनकरण गर्न सकिन्छ र ? तुलाधरको जवाफ छ, ‘वायु प्रदुषण आफ्नै वरिपरीका कारणले पनि बढ्छ । जलवायु प्रदुषणको प्रभाव त हो नै । तर, प्रदुषणको सबैभन्दा ठूलो आन्तरिक कारण डढेलो हो । यसलाई न्युनिकरण गर्न सकिन्थ्यो नि !’
तुलाधरको बुझाइमा प्रदुषणका अत्यधिक स्रोत नेपालमै छन् । आगलागी वा डढेलाको न्युनिकरण गर्नका लागि जंगलको सरसफाइ, घाँसपात, पातपतिंगरको वैकल्पिक व्यवस्थापनमा ध्यान दिन सकिने उनले बताए । धुवाँबाट चल्ने गाडीहरू घटाउने, पुरानो गाडीहरूलाई निगरानी गरी नियमित बायु प्रदुणमा स्रोतहरू न्युनिकरण गर्न नसके निकट भविष्यमै बिकलराल अवस्था आउन सकिने तुलाधर बताउँछन् ।
बढ्दो वायु प्रदुषणमा मानव स्वास्थ्यमा पनि गम्भीर असर देखा परिसकेको जनस्वास्थ्यकर्मीहरू बताउँछन् । ‘अहिले श्वास–प्रश्वास, आँखा पोल्ने, मानसिक सम्सया लगायतका रोगीहरू अस्पतालमा अत्यधिक छन् । यसको कारण प्रदुषण नै भए पनि यसको औपचारिक तथ्यांक छैन ।’ डा. समीरमणि दीक्षित भन्छन्, ‘वायुमा अत्यधिक कार्बनडाइ अक्साइड, कार्बनमोनोअक्साइड छ । मानवव शरिरलाई लिने अक्सिजन पनि कमी भइसकेको छ । यसले गर्दा मानिसको कोषमा र रगतमै अक्सिजन कमी हुन्छ । रगतमै अक्सिजन कम भनेपछि त डरलाग्दो अवस्था होइन ?’
उनकाअनुसार वायुमा अक्सिजन धेरै कमी भए पनि कृत्रिक अक्सिजन लिनुपर्ने बाध्यता हुन्छ । ‘रगतमा अक्सिजन कम भएपछि आनुवांशिक हिसाबले समेत गाह्रो हुन्छ । यसबाहेक आँखा पोल्ने, आँशु आउने, छालामा समस्या हुने सबैभन्दा डरलाग्दो गरी मानसिक स्वास्थ्यमा पनि गम्भीर देखा परिसकेका छन् ।’ दिक्षितले भने ।
वायु प्रदूषणबाट लाग्ने रोगबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन स्वास्थ्यकर्मीको सुझाव छ । प्रदूषणको मात्रा बिहान र साँझ बढी हुने भएकाले त्यो समयमा श्वासप्रश्वासका रोगीलाई बाहिर ननिस्किन जनस्वास्थ्यविद् दीक्षित सुझाउँछन् ।
घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न तथा धूम्रपान नगर्न पनि चिकित्सकहरू सुझाव दिदै दीक्षितले निरन्तर खोकी लाग्ने, टाउको दुख्ने र वाकवाक लाग्ने जस्ता समस्या देखा परे अस्पताल जानुपर्ने बताए ।
दिवाकर अधिकारी/ध्यान्ह
काठमाडौं : लगानी सम्मेलनका लागि केन्द्रित गरेर सरकारले ल्याएको अध्यादेशमा राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर चासो देखाएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनलाई केन्द्रित गरेर विभिन्न ९ वटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
तर, उक्त अध्यादेशप्रति राष्ट्रपति पौडेलले चासो देखाएपछि सरकार झस्किएको बताइन्छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार बुधबार अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय भएका थियो ।
तर, राष्ट्रपतिले चासो राखेपछि ढिलो गरी शुक्रबार दिउँसो ३ बजे मात्रै पठाइएको छ । शुक्रबार दिउँसो पठाउँदा मन्त्रिपरिषद्को निर्णय भएको भन्दा एउटा कम कानून संशोधन गर्ने भनिएको छ । मन्त्रिपरिषद्को बैठकले ९ वटा कानून संशोधन गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । कानून मन्त्रालयले आठ वटा मात्रै कानून संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ ।
कानून मन्त्रालयका अनुसार विद्युतीय कारोबारसम्बन्धी ऐन संशोधन गर्ने विषय हटाएर आठ वटा ऐन संशोधन गर्ने गरी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । अध्यादेशमा नेपालबाट कारोबार गर्ने गरी खुलेका र नेपालमा दर्ता भएका कम्पयुटर र सफ्टवेयर तथा सूचना र प्रविधिसम्बन्धी कम्पनीले नेपालबाट विदेशमा सिधै डलरबाट कारोबार गर्न सक्ने व्यवस्था प्रस्तावित थियो । यो व्यवस्था हाललाई हटेको छ ।
लगानी सम्मेलनलाई केन्द्रित गरेर सरकारले अध्यादेश जारी गर्न लागेको हो । जसमा भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ मा संशोधन गर्न लागिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ का केही व्यवस्था पनि संधोधन गर्न लागिएको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार अध्यादेश स्वीकृत भएपछि अब रोजगारी र उत्पादन नघट्ने तथा निरन्तर सञ्चालन हुने अवस्था रहेमा कुनै पनि संस्था, उद्योग, प्रतिष्ठान तथा कम्पनीले हदबन्दीभन्दा बढीको जग्गा समेत बिक्री गर्न पाउनेछन् ।
जग्गा प्राप्ति ऐनको दफा १२ मा नयाँ व्यवस्था थप गर्दै सरकारले तोकेको सर्तमा एक पटकका लागि जग्गा बिक्रीको अनुमति दिने व्यवस्था गर्न लागेको हो ।
अध्यादेशमा भनिएको छ, ‘अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्ने सार्वजनिक संस्था, उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै संस्थाको रोजगारी तथा उत्पादन नघट्ने र निरन्तर सञ्चालन हुन सक्ने भएमा बैंक तथा वित्तीय संस्थाको ऋण फरफारक र दायित्व भुक्तानी गर्नका लागि हदभित्रको जग्गा मन्त्रालयले तोकेको सर्तको अधीनमा रही मन्त्रालयको स्वीकृतिमा एक पटकका लागि बिक्री वितरण गर्न बाधा पर्ने छैन ।’
सरकारले भूमिसम्बन्धी ऐनको दफा १२ मा नयाँ व्यवस्था थप गरेको छ । हदबन्दीभन्दा बढी जग्गा आवश्यक भएको औचित्य पुष्टिको कारण पेस गरी एक वर्षभित्र मन्त्रालयमार्फत् निवेदन दिने व्यवस्था थप गरिएको हो ।
विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन गरेर विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापित उद्योगले ६० प्रतिशत वस्तु र सेवा निर्यात गर्नुपर्ने गरी परिमार्जनको प्रस्ताव गरिएको छ ।
त्यस्तै अध्यादेशमा राइड सेयरिङमा पनि विदेशी लगानी सर्तसहित खुला गर्ने प्रस्ताव छ । ७० प्रतिशतभन्दा बढी नहुने गरी विदेशी लगानी गर्न पाउने गरी मूल ऐनको अनुसूचीमा उक्त विषय थप गरिएको हो ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : सिन्धुपाल्चोककी मनमाया तामाङ २०७१ सालमा काठमाडौं छिरिन् । श्रीमान गुमाएकी मनमाया काखे छोरी बोकेर त्यतिबेला कामको खोजीमा काठमाडौं आएकी थिइन् । काठमाडौं छिर्दा छोरी पाल्ने मात्रै सपना बोकेकी मनमायालाई केही काम मिलेन ।
एक वर्ष कामको खोजीमा कहिले सडक त कहिले आफन्तकोमा बसेकी मनमायाले केही साथीको सहयोगमा सुन्धारामा दुई सय रूपैयाँको लगानीमा नाङ्लो ब्यापार सुरू गरिन् । दुई सय लगानी बढाएर दुई हजार पुर्याएकी मनमाया पछिल्ला वर्षमा दैनिक ५ देखि ७ सय कमाउने गर्थिन् । जुन पैसा मनमायाका लागि काठमाडौं बसाइको डेरा भाडा, छोरीको स्कूल, पालनपोषण र अन्य आवश्यक खर्च पुगनपुग हुन्थ्यो । उनी सम्झिन्छन् ‘काठमाडौंमा बस्ने र छोरी पढाउने यही नाङ्लो पसलले गथ्र्यो ।’
तर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने नीतिले उनी आफू प्रभावित भएको बताउँछिन् । काठमाडौं महानगरपालिकाले सडकमा फुटपाथ पसल निषेध गरेको डेढ वर्ष बढी भयो । त्यसबेला विकल्प नदिएर हटाएको भनी कतिपयले आलोचना गरेका थिए ।
महानगरको अभियानपछि कैयनले फुटपाथ व्यापार छाडे । तर आफैँ विकल्प खोज्न नसकेकाहरु जीविकोपार्जनका लागि सडकमै भेटिन्छन् । तिनै मध्येकी एक हुन्, मनमाया । सडकलाई जिविकोपार्जनको थलो बनाउँदै आउकी उनी महानगरको अभियानपछि आफैँ विकल्प खोज्न सकिरहेकी छैनिन् ।
पछिल्लो समय काठमाडौं महानगरका सडकमा ब्यवसायीहरू अघोषित रूपमा राति साढे ७ बजेपछि सडकमा व्यवसाय गर्न पुग्छन् । तर विगतमा जस्तो ढुक्कले व्यापार गर्न नपाउँदा र राति भएपछि मात्रै पुग्दा कमाइ राम्रो नहुन गरेको मनमायाको दुःखेसो छ । उनी भन्छिन्, ‘अहिले राति ७ बजे आएर कहिले काहीँ बोहनी त हुँदैन । म त मर्नु न बाँच्नु भएको छु ।’
मनमायाको जस्तै कथा धादिङकी मञ्जु धमलाको छ । २०७३ सालमा विवाह गरेकी मञ्जुले एक वर्षपछि श्रीमानलाई रोजगारीका लागि मलेसिया पठाइन् । तर श्रीमान दलालबाटै ठगिएपछि ३ महिनामै घर फर्किनुप¥यो । जाँदा लागेको ऋण थपियो । आमाबुवा पहिल्यै गुमाइसकेका उनका श्रीमानले जाँदा लागेको ऋण तिर्न भएको धादिङ बजार नजिकैको सानो घर र घडेरी नै बच्नुप¥यो, त्यसपछि उनीहरू सुकुम्बासी बने ।
मञ्जु दम्पत्ति कामको खोजीमा काठमाडौं छिरे । ज्याला मजदुरीको काम गर्दै दैनिकी चलाउँदै थिए, मञ्जुका श्रीमानलाई घर बनाउने ठाउँमा थुपारेको इट्टाले थिचेर गम्भीर घाइते बनायो । उनको स्पाइनले काम गर्न नमिल्ने भयो । दैनिकी धान्न काम खोज्दा नपाएपछि मञ्जुले नाङ्लो पसल शुरु गरेकी थिइन् । नयाँ बानेश्वरमा नाङ्लोमा बिस्कुट, चाऊचाऊ, चक्लेट बेचेर दैनिकी चलाउन थालिन् ।
२०७४ सालमा दुई सय कमाउने मञ्जु पछिल्ला समयमा नाङ्लो ब्यापारबाटै श्रीमानको उपचार र आफ्नो अन्य दैनिक खर्च निकाल्थिन् । दैनिक ६÷७ सय कमाउने मन्जु पनि महानगरले फुटपाथमा व्यापार गर्न नदिएपछि प्रभावित भइन ।
उनी भन्छिन्, ‘सडकमा कस्न दिइएन । सटर लिन म सक्दिन । अब के म मर्नु ?’
यी दुइ प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो वर्ष काठमाडौं महानगरले सडकमा व्यापार गर्न प्रतिबन्ध लगाएपछि १२ हजार फुटपाथ व्यवसायी प्रभावित भएको बताइन्छ । सरोकारवालाहरु त्यसमध्ये करिब ५० प्रतिशतको अर्को विकल्प नभएको बताउँछन् ।
ब्यवसायीका अगुवा तथा स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटा भन्छन्, ‘फुटपाथमा ब्यापार गर्ने केही हुनेखानेका कारण अन्य मानिसहरू समस्यामा परेका छन् ।’
एकल महिला, घरबाट निकालिएका महिला, द्वन्द्व पीडित, घरबारविहीन मानिसले सडकमा ब्यापार गर्ने गरेको उनको भनाइ छ ।
काठमाडौं महानगर पछिल्ले वर्षमा नगरभित्रमा ठूला सडक छेउमा बस्ने फुटपाथ ब्यवसायीलाई सडकमा ब्यापार गर्न नदिने नीति लिएको छ । महानगरले फुटपाथमा जबरजस्त बस्ने ब्यवसायीलाई कारबाही गर्दै हटाएको हो । तथापि अहिले ब्यवसायीहरू अघोषित रूपमा राति साढे ७ बजेपछि सडकमा बसेर व्यवसाय गर्न पाउँछन् ।
ब्यवसायी सापकोटा भन्छन्, ‘महानगरले अप्ठ्यारामा परेका फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्नुपर्छ । बरू सबैलाई दर्तामा लगेर आर्थिक अवस्था र सम्पत्ति छानबिन गरौं न ।’
काठमाडौं उपत्यकामा तीन दशकअघि नै फुटपाथमा ब्यवसाय शुरू भएको पाइन्छ । २०४६ सालदेखि फुटपाथ व्यवसाय शुरु भएको विस्तारित हुँदै आएको हो । शुरूमा आर्थिक अवस्था निकै कमजोर भएका र अप्ठेरोमा परेका मानिस सडकमा व्यापार गर्न आएका थिए । तर पछिल्लो दशकमा ठूला सटरमा ठूलो लगानीको ब्यापार गर्नेहरू पनि सडक आएपछि समस्या भएको सरोकारवालाहरको भनाइ छ ।
सडक किनारमा, पैदलयात्री हिड्नुपर्ने ठाँमा अस्तव्यस्त तरिकाले ब्यवसायीहरू बस्दा आवतजावतमा कठिनाइ मात्र होइन, सडक दुर्घटना पनि बढाएको भनेर आलोचना समेत हुने गर्दथ्यो । साथै, यस्तो व्यवसाय गैरकानुनी रहेको भन्दै महानगरले निगरानी बढाएपछि फुटपाथ व्यावसायी प्रभावित भएका हुन् ।
काठमाडौं महानगरपालिका भित्रका अत्यन्त व्यस्त क्षेत्र कलंकी, रत्नपार्क, सुन्धारा, कालिमाटी, गौशाला, बालाजु, नयाँ बानेश्वर, कोटेश्वर लगायत स्थानमा यस्ता व्यवसायीहरूको पकड रहेको पाइन्छ ।
हुम्ला : हुम्लाको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा निर्माण हुँदै आएको छारे सडक खण्डको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडक अहिले नेपाली सेनाले निर्माण गर्दै आएको छ ।
यसैबीच राष्ट्रिय सडक सञ्चालनसँग जोडिन नसकेको सिमकोटमा नेपालगञ्ज, सुर्खेत हुँदै दुईवटा ठूला सवारी टिपर पहिलो पटक सिमकोट आइ पुगेका छन् ।
उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिरदेखि सल्लीखोला खण्डको सडक छिचोल्नका लागि आवश्यक पर्ने १३ हजार २ सय ३० लिटर डिजेल र १८ वटा आवश्यक टिपरको टाएर लिएर पहिलो पटक टिपर सिमकोट आइपुगेको हो ।
सडक आयोजनाकै लागि सामग्री ल्याउनुपर्ने भएपछि ठेकदारले जिल्ला प्रशासन कार्यालय हुम्लालाई परिपत्र गरिदिन माग गरे लगत्तै परिपत्र पठाएपछि सेनाले टिपर ल्याउन दिएको ठेकदार हिर बोगटीले बताए ।
नाम्खाको च्याछरा भिर र सल्लिको भिर छिचोल्ने जिम्मा ओसिस इन्जिनियर्स एण्ड विल्डर्स प्रा.लि ले लिएको छ । टिपर खार्पुनाथ गाउँपालिकाको खार्पु खण्डमा पुल नहँुदा कर्णाली नदी पार गरेर आएका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनैपनि सवारी साधन र मानिसलाई निर्माण गर्दै आएको सडकबाट आवतजावत गर्न दिएको छैन् ।
च्याछरा सडक छिचोल्न अब १७ किलोमिटर बाँकी छ । उक्त सडक खण्डलाई असारमा ठूला सवारी सामान्य आवतजावत गर्न सकिने गरी कात्तिकमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । सिमकोट ठूला टिपर आउँदा चालकलाई स्थानीयले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
काठमाडौं : भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि बेलायतदेखिका बिरामीहरु आउने गरेका छन् ।
संयुक्त अधिराज्यको लण्डनका एक ७५ वर्षीय बिरामीले भने, ‘म बेलायत र संयुक्त राज्य अमेरिकाका उत्कृष्ट अस्पतालहरूमा समेत भर्ना भएको थिएँ, तर सन्तुष्टि भने पटनामा आएर पाएँ । खाना होस् कि शल्यक्रिया होस् वा यहाँका मानिसहरूको सद्भाव, तपाइले यो मूल्यमा कतै पनि पाउनुहुने छैन । म तपाईलाई ठोकुवाका साथ भन्न सक्छु डा. आशिषले बिल्कुल निराश हुन दिने छैनन् ।’
पटना, २३ अप्रिल, २०२४ बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा उपलब्ध उत्कृष्ट रोबोटिक प्रविधिको प्रयोग गरी लण्डनस्थित बेलायती बिरामीको दुवै घुँडाहरु एकैपटक प्रत्यारोपण गरिएको छ । काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको तीन वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरेर विश्वभर आफ्नो छाप छोड्न सफल भएको छ । यो बिहारको लागि गौरवको विषय हो । किनभने यसले मेडिकल पर्यटनको लागि पनि एक सम्भावनाको ढोका उघारेको छ ।
लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जुन अवस्थाले विश्वभरका ५२ करोड ८० लाख मानिसहरूलाई सन् २०१९ मा असक्त बनाएको छ । अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा.आशिष सिंहले घुँडा र हिप प्रतिस्थापनका लागि गरिने रोबोटिक शल्यक्रियाका बारेमा विस्तृत जानकारी दिए । बिरामीहरुले डा. आशिषसँगको उपचारलाई आफ्नो ‘उत्तम निर्णय’ बताउँदै युके र संयुक्त राज्य अमेरिकाका आफ्ना अघिल्ला अनुभवहरूभन्दा बिहारको उपचारमा सन्तुष्टि मिलेको बताए । यहाँ आउनेहरूमा विशेषगरी इङ्गल्याण्ड, पाकिस्तान, भुटान, नेपाल, बंगलादेश र अफगानिस्तानका बिरामीहरु छन् । आफूले प्रदान गर्ने आतिथ्यताले पनि बिरामीहरूलाई शारीरिक र मानसिक रूपमा निको हुन मद्दत गर्ने गरेको इकाइको विश्वास छ ।
नतिजा स्वरूप, युनिटले गुवाहाटी, डिब्रुगढ, त्रिपुरा, महाराष्ट्र, मुम्बइ, दिल्ली, बैंगलोर, छत्तीसगढ, नागपुर र रायपुर लगायतका धेरै भारतीय राज्यहरूमा पनि आफ्नो पकड स्थापित गरेको छ । जसले गर्दा शल्यक्रियाका लागि गर्नुपर्ने अन्तरहिन प्रतिक्षा घटाउँदै ठूला भारतीय र अन्तर्राष्ट्रिय शहरहरूमा हुने अत्याधिक खर्च र डाक्टरको लापरवाहीबाट समेत यसले उन्मुक्ति दिलाएको छ ।
रोबोटिक प्रणालीले घुँडा प्रतिस्थापनको शल्यक्रियालाई ३–४ घण्टाबाट ४० देखि ५० मिनेटमा घटाएको छ र शल्यक्रियाको प्रक्रियापछि ४ देखि ५ घण्टाभित्र बिरामीहरु आफ्नो खुट्टामा उभिन सक्छन्। सर्जन र मेसिनरीहरूको उत्कृष्ट टोलीको साथ, सिमलेस आतिथ्यता र छिटो रिकभरी हुन सकिन्छ भने बजेट–मैत्री अस्पताल हुनु यसमा थप फाइदा हो । समान सुविधा प्रदान गर्ने अन्य संस्थाहरूलाई एआइओआरको सुपर स्पेशलिटी युनिटले ४० प्रतिशत कम खर्च गराएर उछिनेको डा. आशिषले बताए ।
यसको सबैभन्दा राम्रो पक्षका रुपमा एक सामान्य शल्यक्रियाकै लागतमा रोबोटका सुविधाको लाभ उठाउन सकिन्छ ।
पहिले घुँडा प्रतिस्थापन शल्यक्रियामा २ लाख रुपैयाँसम्म खर्च हुने गथ्र्यो भने अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको पहलका कारण यो अब सबै वर्गका बिरामीका लागि सहज भएको छ र यसले आयुष्मान कार्ड धारकहरूलाई पनि फाइदा पुर्याउँछ ।
शल्यक्रियाको तीन हप्तापछि, १० मध्ये ९ जना बिरामीहरू सहायताबिना नै हिँड्न सक्छन् भने ८५ प्रतिशत बिरामीहरू शल्यक्रियाको ६ हप्ताभित्र आफ्नो काममा फर्किन सक्छन् ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जनतासँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय सरकार भएको भन्दै स्थानीय सरकारले जनताको सुख,दुःखमा साथ दिनुपर्ने बताएका छन् । आगलागी पीडित रुरुक्षेत्र गाउँपालिका वडा नं. ५ मिनामकोट निवासी मुक्तबहादुर सारूका परिवारलाई राहत दिँदै उनले स्थानीय सरकारले जनताले महसुस गर्ने गरी काम गर्ने बताए ।
उनी राहत लिएर सारुको घरमै पुगेका थिए । उनले आगलागी पीडितलाई घरमै पुगेर तत्कालको लागि राहत स्वरुप नगद, खाद्यान्न तथा लत्ता कपडा वितरण गरेका थिए ।
अध्यक्ष ज्ञवालीले विपतमा परेकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए । राहत वितरणका लागि पीडितको घरमा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडा नम्बर नं.५ का वडाध्यक्ष एवं पालिका प्रवक्ता हरिप्रसाद ज्ञवाली पीडितको घर पुगेका थिए । घर पुनर्निर्माणको लागि संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा आवश्यक प्रकृया अगाडि बढाइने र राहत सामग्रीको लागि एकद्वार प्रणालीबाट उपलब्ध गराउन विभिन्न संघ संस्थासँग समन्वय गरेको अध्यक्ष ज्ञवालीले बताए ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोट खाडाँचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सत्य तथ्यमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
पत्रकार महासंघ कालिकोटको १६ औं जिल्ला अधिवेशन तथा साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले पत्रकार राज्यको चौथो अंग भएको र सबै नागरिकलाई न्यायपूर्ण रुपमा समाचार सम्प्रेषण गरी तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
भौगोलिक कठिनाइका बाबजुद पनि जिल्लामा क्रियाशिल रहेर पत्रकारिता माध्यमबाट नागरिकलाई समाचार सम्प्रेषण गरेको भन्दै उनले धन्यवाद समेत दिए ।
पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले पत्रकारको आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिँदै पत्रकार र पत्रकारिता पेशालाई अझै थप मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
अधिवेशन तथा साधारण सभामा अध्यक्ष विष्ट र सचिव खडानन्द अधिकारीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष रमेश सोनीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, डिएसपी अर्जुन केसी, पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तुलराम पाण्डे, कालिकोटका उपाध्यक्ष नमराज योगी, पूर्व अध्यक्ष कालि बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies