बागलुङः महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ ।
तीज नजिकिएसँगै बागलुङका बजारदेखि गाउँसम्ममा यसको रौनक बढेको छ । तीज आउन १५ दिन बाँकी छँदै यहाँ दर खाने र नाचगानका कार्यक्रम दिनदिनै भइरहेका छन् । हिजोआज तीज भड्किलो हुनाका साथै पश्चिमेलीशैली पनि मिसिन थालेको बुढापाकाको गुनासो छ । बागलुङकी ७३ वर्षीया तेजदेवी सापकोटालाई अहिलेको तीज मनै पर्दैन ।
तीजलाई परम्परागत र मौलिक रुपमा मनाउन छोडेर विदेशी संस्कारलाई अँगाल्दा स्थानीय संस्कार, संस्कृति र परम्परा मेटिन थालेकामा उनमा चिन्ता छाएको छ । पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान गरिन्थ्यो तर अहिले एक महिना अगाडिदेखि दर खाने र त्यसमा पनि मदिराका साथै महँगा परिकार खाने गरिएको सापकोटाको गुनासो छ ।
‘उतिबेला तीजमा टाढाटाढा भएका दिदीबिहिनीसँग भेट हुन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर गीत आउने गर्थ्यौँ, घरमा पाएको दुःखसुखका कुरा तीजका गीतमा समेटर गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि जीवनमा भएका घटनाका आधारित हुन्थ्यो’, उनी भन्छिन्, ‘अहिले त त्यस्ता गीत गाउनै छोडे, मादल, डम्फु र मुजुरा बज्नै छोडे, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमका बाहेक अरु छैनन्, हामीले त दर भनेर केरा, दही मिसाएर खान्थ्यौँ, अहिले ठूलो–ठूलो होटलमा बसेर रक्सी खान्छन्, यस्तो चलनले हाम्रो संस्कृति नै मास्यो ।’
स्थानीयवासी तिलकुमारी खत्री परम्परादेखि धार्मिक शास्त्रअनुसार पतिको सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गरिएकामा अहिले त्यो चलन हराउँदै गएको बताउँछिन् ।
संस्कृतिका नाममा हुने छाडा गतिविधिले चाडपर्वको महत्वलाई नै विकृत बनाइदिएको उनको भनाइ छ । महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभइ, वर्षभरको दुःख भुलेर नयाँ ढङ्गले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्नेमा खत्री जोड दिन्छिन् । ‘हाम्रा चाडपर्वलाई मौलिक रुपमै मनाउनुपर्छ, हामीहरुले विदेशीको नक्कल गर्ने होइन तर विदेशीलाई हाम्रो संस्कार संस्कृतिको नक्कल गर्न सिकाउनुपर्छ, पहिले–पहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ’, उनी भन्छिन्, ‘अहिले त दिनदिनै दर खाने कार्यक्रम हुन्छ, दिनदिनै नयाँ कपडा लगाउनु पर्नेहुँदा हुने खानेले त लगाउलान्, खालान्, तर हुँदा खानेलाई कस्तो असर परेको होला ?’
बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी गाउँमाभन्दा सहरी क्षेत्रमा तीज भड्किलो बन्दै गएको छ भन्छिन् । बुढापाकाले अहिले पनि पुरानै शैलीमा चाडपर्व मनाउने गरे पनि युवा पुस्ताले आधुनिकता अँगाल्दा तीज पर्वको मौलिकता हराउँदै गएको बताउँछिन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमा संस्कृतिको अनुकरणले तीजलगायत चाडपर्व भड्किलो बनेको र अहिले बजारमा आएका गीत पनि परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका हुन थालेको उनको भनाइ छ ।
‘चाडपर्व आफूसँग जे छ, त्यसैमा रमाउन जान्नुपर्छ, अरुको देखासिकीले क्षणिक रमाइलो त होला तर त्यसको असर धेरै लामो समय पर्नसक्छ, तीजको रमझम त जताततै छ, तर सहरमा बढी विकृति भयो भन्ने गुनासो आउँछ, यो साँचो हो, तर गाउँमा अहिले पनि दिदीबहिनी मादल बजार मौलिक गीत गाउनुहुन्छ’, अध्यक्ष अधिकारी भन्छिन्, ‘हाम्रा पुराना संस्कार, संस्कृतिलाई युवापुस्ताले ग्रहण गरेर पुरानै शैलीमा मनाउने हो भने युगौँसम्म संस्कृति जीवित रहन्छ, यही हिसाले गयो भने त भावी पुस्ताले तीज वर्षको महत्व र इतिहास नै थाहा पाउने छैनन् ।’ रासस
रुकुमः रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ ।
पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । ‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मन पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिरदेखि बेसार जर्मन पठाउन शुरु गर्दैछौँ’, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भने ।
‘सहकारीका सदस्यलाई बेसार खेती गर्न भनेका छौँ । दुई सय सदस्यले यो पटक बेसारखेती गर्नुभएको छ । उहाँहरुले राम्रो बेसार उत्पादन गर्ने योजना पनि बनाउनुभएको छ । त्यही बेसारको चाना पहिलो चरणमा जर्मन पठाउने छौँ’, अध्यक्ष मल्लले भने ।
गाउँपालिकामा उत्पादन भएको बेसारले मात्र माग धान्न नसक्ने उनको भनाइ । जिल्लाको अन्य क्षेत्रमा पनि बेसार उत्पादनका लागि किसानलाई पहिलै भनेको सहकारीले जनाएको छ । सहकारीले अदुवा र बेसार प्रशोधनको लागि उद्योग स्थापना गरेको जनाएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा र बेसार उत्पादन हुनेगर्छ । व्यापारीले जिल्लाबाटै अदुवा र बेसार खरिद गर्ने गर्दै आएकोमा अब भने जिल्लामा उत्पादित अदुवा र बेसार त्रिवेणी गाउँपालिकामा रहेको अदुवा, बेसार प्रशोधन केन्द्रले खरिद गरिदिने छ ।
प्रशोधन केन्द्रमा चाहिने भौतिक संरचना र मेसिनका लागि कर्णाली प्रदेश सरकारले सहकारी संस्थालाई एक करोड ५० लाख दिएको थियो । सहकारीले पनि उद्योग सञ्चालनका लागि रु ४८ हजार रकम खर्च गरेको सहकारीका अध्यक्ष मल्लले जानकारी दिए । जिल्लामा उत्पादन भएको बेसार र अदुवा विदेश पठाइने भएपछि अदुवा र बेसारले पनि राम्रो मूल्य पाउने किसानको विश्वास छ । रासस
धादिङः धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।
आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।
‘पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर रु. १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो, अहिले बजारमा डोको बिक्न छोड्यो’, चेपाङले भने । चौकीभञ्ज्याङ र आसपासका सबैको पुर्ख्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उनले बताए ।
चेपाङ कतिले पुर्ख्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुर्ख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताए । उनका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।
डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काउनुभएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । ‘हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन’, उनले भने, ‘अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्याउन पनि सक्दिन । किन्न व्यापारी गाउँ आउदैनन् । पुर्ख्यौली पेसा भनेर मात्रै गरिरहेका हौँं । डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ ।’
विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा दशसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए । ‘त्यस समयमा दुई रुपैयाँमा एक पाथी नून, रु. छ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०र१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो’, उनले भने, ‘अहिले बजारमा डोको बिक्री हुदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।’ उनका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।
उनकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाइन् । ‘त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो’, तिलकुमारीले भनिन्, ‘अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सी कतै माग भइहाल्यो भने बेचौला भन्ने झिनो आशा छ ।’
डोकोको आकार हेरेर तीन सयदेखि पाँच सयसम्म र खाङ्ग्रेको एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताए । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ थियो । ‘गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । छदेखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ’, उनले भने ।
प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जीतबहादुर चेपाङले बताए । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उनको भनाइ थियो । ‘गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्’, उनले भने, ‘अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको हो ।’
चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुर्ख्यौली पेसा डोको बुनाइ हो । तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् । रासस
धनुषाः धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् ।
माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पुर्याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका–४ हरैया टोलका अधिकांश कुम्भकारको दैनिक बिहानैदेखि माटो मुछ्ने र भाँडा बनाउनेमा व्यस्त देखिन्छन् । हरैयामा कुम्भकारको एउटै छुट्टै टोल छ । उनीहरुको पुर्ख्याैली पेसा माटाका भाँडा बनाएर बेच्ने हो । यतिखेर यहाँका सबैजसो घरपरिवारका सदस्य माटोको भाँडा बनाउन व्यस्त रहेका स्थानीय विष्णुलाल पण्डितले बताए ।
पर्वमा आवश्यकपर्ने छाछ छाछी, मटकुडी, घैला, दियो, दियो राख्ने बाला (लावैन)लगायत विभिन्न किसिमका भाँडाकुँडा बनाउन व्यस्त रहेको रामभरोस पण्डितले बताए । भाँडा बनाउने माटो समयमा उपलब्ध नहुँदा समस्या हुने गरेकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको उनले बताए । चौठचन्द्र पर्वमा एक थान भाँडालाई दुई सयदेखि पाँच सयसम्ममा बिक्री गर्ने गरेको उनले जानकारी दिए ।
बजारमा पाइने प्लास्टिक, स्टिल, पित्तलका सामग्रीले माटोका भाँडालाई विस्थापित गरे पनि चाडपर्वमा भने अनिवार्य माग हुने गरेकाले कुम्भकारलाई यतिबेला भाँडा बनाउन भ्याइनभ्याइ भएको धनुषा जिल्ला समन्वय समितिका पूर्वसभापति रामदेव यादवले जानकारी दिए ।
चौठचन्द्र मात्रै नभई दीपावली तथा छठमा पनि माटोको दियो, चौमुखे दियो, घैला (कलश)लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सिजनअनुसारका समान बनाउन थालिएको रामचरित्र पण्डितले बताए । उनका अनुसार पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको जीविकोपार्जन माटोका भाँडाकुँडा बनाउने रहेकाले अरू समयभन्दा पर्वका बेला काममा बढी व्यस्त हुने गरेका छन् ।
यसपाली मिथिलाञ्चलमा असोज २ गते चौठचन्द्र पर्व परेको छ । उक्त दिन साँझ चन्द्रमालाई माटोको भाँडामा बनाइएको दही, खिर, पुरी, फलफूलसहित पूजा गरी पर्व मनाउने गरिन्छ । रासस
मकवानपुरः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायले न्वाँगी पर्व मनाइरहँदा यसले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको बताएका छन् ।
शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले चेपाङ समुदायले मनाउँदै आएको न्वाँगी (छोनाम) पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा प्रदान गर्ने जनाएका छन् ।
परम्परागत मूल्य मान्यता प्राप्त गरेको आफूलाई महसुस भएको उल्लेख गर्दै सन्देशमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेकोसमेत जनाएका छन् ।
प्रकृति पूजक अतिसिमान्तकृत चेपाङ जातिले हरेक वर्ष भदौ २२ गते मनाउने यो पर्वले अनेकतामा एकता कायम गर्ने भन्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश यही भएर भएको बताएका छन् ।
‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन, यहाँका प्रत्येक जातजाति र समुदायको आआफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा रहेका छन्’, मुख्यमन्त्री जम्कट्टेलले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्वपूर्ण अङ्गका रुपमा चेपाङ संस्कृति रहेको छ ।’
उनले चेपाङ जातिको यो पर्वमा यस वर्ष पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएर सम्मान प्रकट गरेको शुभकामना सन्देशमा भनिएको छ । रासस
कन्चनपुरः सुदूरपश्चिम प्रदेशमा बिहीबार गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ ।
यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन् । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेँडागुडी) राखेर शुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत्रुपमा सुरु हुने मानसखण्ड पञ्चाङका सम्पादक आचार्य धनश्याम लेखकले बताए ।
‘यो मानसी नारीको उपाक्रम हो एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गरिन्छ’, उनले भने, ‘पुरुषले जनै धारण गरेजस्तै महिलाले दुवधागो लगाइसकेपछि मात्रै उनीहरुलाई वेद पढ्ने अधिकार मिल्ने गर्दछ त्यसैले यो महिलाको महत्वपूर्ण पर्व हो ।’ गौरामा महिलाले स्थानीय भाषामा रहेको सगुन तथा फाग गाउने उनले बताए ।
फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए ।
‘मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्धी गरेपछि गौराको आग्रहबमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग यस फागमा आउँछ’, भट्टले भने, ‘यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो ।’ यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उनले बताए ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रुपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइन्छ । बर्तालु सरस्वती भट्टले भनिन्, ‘गौरा हाम्रो ठूलो पर्व हो पुरषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ, गौराको पूजाअर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको लागि व्रत बस्छौँ ।’
अष्टमीअर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो ।
यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन् । रासस
काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा जिल्लाका विभिन्न स्थानमा फुड फेस्टिबल गर्ने जनाएका हुन् ।
बनेपामा आज आयोजित पत्रकार सम्मेलनमा परम्परागत खाना, संस्कृति, वेषभूषा तथा स्वच्छ ‘हाईजेनिक’ परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही भदौ २२ र २३ गते जिल्लाको मुख्य सहर बनेपामा वृहत ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम’ आयोजना गर्नेसमेत जानकारी दिइयो । ‘बनेपोपछि आगामी असोजमा जिल्लाको अर्को स्थानमा सोही कार्यक्रम गर्न संयुक्तरुपमा योजना बनाउनेछौँ’, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका जिल्लाध्यक्ष श्यामकुमार भालुले भने ।
उनका अनुसार दुई दिन बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज तथा रेडक्रस चोकदेखि भीमसेनस्थानसम्मको मार्गमा फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । जिल्लाको अन्य स्थानमा गरिने फेस्टिबलमा बनेपामा गरिएकै प्रकृतिको कार्यक्रम गरिने छ । विशेषतः जिल्लाका मुख्य सहर तथा बजारमा गरिने कार्यक्रममा स्थान विशेष मौसम, तापक्रमका एवं मागका आधारमा रैथाने खाद्य परिकारको व्यवस्था गरिने सो अवसरमा बताइएको थियो । सङ्घमा जिल्लाका दुई सय होटल तथा रेष्टूरेन्ट र ७० पार्टी प्यालेस आबद्ध छन् ।
यसैगरी आउँदो असोज १९ गतेदेखि १६ दिन बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौँथो संस्करण आयोजना गरिने गरिने पनि सो अवसरमा जानकारी दिइयो । बनेपा ब्वाइज क्लबद्वारा आयोजना गरिने मेलामा आन्तरिक पर्यटनलाई आकर्षित गर्न, विभिन्न कृषि, धार्मिक, र साँस्कृतिक कार्यक्रम, औद्योगिक तथा हस्तकलाका सामग्री प्रवर्द्धन र खेलकुदको विकास गर्ने उद्देश्य रहेको सो अवसरमा बताइएकोे थियो ।
मेलामा कृषि, घरेलु सामग्रीलगायत एक सय स्टल रहने जनाइएको छ । मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको ब्यवस्था गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराएर सांस्कृतिक कार्यक्रमका साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता गरिने जनाइएको छ । रासस
जुम्लाः जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिइन् ।
‘पाकेको स्याउ किन्न किसानको बगैँचामा पुगेर खरिद गरेका छौँ’, स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, ‘स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।’ उनका अनुसार अहिले किसानको बगैँचाबाट प्रतिकेजी रु. ५० मा स्याउ खरिद गर्ने गरिएको छ । करिब ७० क्विन्टल स्याउ खरिद गरी सुर्खेत बिक्री गर्न लगिएको तिरुवाको भनाइ थियो ।
‘स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी रु. ५० मा बिक्री शुरु गरेका छौँ’, किसान गोरीकला रोकायाले भनिन्, ‘गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर बिक्री गर्ने गरेका छन् ।’
जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।
जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भयो, कति प्रतिशत बाहिर निर्यात भयोलगायत विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कूल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिने छ ।
गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो । जिल्लाका आठवटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।
परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुगे गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस
कास्कीः परापूर्वकालमा मानिसलाई जङ्गली जनावरले साह्रै दुःख दिन थाल्छ । जनावरमा पनि हिंस्रक मानिने बाघले औधी आक्रमण गर्छ । बस्तीमा बसिनसक्नु भएपछि न्यायको माग गर्दै जनता राजासमक्ष पुग्छ । राजाले सैनिक पठाएर रेकी गरी आफैँले बाघ मारेर जनतालाई खुसी दिन्छन् । यही कथामा आधारित रहेर पोखराका नेवार समुदायले लामो समयदेखि बाघजात्रा मनाउँदै आएका छन् ।
सोेही कथालाई बाघजात्रामा हुबहु उतार्ने कोसिस हुन्छ । जहाँ बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्ड, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र जनतालगायत अन्य पात्र समावेश हुन्छन् । उनीहरु जात्रा देखाउँदै बजार परिक्रमा गर्छन् । जात्रा हेर्न गाउँ–गाउँबाट मानिस पोखरा झर्थे । जसले गर्दा दोहोरो व्यापार पनि हुन्थ्यो । जात्रा हेर्न गाउँबाट आउनेले राडीपाखी, डोको, नाम्लो, भकारीजस्ता सामान लिएर आउथे र त्यही बेची लत्ताकपडा, नुन, तेल लिएर घर फर्किन्थे ।
तर पोखरामा बाघजात्रा नभएको धेरै भयो । तेइस वर्षअघि २०५७ सालमा मोहरियाटोलमा यो जात्रा देखाइएको थियो । यस वर्षदेखि बाघजात्रा निरन्तरता दिइने भएको छ । यही भदौ १८ देखि २० सम्म जात्रा देखाउन जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति गठन भइसकेको छ ।
समितिका सचिव सुनिल उलकले भने, ‘यसको इतिहास दुई–तीन सय वर्ष पुरानो छ । तर हामीले बूढापाकालाई सोध्दा २००६ सालदेखिको रेकर्ड भेट्न सकिन्छ । त्यसपछि २०१४ साल, २०२२–२३, २०३७–३८ र २०४६–४७ सालमा देखाइएको भेटिन्छ ।’ अब यसलाई प्रत्येक छ वर्षमा आयोजना गरिने उनले बताए ।
यसको शुरुवात पोखराबाट भएको अनुमान गर्न सकिने सचिव उलकले बताए । ‘ठ्याक्कै तथ्याङ्क त छैन तर विभिन्न तथ्य आधारमा यहीबाट शुरुवात भएको हो कि भन्न सकिन्छ’, उनले भने, ‘यस्तै प्रकृतिको एकदिने जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पालगायत पश्चिम नेपालमा हुने गर्छ । यी सबै एउटै खालका छन् ।’
विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन शुरु गरिएको समिति अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । ‘जात्राहरूको पनि जात्रा’ बाघजात्रा जोगाउन सबै लाग्नुपर्नेमा उनको जोड छ । उनका अनुसार भदौ १८ गते नेवाः छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवाः छेमा समापन हुनेछ ।
भदौ १९ गते नेवाः छें हुँदै गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै नेवाः छेंमा पुग्नेछ भने समापनको दिन नेवाः छें हुँदै भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौँडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेर समापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पहिलो र दोस्रो दिन करिब तीन सयको हाराहारीमा सहभागी हुने भए पनि अन्तिम दिन अझ बढी सहभागी हुने सचिव सुनिल उलकको अनुमान छ । अन्तिम दिन बाघजात्राको कथामा आधारित प्रहसन हुने उनले बताए । प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिनेछ ।
‘किंवदन्तीअनुसार हिंस्रक बाघलाई मारेर सुख दिने कथा छ । अहिले कानुनले बाघ संरक्षण गर्ने भनेको छ तर नरभक्षी बाघ मार्न पाउने भनेको छ’, उनले भने, ‘प्रकृतिलाई फाइदा गर्ने बाघ नभई नरभक्षी बाघ मारेर देशमा हुने गरेको हिंसात्मक गतिविधि नियन्त्रण गनुपर्छ भन्ने हाम्रो सन्देश रहन्छ ।’
आयोजक समितिका सदस्य शान्ति श्रेष्ठ उदासले जात्रामा बाइसे–चौबीसे राजाको प्रतिमा झल्कने गरी भाँकीसमेत देखाइने बताइन् । बाघजात्रामा नेवारसँगै मगर, गुरुङ, तामाङलगायत अन्य समुदायको पनि सहभागिता रहने सदस्य श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समूह)ले विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गर्ने छन् । लामो समयपछि हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवाः खलः कास्कीले सहयोग गरेका छन् । रासस
चितवनः भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो । महानगरको वडा नम्बर १, ४,५, ६, १३, १४, १५, २४, २५ ,२६ , २७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयकी अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लियपना भेटिएको हो । महानगरको खेतीयोग्य जमिनमा अम्लियपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताइन् । उनले भनिन्, ‘कृषि चुन प्रयोग गर्ने किसानका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेका छौ ।’ उनका अनुसार माटोमा भएका अम्लियपना ६ दशमलब ५ प्रतिशतबाट तल झर्दै आएमा अम्लियपना बढी भएको मानिन्छ । महानगरको माटोमा ५ र ५ दशमलब ५ प्रतिशत रहेको उनले बताइन् ।
अम्लियपन देखिएको माटोमा बिरुवाको बृद्धिविकास कम हुने, उत्पादन घट्ने, बिरुवाले सजिलै खाध्यत्व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताइन् । उनले भनिन् ‘अम्लियपना भएको माटोमा जति मल हाले पनि काम गर्दैन ।’
रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम, चुन र म्याग्नेसीयम कम हुँदा माटोमा अम्लियपन बढ्ने गर्दछ । भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ । यहाँ विभन्न प्रकारका कृषि कर्महुँदै आएका छन् । यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्र समेत बनाएर काम गर्दै आएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies