सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १२ का रेसमराज बन्जाडेलाई १५ वर्ष पहिला गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको सम्झना ताजै छ । तर आजभोली त्यो कुवा पूर्ण रुपमा सुख्खा छ । घट्दै जाँदा अहिले एक थोपा पानी कुवामा छैन ।
बढ्दो जलवायु परिवर्तन, वनजंगल विनास र मानविय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको अनुमान सहजै गर्न सकिन्छ । अर्घाखाँचीका कतिपय खोलाहरु त मुहान सुकेर सुख्खा बनिसकेका छन् । जहाँ अहिले कमिलाको लर्को हिँड्ने गर्छन् । अत्यधिक गर्मीका कारण मुहानहरु सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएको स्थानीयबासिहरु बताउँछन् ।
अर्घाखाँचीका धेरै ठाउँमा अहिले पनि खानेपानीको प्रयाप्त सुविधा नभएको र यहाँका विभिन्न क्षेत्रमा रहेका दर्जनौं बस्तीहरुमा घरमा धारा पुगेपनि पानीको समस्या छ, भने कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग धेरैले गर्छन् । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्ककै गएको सितगंगा १४ का स्थानीय समाजसेवी दिपक कार्की बताउँछन् ।
अर्घाखाँचीमा १० महिना अर्थात् साउनदेखि आकेसे पानी पनि परेको छैन् । पानी नपरेको कारण अधिकांश ठाउँमा मुहान सुक्न थालेपछि स्थानीयबासीहरू पानीका लागि घण्टौ टाढाका पुराना पानीका मुहान धाउन शुरु गरेका छन् । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएको भूमिकास्थान नगरपालिका वडा नं. १ का सन्जय वि.क बताउँछन् ।
विगतका वर्षहरुमा गर्मीयाममा खानेपानीको समस्या खासै नहुने भएपनि अहिले भने लामो खडेरी परेकाले खानेपानीले काकाकुल बन्नुपर्ने अवस्था आउन सक्ने सम्भावना छ ।
पाणिनी गाउँपालिका वडा नम्बर १ का नारायण पोख्रेलले भने ‘विगतका वर्ष वैशाख जेठमा घट्टा, कुला चल्ने खोलामा अहिले फागुनदेखि नै पानी भेटिदैन ।’ मुहान संरक्षण नहुँदा पानीका स्रोत हराउँदै गएको पोख्रेलको तर्क छ ।
धेरै ठाउँमा मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन् । मानविय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ । दिनप्रतिदिन वनजंगल विनास, विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका प्राविधिक गोविन्द आचर्यले बताए । डोजरले सडक खन्दा पनि जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेको स्थानीयबासीहरु बताउँछन् ।
विकासको नाममा स्थानीय तहहरुले डोजर आतंक मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोर्ट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन् ।
‘मेसिनले धर्ति नै चिरेका छन्,’ ढिकुरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले भने, ‘जहाँ हेरपनि सडक मात्रै खनेको देखिन्छ । खानेपानीको संरक्षण छैन । किन नसुकुन मुहान ?’ घिमिरेले थपे ‘जताततै आगलागी भएको छ, यस्तो गर्मीमा डढेलोका कारण पनि पानिका मुहान सुक्ने गरेका छन ।’
जिल्लाका अधिकांश स्थानीय तहले डोजर, स्काभेटर खरिद गरेका छैनन् तर ठेक्का निकाल्दा स्थानीय तहले पनि मेसिनले सडक खन्ने स्टमेट राखेकोले पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन् । जहाँ पानीका मूल र वन क्षेत्र छ त्यही सडक पु¥याइएको छ ।
यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल सम्भावना रहेको सितगंगाका युवा हिम्मत पोख्रेलले बताए । गाउँमा राजनीतिक दलहरुले बजेट पार्ने र आ–आफ्नै तरिकाले सडक खनाउने गर्छन् । एक पार्टीले सुरुवात गरेको सडक त्यो त फलानो पार्टीको हो भन्दै सकेसम्म अर्को ट्रयाक खोल्नेसम्मको काम गाउँमा हुने गरेको भूमिकास्थानका युवा कृष्णबहादुर सोमैले बताए ।
जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना पुराना भएका छन् भने भएका योजना पनि मर्मत सम्भार र सरकारले बजेट नदिँदा सुकेर फुट्ने जीर्ण हुने अवस्थामा छन् ।
पूराना जीर्ण आयोजना मर्मत सम्भार र संरक्षणको अभावमा प्रयाप्त पानी नआउने गरेको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का स्थानीयबासी सन्तोष भुसालले बताए । अधिकांश विद्यालयमा समेत पानी छैन । डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुँदा बालबालिका घरबाटै बोकेर पानी लैजानुपर्ने बाध्यता रहेको स्थानीयबासीहरु बताउँछन् ।
शिक्षाका लागि खाजा कार्यक्रम लागू भएका अर्घाखाँचीका अधिकांश आधारभूत तह (कक्षा ५) सम्मका विद्यालयहरुमा खाजा विद्यालयमा नै पकाउने गरिन्छ । पानी नभएका विद्यालयमा समस्या हुने गरेको शितगंगा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष चोपबहादुर घर्तीले बताए । घर्तिले स–साना बालबालिकाहरुलाई घरबाट आफै बोकेर पानी ल्याउँदा सास्ती हुने गरेको उनको भनाइ छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लामा १ घर १ धारा अन्तर्गत मिटर सिस्टमबाट पानीको पहुँच पुगेको ३५ दशमलव ५० घरमा पानीको पहुँच पुगेको र अर्घाखाँचीमा खानेपानी संघीय कार्यालय स्थानीय तह केही संघ संस्थाले समेत खानेपानीको काम गर्ने भएको कारण एकिन डाटा प्राप्त हुन नसकेपनि झण्डै ७५ दसमलब ५० प्रतिशत घरमा खानेपानीको पहुँच भएपनि अधिकांश घरमा प्रयाप्त खानेपानी पुग्दैन ।
खानेपानी योजना मर्मत, नयाँ योजना निर्माणको लागि बर्सेनी लाखौं रुपैयाँ खर्च आउने गरेपनि यो वर्ष खानेपानीको मर्मत सम्भारमा न्यून बजेट भएको कारण समस्या उत्पन्न छ ।
खानेपानीको क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका छन् । उनीहरूले बनाएका योजना तीन, चार वर्षमा बिग्रने गरेका छन्, तर मर्मतका लागि पैसा नभएको कारण समस्या उत्पन्न हुने गरेको छ । स्थानीय तहले पनि खानेपानीमा प्रयाप्त बजेट खर्चेको बताए पनि लागत अनुसार काम देखिएको छैन । अर्घाखाँचीमा बजेट अभावकै कारण झण्डै १ सय ५२ वटा प्रदेश र संघीय खानेपानी योजनाहरु अलपत्र परेका छन् । अर्घाखाँची जिल्लाबाट लुम्बिनी प्रदेशको अर्थमन्त्री बनेका चेतनारायण आचर्यले बजेट अभावका कारण योजना अलपत्र पर्न नदिने छिटोभन्दा छिटो बजेट व्यवस्थापन गरी योजना सम्पन्न गर्ने मध्यान्हसँग बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies