गंगाराजमुकारुङ राईनेपाली सेनाका कर्णेल हुन् । कर्णेल राईले काठमाडौंको छाउनीमा रहेको आर्मी हस्पिटलको प्रशासन रजिष्ट्रारको भूमिका निर्वाह गर्दै आएका छन् ।
९२ वर्षअघि चन्द्रशमशेरको पालामा निर्मित मिलिट्री हस्पिटलमा ६३५ शय्या छन् । हस्पिटलमा २ सय चिकित्सक र त्यति नै स्टाफ नर्स कार्यरत छन् । कर्णेल राईसँग मेरो जीवनका लागि कुराकानी गरिरहँदा अस्पतालमा ४ सय ५५ बिरामी उपचाररत थिए ।
उनी तेस्रो गीतिसंग्रह प्रकाशन तयारीमा छन् । ‘इलामे सहर चियाबारी राम्रो त्यही पर घर हाम्रो’ जस्तो लोकप्रिय गीत लेख्दै आएका गीतकारसमेत रहेका कर्णेल गंगाराज मुकारुङ राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
विशेषतः दालभात, तरकारी र कुखुराको मासु मन पर्छ । खानका रेष्टुरेन्ट यदाकदा पुग्ने गर्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःम, सेकुवा रोजाइमा पर्छन् । पकाउने रुचि भए पनि ढंग छैन । तर पनि सामान्य खाना पकाउँछु ।
मेरो पोसाक
सकेसम्म कटनको पोसाक मन पर्छ । पोसाक ‘लुज’ हुनुपर्छ । लगाउँदा सजिलो हुनुपर्छ । पोसाकमा वार्षिक खर्च १०÷१५ हजार रुपैयाँ होला । नीलो सर्ट, खैरो रङको पाइन्ट मन पर्छ । समय छैन भने रेडिमेड किन्ने गर्छु नत्र कपडा किनेरसमेत सिलाउने बानी छ । तर, धेरैजसो रेडिमेड पोसाक नै किन्दै आएको छु । यात्रामा निस्कँदा पिक्याप लगाउन सजिलो लाग्छ ।
मेरो फिटनेस
समय भएमा एक÷डेढ घन्टा हिँड्छु । दिन बिराएर कार्यालयमा एक घन्टा जिम गर्छु । एक घन्टा साउना लिन्छु । डाइटिङ छैन ।
मेरो अध्ययन
एलेन ठुले राईको ‘लोहोरुङ राईहरू’ नामक किताब पढ्दै छु । जीवनी, संस्मरण विधाका किताब पढ्न जाँगर चल्छ । गीतिसंग्रह प्रकाशन तयारीमा जुटेको छु । मेरो निजी पुस्तकालयमा झन्डै दुई सय किताब होलान् ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । आठ÷नौ जिल्लाबाहेक नेपालका सबै जिल्ला पुगेको छु । झन्डै २० देश घुमेको छु । घुमेकामध्ये इजरायल असाध्यै मन पर्यो । सफासुग्घर, अनुशासित देश हो– इजरायल । एकपटक जापान र अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
मेरो फुर्सद
अत्यन्तै व्यस्त छु । अस्पतालमा परेकाले बिदा लिन पाउँदिनँ । महिनामा दुई दिनभन्दा बढी बिदा लिन पाइँदैन । फुर्सद भइहालेमा पत्रपत्रिका पढ्ने, सानी नातिनी छन्, उनीसँग खेलेर रमाउँछु । काठमाडौंमै रहेकाले परिवारलाई धेर÷थोर समय दिन पाएको छु । २० वर्षपहिले हलसम्म पुगेर चलचित्र हेर्ने गर्थें । प्रविधि विकाससँगै हिजोआज घरमै हेरिन्छ । महिनामा एकपटक मुस्किलले रेष्टुरेन्ट पुगेर खाइन्छ ।
मेरो खेलकुद
फुटबल असाध्यै मन पर्छ । घरमा सबैले क्रिकेट हेरे पनि मचाहिँ बुझ्दिनँ । हेर्न अल्छी लाग्छ । ‘सिभिल लाइफ’ मा क्याम्पस पढ्दासम्म खेलें । सैनिक जीवनमा पनि क्षेत्रीयस्तरसम्म फुटबल खेलेको थिएँ । ब्राजिल, अर्जेन्टिना र जर्मनीका फुटबल टिम मन पर्छन् ।
मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोग गरेको छु । आइफोन फाइभ भाइले उपहार दिएका हुन् । अर्को साधारण सेट हो । यसको सात÷आठ हजार परेको थियो ।
फुर्सदमा भाइबर, फेसबुक, मेसेन्जर प्रयोग गर्छु ।
मेरो टीभी
टीभी हेर्दा समाचारले प्राथमिकता पाउँछ । कार्यालयबाट फर्केपछि बेलुका टीभी हेर्ने साइत जुर्छ । घरमा रहेको सोनीको ३३ इन्चको टीभी छ ।
मेरो चलचित्र
पछिल्लो समय ‘छक्कापन्जा’ हेरेको थिएँ । त्यतिबेला हेरेको माइतीघर, सिन्दुर र मासुम असाध्यै मन परेको थियो । सबै कलाकार मन परे पनि दयाहाङ राईको अभिनय जीवन्त लाग्छ । टेलिशृंखलाका कलाकार पनि मन पर्छन् ।
मेरो रोग
युरिक एसिड पारिवारिक रोग नै हो । उच्च रक्तचापले समातेपछि औषधि सेवन गर्दै आएको छु । सालिन्दा एकपटक ‘होलबडी चेकअप’ गराउँछु ।
दैनिक शारीरिक अभ्यास गर्ने र खानपानमा ध्यान दिए तन्दुरुस्ती रहन सकिन्छ । म बेलुका दुई रोटीमात्रै खान्छु । बिहान एक गिलास दूध पिउँछु ।
मेरो भाषणशैली
कुशल वक्ता नभए पनि आफूले गर्न खोजेको विषयवस्तु प्रस्तुत गर्छु । सुन्नेले मैले भन्न खोजेको विषयवस्तु बुझिन्छ भन्छन् । आफूलाई थाहा नभए पनि भाषण गर्दा ‘अँ, अँ’ भन्छु कि जस्तो लाग्छ । आक्रामक भाषण कहिल्यै गर्दिनँ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन तर कहिलेकाहीं सम्बन्धितले नबुझ्दा वा मैले बुझाउन नसक्दा स्टाफ अफिसरमा सामान्य विवाद हुन्छ ।
मेरो मापसे
दैनिक नगरे पनि चाडबाड र साथीभाइबीच जमघटमा मापसे गर्छु । पहिले÷पहिले जे पनि खाइन्थ्यो, पछिल्लो समय भोड्का खाने गरेको छु । सामान्यतया दुई पेगसम्म खाने गर्छु ।
मेरो संगीत
आफू गीतकार भएकाले गीत असाध्यै सुन्छु । अंग्रेजीमा नयाँ, हिन्दीका पुराना गीत सुन्छु । नेपाली गीत धेरै सुन्ने बानी परेको छ । नारायणगोपाल, दीप श्रेष्ठ, राजेशपायल राई, मेलिना राई, अञ्जु पन्तलगायतको आवाज कर्णप्रिय लाग्छन् ।
गीतकार र सुनेका हिसाबले पनि गीत गुनगुनाउँछु । स्वर नभए पनि गीत गाउन मन लाग्छ ।
मेरो भूल
जीवनमा पश्चाताप लाग्नेगरी भूल गरेको सम्झना छैन । तर, कहिलेकाहीं अन्जानमै कार्यालयीय काममा आफूले भनेको सम्बन्धितले नबुझ्दा आफूले सामान्य भूल गरेको अनुभूति हुन्छ ।
हाम्रो गुरुआमा जयलक्ष्मी राई हुनुहुन्थ्यो । उहाँ कडा स्वभावको हुनुहुन्थ्यो । उहाँबाट धेरैपटक पिटाइ खाएको थिएँ ।
संवत् २०३५ तिर हुनुपर्छ । म भोजपुर फर्कन लागेकाले चिट्ठी लिन साथीको डेरा पुगेको थिएँ । त्यहाँ विवाद भइरहेको रहेछ । के विषयमा विवाद परेको थियो मलाई थाहा भएन । प्रहरी जम्मा भएका थिए । म त्यहाँ पुग्दा स्थानीयले यो मानिस पनि हो भनेर त्यत्तिकै अभियोग लगाएपछि मलाई प्रहरीचौकीसम्म पुर्याए । तात्कालिक समयमा गल्ती नै नगरी सजाय पाएको थिएँ ।
मेरो घर
म बस्दै आएको घर ०६५ मा बनाएको हुँ । घर आफ्नै कमाइले बनाएको थिएँ । धेरै पैसा थिएन । थोरैभन्दा थोरै पैसामा घर कसरी बनाउन सकिन्छ भनेर इन्जिनियरसँग सल्लाह गरें । त्यस्तै ३०÷४० लाख रुपैयाँ घर ठडिएको हो । वास्तुशास्त्र हेराइनँ । केवल घामपानीबाट ओतिन सकिने घर बनेको छ ।
मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशा राम्रै छ । मेरो जन्मदिनमा ग्रहशान्ति गराउँछु । लगाइरहेको नीलम हो । ज्योतिषशास्त्रअनुसार माझीऔंलामा नीलम लगाउँदा राम्रो हुन्छ भनेर लगाएको हुँ । घरपरिवारमा धार्मिक संस्कारमा जोड थियो । परिवारले हिन्दु र किरात धर्मलाई आत्मसात् गरेको थियो । हिन्दु धर्मको प्रभाव अलि बढी थियो । त्यसको छाप ममा पनि छँदै छ ।
मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीं तेल लगाउँछु । फेसियल गर्दिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । निबियाको ‘बडी स्प्रे’ प्रयोग गर्छु । दिन बिराएर साउना बस्छु ।
मेरो प्रेम
मैले प्रेमविवाह गरेको हुँ । त्यतिबेला श्रीमतीको दाजु मेरो साथी हुनुहुन्थ्यो । साथी भएपछि उहाँको घर गइन्थ्यो । त्यहाँ श्रीमतीसँग देखादेख भयो । देखादेख भएपछि मन परापर भयो । त्यसपछि बिहेको कुरा उठ्यो । कुरा चलाइयो । बुवाआमाले दिनुभयो भनेमात्रै म बिहे गर्छु भन्ने श्रीमतीको भनाइ थियो । लामो समय प्रेम गर्यौं । पछि माग्न गयौं । परिवारबाट हुन्छ भन्ने उत्तर आयो । त्यसपछि बिहे गर्यौं ।
मेरो सपना
मुलुक प्राकृतिक स्रोतसाधनले सम्पन्न छ । हामी मिहिनेती र बहादुर पनि छौं । प्राकृतिक स्रोत साधनले सम्पन्न भए पनि हामी दुःखी छौं ।
मैले बोल्न मिल्छ कि मिल्दैन तर मुलुक सञ्चालन गर्ने सिष्टम भएन कि भन्ने लाग्छ । हिजोआजको संस्कार ३०÷३५ वर्षअघिको भन्दा फरक छ । ३५ वर्षअघि काठमाडौंका सडकमा भेटिएका स÷साना वस्तु हामीले प्रहरीचौकीमा लगेर बुझाउँथ्यौं । हिजोआज भेटिएका पाउनु त परै जाओस्, हिँड्दाहिँड्दै खल्तीबाटै हराउन थालेको छ ।
तर, सिष्टममात्रै बसाउने हो भने नेपाललै संसारकै नमुना देश बनाउन सकिन्छ ।
मेरो परिवार
परिवारमा मसहित श्रीमती सम्झना खालिङ राई, छोरी आयामिका मुकारुङ राई, छोरो अनिकेत मुकारुङ राई र नातिकी छन् । छोरी स्नातकोत्तर अध्ययनरत छन् भने छोरोले दस जोड दुईको अध्ययन सकेको छ ।
मेरो मृत्यु
मृत्यु प्राकृतिक नियम हो । मृत्युदेखि डर लाग्दैन ।
घरछेउ (भोजपुर) मा खोला थियो । खोलामा दह बनेको हुन्थ्यो । हामी दहमा पौडी खेल्थ्यौं । स्कुल बिदाका दिन भतिज शरद मुकारुङ राईसँग पौडी खेल्न त्यही दहमा पुग्यौं । दह गहिरो थियो । म ‘स्वीमर’ हुँ । म दहमा पसें । शरद ‘ननस्वीमर’ थिए । उनी बाढीले बगाएको सुकेको भालुबाँस समातेर दहको छेउछेउ पौडिन थाल्यो ।
म दहमा भित्रबाहिर गर्दै गएँ । एकछिनपछि हेर्दा भजित देखिनँ । चिन्ता लाग्यो । दहबाहिर निस्केर चिच्याउँदा दहको सबैभन्दा गहिरो ठाउँमा फुत्त निस्केर उसले हात दियो । म समात्ने प्रयासरत छु । उसलाई पानीले घुमाउँदैघुमाउँदै म रहेको ठाउँमा ल्याइपुर्यायो । वनमाराको बुटा समातेर, बाढीले बगाएर ल्याएको निगालोको लठ्ठी दिएँ । उसले एक हातले लठ्ठी र अर्को हातले मलाई समात्यो । म पनि बुट्टासँग दहमा पसें ।
हामी दहबाट फुत्त निस्कन्छौं, डुबाइहाल्छ । किनकि उसले मेरो काँधमा टेकेको थियो । मलाई छोड न छोड म तँलाई निकाल्छु भन्दा पनि उसले छाडेन । दुवैले पानी खाएका थियौं । तर बाँच्ने दिन, म जति तल पुग्थें, ‘जम्प’ गर्नुपर्छ भन्ने मलाई थाहा थियो । मैले त्यसै गरें । म दहछेउको त्यस्तो ठाउँमा पुगेछु, खुट्टाको बूढीऔंलाले टेक्दा आँखाआँखासम्म पानी थियो । बिस्तारै घुमाउँदैघुमाउँदै मैले भतिजलाई उद्धार गरेको थिएँ ।
अस्पतालमै काम गर्ने भएकाले मृत्युसँग संघर्ष गरिरहेका धेरै बिरामी देखेको छु । मृत्यु पारिवारिक बोझ र आफूलाई हीनताबोध हुने नहोस् ।
‘नो टेन्सन’ ।
काठमाडौंमा अत्याधुनिक सानाठूला मल, सपिङ कम्प्लेस, मार्केट र मिनिमार्केट खुले पनि हङकङ बजारका व्यापारीलाई कत्ति पनि चिन्ता छैन । उनीहरूको व्यापार तल÷माथि भएको होइन ।
संवत् २०४९ पुस २ बाट काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित हङकङ बजारको लक्षित ग्राहक आफ्नै छ । बजारमा सर्वसाधारणदेखि निम्नमध्यमवर्गका ग्राहकलाई लक्षित गरेर लत्ताकपडादेखि जुत्ताचप्पलमात्रै होइन, विद्युतीय सामग्रीसम्म राखिएका छन् ।
काठमाडौं निम्नव्यापारी संघ अध्यक्ष लक्ष्मी वलीका अनुसार ३३ रोपनीमा फैलिएको हङकङ बजारमा झन्डै १ हजार २ सय स्टल रहे पनि पसलका हिसाबले झन्डै ७ सय छन् । सात क्षेत्रमा विभाजित बजारका संगठित व्यापारी देख्दा/सुन्दा जोकोही लोभिन्छन् ।
सेक्टर ७, स्टल नम्बर १०१ सञ्चालक देवनारायण दाहालले स्थापनाकालदेखि हङकङ बजारमा व्यापार गर्दै आएका छन् । उर्लाबारी मोरङनिवासी ५० वर्षीय दाहालले व्यापारबाट चार परिवारको घरखर्च धानेकोबाहेक दुई छोराछोरालाई राम्रै स्कुलमा पढाउन सकेकोमा गर्व गरे । उनले बौद्धमा घरसमेत बनाएका छन् । श्रीमतीले इजरायलमा कमाएको पैसाले घर बनाए पनि मुख्य आधार व्यापार नै भएको उनले स्वीकारे ।
व्यापार भनेको अपार हो भन्ने नेपाली उखान प्रचलित छ । यदि त्यसो नभइदिएको भए फार्मेसिस्ट सृष्टि खड्काले छँदाखाँदाको जागिर छाडेर हङकङ बजारमा व्यापार गर्न रहर गर्दिनथिन् । सेक्टर–२, स्टल नम्बर ११० रामेछापकी खड्काले पाँच वर्षदेखि व्यापार गर्दै आएकी छन् । भनिन्, ‘पसलमा मानिस चाहिएपछि जागिर छाडेर यता लागें ।’ उनको पसलमा महिलाका लागि आवश्यक भारतीय कपडा पाइन्छ ।
अक्सिजनले अप्ठ्यारो
देख्नेले २५ वर्षदेखि यहीं ठाउँमा व्यापार गर्दा राम्रै देखे पनि बजारभित्रका समस्या खनिखोस्री साध्य छैन । सुन्दर वस्तुभित्र करूपता पनि लुकेको हुन्छ भनेझैं बजारभित्र अनेकन समस्या छन् । ‘पर्याप्त अक्सिजन नहुँदा ग्राहकमात्रै होइन व्यापारीसमेत बेहोश भएपछि अस्पताल दौडाउनुपर्छ,’ हङकङ बजार सेक्टर ७, पसल नम्बर १०१ सञ्चालक दाहालले भने, ‘चिसोले त्यत्तिकै अप्ठ्यारो पारेको छ ।’
सेक्टर ५ र ६ नम्बरमा अक्सिजन कमी हुने भएकाले त्यहाँ पुग्दा जोकोहीलाई अलि गाह्रो हुन्छ ।
टुकुचाको तनाव
१० वर्षदेखि व्यापार गर्दै आएका सेक्टर ७, स्टल नम्बर १०७ का फडिन्द्र कार्कीले दुःखेसो पोखे, ‘टुकुचाको दुर्गन्धले त्यत्तिकै अप्ठ्यारो पारेको छ । फागुनदेखि भदौसम्म व्यापार गर्न अत्यन्तै गाह्रो हुन्छ ।’
टुकुचामा बाढी आउँदा सेक्टर ६ का व्यापारीलाई असर पुर्याउँछ । कहिलेकाहीं टुकुचाको बाढी सेक्टर ६ तिर पस्छ । बाढी पसे दुई÷तीन दिन पसल बन्द गर्नुको विकल्प छैन । पसल नै बन्द गर्दा व्यापारीलाई असर नपर्ने कुरै भएन ।
त्यतिमात्रै होइन, फागुनदेखि वैशाखमा चल्ने हावाहुरीले पसलको पाल उडाइदिने गर्छ ।
शौचालय अभाव
३३ रोपनीमा फैलिएको बजारमा तीन शौचालयमात्रै छन् । व्यापारीमात्रै होइन, ग्राहक र बटुवाले समेत त्यही शौचालय प्रयोग गर्दा कहिलेकाहीं निकै अप्ठ्यारो पर्ने बताइन्छ ।
भाडैभाडा
हङकङ बजारमा पसल थापेकाले प्रतिस्क्वायर फिटको १२ रुपैयाँका दरले भाडा बुझाउनुपर्छ । धेरैतिर भाडा बुझाउने उनीहरूले समाज कल्याण परिषद्, कपडा राख्ने गोदाम, कपडा बोक्ने भरिया, सरसफाइको भाडा तिर्नुपर्छ ।
दाहालका अनुसार भरियालाई एक भारीको मासिक ५ सय दिनुपर्छ । भरियाले बिहान पसलसम्म कपडा लैजाने, बेलुका गोदामसम्म पुर्याउने गर्छन् । पसल खुलेदेखि बन्द नभएसम्म बत्ती बाल्नुपर्ने बाध्यता छ । बत्ती बालेअनुसार पैसा तिर्नु छँदै छ । त्यतिमात्रै होइन, सरसफाइका लागि प्रतिपसलले मासिक १ सय बुझाउनुपर्छ । गोदाममा एक भारी कपडा राखेको मासिक शुल्क ५ सय तोकिएको छ ।
संघ सञ्चालनका लागि प्रत्येक स्टलले ५० रुपैयाँ बुझाउनुपर्छ ।
महिला बढी
हङकङ बजारमा महिला व्यापारी धेरै छन् । श्रीमान् वैदेशिक रोजगारीमा लागेपछि श्रीमतीलाई यही बजारमा अलमलाएका छन् । एकातिर व्यापार भयो अर्कोतिर बालबच्चा हुर्काउने, बढाउने र पढाउने काम पनि भयो ।
कारबाही कडा
निम्नव्यापारी संघ अध्यक्ष वलीका अनुसार यहाँका व्यापारीलाई असल, कुशल व्यवसायीमा रूपान्तरण गर्दै लगेको सुनाए । उनले ग्राहकसँगको अन्तरसम्बन्ध विस्तार गर्दै लगेको दाबी गरे । त्यसका लागि संघले आचारसंहिता बनाएको छ ।
संघले ग्राहकलाई दुव्र्यवहार गर्ने, मनपरी मूल्य तोक्ने, बार्गेनिङ गर्ने र अनावश्यक विवाद गर्ने व्यापारीलाई कारबाही गर्दै आएको छ । ग्राहकलाई दुव्र्यवहार गरेको प्रकृति हेरेर सम्बन्धित व्यापारीको एकदेखि सात दिनसम्म पसल बन्द गरिने प्रावधान छ । कारबाहीमा परेका व्यापारी थुपै्र छन् ।
परोपकारी काम
व्यापार/व्यवसाय गरेर घरपरिवार चलाउनु त छँदै छ । त्यसबाहेक परोपकारी काममा समेत एकजुट हुने उनीहरूले संस्कार विकास गरेका छन् । गोरखा भूकम्पपछि पुतलीसडक, बागबजार, डिल्लीबजारका स्थानीयले हङकङ बजारमा आश्रय लिएका थिए ।
यहाँका व्यापारी–व्यापारीबीच आर्थिक संकलन गरेर बाढीपीडितका लागि सहयोग गरेका उनीहरूले बजारका भरिया र व्यापारी बिरामी पर्दा उपचारका लागि आर्थिक सहयोग जुटाउँछन् ।
संघकी भूपू उपाध्यक्ष लक्ष्मीदेवी विष्टलाई स्तन क्यान्सर भएपछि उनीहरूले एकै दिन तीन लाख रुपैयाँ संकलन गरेका थिए । यसैगरी, साइकलयात्री पुष्कर शाह विश्वभ्रमणमा निस्कँदासमेत हङकङ बजारका व्यापारीले आर्थिक संकलन गरेर सहयोग जुटाइदिएका थिए ।
गणतन्त्र ल्याउन योगदान
बजारमा रहेका व्यापारी विभिन्न दलसम्बद्ध हुनु अस्वाभाविक होइन । काँग्रेस, एमाले र माओवादी केन्द्रसम्बद्ध व्यापारीको आ÷आफ्नै संगठन छन् । तर, व्यावसायिक हितका लागि काठमाडौं निम्नव्यापारी संघ छ ।
दोस्रो अर्थात् ०६२/६३ को आन्दोलनमा बजार बन्द गरेर आन्दोलित उनीहरूले गणतन्त्र ल्याउन सघाएको दाबी गर्छन् । आन्दोलनक्रममा उनीहरूले जेलनेसम्म भोगेको थिए ।
दसैंमा चौबीसै घन्टा खुला
गत भदौ २७ गतेदेखि हङकङ बजार चौबीसै घन्टा खुला छ । बजार अष्टमीसम्म चौबीसै घन्टा खुला रहनेछ । सम्बन्धित स्टलका व्यापारी अष्टमीसम्म त्यहीं सुत्छन् । अन्य समयभन्दा दसैंमा व्यापार धेरै हुने उनीहरूको भनाइ छ ।
हङकङ बजारमा माधव नेपालदेखि यम बरालसम्म
हङकङ बजारमा नेतादेखि गायकसम्म किनमेलका लागि पुगेको प्रत्यक्षदर्शी बताउँछन् । एमाले वरिष्ठ नेता माधव नेपाल, अधिवक्ता टीकाराम भट्टराई र गायक यम बराल आफ्नै पसलअघिको पसलबाबाट किनमेल गरेको आफ्नै आँखाले देखेको व्यापारी दाहालले सुनाए ।
अक्षम सरकार
२५ वर्षअघि जस्तो थियो, अहिले पनि हङकङ बजारको संरचना त्यस्तै छ । व्यापारीले सरकारलाई कर तिर्छन् । महानगरपालिकालाई व्यावसायिक कर तिर्ने उनीहरूले परिषद्लाई भाडासमेत तिर्दै आएका छन् । सालिन्दा करोड हाराहारी कर तिरे पनि उनीहरूले माग गरेको अस्थायी टहरासम्म बनाइदिन सरकार सकारात्मक देखिएन ।
‘अस्थायी टहरासम्म भइदिएको भए घामपानीबाट ओतिन सजिलो हुन्थ्यो,’ व्यापारी खड्का भन्छिन्, ‘बर्खामा धेरै गर्मी । जाडोमा चिसो न चिसो सहेर व्यवसाय चलाउनुपरेको छ ।’
भृकुटीमण्डको खेर गएको जग्गामा पसल थापेर करोड कर लिने सरकारले ती व्यापारीको वास्ता गरेका छैनन् । सिंहदरबारको पश्चिमी आँगनमा रहेको बजारमा समस्यामाथि समस्या छन् ।
समस्यामाथि समस्या सहेर ग्राहकको माया पाएकैले २५ वर्षदेखि बजार चल्दै आएकोमा काठमाडौं निम्नव्यापारी संघ अध्यक्ष ओली खुसी छन् । झापानिवासी ओलीको जुत्तापसल २५ वर्षदेखि चलेकै छ । व्यापारमा कमी छैन ।
हङकङबजारको पृष्ठभूमि
संवत् ०४२/४३ तिर हङकङ बजार खुलामञ्चमा थियो । फुटपाथमा व्यापार गर्दै आएकालाई बाटामा नबस भनेर खुलामञ्चमा सारिएको हो । सुन्दर सहर परिकल्पना गरेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट व्यापारी हटाउने निर्णय गर्यो । व्यापारीले विकल्प मागे । महानगरपालिका र व्यापारीबीच रस्साकस्सी चल्यो । अन्ततः उनीहरूलाई भृकुटीमण्डपमा सारियो । खुलामञ्चमा सार्वजनिक सभा/सम्मेलन भइरहने भएकाले पनि बजार राख्न उपयुक्त थिएन ।
खुलामञ्चमा रहँदा हङकङ बजारले चिनिने त्यही बजार भृकुटीमण्डपमा सार्दा त्यही नामले चिनियो । नाम कसरी हङकङ बजार रह्यो ? संघ अध्यक्ष ओलीले प्रस्ट्याए, ‘हङकङमा खुला बजार हुँदारहेछन् । खुलामञ्चमा खुला बजार राखिएपछि हङकङको जस्तै खुलाबजार भएकाले हङकङ बजार भनिएको हो ।’
खुलामञ्चमा रहँदा भृकुटीमण्डमा जस्तो प्लास्टिककै भए पनि छानो हाल्न पाइँदैनथ्यो । भृकुटीमण्डपमा छानो हाल्ने सुविधा छ । काठमाडौंको महाबौद्ध, वटुको ७० प्रतिशत व्यापारी भृकुटीमण्डपका उत्पादन हुन् ।
काठमाडौँ । सिया र सुन्नीबीचको विभाजन इस्लाम इतिहासको सबैभन्दा ठूलो र पुरानो विवाद हो । यी दुई सम्प्रदायका सदस्यहरु शताब्दीयौँदेखि सहअस्तित्वमा छन् । तिनका धेरैजसो आधारभूत विश्वास र अभ्यासमा समानता पाइन्छ । तर ती नियम, रीति, धार्मिक पाठ र सङ्गठनहरु भने फरक छन् ।
तिनका नेताहरु पनि धेरैजसो आन्तरिक प्रतिस्पर्धामा देखिन्छन् । लेबनान र सिरियादेखि इराक र पाकिस्तानसम्म पछिल्लो समयका धेरै द्वन्द्वले यही साम्प्रदायिक विभाजनलाई जोड दिएका छन् । यसले समुदायहरुमै चिरा पारेको स्पष्ट देख्न सकिन्छ ।
को हुन् सिया ?
सियाले सम्पूर्ण मुस्लिमको लगभग १० प्रतिशत भाग ओगट्छन् र संसारभरी उनीहरुको सङ्ख्या १५ देखि २० करोड रहेको अनुमान गरिएको छ । सिया मुस्लिमहरु इरान, इराक, बहराइन, अजरबैजान र यमनमा बहुसङ्ख्याका रुपमा रहेको केही तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै अफगानिस्तान, भारत, कुवेत, लेबनान, पाकिस्तान, कतार, सिरिया, टर्की, साउदी अरब, संयुक्त अरब इमिरेटमा पनि सियाहरु रहेका छन् । इस्लामको प्रारम्भिक इतिहासमा सियाहरुको उद्भव आन्दोलनका रुपमा भएको थियो । ‘सियात अली’बाट स्थापित आन्दोलनको नामपछि ‘अली पार्टी’को रुपमा विकसित भएको पाइन्छ ।
सियाहरुले सन् ६३२ मा मोहम्मद (अल्लाहको दूत अर्थात मुस्लिम समुदायका प्रवर्तक) को मृत्युपछि सम्पूर्ण मुस्लिम समुदायको ‘इमाम’को रुपमा साँचो उत्तराधिकारी अलि भएको दाबी गर्छन् ।
अलिको सन् ६६१ मा हत्या गरियो । उनको पाँच वर्षे ‘क्यालिफ’ कार्यकाल गृहयुद्धमा बित्यो । सियाहरु अलिका छोरा हसन र हुसेनलाई तिनको हक लाग्ने ठानिएको ‘क्यालिफ’ (धर्मको राजनीतिक नेतृत्व) लिनबाट वञ्चित गराएको विश्वास गर्छन् ।
सुन्नीले शासित देशहरुमा सिया समाजको सबैभन्दा गरिब तप्का हुने अवस्था छ । सियाले धेरैजसो आफूहरुलाई विभेद र दमनको पीडितको रुपमा व्याख्या गर्ने गरेका छन् । ‘सुन्नी अतिवादी’हरु बारम्बार सिया सम्प्रदायकालाई मार्नु लायकको ‘धर्म भ्रष्टहरुको समूह’को रुपमा व्याख्या गर्ने गर्छन् ।
हुसेनको सन् ६४० मा हत्या गरियो । हुसेनलाई प्रतिस्पर्धी मुयावियाले विषको खुवाएर मारेको सियाहरुले विश्वास गर्छन् । मुयाविया सुन्नी उमायाद वंशबाट क्यालिफ भएका व्यक्ति हुन् । हसन सन् ६८१ मा प्रतिद्वन्द्वी उमायाद वंशसँगको युद्धमा मारिएका थिए ।
यही घटना घटेको दिनलाई लिएर सियाहरुले यो दिनलाई सहादत र शोक मान्ने दिनको रुपमा प्रचलनमा ल्याए । आजका मितिमा सिया इस्लामका तीन शाखा रहेका छन्, जसमा ‘जैदिज’, ‘इस्माइलिज’ र ‘इथ्ना असरिस’ रहेका छन् ।
यीमध्ये ‘इथ्ना असरिस’ सबैभन्दा ठूलो समूह हो । जसले मोहम्मदको धार्मिक नेत्तृत्व, आध्यत्मिक एकाधिकार र परालौकिक अगुवाइ गर्दै उनको बाह्र वर्षसम्म अगुवाइ गरेको विश्वास गरिन्छ ।
बाह्रौँ इमाम मुहम्मद अल–महदी सन् ८७८ मा एउटा मस्जिद मुनिको गुफाबाट अलप भएको सिया धर्मावलम्बीको विश्वास रहेको छ । इथ्ना असरिस यी अन्तिम इमाम नमरेको र समयको अन्त्यमा पृथ्वीमा न्याय स्थापनाका लागि फर्किने विश्वास गर्छन् ।
को हुन् सुन्नी ?
विश्वका डेड अर्बभन्दा बढी मुस्लिममा सुन्नीको सङ्ख्या बहुसङ्ख्यकमा रहेको छ । तथ्याङ्कहरुले ८५ देखि ९० प्रतिशतसम्म विश्वमा सुन्नी रहेको देखाएको छ । पश्चिम एसियाका इजिप्ट, जोर्डन र साउदी अरबको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या सुन्नी बहुल रहेको छ ।
सुन्नीहरु आफूलाई इस्लामको पुरातन हाँगा भएको मान्छन् । सुन्नि नाम ‘अहल्–अल–सुन्नाह’ पदावलीबाट लिइएको हो । जसको अर्थ ‘जनताको परम्परा’ (पिपुल्स अफ टे«डिसन) हुन्छ । यो सन्दर्भमा परम्पराले ‘हजरत महम्मद’ले भनेका, गरेका, स्वीकारेका वा विरोध गरेका कुराको अभ्यासलाई जनाउँछ ।
सबै मुस्लिमहरु सुन्नाह (परम्परा)बाट निर्देशित हुन्छन् । तर सुन्नीहरु यसको प्रधानतालाई जोड दिन्छन् । सियाहरु पनि मोहम्मदका ज्वाइँ र भतिजा अलीतर्फका वंशजको ज्ञानबाट निर्देशित हुन्छन् ।
सुन्निको जीवन न्यायिक विचारधाराको चार स्कुलबाट निर्देशित हुन्छ । जसमा प्रत्येक सुन्नाहको व्यावहारिक प्रयोग विकासमा केन्द्रित हुन्छन् ।
आजको तनावमा सम्प्रदायवादको भूमिका
सुन्नीले शासित देशहरुमा सिया समाजको सबैभन्दा गरिब तप्का हुने अवस्था छ । सियाले धेरैजसो आफूहरुलाई विभेद र दमनको पीडितको रुपमा व्याख्या गर्ने गरेका छन् । ‘सुन्नी अतिवादी’हरु बारम्बार सिया सम्प्रदायकालाई मार्नु लायकको ‘धर्म भ्रष्टहरुको समूह’को रुपमा व्याख्या गर्ने गर्छन् ।
आज पूरै मध्यपूर्वमा भइरहेको द्वन्द्वको विस्तरित रुपलाई अमेरिकाले साम्प्रदायिक र राजनीतिक सैन्य रुप प्रदान गरेकाले यो झनै बल्झिएर गएको हो ।
सन् १९७९ को इरानी क्रान्तिले सिया इस्लामको उग्र मुद्दा अघि सार्यो । यसलाई खाडीमा रहेको पुरातन सुन्नी शासकलाई चुनौतीको ठानियो । तेहरानको संस्थापन धार्मिक सरकारले आफ्नो सीमाभन्दा बाहिरका विभिन्न समूहहरुलाई समर्थन र सहयोग गर्ने नीति लिएपछि विश्वभरका अन्य सुन्नी समर्थित सरकार र आन्दोलनहरुले आफूलाई सिया सरकारले चुनौती दिन खोजेका रुपमा बुझ्यो ।
सिया बहुल क्षेत्रमा इरानको संस्थापनले लिएको नीतिलाई अमेरिकाले खुलेर विरोध गर्ने तथा सिया बहुल क्षेत्रमा रहेका विरोधीहरुमा आफ्नो घुसपैठ बढाउँदै उनीहरुलाई आर्थिक र सैन्य सहयोग जारी राखेका कारण नै हालको द्वन्द्व झनै विस्तारित भएको विश्लेषकहरुको बुझाइ रहेको छ ।
आज पूरै मध्यपूर्वमा भइरहेको द्वन्द्वको विस्तरित रुपलाई अमेरिकाले साम्प्रदायिक र राजनीतिक सैन्य रुप प्रदान गरेकाले यो झनै बल्झिएर गएको हो । सिया र सुन्नीको आफ्नो धार्मिक विभाजन र गहिरो अविश्वासबीच अमेरिकाले आगोमा घिउ थप्ने काम गरेकाले यो क्षेत्र र समु्दायका बीच शताब्दीयौँदेखिको असन्तुष्टी कम गर्ने प्रयासहरु भए पनि त्यसले सार्थक रुप लिन नसकेको हो ।
उदाहरणको रुपमा सिरियाली गृहयुद्धमा सिया धर्म सम्प्रदायका बसर–अल–असदको सरकारलाई समर्थन गर्ने हेजबुल्लाह लडाकु (छिमेकी लेबनानी सिया लडाकु समूह) र इरानको सैन्यले सिया सरकारलाई जोगाउन भूमिका खेलिरहेका छन् ।
उता साउदी अरबको सुन्नी सम्प्रदाय नेतृत्वको सरकारलाई सिरियाको सिया सम्प्रदाय समर्थित असद सरकार ढाल्न अमेरिका र अमेरिकासँग आबद्ध नाटोले आर्थिक र सैन्य सहयोग जारी राखेका छन् । साउदी अरेबिया र पश्चिमा राष्ट्रहरुले असद सरकार ढाल्न इस्लामिक स्टेट र सुन्नी जहादिस्ट समूहलाई सघाइरहेका छन् ।
काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । ‘
विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो’ उनले भने ।
बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे पनि छलफल भएको थियो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले भने- ‘जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीज्यूले केही कुराहरु भन्नुभएको छ । काममा राम्रोसँग सहयोग नगर्ने र गुटबन्दी गर्ने । त्यसैले असहयोग भयो भन्ने किसिमले उहाँले प्रस्ताव ल्याउनुभएको छ ।’
खड्काले भ्रष्टाचार गरेकोतर्फ संकेत गर्दै मन्त्री बस्नेतले अगाडि भने- ‘अनियमितताका बारेमा त तपाईहरु सबैलाई जानकारी नै छँदैछ । म आफैंले पनि नवलपरासीमा हेरेर आएको हुँ अनुगमन भ्रमणको सिलसिलामा । त्यो विषय पनि उठान भएको छ ।’
निगमले पेट्रोलियम भण्डारणका लागि खरिद गरिएको जग्गामा अनियमितता भएको समाचार सार्वजनिक भएको दुई महिनापछि मात्र सरकारले बर्खास्तीको निर्णय लिएको हो ।
जग्गा खरिदमा अनियमितताबारेका समाचार गत साउन पहिलो साता सार्वजनिक भएका थिए ।
निगमले जग्गा खरिद गर्दा भ्रष्टाचार भएको ठहर संसदका पाँच वटा समितिले गरेका थिए । उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध, सार्वजनिक लेखा, अर्थ, सुशासन तथा अनुगमन र विधायन समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष निकालेका थिए ।
लेखा समितिले जग्गा खरिदमा सीधै घोटाला भएको ठहर गर्दै अख्तियारलाई छानविनको जिम्मा दिएको थियो । यस्तै, उद्योग वाणिज्य समितिले जग्गा खरिद गरिएका स्थानको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । चलनचल्तीको मूल्यभन्दा चार गुणासम्म बढी मूल्य तिरेर अनियमितता गरिएको उक्त समितिको ठहर थियो ।
सुशासन समितिले त खड्कालाई तुरुन्त निलम्बन गर्न पत्राचारै गरेको थियो । विधायन समितिले जग्गा खरिदमा गम्भीर कानूनी त्रुटी औंल्याएको थियो ।
खड्काले अब के गर्लान् ?
पदच्युतको निर्णय मन्त्रिपरिषदबाट भएपछि खड्काले अब के गर्लान् भन्ने प्रश्नमा धेरैको चासो देखिएको छ । कतिपयले अब खड्का सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत जान सक्ने अनुमान गरेका छन् ।
यद्यपि अदालत जाने निर्णय खड्काका लागि आफैंमा आत्मघाती हुन सक्ने खतरा रहेकाले उनले त्यस्तो निर्णय गरिहाल्ने सम्भावनामाथि पनि कतिपयले प्रश्न उठाएका छन् ।
सरकारले बर्खास्त गरेपछि अब के गर्ने भनेर अनलाइनखबरले प्रश्न गर्न खोज्दा खड्का सम्पर्कमै आउन चाहेनन् ।
आयल निगमको जग्गा खरीद प्रकरणमा अनियमितताको आरोप खेपिरहेका खड्कामाथि अनुसन्धान गरी कानूनी कारवाही हुनुपर्ने माग सामाजिक सञ्जालमा निकै जोडतोडका साथ उठिरहेको छ ।
तर, खड्काका विरुद्धमा अख्तियारमा परेको मुद्दामा पनि अहिलेसम्म कुनै कारवाही अघि बढ्न सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies