अर्घाखाँची : महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठक तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला हिंसा हुन नदिनका लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको अध्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
विसं २०५८ सालमा स्थापना भएको राष्ट्रिय महिला आयोग नेपालको संविधानबाट संवैधानिक अंगको रुपमा स्थापित भएको अंग हो । आयोगले महिलाको हक अधिकारका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने, महिलाका हक अधिकार संरक्षण गर्दै महिलालाई समान तहमा ल्याउनका लागि समताका कार्यक्रमहरु गर्ने गरेको आयोगकी अध्यक्ष पराजुलीले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कोइरालाले लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि महिला, पुरुष सबै एक भएर लाग्नुपर्ने धारणा राखे । कोइरालाले एकले अर्कालाई दोष लगाएर कहिल्यै लैङ्गिक हिंसाको न्यूनीकरण नहुने बताउँदै सबै सचेत नागरिकले हिंसा अन्त्यका लागि पहल गर्न जरुरी रहेको बताए । उनले कानून थाहा भएन भन्ने छुट कसैलाई पनि नभएको बताउँदै सबैले राम्रोसँग कानूनबारे जानकारी लिन सके केही हदसम्म लैङ्गिक हिंसा कम हुने बताए ।
पछिल्लो समय आम नागरिकमा न्याय भनेको हुने खानेको हित र पक्षमा मात्र हुन्छ भन्ने बुझाइ रहेको बताउँदै कोइरालाले यस्तो बुझाइलाई राज्यले गम्भीरतापूर्वक लिएर कानून सबैका लागि एउटै हुन्छ भन्ने विश्वास आम नागरिकलाई दिलाउन आवश्यक रहेको बताए ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुलीले आयोगले महिलामाथि लिङ्गका आधारमा गरिने हिंसालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । अहिलेको यो समयमा मादक पदार्थ सेवनमा नियन्त्रण गर्न सके महिला हिंसा पनि न्यूनीकरण हुने उनको भनाइ छ । महिला कोही कसैबाट पनि सुरक्षित नभएकाले महिला हिंसा अनत्य गर्नु सबैका लागि चुनौतीको विषय भएको उनले बताइन् । अध्यक्ष पराजुलीले महिला हिसां गर्नेलाई सामाजिक बहिस्कार गर्ने बेला आएको पनि बताइन् ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, नगर उपप्रमुख मिश्रा आचर्य, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला समन्वय अधिकारी ऋषिराम भुसाल, जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार नारायण पौडेल, जिल्ला न्यायाधिवक्ता विष्णु आचार्य, प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासे, वरिष्ठ डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेल, प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोर, प्रमुख अनुसन्धान अधिकृत ईश्वरीप्रसाद आचार्य, सुरक्षा निकायका सबै प्रमुखहरु, महिला अधिकारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य तथा अधिकारकर्मी बाबुराम पौडेलले अर्घाखाँची जिल्लाको अवस्था, प्रहरीमा परेका मुद्दालगायतका सन्दर्भमा प्रस्तुतीकरण गरेको राष्ट्रिय महिला आयोगका लेखा अधिकृत श्रिभद्र गौतमले बताए । कार्यक्रम उषा जगमेरले सञ्चालन गरेकी थिइन् ।