प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रथम अध्यक्ष कप ब्याडमिन्टन सि लेवल प्रतियोगिता २०८० हुने भएको छ । गैडहवा गाँउपालिकाको संरक्षकत्व र मैनिया हाटबजार समिति गैडहवा ८ मैनियाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता 'राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद' भन्ने मूल नाराका साथ पुस २० र २१ गते गैडहवा ८ मैनिया बजारमा हुनेछ । प्रतियोगितामा भाग लिने टिमले १९ गते साँझ ८ बजेसम्म नाम दर्ता गराउनुपर्ने छ । दर्ता शुल्क भने एक हजार रुपैयाँ राखिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले १२ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने तृतीय हुने टिमले ५ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद चुनौतीसँगै अवसरको पनि विषय भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको खेलकुद पत्रकारितासम्बन्धी दुई दिने तालिममा उनले यस्तो बताएका हुन् ।
उनले अहिले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेकाे बताए । १०औं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने उनको भनाइ छ। उनले त्यसका लागि अन्य जिल्लाहरुमा पनि आवश्यक संरचनाहरु बनाउन आवश्यक रहेको बताए ।
तर आर्थिक अभाव भने कायमै रहेकाे उनले बताए । आर्थिक अभावका बीचमा पनि १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेकाे छ ।गाैरवकाे रंगशालाकाे काम अहिले धमाधम भइरहेको छ । कर्णालीकाे खेलकुद विकासलाई अगाडि बढाउनका सरकार अग्रसर भइरहेकाे पनि उनले बताए ।
प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट : रौतहटको गौरमा गौरीशंकर यादव प्रीमियर लिग क्रिकेट (जीपीएल) प्रतियोगिता शुरु भएको छ । मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले गौरको राइसमिल खेल मैदानमा प्रतियोगिताको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।
प्रदेश सभा सदस्य नागेन्द्र साहले बलिङ र मन्त्री यादवले ब्याटिङ गर्दै गौरीशंकर यादव जीपीएल प्रतियोगिताको उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री यादवले देशलाई विश्वमा चिनाउन क्रिकेट खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले यस्तो प्रतियोगिता आयोजना गर्ने आयोजक गौरीशंकर फाउण्डेसनलाई विशेष आभार व्यक्त गरे ।
गौरीशंकर यादव फाउण्डेसनका अध्यक्ष मोहन यादवले नगरभित्रको खेलाडीको क्षमतालाई उकास्न आफ्नो बुबा एवम् गौर नगरपालिकाका पूर्वमेयर स्वर्गीय गौरीशंकर यादवको स्मृतिमा यस प्रतियोगिताको आयोजना गरेको बताए ।
सो प्रतियोगितामा गौर नगरपालिकाका ९ वटा वडाका एक एक टिम खेल्ने छन् । दुई समूहमा सञ्चालन हुने प्रतियोगिता ११ दिनसम्म चल्ने छ । गौर नगरपालिका ३ शिवगंगा ११ र गौर नगरपालिका ५ का बरहवा ११ टिमबीच भएको उद्घाटन खेलमा शिवगंगा ११ विजयी भएको फाउण्डेसनका सदस्य पुष्पराज यादवले बताए ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ‘खेलकुद, अनुशासन र गतिशीलता : मैत्रीपूर्ण भावनाको विकास आजको आवश्यकता’ भन्ने मूल नाराका साथ छैटौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आरम्भ भएको छ । गेरुवा गाउँपालिकाको आयोजना तथा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरको आतिथ्यतामा वडा नं ४ को गेरुवा खेलग्राममा सोमबार प्रतियोगिता शुरु भएको हो ।
मार्चपास, एथलेटिक्स, कबड्डी, भलिबल तथा कराते र तेक्वान्दो गरी ८ विधामा प्रतियोगिता गरिने खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयले जानकारी दिएको छ । माध्यमिक तहको प्रतियोगितामा ७, आधारभूत तहको प्रतियोगितामा ८ र प्राथमिक तहको प्रतियोगितामा १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन् ।
प्राथमिक तहको प्रतियोगितामा कबड्डी, भलिबल र मार्सल आर्टको विधा समावेस गरिएको छैन भने आधारभूत तहको प्रतियोगितामा कबड्डी र मार्सल आर्टको विधा समावेस नगरिएको खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयका संयोजक भीमबहादुर धामीले बताए । सामुदायिक र निजी गरी ३३ वटा विद्यालयमध्ये २० वटा विद्यालय मार्चपासमा सहभागी भएको धामीले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दे नेपाली कांग्रेसका सह–महामन्त्री किशोर राठौरले विद्यार्थी जीवन सिर्जनशील र उर्जाशील हुने भएकाले यो समयमा खेलकुद तथा शिक्षामा ध्यान दिन सकेमा विद्यार्थीको भविष्य राम्रो बाटोतफ लाग्ने बताए । उनले खेलकुदले अनुशासित बनाउँदै कुलतमा लाग्नबाट रोक्ने र यस्ता किसिमका खेलकुद प्रतियोगिताहरुले युवा विद्यार्थीहरुलाई देश विकासको मूलप्रवाहमा ल्याउन अग्रसर गराउने बताए ।
प्रतियोगिताका उद्घाटन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले रनिङ शिल्ड प्रतियोगिता लगातार ३ वर्षसम्म जित्ने विद्यालयलाई गाउँपालिकाले अनुदानस्वरुप ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । प्रतियोगिता पुष १८ गतेसम्म चल्नेछ ।
काठमाडौं : डी.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु)ले आगामी माघ १३ गते उपत्यकाव्यापी पाँचौं फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई ३ लाख रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई २ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए ।
ऐतिहासिकरूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा शुरुमा दर्ता हुने उपत्यकाका ३२ वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : दोलखाको भीमेश्वर नगरपालिका वडा नं.५ को आयोजना तथा बुढाभीमसेन सिर्जनशिल युवा क्लबको सह–आयोजनामा शनिबारबाट ‘प्रथम अध्यक्ष कप’ फुटबल प्रतियोगिता शुरु भएको छ ।
शनिबारदेखि वडाको आफ्नै बुढाभिमसेन खेलमैदानमा जिल्लाका १९ वटा माध्यमिक विद्यालयको सहभागितामा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गरेका हुन् । प्रतियोगितामा विजेता टिमले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । अध्यक्ष कप फुटबल प्रतियोगिता पुस १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता भीमेश्वर ५ का अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा आयोजना भएको छ ।
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी फुटबल क्लबले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पुरस्कार पाएको छ ।
ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे भने धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजीले १–१ गोल गरे । खेलमा अग्रता भने धनगढीले लिएको थियो । तर धनगढीको अग्रतालाई उल्ट्याउँदै ललितपुर उपाधि चुम्न सफल भएको हो ।
खेलको ३७औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । आशिष चौधरीको लामो पासमा हिजाजीले गरेको प्रहार ललितपुरका गोलरक्षकलाई लागेर फर्किएको बललाई ओलावालेले सहजै जाली चुमाए । तर पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ललितपुर खेलमा फर्किएको थियो । इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको शुरुवातदेखि नै आक्रमक देखिएको ललितपुरले लगातार २ गोल गर्यो । खेलको ५०औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए । यस्तै खेलको ५८औं मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गरेपछि ललितपुरले ३–१ को अग्रता बनाएको थियो ।
खेलको ७९औं मिनेटमा धनगढी १० खेलाडीमा सीमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । धनगढीका लागि अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै झिनो सम्भावना दिएका थिए ।
तर त्यसपछि धनगढीले गोल गर्न नसकेपछि ललितपुर एनएसएलको च्याम्पियन बन्यो । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हेटाैंडा कप अन्तर नगरपालिका राष्ट्रिय हक्की प्रतियोगितामा हुम्लाबाट सहभागी टिमले तेस्रो स्थान हासिल गरेको छ । हेटाैंडा कप अन्तर नगरपालिका राष्ट्रिय हक्की खेलमा हुम्ला जिल्ला सिमकाेट गाउँपालिका वडा नं ५ बाट एक टिम सहभागी भएको थियो । हेटाैंडालाई ३-२ ले हराउँदै हुम्लाको टिम तेस्रो भएको हुम्ला हक्की टिमका प्रशिक्षक रामजन रावतले बताए ।
प्रशिक्षक रावतले हिमाली जिल्लामा खेल मैदानकाे अभाव भएपनि हक्की खेलमा प्रतिफल पाएकाेमा खुसी व्यक्त गरे । हक्की खेलमा सिमकाेट गाउँपालिका वडा नं ५ का मात्र खेलाडी सहभागी भएका थिए । पुस १२ गतेदेखि सञ्चालन भएकाे हक्की खेल १४ गते सम्पन्न भएकाे थियाे ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : भारतको हैदराबादमा भएको १०औं विश्व स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस प्रतियोगिता–२०२३ मा स्वर्ण पदक जितेका नेपालगञ्जका दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक जितेका सन्तोष काजी शाक्यसहितका खेलाडीलाई शनिबार एक कार्यक्रमका बीच सम्मानित गरिएको छ ।
भारतको हैदराबादमा पुस २ गतेदेखि ५ गते सम्म १० औँ विश्व स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाईन बेन्च प्रेस प्रतियोगितामा नेपालगञ्ज निवासी डा. प्रतिक श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धा गरी स्वर्ण पदक जितेका थिए । यसैगरी नेपालगञ्ज वडा नं.–२ घरवारीटाल निवासी सन्तोषकाजी शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धा गरी रजत पदक जितेका थिए । दुवै जना खेलाडीले नगद रकमसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपालका ४५ जना खेलाडीले सहभागिता जनाएको बताउँदै स्वर्ण पदक विजेता डा. श्रेष्ठले उनीहरूले १६ स्वर्ण, १४ रजत र चार कास्य पदक जितेको बताए । प्रतियोगितामा नेपालबाट ४५ जना खेलाडीमध्ये बाँके जिल्लाबाट सहभागी भएका ५ जनामा दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठ र रजत पदक जितेका सन्तोष काजी शाक्य, देवेन्द सिंह, मोहित गुप्ता र अनिल सिंह सिजापति रहेका थिए ।
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ, लाइफलाइन अस्पताल र गणपति डेन्टल क्लिनिकको आयोजनामा लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठको प्रमुख आतिथ्यमा स्ट्रेन्थलिफ्टिङ संघका उपाध्यक्ष सौरभ कर्माचार्यको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
लाइफलाइन अस्पतालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अशोक श्रेष्ठ तथा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले उनीहरुलाई पदक लगाएर सम्मान गरेका थिए । सो अवसरमा बोल्दै मेयर विष्टले स्ट्रेन्थलिफ्टिङको विश्व च्याम्पियनसिपमा सवर्ण र रजत पदक जितेर खेलाडीले नेपालगञ्ज र नेपालको नाम विश्वभर फैलाएको जनाउँदै यसले अन्य खेलाडीलाई पनि उत्साहित बनाएको बताए ।
स्ट्रेन्थलिफ्टिङ संघका केन्द्रीय सदस्य तथा रजत पदक विजेता शाक्यले ३५ वर्षदेखि यस खेलमा लागेको बताएका थिए । लाइफलाइन अस्पतालका सञ्चालक डा. पारस श्रेष्ठलगायतले विचार राख्दै स्ट्रेन्थलिफ्टिङ खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट : रौतहटको गौरमा पहिलो पटक गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) पुस १७ गतेदेखि शुरु हुने भएको छ । गौरीशंकर यादव प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा गौरका ९ टिमको सहभागिता रहने जानकारी दिएको छ । नगर क्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यावसायिक एवम् गुणस्तरीय खेलाडी उत्पादनका लागि जीपीएलको शुरुवात गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मोहन यादवले बताए ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिता जनाउने गौरका ९ वटै वडाका टिमको लोगो र जर्सी सार्वजनिक गरिएको छ । जीपीएलमा क्रान्तिद्वार ११, बानेश्वर ११, शिवगंगा ११, सोवर्णामाई ११, बरहवा ११, सबगढा ११, सिसवा ११, दरवार ११, सिर्सिया ११ को सहभागिता रहने आयोजक समितिका संयोजक गौतम श्रेष्ठले बताए । जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच फि समेत उपलब्ध गराइने उनले बताए ।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)बाट मान्यता प्राप्त एम्पायर तथा स्कोररलाई प्रयोग गरिने उनले बताए । प्रतियोगिता अवधिभर खेलाडीहरु अनुशासनमा रहनुपर्ने बताउँदै श्रेष्ठले यदि कुनै खेलाडी खेलभावनाविरुद्ध कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने बताए ।
प्रतियोगिताका प्रत्येक म्यान अफ दि म्याच खेलाडीलाई नगद १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । क्यानको नियमकानूनलाई अंगिकार गर्दै जीपीएल सञ्चालनको आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष यादवले बताए । ११ दिनसम्म जीपीएलअन्तर्गत १९ वटा खेल हुने अध्यक्ष यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त नेपाल, अम्पायर सागर यादव, टिमका कप्तानहरुसहित सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies