काठमाडौं : चौथो वरीयताका जयराम श्रेष्ठलाई हराउँदै डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा जयराम श्रेष्ठलाई ६/४ ले हराउँदै दिनेश उपाधि रक्षा गर्न सफल भएका हुन् । यो सिजन सानदार शुरुवात गरेका दिनेशको करियरको यो दोस्रो उपाधि हो ।
अनुभवी चौथो वरीयताका जयराम र तेस्रो वरीयताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो । नवौं होलको समाप्तिमा जयराम एक होलले अगाडि थिए । तर १८ होलको समाप्तिमा दिनेशले खेललाई बराबरीमा पुर्याए ।
यसपछि भने दिनेश खेलमा हाबी बने। १९औं होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए । २३औं होलमा जयरामले पार जोगाउन सकेनन भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए । खेलमा फर्कन जयरामलाई जित जरूरी थियो । तर यसपछि २४ देखि २७ होल बराबरीमा सकियो ।
२८औं होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए । दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन भने ३१औं होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए । यसपछि ३२औं होलमा खराब टी सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होल अघि नै उपाधि आफ्नो नाममा लेखाए ।
दिनेशले पहिलो चरणमा तोरण विक्रम शाही, क्वाटरफाइनलमा रबि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए । उपाधिसँगै दिनेशले नगद ६० हजार प्राप्त गरेका छन् । दोस्रो भएका जयरामले ४२ हजार हात पारे । दिनेशले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ पहिलो स्थान प्राप्त गरेका थिए । जारी टुरमा दुई मध्ये दुवे प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिजनको सुरूवात उत्कृष्ट गरेका छन् ।
सातौं वरीयताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे । उनले १८ होलको प्रतिस्पर्धामा नवौं वरीयताका भुवन कुमार रोक्कालाई १८औं होलमा हराए । रामेले ३२ हजार र भुवनले २४ हजार पुरस्कार हात पारे ।
कुल २ लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६/६ हजार प्राप्त गरे । क्वाटरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रा.लि.का मार्केटिङ म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा, आरएनजीसीका क्याप्टेन मिथुन राई र आरएनजीसीका कोषाध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।
काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन् ।
न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ ।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ शुरु भएको थियो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबार पनि सुनुवाइ हुने भएको हो ।
काठमाडौं जिल्ला अदालतमा भइरहेको सुनुवाइमा जाहेरवालाको तर्फबाट १० जना वकिलले बहस गरिसकेका छन् । सन्दीपको तर्फबाट ६ जना वकिलले बहस गरिसकेका छन् भने अझै २ जनाको बाँकी छ ।
उनीहरूले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । जवाफी बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।
काठमाडौं : डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति र चौथो वरीयताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको सेमिफाइनल खेलमा तेस्रो वरीयताका दिनेशले १६औं होलमा जित आफ्नो पक्षमा पारे । उनले सातौं वरीयताका रामे मगरलाई ३/२ले हराउँदै लगातार दोस्रो पटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए । उनले नौ होलको समाप्तिमा दुई होलको अग्रता बनाइसकेका थिए । उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन् ।
अर्को सेमीफाइनल खेलमा चौथो वरीयताका जयराम श्रेष्ठले नवौं वरीयताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धामक खेलमा अन्तिम होलमा हराए । नवौं होलको समाप्तिमा जयरामले एक होलको अग्रता बनाएका थिए । भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाएका थिए । तर १६औं र १७औं होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरे ।
यसअघि बिहीबार नै भएको क्वाटरफाइनलमा नवौं वरीयताका भुवन कुमार रोक्काले अप्रत्याशित नतिजा निकाले । उनले पहिलो वरीयताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराए । जयरामले क्वाटरफाइनलमा पाँचौं वरीयताका सञ्जय लामालाई २/१ ले हराएका थिए ।
अर्को क्वाटरफाइनलमा दिनेश प्रजापतिले छैटौं वरीयताका रबि खड्कालाई अन्तिम होलमा हराउँदै संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यस्तै रामे मगरले क्वाटरफाइनलमा १५औं वरीयताका प्रदीप कुमार लामालाई २/१ ले माथ दिए । प्रदीपले बुधबार पहिलो चरणमा दोस्रो वरीयताका नीरज तामाङलाई हराएका थिए ।
शुक्रबार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ । तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ । कुल २ लाख ५० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः ३२ हजार र २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।
मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मंगोलियाविरुद्ध टी–२० इन्टरनेशनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए ।
कुशल मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले हस्तान्तरण गरेका थिए । अवार्डका साथै मल्ललाई १ लाख १ हजार रुपैयाँको चेक पनि प्रदान गरिएको छ ।
त्यसैगरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार बराबरको ट्रेनिङ स्कलरशीप पनि प्रदान गरिएको छ । यो स्कलरशीप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरूमध्ये १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आवद्ध छिन् । प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ ।
स्कुलका चेयरपर्सन रञ्जित आचार्यले भने, ‘संस्कृति सदैव आफ्ना विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिँदै सामाजिक विकासमा पनि योगदान गर्न प्रतिबद्ध रहेको छ । वार्षिकरुपमा प्रदान गरिने यस संस्कृति स्पोर्टस् सम्मानमार्फत हामीले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्दै आफ्ना विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको बोध गराउने लक्ष्य राखेका छौं । कुशल मल्ल र सोनी पाख्रिनलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।’
अनिष पन्थी/मध्यान्ह
गुल्मी : लगातार तीन पटकको विजेता महेन्द्र माध्यमिक विद्यालयलाई पराजित गर्दै अर्जै माध्यमिक विद्यालयले फोर्टिन स्टार कप २०८० को उपाधि जितेको छ । महेन्द्र माविलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जै मावि मालिका गाउँपालिका–६ अर्जैले जितेको हो ।
निर्धारित समयमा कुनै समूहको गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । गत पुस ७ गतेबाट शुरु भएको फोर्टिन स्टार कपमा १९ विद्यालयको सहभागिता रहेको फोर्टिन स्टार युवा क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । सधैं सदरमुकाम केन्द्रित हुने यी खेलका ट्रफी यसपटक ग्रामीण भेगको विद्यालयले हात पार्दा त्यस भेगका विद्यालय एवम् खेलाडीहरुलाई हौसला मिलेको उनले बताए ।
रेसुङ्गा नगरपालिका बाहेक जिल्लाको इस्मा गाउँपालिकामा रहेको पालुखा माध्यमिक विद्यालय, मालिका गाउँपालिकामा रहेका मालिका माध्यमिक विद्यालय सिमलटारी, देविस्थान माध्यमिक विद्यालय घमिर र अर्जै माध्यमिक विद्यालय अर्जै प्रतियोगितामा सहभागी थिए । यसैगरी मदाने गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालयको पनि सहभागिता रहेको थियो ।
फोर्टिन स्टार युवा क्लबले १३औं वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको माध्यमिक विद्यालयस्तरीय छात्र फुटवल प्रतियोगितामा तम्घास बाहिरका विद्यालयहरुको उत्कृष्ट प्रदर्शन देखिएको थियो । चौथो फोर्टिन स्टार कपमा बिजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपविजेताले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे । शहरका विद्यालयहरुमा मात्रै केन्द्रित फुटबल खेलको मोह गाउँसम्म विस्तार गर्न जिल्लाका क्लबहरुले लामो समयदेखि फुलबल प्रतियोगिताको आयोजना गरिरहेका छन् ।
सुशील सुवेदी/मध्यान्ह
मेलम्ची : मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधि जित्न सफल भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधि जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक जितेको थियो ।
प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी माध्यमिक विद्यालय मेलम्ची–१० दोस्रो र बालसुधार मावि दुबाचौर ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जितेर तेस्रो हुन सफल भएको मेलम्ची नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा नगरभित्रका दुई संस्थागतसहित २२ विद्यालयको सहभागिता थियो । समापनको दिन आयोजित भलिबल प्रतियोगितामा जनता माध्यमिक विद्यालय ज्यामिरेलाई हराउँदै बालसुधार माध्यमिक विद्यालय दुवाचौर पहिलो भयो ।
त्यस्तै मेलम्ची कम्युनिटी इङलिस स्कुल मेलम्चीलाई हराउँदै तेर्से माध्यमिक विद्यालय तालामाराङ तेस्रो भयो । कार्यक्रम समापनका अवसरमा नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रलगायतले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै शिल्ड र मेडल प्रदान गरेका थिए । प्रतियोगितामा भलिबल, कराँते र एथलेटिक्सका ३७ खेल भएका थिए ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा दोस्रो त्रियुगा अन्तर मावि मेयर रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ त्रियुगा नगरपालिकाको संयोजन तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति गाईघाटको आयोजनामा खेलकुद सप्ताह प्रतियोगिता शुरु भएको हो ।
सो अवसरमा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले खेलकुद क्षेत्रको विकासका लागि नगरले सक्दो सहयोग गर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र भूमिका महत्वपूर्ण रहने बताए ।
प्रतियोगितामा सामुदायिक र नीजी गरी ३२ विद्यालयका विद्यार्थीहरुले तेक्वान्दो, कराते, दौड, भलिबल, एथ्लेटिक्सलगायत पाँच विधाका खेलहरुमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका सचिव किरण कार्कीले जानकारी दिए । प्रतियोगिता १४ गतेसम्म जारी रहने छ ।
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गर्दा दोस्रो वरीयताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन् ।
दिनेशसँगै पहिलो वरीयताका भुवन नगरकोटी, चौथो वरीयताका जयराम श्रेष्ठ, पाँचौं वरीयताका सञ्जय लामा, छैटौं वरीयताका रबि खड्का, सातौं वरीयताका रामे मगर, नवौं वरीयताका भुवन कुमार रोक्का र १५औं वरीयताका प्रदीप कुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा म्याच प्ले फम्र्याटमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा तेस्रो वरीयताका दिनेश प्रजापतिले अनुभवी गल्फर तोरण विक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८औं होलमा पराजित गरे । उनले अब क्वाटरफाइनलमा छैटौं वरीयताका रबि खड्कासँग प्रतिस्पर्धा गर्नेछन् । रबि खड्काले भने ११औं वरीयताका रमेश अधिकारीलाई ३/२ ले माथ दिंदै अन्तिम आठमा स्थान पक्का गरे ।
पहिलो वरीयताका भुवन नगरकोटीले १६औं वरीयताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराए । भुवनले क्वाटरफाइनलमा नवौं वरीयताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रुपमा भेट्टाएका छन् । भुवन कुमार रोक्काले भने आठौं वरीयताका धन बहादुर थापालाई १८औं होलमा पराजित गरे ।
दोस्रो वरीयताका नीरज तामाङ भने अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएका छन् । धरानका प्रो नीरजलाई १५औं वरीयताका प्रदीप कुमार लामाले कडा चुनौती मात्र दिएनन, उनले १८औं होलमा खेल जित्दै क्वाटरफाइनलमा आफ्नो नाम सुरक्षित गरे । प्रदीपले अब क्वाटरफाइनलमा सातौं वरीयताका रामे मगरको सामना गर्नेछन् । भेट्रान प्रो रामे मगरले बुधबार १०औं वरीयताका सूर्य प्रसाद शर्मालाई ४/३ ले हराए ।
चौथो वरीयताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गरे । उनले १३औं वरीयताका दीपक मगरलाई ७/६ ले पराजित गरे । जयरामले क्वाटरफाइनलमा पाँचौ वरीयताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन् । सञ्जयले १२औं वरीयताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गरे ।
क्वाटरफाइनल र सेमिफाइनल खेलहरु बिहीबार हुनेछ । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ ।
महेश कार्की/मध्यान्ह
बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिकामा चौथो गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बुधबारबाट गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।
जगन्नाथ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा देवलकोट माविको सह–आयोजनामा प्रतियोगिता शुरु भएको देवलकोट माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार बमले जानकारी दिए । अध्यक्ष बमका अनुसार यस वर्षको प्रतियोगिता वडा नम्बर ५ मा रहेको देवलकोट माविमा सञ्चालन गरिएको छ ।
प्रतियोगितामा पालिकाभरिका ४ वटा माध्यमिक विद्यालय सहभागी भएका छन् । प्रतियोगिताले खेल क्षेत्रमा विद्यार्थीहरुको व्यक्तित्व विकासमा थप सहयोग पुग्ने विश्वास पालिकाको छ । प्रतियोगिताको उद्घाटन सत्रमा पानसमा बत्ति बाल्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले खेल क्षेत्रको विकासमा आफू जहिले पनि अग्रसर रहेको बताए । उनले खेल क्षेत्रमा लगानी गर्न पालिका तयार रहेको बताए ।
वडा नम्बर ५ का वडा अध्यक्ष गौरी सार्कीको अध्यक्षतामा शुरु भएको प्रतियोगिताको विशिष्ट अतिथिमा उपाध्यक्ष मरुकला बिष्ट, बाजुरा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर शाही रहेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।
सरोसती माविका प्रधानाध्यापक विष्णुबहादुर बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन देवलकोट माविका शिक्षक दानबहादुर शाहीले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies