बाराः पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोपमा २ प्रदेश सभा सदस्यसहित ४९ जनाविरुद्ध मुद्दा दायर भएको छ । मधेश प्रदेश सभा सदस्य प्रमोद जैशवाल, बागमती प्रदेश सभा सदस्य श्यामबहादुर खड्का र पर्साको सखुवाप्रसौनी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप जैसवालसहित ४९ जनाविरुद्ध वन्यजन्तु चोरी तस्कारी घटनामा मुद्दा दर्ता गरिएको निकुञ्जले जनाएको छ ।
गत पुस ४ गते राति हतियार र बन्दोबस्तीको सामानसहित उनीहरुमध्ये ५ जना पक्राउ परेका थिए । निकुञ्जले ४५ दिनको अनुसन्धानपछि सोमबार मुद्दा दर्ता गरेको हो । सो घटनामा अभियुक्तमध्ये १५ जना पक्राउ परेका छन् भने ३४ जना फरार रहेका छन् । प्रदेश सभा सदस्यहरू जैशवाल, खड्का र पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जैसवालको घटनामा संलग्नता देखिए पनि उनीहरू पक्राउ परेका छैनन् । प्रतिवादी मध्येका जैसवाल दाजुभाइ, खड्का र सञ्जीव शाहीसहित ४ जनाको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २७ बमोजिम कारबाही हुने जनाएको छ ।
साथै अन्य प्रतिवादीहरू झापस दास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलन मिया अन्सारी, भोलाबहादुर पुनमगर समेत ८ जनाको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (३) बमोजिम सजाय हुने निर्णय गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ऐन अनुसार उनीहरूको संलग्नताको आधारमा माग दावीसहित अनुसन्धान अधिकारीले निकुञ्ज कार्यालयमा माघ १७ गते मुद्दा दायर गरेका थिए ।
घटनास्थलबाट २ थान गाडी, २ थान आईफोनसहित ६ वटा मोबाइल, २ लाख ९३ हजार ६ सय ३० रुपैयाँ नगद, बन्दुक लगायतका बन्दोबस्तीको साम्रगी निकुञ्जले बरामद भएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा बमोजिम जफतको गरेको छ । निकुञ्जले प्रतिवादीहरूमध्ये केही व्यक्तिहरूको अस्वाभाविक रूपमा वित्तीय कारोबार भएको भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पठाउने जनाएको छ ।
घटनाको अनुसन्धानको जिम्मेवारी पाएका अनुसन्धान अधिकारीले अनुसन्धान प्रक्रिया पूरा गरेर कार्यालयमा माग दाबीसहित मुद्दा दर्ता गरेको सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए । घटनास्थलबाट बरामद भएका प्रमाण, उनीहरुले दिएको बयान, घटना विवरण कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदन, विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरको रिपोर्टका आधारमा जिल्ला सरकारी वकिल कार्यालय विरगञ्ज, पर्साले ४९ जनालाई प्रतिवादी बनाउन माघ १६ गते राय दिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies