काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियास्थित नेपाली दूतावासलाई सम्भावित ओभरटाइमलाई समावेश गरेर मागपत्र प्रमाणीकरण गर्ने प्रचलनले कामदारमा भ्रम सिर्जना गरेको भन्दै त्यस्तो अभ्यास स्थगन गर्न माग गरेकोे छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै उक्त माग गरेका हुन् । पत्रमा संघका अध्यक्ष भण्डारीले कामदारको मागपत्र प्रमाणीकरण गर्दा करारपत्रमा न्यूनतम तलब सुविधा उल्लेख गर्ने प्रचलन रहेको स्मरण गराउँदै मलेसियास्थित नेपाली दूतावासले भने मागपत्र प्रमाणीकरण गर्दा अनुमानित ओभरटाइमसमेत उल्लेख गर्ने गरेकोले त्यसलाई कामदारले अनिवार्य ओभरटाइमका रूपमा बुझेकोले समस्या उत्पन्न भएको बताएका छन् ।
मलेसियामा सेक्युरिटी गार्डको रोजगारीमा जाने कामदारको हकमा ओभरटाइम उल्लेख गर्नु स्वभाविक मानिए पनि अन्य कामदारहरूले कम्पनीको अवस्था र मलेसियाको श्रम कानूनअनुसार मात्रै ओभरटाइम पाउने संघले दूतावासलाई ध्यानाकर्षण गराएको महासचिव मेघनाथ भुर्तेलले बताए ।
त्यसैगरी संघले आउट सोर्सिङ सर्भिस सेक्टरका लागि मलेसियाबाट आउने महिला कामदारको मागपत्र प्रमाणीकरण अवरुद्ध हुँदा डाइरेक्ट एप्रुभलबाट महिला कामदार लैजान चाहने राम्रा कम्पनीको समेत मागपत्र प्रमाणीकरण रोकिएको भन्दै डाइरेक्ट एप्रुभलबाट आएका महिला कामदारको मागपत्र प्रमाणीकरण गर्न माग गरेको छ ।
त्यसैगरी संघले प्रमाणीकरण गर्न दूतावासमा दर्ता भएका मागपत्र लामो समयसम्म प्रमाणीकरण नभएको गुनासो आएको भन्दै एक हप्ताभित्र प्रमाणीकरण गरी अनलाइन गर्ने व्यवस्था मिलाउन र अनलाइन प्रमाणीकरणको जानकारी रोजगारदातालाई समेत दिन आग्रह गरेकोे छ ।
संघले मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिष्टमअन्तर्गत रहेका बायोमेट्रिक मेडिकलबाट स्वास्थ्य परीक्षण गरी फिट भएका कामदार मलेसियाको फोमेमामा परीक्षण गर्दा अनफिट भई फर्किने नेपाली कामदारको संख्या ठूलो देखिएकाले त्यस्ता मेडिकलको गुणस्तरका विषयमा सम्बन्धित निकायमा कुटनैतिक पहल गर्नसमेत दूतावासलाई आग्रह गरेकोे छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies