एजेन्सी : अफ्रिकी मुलुक युगान्डाको संसदले समलिङ्गी वा यौन अल्पसंख्यकको रूपमा पहिचान गर्ने व्यक्तिहरूलाई अपराधीकरण गर्ने विधेयक पारित गरेको छ । उक्त विधेयकमा हस्ताक्षर गरेर राष्ट्रपतिले कानूनको रूप दिएमा दोषी ठहर भएकाले वर्षौं जेल सजाय भोग्नुपर्ने हुन्छ ।
प्रस्तावित कानूनमा समलिङ्गी सम्बन्धमा बस्ने व्यक्तिको समुदायका साथीभाइ, परिवार र अन्य सदस्यले अनिवार्यरुपमा उजुरी गर्नुपर्ने दायित्व रहेको उल्लेख गरिएको छ । यस पूर्वी अफ्रिकी देशमा समलिङ्गी गतिविधि पहिलेदेखि नै गैरकानूनी छ तर युगान्डाले बनाएको नयाँ कानूनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ ।
यो विधेयक यस महिनाको शुरुमा पहिलो पटक पेस गरिएको थियो र मंगलबार संसदमा भारी मतले पारित भएको हो । अब यो विधेयक युगान्डाका राष्ट्रपति मुसेभेनीलाई पठाइनेछ । त्यसपछि उनले भिटो अथवा हस्ताक्षर गरेर यसलाई कानूनको रुप दिनसक्ने छन् । ३० वटा अफ्रिकी देशमा समलिङ्गी सम्बन्ध प्रतिबन्धित छ ।
विधेयकमा समलिङ्गी गतिविधिमा संलग्न गराउने उद्देश्यले बालबालिकाको हेरचाह वा ओसारपसार गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय हुने पनि व्यवस्था छ ।
समलिङ्गी अधिकारसम्बन्धी गतिविधि वा संस्थाहरूलाई समर्थन गर्ने, सहयोग गर्ने व्यक्ति वा संस्थाहरू तथा समलिङ्गी समर्थक मिडिया सामग्री र साहित्य प्रकाशन, प्रसारण र वितरण गर्नेहरूलाई पनि अभियोग र कारावास हुने विधेयकमा व्यवस्था गरिएको छ ।
युगान्डाका सांसदहरूको सानो समूहले विधेयकको आधारमा छानबिन गर्ने समितिसँग असहमति जनाएका छन् । यसले अपराधीकरण गर्न खोजेका कसुरहरू देशको दण्डसंहिता ऐनमा समेटिएको उनीहरूको तर्क छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies