बागलुङः बागलुङमा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ ।
धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको जनाएको हो । बितेका पाँच वर्षमा लैङ्गिक हिंसामा घटनामा क्रमशः वृद्धि भएको केन्द्रको तथ्याङ्कले देखाएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा एक सय ३६ जना लैङ्गिक हिंसापीडित केन्द्रको सम्पर्कमा आएका थिए । त्यसपछिका दुई वर्ष समान ८७ जना मात्रै सम्पर्कमा आएकामा आव २०७८/८९ मा त्यो सङ्ख्या वृद्धि भएर ९१ पुगेको थियो । आव २०७९/८० मा एक सय २२ जना लैगिक हिंसाबाट पीडित भएका छन् ।
केन्द्रको तथ्याङ्कअनुसार हिंसामा पर्नेमा महिलाको सङ्ख्या धेरै छ । त्योमध्ये सबैभन्दा धेरै मानसिक यातनाका घटना छन् । अघिल्लो आवमा मात्रै मानसिक यातनाका ४० घटना भएका छन् भने घरेलु हिंसाका ३२ घटना भएका छन् । जबर्जस्ती बलात्कारका २८, करणी उद्योगका १२ र शारीरिक हिंसाका १० घटनाका केन्द्रको सम्पर्कमा आएको केन्द्रकी स्रोत व्यक्ति देवी भट्टराईले बताइन् ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्तर्गत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रमले हिंसामा परेका महिला र पुरुष दुवैलाई उपचार, सहायता तथा सहयोग एवं कानुनी उपचारमा सहयोग गर्छ । हिंसाबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको भट्टराईले जानकारी दिइन् ।
अस्पतालले केन्द्रमा आउने पीडितका लागि परामर्श, उपचार र पुनस्थापनका लागि आवश्यक संरचना विस्तार गरेको छ । यसअघि संरचना अभाव व्यहोरीरहेको केन्द्रले उपचारका लागि शय्याको व्यवस्था, परामर्शका लागि उपयुक्त स्थानको व्यवस्था र कार्यालय व्यवस्थापन गरेको हो । धौलागिरि अस्पतालले नै केन्द्रका सबै क्रियाकलाप सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराएको हो ।
‘हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसापीडित अझै पनि लुकेर बस्नुभएको छ’, भट्टराईले भनिन्, ‘पहिलेको तुलनामा अहिले केही सङ्ख्या बढेको छ, अझै धेरै ठाउँमा पुग्न बाँकी छ, पीडित आउन बाँकी छ ।’
बागलुङमा यो सेवा शुरु भएको पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसापीडित सङ्कट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन पुरुष थिए । अघिल्लो आर्थिक वर्षमा सेवा लिनेमा बागलुङ नगरपालिकाका ५३, जैमिनी नगरपालिकाका १२, गलकोट नगरपालिकाका नौ, ढोरपाटन नगरपालिकाका चार, काठेखोला गाउँपालिकाका १३, बडिगाड गाउँपालिकाका दुई, ताराखोला गाउँपालिकाका एक, निसीखोला गाउँपालिकाका चार र छिमेकी जिल्ला म्याग्दीका तीन जना, पर्वतका १४ तथा अन्य सात जना हिंसापीडित रहेको तथ्याङ्क छ । केन्द्रमा स्वास्थ्य संस्था, आमासमूह, प्रहरी, नातेदार र सिधा सम्पर्क गरेर पीडित पुग्ने गरेको केन्द्र प्रमुख भट्टराईले बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies