मनाङः हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम शुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन शुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप)को समन्वयमा जिल्ला सुरक्षा समितिले अनुगमन शुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि उनीहरुको यात्रा सुरक्षित र सहज होस् भन्ने उद्देश्यले अनुगमन गरिएको बताइन् । हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले पर्यटकले सचेतता अपनाउनुपर्ने उनले बताइन् ।
‘विशेष गरी पर्यटक आउँदा बाटो राम्रो बनाउनुपर्छ भन्ने हेतुले अनुगमन गरिएको हो, एक पटक आएका पर्यटकलाई फेरि पनि लोभ्याउने गरी बाटो सुरक्षित बनाउनु आवश्यक छ, बाटो सुरक्षित तवरबाट पार गर्न सहजीकरण गर्न एक्यापलाई आग्रह गरेका छौँ’, उनले भनिन्, ‘पर्यटकको स्वास्थ्यमा समस्या आएमा तुरुन्त खबर गर्नका लागि दूरसञ्चार सेवाको सहज पहुँच बनाउन समन्वय गर्नुपर्ने देखिएको छ, यसको प्रवाह सहज बनाउने प्रयासमा छौँ ।’
तिलिचो ताल क्षेत्रबाट प्राकृतिक दृश्यावलोकनका लागि बस्ने स्थान निर्माण गर्नुपर्ने देखिएको उनले बताइन् । हिमपात नभएको अवस्थामा ढुङ्गा राखे बस्न सकिन्छ भने हिउँ भएको अवस्थामा बस्ने स्थान निर्माण गरी पर्यटकलाई सहज बनाउने ढङ्गले व्यवस्थापन गर्न एक्यापलाई सुझाव दिएको उनले बताइन् । पछिल्लो समय मनाङको थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ ।
‘बाटो सहज बनाउनुका साथै टि हाउस व्यवस्थित गर्न एक्याप लागिपरेको छ’, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले भने, ‘हिमाली क्षेत्रमा बाटो देखाउन राखिएका साइनिङ पोल, बोर्ड हावा तथा हिउँले खुइलिने भएकाले कहाँ कस्तो अवस्था छ भन्ने अवलोकन गरेका छौँ, ती बिग्रिएका स्थानमा नयाँ बोर्ड राखेर पर्यटकलाई गन्तव्यमा पुग्न सहज बनाउन लागेका छौँ ।’
विशेष गरी यस सिजनमा आन्तरिक पर्यटक बढी आउने उनको अनुभव छ । उनका अनुसार विदेश पर्यटक ‘हाइ अल्टिच्युड’को अभ्यास गरी आउने गर्दछन् । जसले गर्दा उनीहरुमा समस्या कम देखिन्छ तर, स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको प्रमुख भुजेलले बताए । योजनाबद्ध तवरबाट यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा स्वदेशी पर्यटकमा लेक लाग्ने समस्या नहुने उनको भनाइ छ ।
ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यस जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य यसै पालिकामा पर्ने हुँदा पर्यटकलाई सहज रुपमा गन्तव्यसम्म पुग्ने वातावरण तयार गरिएको बताए । उनका अनुसार तिलिचो तालसम्म पुग्ने क्रममा ठाउँठाउँमा सार्वजनिक शौचालय, खानेपानी, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । पर्यटकलाई मध्यनजर गरी तिलिचो बेस क्याम्पमा अस्थायी स्वास्थ्य केन्द्र राखिएको अध्यक्ष घलेले बताए ।
त्यस्तै थोराङ्ला भञ्ज्याङतर्फ जाने पर्यटकलाई सहज बनाउन पनि सार्वजनिक शौचालय, खानेपानी, फोहाेरमैला व्यवस्थापनका लागि डम्पिङसाइट निर्माण गरिएको छ । घुम्ने मौसम शुरु भएसँगै मनाङमा हालसम्म एक सय ४९ बाह्य पर्यटक आगमन भएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । सन् २०२३ को जनवरीदेखि हालसम्म १० हजार तीन सय ५० बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ ।
मनाङमा दुई सिजनमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको शुरुवात हुन्छ ।
अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लामा जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थानको अवलोकन गर्दै यात्राको शुरुवात गर्दछन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies