बाँकेः बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् ।
फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।
‘झडपका क्रममा १० जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको थियो’, प्रनाउ डाँगीले भने । झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको उनले जानकारी दिए ।
प्रनाउ डाँगीका अनुसार उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा थिए । थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ । प्रहरीका अनुसार बाल सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन् ।
दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । सुधार गृहका थुनुवा खगेन्द्र सारुङ मगरले सुतेको अवस्थामा अर्को पक्षले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । ‘हामीलाई टाउको र हातमा निर्घात कुटेका छन्’, उनले पत्रकारसँग कुरा गर्दै भने ।
भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् । दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies